पालो मिचेर अगाडि बढ्नेहरू पनि धेरै टाढा पुगेका छैनन् । अलिकति छिटो केही पाएजस्तो लागे पनि त्यो केवल क्षणिक र आत्मसन्तोष मात्रै हो ।
सन् २००८ मार्चको कुरा हो । हामी नयाँ बानेश्वरको एभरेस्ट बैंकको एटीएम मेसिनबाहिर थियौं । हामी अर्थात् प्रकाश शर्मा, जोन र म । प्रकाशजी र म त्यस घटनाका साक्षी मात्रै हौं ।
पात्रचाहिँ अमेरिकी नागरिक जोन र हामीले नचिनेका अर्का एक नेपाली पात्र हुन् । त्यतिबेला प्रकाशजी र म एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नेपाल अफिसमा काम गर्थ्यौं, जोन त्यही संस्थाको एसिया क्षेत्रका लागि ‘डेपुटी रिजनल डाइरेक्टर’ थिए ।
जोन एटीएमबाट पैसा निकाल्न लाइनमा उभिएका थिए । भित्र एक जना मान्छेले एटीएमबाट पैसा निकाल्दै थिए । उनको पछाडि लाइनमा अरू दुई मान्छे थपिइसकेका थिए ।
जब एटीएमभित्र रहेका व्यक्ति बाहिर निस्किए, जोनको पालो आयो । उनी एटीएमतिर लम्किए । उनी कोठामा छिर्न मात्रै के लागेका थिए, उनीभन्दा पछाडिका व्यक्ति उनलाई धकेल्दै अघि बढे ।
त्यो देखेर जोन रिसाए, उनलाई तान्दै भने, ‘देखेका छैनौ, म यहाँ अघिदेखि लाइनमा छु !’ तर ती व्यक्तिले जोनका कुरामा वास्ता गरेनन्, रोकिएनन् पनि, एटीएमभित्र छिरिहाले । ‘तिमीहरूको देशमा गर्ने व्यवहार यस्तै हो ?’ जोन रिसाए ।
आफ्नो पैसा निकालेपछि ती व्यक्ति जोनको पालो मिच्न सकेकामा गर्व गर्दै एटीएमबाट बाहिरिए र आफ्नो बाटो लागे । जोन पैसा निकाल्न एटीएम छिरेपछि प्रकाशजी र मैले एकअर्कालाई हेर्दै भन्यौं, ‘के गर्ने यार ?’
...
अर्को घटना सन् २००८ कै अगस्टको हो ।
लन्डन ब्रिजको ट्रेन स्टेसनबाट बाहिरिएर बस स्टेसनमा पुगेको थिएँ । मलाई लिभरपुल स्ट्रिट ट्रेन स्टेसन जाने बस चाहिएको थियो । लन्डन मेरा लागि नयाँ थियो । म एकातिर नर्भस थिएँ, अर्कोतिर हतारमा । बस स्टेसनमा केहीबेर आँखा डुलाएपछि मैले खोजेको बस फेला पर्यो । हतारिँदै बस चढें ।
जब बसभित्र पसेर बाहिर हेरें, तब पो थाहा पाएँ, बस चढ्ने ठाउँमा लामो लाइन रहेछ । म त धेरै जनाको पालो मिचेर बसमा चढेको रहेछु । यताउता आँखा डुलाएँ । एक–दुई मान्छेले मलाई अचम्म मान्दै हेर्दै रहेछन् । त्यो देखेपछि आफैं लज्जित भएँ ।
...
अक्टोबर २०२४ को अर्को घटना पनि छ । साथी थानेश्वर सापकोटा र म काठमाडौंबाट लन्डन फर्कंदै थियौं । एयरपोर्टमा बोर्डिङ पास लिएर सुरक्षा जाँच सकेपछि हामी जहाज चढ्न पर्खने ठाउँमा थियौं ।
हामीसँग समय थियो । भोक पनि उत्तिकै लागेको थियो । केही खानेकुरा किन्ने उद्देश्यले हामी पसलतिर लाग्यौं । त्यहाँ अरू देशका मान्छे पनि थिए । उनीहरू लामबद्ध थिए । हामी पनि लाइनमा मिसियौं ।
जब हामी लाइनमा थियौं, लाइन नलागीकन दुई जना सरासर हामीभन्दा अगाडि उभिए । पालो मिचेर अगाडि उभिएका दुई जनालाई थानेश्वरले भनिहाले, ‘हेलो सरहरू, हामी लाइनमा छौं है ।’
त्यसपछि भने उनीहरू पछाडि सरे । तर पनि वास्तविक लाइनमा उभिएनन्, पछाडि कसैको समानान्तर भएर टाँसिए ।
...
