नयाँ किताब पाउँदाको खुसी

चैत्र २७, २०८१

डा. राजेन्द्र कोजु

The joy of getting a new book

हाम्रो सन्दर्भमा फागुन भनेको स्कुल सुरु हुने महिना पनि थियो । मध्य जाडो पुस र माघमा मीनपचासको बिन्दास छुट्टी सकिएपछि स्कुल जानुपर्ने महिना । दिन लामो हुँदै गर्दा बिहान उज्यालो छिटो हुन्छ । पुस र माघमा जस्तो हात ठिहिर्‍याउँदैनथ्यो ।

त्यतिबेला स्कुल जान हामी केटाकेटीले आवश्यक तयारी केही गरेको थाहा छैन । आमाले व्यवस्था गरिदिनुहुन्थ्यो । बस्, झोला टिप्यो, कुद्यो । सबैभन्दा महत्त्वपूर्ण किताबको व्यवस्था नै हुन्थ्यो । किताब यानि पुस्तक र कापी । 

स्कुल पढुन्जेल अधिकांश पुरानै किताब पढियो । एकाधचाहिँ पुरानो आधा मोलमा किन्न नपाएर, मागेर पनि नपाएर, दाइदिदीको नमिलेर, आफ्नै पालामा पाठ्यक्रम परिवर्तन भयो भने आमालाई बाध्यता पर्थ्यो नयाँ किताब किनिदिने । त्यो नयाँ किताब किन्दा आमालाई कति गाह्रो भयो, त्यो त थाहा भएन । तर म त्यसबेला औधी खुसी हुन्थें । 

धुलिखेलको सरस्वती बजारको पुस्तक भण्डारबाट पहिलो पटक नयाँ किताब किनेर ल्याउँदा धेरैपल्ट ओल्टाइ–पल्टाइ हेरेको सम्झन्छु । त्यसलाई खुबै सुम्सुम्याएँ । सुँघेर हेरें । नयाँ किताबको बास्नै अर्कै थियो । पुरानो किताबमा त्यस्तो बास्ना कहाँ पाइन्थ्यो र ? उस्तै परे ढुसी गन्हाउँथ्यो । 

नयाँ किताब ल्याएपछि पाना पल्टाउँदा पनि दोब्रिन्छ कि भनेर अलग्गै माथिबाट एउटा मात्र पन्ना बिस्तारै पल्टाउँथें । अरू पुरानो किताबमा भन्दा अलि राम्रो खोल मिलाएर त्यही नयाँ किताबमा राखें । किताब जतन गरेर किताबको चाङमा राखें । सायद सपना पनि त्यही किताबको देखें कि ! 

पुरानो किताबको त पहिचान नै छुट्टै हुन्थ्यो । कुनै किताब चिन्न केही पाना पल्टाउनुपर्थ्यो । सुरुका दुई तीन पन्ना नै गायब हुन्थे । 

कुनै किताबको तलतिरको पन्ना पल्टाउने ठाउँ सुन्निएर मोटाएको जस्तो, माझीऔंला अथवा चोर औंलाले थिचेर जबर्जस्ती पल्टाउँदा, पन्ना दोब्रिएर माथि उठ्दा बीचतिरको पन्नासम्म उठ्दा– सानोतिनो पहाड नै बनेको जस्तो हुन्थ्यो । अझ त्यहाँ थुकको डोब त कति हो कति ! तर छ्या भन्न मिल्दैनथ्यो । किनकि किताबलाई सरस्वती माता मानिन्थ्यो, ढोग्नुपर्थ्यो । 

कुनै किताबमा राम्रो अक्षरले आफ्नो नाम लेखिएको हुन्थ्यो । नाम पनि एकोहोरो धर्को नि हुन्थ्यो, कुनै कुनैमा दोहोरो धर्कोले राम्ररी लेखेको हुन्थ्यो । कुनै किताबमा बीचतिर वा पछाडितिर आफ्नो साथीको नाम पनि हुन्थ्यो । कुनैमा फूलजस्तै चित्र नि कोरिएको हुन्थ्यो । केरमेट पनि मनग्गे हुन्थ्यो । अभ्यास पुस्तिकामा मिले पनि नमिले पनि उत्तर लेखिएको हुन्थ्यो । तर जे जस्तो भए पनि आफूले नपढेको किताब पाएपछि एकपल्ट पल्टाएर हेर्न साह्रै रमाइलो लाग्थ्यो । 

