भ्यु टावर रोकौं, प्रकोप संग्रहालय खोलौं

भूकम्पजन्य विपद्को संग्रहालय भएमा त्यसले भूकम्पको इतिहास, त्यसमा परेर पनि बाँच्न सफल मानिसहरूको गाथा र आफन्त गुमाएका व्यक्तिहरूले प्रियजनको वियोगपछि बोकिरहनुपरेको चोटलाई सम्बोधन गर्न सकिन्छ

वैशाख २, २०८२

हमिशा रिजाल

Let's stop the view tower, open the disaster museum

श्रीलंकाको सानो सहर, हिक्कदुवाको मूल सडकमा एउटा चिटिक्कको फोटो संग्रहालय छ । त्यहाँ सन् २००४ डिसेम्बर २६ का दिन आएको कहालीलाग्दो सुनामीले गरेको विनाशसँग सम्बन्धित फोटाहरू देख्न सकिन्छ । यो संग्रहालय कुनै तामझामका साथ बनाइएको पनि छैन । टिनले छाएको सानो भवन छ । हिक्कदुवाका बासिन्दाले मिलेर यो संग्रहालय चलाइराखेका छन् ।

संग्रहालयनजिकै बुद्धको एउटा अग्लो मूर्ति स्थापना गरिएको छ, जसको उचाइ २००४ मा आएको विनाशकारी सुनामीबाट उर्लिंदाको समुद्री तह बराबर छ । यो नयाँ गन्तव्यले दिनहुँ आउने पर्यटकलाई आकर्षित गरिरहेको त हुन्छ नै, त्यसमाथि फोटो संग्रहालयमा राखिएका तस्बिरहरूले जस्तै कठोर मनलाई पनि छियाछिया बनाएर पगालिरहेको छ । 

‘सुनामीले पुर्‍याएको मानवीय क्षति सम्झँदा अहिले पनि मन भक्कानिएर आउँछ । हामीले आफ्नै चिनजानका पनि धेरै जना गुमायौं’ त्यहाँ भेटिएकी एक श्रीलंकाली महिलाले भावविभोर मुद्रामा भनिन् । 

सुनामी एउटा प्राकृतिक प्रकोप हो । यसलाई न कसैले आउनबाट रोक्न सक्थ्यो न त आइसकेपछि छेक्न नै । तर प्रभावित क्षेत्रका बासिन्दाले संग्रहालय बनाएर त्यो विनाशको फोटो प्रदर्शनी गरी त्यस्तो हृदयविदारक घटनालाई पनि एउटा सामूहिक स्मृतिको स्थल बनाएर त्यहाँ पुग्ने हरेकलाई प्राकृतिक विपत्तिको खतराबारे आङै जिरिङ्ग हुनेगरी सतर्क गराइरहेका छन् ।

यहाँको अर्को उदाहरणीय सन्देश टिनले छाएको सामान्य वास्तुशैलीमा निर्मित संग्रहालयको भवन नै हो । जसले पर्यटक तान्न भव्य संरचना र महँगा नयाँ प्रविधि चाहिँदैन भन्ने साबित गरिदिएको छ । विपत्तिको इतिहास र जनताको भोगाइ सम्झाउने स्मारकलाई साह्रै सरल रूपमा प्रस्तुत गर्दा पनि त्यसले छाड्ने छापको मूल्य उच्च हुँदो रहेछ । 

संसारमा यस्ता संग्रहालय धेरै छन् । विपद् संग्रहालयहरूले जनमानसमा महत्त्वपूर्ण शिक्षा र जानकारी सँगसँगै दिइरहेका छन् । अमेरिकाको ‘९/११ मेमोरियल’ त्यस्तै अर्को उदाहरण हो । विपद्को सूचीमा प्राकृतिक प्रकोपहरू मात्रै पर्दैनन् । मानवीय इतिहासमा भएका नमिठा र नरमाइला सबै घटना विपद्को कोटीमा पर्छन् । अमेरिकाको ‘९/११ मेमोरियल’ ले सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणको स्मरण गराउँछ । त्यस घटना अमेरिकी नागरिकको सामूहिक स्मृतिमा बसिसकेको छ, जसलाई संस्थागत रूपमा भावी पुस्ताहरूसम्म हस्तान्तरण गर्दै जाने भूमिका स्मारक संग्रहालयले पूरा गरिदिएको छ । यसका फाइदा अरू पनि छन् । २००१ को त्यस आतंकवादी आक्रमणबारे विश्वलाई थाहा छ । त्यसकारण बर्सेनि लाखौं पर्यटक संग्रहालयमा पुग्छन्, जसबाट सिंगो देशलाई पर्यटन उद्योगले दिने आर्थिक लाभ पनि भइरहेको छ । 

