वर्गवाद, जातिवादजस्तै ‘आयुवाद’ पनि आज राजनीतिक पन्थमा रूपान्तर हुन पुगेको छ, आजको युवामा ज्ञान र क्षमताभन्दा बढी महìवाकांक्षा र अहंकार प्रबल देखिन्छ, राजनीतिमा आयुवाद यसैको सहउत्पादन हो
कर्णप्रिय सुनिने ‘युवा नेतृत्व’ आजको राजनीतिमा निकै चल्तीको शब्द हो । आजभोलि हामीले राजनीतिको बजारमा सुनिरहेका हुन्छौं, ‘नेतृत्व युवाले गर्नुपर्छ, सबै बिग्रेको बूढाहरूले गर्दा हो, युवा आऊ देश बचाऊ’ आदि इत्यादि । झट्ट सुन्दा सत्य पनि हो । राजनीतिको नेतृत्वमा युवा आउनै पर्छ ।
देशको नेतृत्व पनि युवाले गर्नुपर्छ । र, बूढा नेताहरूले देश बिगारेकामा पनि कुनै आशंका छैन । तर ‘युवा नेतृत्व’ वा ‘युवा नेता’ भन्ने कुरा मोहमायाको शाब्दिक कथ्यमा जति कर्णप्रिय सुनिन्छ, तथ्यमा भने त्यस्तो पटक्कै देखिँदैन । वर्तमान राजनीतिको जग हिजो कसरी हालिएको थियो भन्ने विषयमा अनभिज्ञ अधिकांश युवाहरूको ‘युवा नेतृत्व’ चाहियो भन्ने सुगारटानलाई अलिकति पर्गेल्न यो लेख लेखिएको हो ।
प्रसिद्ध आइरिस कवि तथा नाटककार अस्कर वाइल्डले केही व्यंग्यात्मक अर्थमा उमेरको कुरा गर्दै भनेका थिए– ‘बूढाहरूले हरेक कुरामा विश्वास गर्छन्, अधबैंसेहरू हरेक कुरामा आशंका गर्छन् र युवाले चाहिँ हरेक कुरा जानेका छन् ।’ प्रसंग युवा भएको हुनाले वाइल्डका बूढा र अधबैंसेहरूलाई छोडिदिऊँ । ‘युवाहरूले हरेक कुरा जानेका छन्’ भन्ने वाइल्डको व्यंग्य मिश्रित अर्थलाई लिने हो भने ‘युवा नेतृत्व’ भित्र लुकेको नेपाली राजनीतिको यथार्थ राम्रैसँग उजागर हुन्छ । युवाहरू राजनीतिमा आउँदैमा नेपाली राजनीतिमा व्यापक सकारात्मक परिवर्तन हुन्छ ? अथवा राजनीतिमा युवाहरूको कमीले गर्दा नै मुलुकको यस्तो अवस्था भएको हो ? कतै मुलुकको दूरवस्थाका लागि अहिले बूढा भइसकेका तर तात्कालिक समयका युवा नेताहरूको अज्ञानता, अपरिपक्वता र निर्णय गर्न सक्ने क्षमताको अभाव पो बढी जिम्मेवार छ कि ? राजनीतिक सुझबुझ, अनुभव र ज्ञानको कुराभन्दा बढी उमेरको प्राविधिक पक्षलाई मात्र आधार बनाएर वर्तमान राजनीतिक दूरवस्थाको मूल्यांकन गर्ने प्रवृत्ति आम युवामा निरपेक्ष रूपले प्रभावी किन छ ?
अमेरिकास्थित भर्जिनिया कमनवेल्थ विश्वविद्यालयकी प्रोफेसर तथा ‘भर्जिनिया सेन्टर अन एजिङ’ की कार्यकारी निर्देशक ट्रेसी गेंड्र्रोन भन्छिन्, ‘व्यापक परिभाषाको आलोकमा उमेरका आधारमा गरिने हरेक टिप्पणीहरू रूढिवादी भेदभाव हो, उमेरमा चाहे उनीहरू हामीभन्दा साना होऊन् अथवा ठूला ।’ ट्रेसीको विचारमा उमेर मान्छेको पहिचानको एउटा अंश मात्र हो, जो मान्छेको अद्वितीय व्यक्तित्व निर्माण गर्नका लागि अन्य कैयौं पक्षसँग समान रूपमा जोडिएको हुन्छ । त्यसरी नै आयुवादले पनि भेदभावका अन्य धेरै पक्षसँग जोडिएर नोक्सानको चक्रवृत्ति असर उत्पन्न गर्छ । आफ्नो पुस्तक ‘एजिज्म अनमास्क्ड’ मार्फत ट्रेसीले उमेरको सकारात्मकभन्दा नकारात्मक पक्षको बढी चर्चा हुनु विषयवस्तुको एउटा पक्षमा मात्र ध्यान दिएको ठान्छिन् । उनको विचारमा ‘उमेर पाको हुनु भनेको क्षमतामा गिरावट आउँदै जाने मात्र होइन, वृद्धि हुँदै जाने कुरा पनि सँगसँगै मिसिएको हुन्छ ।’ आफैंतिर फर्केर सामान्य अवलोकन गरौं ।
सामान्य अवलोकन