स्कुल लाग्नु केही दिनअघि किताब पाइयो भने घरमा सुकुलमाथि घँॅडा टेकेर त्यस्तो किताब पल्टाएर हेरिराख्न मन लाग्थ्यो । पढ्न चाहिँ कुनै कथा भए मात्र । अंग्रेजी, गणित, सामाजिकभन्दा नेपाली विषयको पुस्तक रमाइलो लाग्थ्यो । किनकि, त्यहाँ कथा नि हुन्थ्यो । चित्र पनि हुन्थ्यो । कालो धर्काले कोरिएका चित्रहरू जस्ता नै भए पनि रमाइला हुन्थे । पुरानो किताबलाई चिनियाँ सचित्रका खोल हालेर नयाँ देखाइन्थ्यो । पेन्सिलले लेखेको भए मेटिन्थ्यो । पुरानो नाममा मिलाई–मिलाई आफ्नो नाम बनाएर, मिल्दै मिलेन भने राम्रोसँग केरेर माथि आफ्नो नाम टाँसिन्थ्यो । जे भए पनि किताबको खुबै माया लाग्थ्यो । 

कापीको कुरा अर्कै छ । किताबजस्तो पुरानो, लेखिसकेको कापीमा फेरि लेख्न मिल्दैनथ्यो । खाली पन्ना नै चाहिन्थ्यो । आमाले एक दुइटा कापी किनिदिनुहुन्थ्यो । तर सबै विषयलाई छुट्टाछुट्टै पुग्दैनथ्यो । कक्षामा कसैकसैका स–साना नै भए पनि छुट्टाछुट्टै देख्दा रमाइलो लाग्थ्यो । दाइदिदीका पुरानो कापी कहाँ छन् भनेर खोजिन्थ्यो ।

आफ्नो पनि पुरानो कापी झिकेर, पछाडि बाँकी भएका जत्ति खाली पन्ना मिलाएर निकालिन्थ्यो । अनि सबै खाली पन्ना चाङ मिलाएर एउटा ठूलो कापी बन्थ्यो । अहिलेको जस्तो स्ट्याप्लर थिएन । सियो र मोटो धागोले सिलाउनु पर्थ्यो । कापीका पानाहरू एकनासका हुने त कुरै भएन, कुनै पूरै सेतो, कुनै फुस्रो सेतो, कुनैको धर्सा नीलो, कुनैको रातो, कुनैको कालो, धर्साका बीचको भाग पनि कुनै मसिना र कुनै बाक्ला । जे जस्तो भए पनि आफ्नै कापी पाउँदा त्यसै मख्ख भइन्थ्यो ।

यसरी जम्मा गरिएको किताबकापी राख्ने झोला नि चाहियो । झोला चाहिँ पुरानै । याद भए अनुसार झोला खैरो रंगको बर्सादीमा ओढ्ने जस्तो कपडाको हुन्थ्यो । मुखचाहिँ नाइलनको डोरी तानेर बन्द गर्ने खालको । दुईतिर कुममा अड्काएर पछाडि भिर्न पनि पहेंलो नाइलनकै डोरी उनेको हुन्थ्यो । त्यो झोला भिरेको पनि सायद ९/१० कक्षामा पढ्दाताका हो । अरू झोला बोकेको याद छैन । बरु झोलाबिना नै किताबकापी च्यापेर स्कुल दौडेको भने खुबै याद आउँछ । 

क्याम्पस पढ्नेले एउटा कापी, त्यो नि दोब्राएर पछाडिको खल्तीमा घुसाइ सानसँग हिँडेको देख्दा ‘ए, क्याम्पस  पढ्दा’ किताब चाहिँदैन रहेछ भन्ने लाग्थ्यो । पछि मोटा–मोटा किताब पढ्नुपरेपछि त्यो सोचले बल्ढ्याङ खायो ।

कलम फाउन्टेन पेन र फ्लेम कम्पनीको धेरै याद छ । १० कक्षा पुगेपछि हिरो कलम चल्यो । डटपेन मसी सकिएपछि फेर्नॅपर्ने भएकाले महँगो मानिन्थ्यो । मोनएमी भन्ने खुबै चल्यो । कलमको भित्री पेटमा पिस्टनले तानेर मसी भरेर लेख्ने कलम नै धेरै चलाएको याद आउँछ । मसी चेलपार्क, कोरेस भन्ने तयारी नि पाउँथ्यो । तर कोरेसको ट्याब्लेट किनेर पिसेर, पानीमा मिलाएर बनेको मसी खुब याद आउँछ ।

डा.

Link copied successfully