त्यस्तै अर्को उदाहरण हो, पोल्यान्डमा रहेको ‘औस्च्वित्च–बिर्केनौं’ संग्रहालय । औस्च्वित्च जर्मन नाजीहरूको सबैभन्दा ठूलो ‘कन्सन्ट्रेसन क्याम्प’ र ‘एक्सटर्मिनेसन सेन्टर’ थियो । यहाँको संग्रहालयले दोस्रो विश्वयुद्धका बेला हिटलरले यहुदी जनसंख्यामाथि गरेको अत्याचार सम्झाउँछ । यहाँ करिब ११ लाख मानिसले ज्यान गुमाएका थिए । यस संग्रहालयले पनि प्रतिवर्ष ठूलो संख्यामा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्दै आएको छ । सन् २०२३ मा मात्रै यहाँ १६ लाख ७६ हजार ३ सय ४५ जना पुगेका थिए, जसबाट २ करोड ४ लाख युरो कमाइ भएको तथ्यांक संग्रहालयले सार्वजनिक गरेको छ । 

जापानमा रहेका कैयौं सुनामी संग्रहालयहरूले जनतालाई विपत्तिबारे शिक्षित गर्न, ऐतिहासिक स्मृति जोगाउन, नयाँ पुस्तालाई प्राकृतिक प्रकोपप्रति संवेदनशील हुन, सम्भावित विपद्को निडरतापूर्वक सामनाका लागि तयार पार्नमा महत्त्वपूर्ण भूमिका खेल्दै छन् । त्यस्ता संग्रहालयहरूमध्ये ‘रिकुजेन्टाकाटा सुनामी मेमोरियल म्युजियम’ र ‘ओकुशिरी सुनामी म्युजियम’ ले शैक्षिक केन्द्र र स्मारकका रूपमा एकसाथ काम गरिरहेका छन् । त्यहाँ भएका प्रदर्शनीहरूले सन् २०११ को महाभूकम्प तथा सुनामीजस्ता ऐतिहासिक घटनाहरू र त्यसमा परेर बाँचेकाहरूका कथा समेटेका छन्, जसले जनमानसमा प्रकोपसम्बन्धी ज्ञान र त्यस्ता प्रतिकूलताको सामना गर्ने तत्परतालाई बढाउँछ । त्यसबाहेक, यी संग्रहालयहरूले पीडितलाई सम्मानबोध हुने भावनात्मक ठाउँ दिएर उनीहरूको सामुदायिक पुनःस्थापनामा पनि टेवा पुर्‍याइरहेका छन् । 

ज्ञान र पुनःस्थापनासँग सम्बन्धित फाइदाबाहेक, यी संस्थाहरूले पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई प्रोत्साहित गर्छन् । विपद् व्यवस्थापनका संगठनहरूसँग मिलेर अनुसन्धानमा पनि संलग्न हुन्छन् । प्राचीन वस्तुहरूको संरक्षण, व्यक्तिगत कथाहरूको आदानप्रदान र विपद् तयारीमा केन्द्रित यी संग्रहालयहरूले अतीतबाट सिक्दै भविष्यमा यस्तै प्रकोपहरूप्रति सामुदायिक तयारी बढाउन सघाउ पुर्‍याएका छन् ।

नेपाल पनि पछिल्लो समयमा प्राकृतिक प्रकोप अत्यधिक सामना गरिरहेको र भविष्यमा अझ ठूला विपत्तिको खतरामा रहेको देश हो । भौगोलिक संरचना, पर्वत र पहाडहरूका कारण यहाँका बासिन्दाहरूले ऐतिहासिक रूपमै संकटको सामना गर्नुपरिराखेको छ । जुन अनुपात पछिल्ला वर्षहरूमा तीव्र बढेको छ । भयानक प्राकृतिक विपद्को पछिल्लो उदाहरण यही वर्ष असोजको दोस्रो साता देख्नु/भोग्नुपर्‍यो । मनसुन सकिँदै गर्दा अनपेक्षित रूपमा भएको भीषण वर्षापछिको बाढीपहिरोले कल्पनै नगरेको परिमाणमा क्षति पुर्‍यायो । त्यसबेला तीन दिनका बीच बाढीपहिरोमा परेर २ सय ४९ जनाले ज्यान गुमाए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तत्काल मूल्यांकन गरेर निकालेको आँकडाअनुसार त्यस क्रममा भौतिक पूर्वाधारतर्फ मात्र ३९ अर्बसहित कुल ४६ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भयो । हाम्रो भूगोल र अव्यवस्थित विकासका कार्यहरूले गर्दा यस्ता विपत्तिमा बर्सेनि सयौं मानिसले अल्पायुमै ज्यान गुमाइराखेका छन् ।

