बालबालिकालाई जीवनबोध कसरी गराउने ?

सत्य यही हो कि हामी सबै एक दिन मर्छौं । यो सत्यको आत्मसात् गर्न बालबालिकालाई कठिन भएर उनीहरूको व्यवहारमा केही परिवर्तन आउन सक्छ । जस्तै– रुने चिन्ता गर्ने, खाना कम खाने, कम सुत्ने, निद्रामा रुने, कराउने, ओछ्यानमा पिसाब गर्ने आदि हुन सक्छ ।

वैशाख ४, २०८२

उमा घिमिरे

How to make children understand life?

जन्म र मृत्यु एकअर्काका परिपूरक हुन् । जो जन्मन्छ, मृत्युलाई जीवनभरि सँगै बोकेर हिँड्छ । मानव जीवन गर्भमा आएदेखि नै क्षण–क्षणमा मृत्युको साधना गरिरहेको हुन्छ । त्यो भ्रूण जीवन र मृत्युको संघारमा हुर्कंदै अनगिन्ती मोडहरू पार गर्छ । अन्त्यमा मृत्यु नै प्राप्त गर्छ । यसरी कुनै पनि जीव जीवनको सुरुदेखि अन्त्यसम्म मृत्यु सँगसँगै यात्रा गरिरहेको हुन्छ ।

मानव जीवनचक्र पार गर्ने क्रममा गर्भावस्थादेखि आरोह–अवरोह पार गर्दै शैशवास्था, शिशु, पूर्वबाल्यावस्था, उत्तर बाल्यावस्था गर्दै जवान र प्रौढ हुँदै मृत अवस्थामा पुग्छ । तर मृत्युले सबैलाई वृद्ध हुन्जेल पर्खिन्छ र ? अवश्य पनि नपर्खन सक्छ, त्यसैले यस्तो शाश्वत सत्यबाट बालबालिका पनि टाढा रहन सक्दैनन् । उनीहरूले पनि आफ्नो जीवनमा नजिक वा टाढाबाट मृत्युलाई नियालिरहेकै हुन्छन् ।

फरक यति मात्र हो कि बालबालिकालाई कसरी बुझाइन्छ र बुझ्छन् ? मृत्यु जुनसुकै बेला जोसुकैले पनि बेहोर्नुपर्ने तथ्य भएकाले बालबालिकालाई पनि स्वीकार गर्न तयारी गराउनुपर्छ । यस्तो ध्रुवसत्य किन ? कसरी ? कहिलेदेखि सिकाउने ? सिकाउने कि नसिकाउने भन्ने स्पष्टता अभिभावकमा पाइँदैन । 

हाम्रो समाजमा बालबालिकालाई मृत्युका बारेमा सिकाउने नकारात्मक अभ्यासहरू पाइन्छ । जस्तै– मृत्यु निद्राजस्तै हो । नउठ्ने गरी सुत्नु नै मृत्यु हो । धेरै राम्रो मान्छेलाई मात्र मृत्यु आउँछ । मृत्यु भएपछि स्वर्गजस्तो धेरै रमाइलो स्थानमा पुगिन्छ । बालबालिकालाई मृत्युपश्चात्का संस्कारमा सहभागी गराउनु हुँदैन ।

यस सन्दर्भमा अनुसन्धान तथा सिद्धान्तहरू प्ाुनरावलोकन गर्दा संज्ञानात्मक विकासका प्रवर्तक जिन पियाजेले २ वर्षसम्मका बालबालिकाले मृत्युलाई बुझ्न सक्दैनन् । तर २ वर्षदेखि मृत्युलाई अन्दाज गर्न कारण खोज्न सक्छन् भन्ने सुझव दिएका छन् । त्यसैले पनि २ वर्षमुनिका बालबालिकालाई मृत्युका बारेमा जानकारी गराउन उपयुक्त हुँदैन । तर २ देखि माथिका बालबालिकाले धेरै प्रश्नहरू सोध्ने अन्दाज तथा खोज गर्ने र बुझ्न खोज्ने हुनाले उनीहरूलाई सिकाउन जरुरी हुन्छ । सिकाउने केही तरिकाहरूमध्ये एउटा कथा माध्यम हुन सक्छ ।

कथा मानव विकासको इतिहाससँगै विकास भएको पाइन्छ । कथाले मनव सभ्यताको इतिहास जोगाउँछ, महत्त्वपूर्ण तथ्यहरूको संरक्षण गर्छ भने समाजको मार्गदर्शन पनि गर्छ । बौद्धिक परम्परामा मृत्युसम्बन्धी अनुसन्धानका प्रमुख उपलब्धिहरू कथाको माध्यमले जनमानसमा फैलाइरहेको पनि पााइन्छ । जस्तै– महाभारतका कथालाई लिन सकिन्छ ।