यी प्रतिनिधिमूलक घटनामध्ये पहिलोले एक अमेरिकी नागरिकले नेपाली असभ्य हुँदा रहेछन् भन्ने धारणा बनाए । दोस्रो घटनामा पालोको वास्ता नगर्ने नेपाली बानी बोकेर बेलायत पुग्दा आफैं लज्जित बन्नुपर्यो । तेस्रो घटनाले समय परिवर्तन भए पनि पालोको सन्दर्भमा हाम्रो बानी बदलिएको रहेनछ भन्ने देखायो ।
नेपालको सन्दर्भमा हामी पालोमा बस्न लजाउँछौं । अर्कोतर्फ आफू अरूभन्दा कुनै न कुनै मानेमा ठूलो हुँ, त्यसैले म पालोमा बस्दिनँ भन्ने भावनाले पनि सायद यसमा काम गरेको छ । कतिपय ठाउँमा पालोमा बस्ने आवश्यकता नै महसुस गरिँदैन । जो बलियो छ, ऊ अगाडि पुगिहाल्छ ।
तर पालो मिचेर अगाडि बढ्नेहरू पनि धेरै टाढा पुगेका छैनन् । अलिकति छिटो केही पाएजस्तो लागे पनि त्यो केवल क्षणिक र आत्मतुष्टि मात्रै हो । झट्ट सुन्दा पालोको नियम सामान्य लाग्न सक्छ । तर यस्तै स–साना कुराले नै विदेशीहरूले नेपाल या नेपालीप्रतिको आफ्नो धारणा बनाउँछन् । हामी सामान्य र साधारण कुरामै चुकिरहेका छौं भने महत्त्वपूर्ण काममा पनि त्यस्तै छौं भन्ने उनीहरूलाई पर्न सक्छ । जसले गर्दा हामीमाथि अरूको विश्वास कम हुन सक्छ ।
विकसित देशमा पालोलाई महत्त्वका रूपमा हेरिन्छ । पालो बस्ने बानी बेलायतीहरूको एउटा विशेषता नै हो । काम जतिसुकै सानो होस् या ठूलो, उनीहरू लाइनमा बसिहाल्छन् र पालो कुर्छन् । यो एउटा संस्कृतिकै रूपमा स्थापित भइसकेको छ । यसले अरू मानिसको उपस्थितिको सम्मान गर्दछ । बेलायतमा कसैले पालो मिच्न खोज्यो भने उसलाई असभ्य मानिन्छ ।
पालोको चलन नहुँदा मानिसले एकप्रकारको तनाव बेहोर्नुपर्छ । पर्खनु आफैंमा एकदमै झन्झटिलो काम हो । कसैलाई पनि पर्खन मन पर्दैन । अरू बेलाभन्दा पर्खंदा समय ढिलो गरी बित्छ । यसले मानिसलाई मनोवैज्ञानिक तनाव दिइरहेको हुन्छ । त्यसैले मानिसको जीवनलाई मनोवैज्ञानिक रूपमा सहज बनाउन लाइन बस्ने प्रणाली बनाइएको हो र यसले मानिसको तनाव कम गर्छ भन्ने मान्यता छ ।
सरकारी होस् या निजी अफिस, अथवा अरू कतै– कुनै पनि ठाउँमा पछि आएको मान्छेले आफ्नो शक्तिको प्रभावले पहिले आएको मान्छेको भन्दा छिटो काम गराउँछ भने पहिले आएको मान्छेलाई अन्याय हुन्छ । पहिले आएको मान्छेको काम पहिले हुनुपर्ने हो । पछि आएको मान्छेको काम स्वाभाविक रूपमा पछि नै हुनुपर्छ । सभ्य समाजमा हुने यही हो । त्यसो गर्न सकेका छैनौं भने बुझे हुन्छ– हामीले सभ्य समाज निर्माण गर्न सकेका छैनौं ।
पालो प्रणालीले सबैलाई समान व्यवहार गर्छ । यसले कसैमाथि पक्षपात गर्दैन । जहाँ समानता र निष्पक्षता हुन्छ, त्यहाँ सबैको न्याय हुन्छ । पालो प्रणाली नहुँदा मानिस अन्यायमा पर्ने हुँदा समाजमा समान न्याय प्रणाली स्थापित गर्न पालो प्रणालीले सघाउँछ । पालो प्रणाली सभ्य समाजको सूचक भएकाले र समाजलाई सभ्य बनाउन यसलाई प्रयोगमा ल्याउनुपर्छ ।
पछिल्लो समय नेपालमा केही ठाउँमा भने पालोमा बस्न थालिएको छ । बैंकहरूमा नगदसम्बन्धी काम गर्न पालो पर्खन टोकन लिनुपर्ने र नम्बरअनुसार पालो आउने सिस्टम बसाइएको छ, जुन प्रशंसनीय हो । लाइन लाग्ने र पालैपालो धैर्यसाथ काम गर्ने, काम गर्दा पालो मिच्न दबाब नआउने हो भने काममा दक्षता हासिल हुन्छ । त्यस्तो कामको परिणामको गुणस्तर पनि राम्रो हुन्छ । यसतर्फ हामी सचेत हुन जरुरी छ, जसलाई देखेर ‘जोन’हरूले हामीलाई असभ्य नठानून् ।