अब एकपल्ट याद गरौं, २०७२ को त्यो विनाशकारी भूकम्प । वैशाख १२ गतेको दिन गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पले देशको राजधानी काठमाडौं र आसपासका थुप्रै जिल्लाका गाउँबस्तीदेखि सहरसम्मका दसौं हजार भौतिक संरचनाहरू ध्वस्त पारिदियो । नेपाल सरकारकै तथ्यांकअनुसार वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिको परकम्पका कारण क्षतिग्रस्त भौतिक संरचनामा च्यापिएर ८ हजार ७ सय ८९ जनाले ज्यान गुमाए । 

२२ हजार ३ सय ९ जना घाइते भए । प्रभावित क्षेत्रका ५ लाख ११ हजार ३ सय ९० घरहरू ध्वस्त हुँदा अरू २ लाख ८६ हजार ७ सय ६७ घरहरू आंशिक रूपमा क्षतिग्रस्त भए । काठमाडौं, भक्तपुर र ललितपुर जस्ता ऐतिहासिक स्मारक क्षेत्रहरूमा भूकम्पले ठूलो विनाश गरेको थियो । भूकम्पपछि प्रभावित मानिसहरूको जीवन जति उथलपुथल भएको थियो, त्यति नै मात्रामा ध्वस्त संरचनाका कारण देशको अर्थतन्त्रमा गिरावट आयो । यस घटनाले आम नागरिकको मनोबलमा गम्भीर धक्का पुर्‍यायो । मानवीय क्षति र पूर्वाधारको विनाशबाहेक जनताका बासस्थानदेखि बालबालिका पढ्ने विद्यालयलगायतका सार्वजनिक भवनहरूसम्म भग्नावशेषमा बदलिँदाको पीडाले लाखौं नागरिकको मनमा भावनात्मक चोट बनेर अझै दुखाइरहेको छ । तर, भूकम्पमा भत्किएको धरहरा उठेसँगै हामी नेपालीहरूले त्यसबेला भएको विनाशलाई बिस्तारै बिर्संदै गएका छौं ।

स्थानीयका लागि अवसर 

कुनै न कुनै विपद् भोगेका स्थानीय समुदायहरूले पनि विपद् संग्रहालयको निर्माणमा ध्यान दिन सक्छन् । जस्तो कि, पीडा भोगेर आएको सानो समुदायले आफ्नो ठाउँमा परेको असरसँग सम्बन्धित फोटो संग्रहालय खोल्नु । यसले उनीहरूले बाँचेको इतिहास र विपद्का घटनाहरूको अभिलेख पुस्तौंपछिसम्मलाई हस्तान्तरण गर्न सकिन्छ । यस्तो पहलबाट समुदायको पहिचान त उजागर हुने नै भयो, पर्यटकहरूका लागि आकर्षक गन्तव्य थपिनुका साथै स्थानीय समुदायको संस्कृति संरक्षण र रोजगारी सिर्जनामा समेत योगदान पुग्छ । 

यस्ता साना–ठूला सम्भावनाहरूलाई 

पछ्याउँदै नेपालमा विपद् संग्रहालय निर्माण गर्ने परम्परा बसालियो भने यसले अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको पहिचानलाई सुदृढ पार्न पनि मद्दत गर्नेछ । यसबाट बाह्य पर्यटकहरूले यहाँ आएर समुदायमा भएका प्राकृतिक विपद्हरू र तिनको प्रभावका बारेमा गहिरो अध्ययन गर्ने अवसर पाउनेछन् । संग्रहालयमा आयोजना गर्न सकिने विशेष कार्यक्रमहरूले स्थानीय सिर्जनशीलतालाई प्रवर्द्धन गर्नेछ । सामुदायिक कार्यक्रम, कार्यशाला र अन्तर्क्रियाका माध्यमबाट विपद् र प्रकोपहरूका बारेमा नियमित चर्चा हुन थालेपछि जनचेतना अभिवृद्धिसँगै समुदायमा नयाँ विचारहरूको सिर्जना हुनेछ, जुन अहिले अत्यावश्यक छ । 