जसमा पहिलो जन्ममा काशी नरेश पुत्री अम्बालिका दोस्रो जन्ममा भीष्मको मृत्युको कारण बनेको शिखण्डीको कथाले मृत्युलाई सरल तरिकाले स्वीकार्न सहयोग गर्छ कि मृत्यु शरीरको यात्रा हो । बालबालिकाले पनि कथा अत्यन्त ध्यान दिएर सुन्ने, मनन गर्ने, कथाका घटनाहरूलाई आफ्नो जीवनमा सामान्यीकरण गर्ने, पात्रलाई आफूसँग तुलना गर्नेजस्ता बौद्धिक र संवेगात्मक कलाको विकास गर्छन् । 

कथा छनोट गर्दा वा भन्दा कथाका कुनै पात्रको मृत्यु भएका घटनाहरू छनोट गर्नुपर्छ । जसमा कसैको मृत्यु भएको तर मृत्युपछि उक्त परिवारको जीवन अर्को तरिकाले सुचारु भएको दर्शाउँदै सकारात्मक अन्त्य हुने कथा भन्नुपर्छ । 

कथा सुनाइसकेपछि यस कथाका बारेमा छलफल गर्नुपर्छ । सत्य घटना सुनाएर के–के भएमा मानिसको मृत्यु हुन्छ भन्ने पनि स्पष्ट बताउनुपर्छ । जस्तै– उपचार नभएर, रोग लागेर, वृद्धपना वा शरीर पुरानो भएर, आन्तरिक अंगहरूले कार्य गर्न नसकेर मृत्यु हुन्छ । यसैगरी दुर्घटनाबाट शरीरका अंगहरू बिग्रिएर काम गर्न नसकेर मृत्यु हुन्छ भन्नेजस्ता तथ्य सरल तरिकाले बुझाउनुपर्छ । 

यसरी मृत्युका विषयमा कुराकानी गर्दा बालबालिकालाई ठूलो चिन्ता हुन सक्छ र उनीहरूले मृत्युसम्बन्धी विभिन्न प्रश्नहरू सोध्न सक्छन् । जस्तै– मान्छे किन मर्छन् ?, मरेपछि कहिल्यै फर्कंदैनन् ?, आमा–बा पनि मर्नुहुन्छ ?, अनि म पनि मर्छु ? जस्ता अनगिन्ती प्रश्नहरू गर्न सक्छन् ।

यी सबै प्रश्नको सही उत्तर दिनुपर्छ । सत्य यही हो कि हामी सबै एक दिन मर्छौं । यो सत्यको आत्मसात् गर्न बालबालिकालाई कठिन भएर उनीहरूको व्यवहारमा केही परिवर्तन आउन सक्छ । जस्तै– रुने चिन्ता गर्ने, खाना कम खाने, कम सुत्ने, निद्रामा रुने, कराउने, ओछ्यानमा पिसाब गर्ने आदि हुन सक्छ । 

यसपछि बालबालिकामा टोलाउने, खाना कम खाने, कम सुत्ने, निद्रामा तर्सने, चिच्याउनेजस्ता समस्याहरू पनि देखापर्न सक्छन् । तर यस्ता क्रियाकलापहरू ३/४ दिनसम्ममा बिस्तारै व्यवस्थापन हुन्छ । यस्ता व्यवहारहरू ४/५ दिनपछि पनि घट्नुको साटो बढ्दै गयो भने डाक्टर वा मनोसामाजिक परामर्शदातासँग सम्पर्क गर्नुपर्छ ।

यस क्रममा बालबालिकासँग मृत व्यक्तिको कुराकानी गर्ने, उनले गरेका राम्रा कामको प्रशंसा गर्ने, चित्र कोर्न दिने वा लेख्न सक्ने भए केही लेख्न लगाउने आदि गर्नुपर्छ । मृत्यु भएको व्यक्तिको घरमा संस्कृतिअनुसारका मृत व्यक्तिका लागि गरेका प्रार्थना, पूजा, शोकसभामा सहभागी गराउनुपर्छ । –घिमिरे प्रारम्भिक बालविकास विज्ञ हुन् ।

उमा घिमिरे घिमिरे प्रारम्भिक बाल विकास विज्ञ हुन् ।

Link copied successfully