नेपालमा प्रकोप संग्रहालयको आवश्यकता 

कम्तीमा पनि राजधानी सहर काठमाडौंमा राष्ट्रियस्तरको विपद् संग्रहालय निर्माण भएमा त्यसले यसअघिका ठूला विपत्तिमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झना गर्ने एक स्थायी संरचनाको अभाव परिपूर्ति गर्छ । यसले विभिन्न दृष्टान्त र स्रोत सामग्रीहरूको माध्यमबाट घटनाको व्याख्या गर्नेछ । उदाहरणका लागि भूकम्पजन्य विपद्को संग्रहालय भएमा त्यसले भूकम्पको इतिहास, त्यसमा परेर पनि बाँच्न सफल मानिसहरूको गाथा र आफन्त गुमाएका व्यक्तिहरूले प्रियजनको वियोगपछि बोकिरहनुपरेको चोटलाई सम्बोधन गर्न सकिन्छ । त्यस्तो संग्रहालयमा भूकम्पका समयमा भएका वास्तविक घटनाहरूको वर्णन गर्ने मिडिया सामग्री, जस्तै चित्र, भिडियो र व्यक्तिगत अनुभवहरूलाई प्रस्तुत गर्न सकिन्छ । 

उदाहरणका लागि नेटफ्लिक्समा उपलब्ध ‘अर्थक्वेकः २०१५’ नामको डकुमेन्ट्री छ, जसले यो घटनाको प्रभावलाई व्यापक रूपमा प्रस्तुत गरेको छ । यस्ता सामग्रीले हामीलाई प्रश्न गर्न घच्घच्याउँछ, ‘हामी किन यस्ता यथार्थपरक र जानकारीमूलक संग्रहालयहरू निर्माण गर्न ढिलो गरिरहेका छौं ?’ किनभने संग्रहालयले केवल अतीतलाई सम्झाउने काम मात्र गर्दैन, यसले नयाँ पुस्तालाई इतिहासका घटनाहरूबारे बुझाउने माध्यमका रूपमा व्यापक शिक्षा र चेतना प्रवाह गर्न सक्छ । त्यसबाहेक भविष्यका विद्यार्थी र शोधकर्ताहरूले संग्रहालयलाई विपद् व्यवस्थापनका सिद्धान्त र अभ्यासबारे गहिरो अध्ययनको थलो बनाउन सक्छन् । 

ऐतिहासिक कालखण्डदेखि नै हामी नेपालीको सांस्कृतिक पहिचानको महत्त्वपूर्ण पाटो नै उच्च आत्मबल, दृढता र बहादुरी हो । विपद् संग्रहालयहरूले पनि यस्तै सांस्कृतिक विरासतको याद दिलाइरहनेछन्, जसले हामी जस्तोसुकै प्रकोपजन्य परिस्थितिबाट पनि एकजुट भई माथि उठेर उस्तै मनोबलका साथ अगाडि बढ्न सक्छौं भन्ने सन्देशलाई सदावहार बनाइराख्छ । यो रिक्तता मेट्न नेपाल सरकारले विपद् र दुःखद अनुभवलाई सम्झने माध्यमको जगेर्ना गर्न ढिला गर्नु हुँदैन । किनभने ऐतिहासिक घटनाहरूको स्मृति केवल कागजको पानामा मात्र संग्रहित भएर पुग्दैन, यो त जनजनका मनमनसम्म व्यापक बन्नुपर्छ, जसले आत्मसम्मान र धैर्यको ऊर्जा सञ्चार गरिरहोस् । तसर्थ तीनै तहका सरकारहरूले भव्य तर प्रयोगविहीन भ्यु टावरहरूको निर्माण रोकेर विपद् संग्रहालयहरू स्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ । 

–रिजाल जर्मनीको एर्फट विश्वविद्यालयबाट राजनीतिक सञ्चारमा स्नातकोत्तर गरिरहेकी छन् ।

हमिशा रिजाल जर्मनीको एर्फट विश्वविद्यालयबाट राजनीतिक सञ्चारमा स्नातकोत्तर गरिरहेकी छन् ।

Link copied successfully