नेपालका राजनीतिक दल र सरकारको नेतृत्वमा सधैं पाको उमेरका बूढाहरू मात्र थिए र छन् भन्ने कथनमा कुनै सत्यता छैन । जस्तैः मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ४१ वर्षका थिए । पहिलो पटक शक्तिशाली गृहमन्त्री तथा प्रधानमन्त्री हुँदा बीपी कोइराला क्रमशः ३६ तथा ४५ वर्षका थिए । पृथ्वीनारायण शाहपछिका प्रभावशाली राजा महेन्द्र पनि ३५ वर्षमै राजा भए । राजतन्त्रको पालामा प्रधानमन्त्री बन्दा सूर्यबहादुर थापाको उमेर ३५ वर्ष मात्र थियो । पहिलो संसद्का सभामुख चयन हुँदा कृष्णप्रसाद भट्टराई पनि ३५ वर्षका थिए । हाल
नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा ४४ वर्षमा गृहमन्त्री र ४९ वर्षमा प्रधानमन्त्री भएका व्यक्ति हुन् । दलको नेतृत्वतर्फ हेर्दा पनि मालेको महासचिव हुँदा सीपी मैनाली २७ वर्षका मात्र थिए भने एमालेको नेतृत्व गर्दा मदन भण्डारीको उमेर भर्खरै ४० वर्षको थियो । हाल माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल तत्कालीन नेकपा मशालको नेतृत्व गर्दा जम्मा ३५ वर्षका थिए । यस्ता थप उदाहरणहरू अनेक छन् ।
चाहे माथि उदाहरणमा परेका वा नपरेका त्यति बेलाका युवाहरू होऊन् वा आज निरपेक्ष युवा नेतृत्वको कुरा गर्ने युवाहरू होऊन्, आरम्भमा उनीहरूको भावना पवित्र नै थियो र हुन्छ । राजनीतिमार्फत जनसेवा गर्नु, राजकीय पदमार्फत सेवा प्रवाह गर्नु र नागरिकको चाहनाबमोजिम समाधान खोज्नु नै आरम्भमा प्रत्येक युवाको चाहना तथा इच्छा हुन्छ । तर राज्य, समाज र राजनीतिक व्यवस्थापनको विषय बहुआयामिक र जटिल हुन्छ । राज्य, समाज र राजनीतिका भिन्न–भिन्न आयामहरूको बीचमा द्वन्द्व र एकता पनि सँगसँगै हुन्छ । यस्तो द्वन्द्व र एकताको पक्षलाई मसिनो अध्ययन, अवलोकन र अनुभवका आधारमा कर्तव्य र अधिकारको सन्तुलन कायम गर्नुपर्ने हुन्छ । यसका लागि युवा नेताहरूमा उमेर, ऊर्जा र इमान मात्र भएर पुग्दैन । पर्याप्त मात्रामा ज्ञान र अनुभवको खाँचो पर्छ । भनाइ पनि छ, ‘कि पढेर जान्दछ कि परेर’ ।
वास्तवमा २००७ सालदेखिको नेपालको प्रमुख समस्या ज्ञान र अनुभवहीन युवा नेतृत्व सत्तामा पुग्नु तर ज्ञान र अनुभवको कमीले गर्दा अपरिपक्व निर्णय लिँदै जानु हो । अहिले नेपाली राजनीतिको केन्द्रमा देखिएका बूढा नेताहरूलाई हेरेर युवा नेताको आवश्यकतालाई निरपेक्ष रूपमा समाधानको अचूक उपाय मान्न सकिन्न । किनभने अहिलेका अधिकांश प्रौढ नेताहरूले युवावस्थामै आ–आफ्नो दलमा नेतृत्व हत्याएका थिए । तर आज बिग्रिएको राजनीतिलाई हेरेर उनीहरूले युवावस्थामा गरेको अपरिपक्व नेतृत्व र निर्णयलाई आजको युवाले बुझ्नै खोजेको छैन । केवल पुराना नेताहरूको वर्तमान असफलतामा उमेरको समस्यालाई देखाएर मात्र आजका युवाले राजनीतिको सही मार्ग पहिल्याउन सक्ने छैनन् । किनकि राजनीतिको बहुआयामिक पक्षलाई नजरअन्दाज गरेर उमेरको कुरालाई मात्र केन्द्रमा राख्ने हो भने युवाहरू अझै कुहिरोको काग बनेर अलमलिने छन् ।
नेपाली राजनीतिमा वर्गवादको मात्र मुद्दा उठाउने कम्युनिस्टहरूको विगत र वर्तमान तथा जातिवादको मात्र मुद्दा उठाउने जातीय दलहरूको विगत र वर्तमानलाई तुलना गर्ने हो भने त्योभन्दा पनि भद्दा रूप आयुलाई मात्र राजनीतिक मुद्दा बनाउनेहरूको हुनेछ । किनकि वर्गवाद, जातिवाद र आयुवाद एकांकी र द्वन्द्वका मुद्दाहरू हुन् । एकता, समन्वय र सन्तुलनका लागि एकांकी सोचभन्दा माथिबाट विषयवस्तुलाई हेर्न सक्ने दृष्टिकोणको आवश्यकता पर्दछ । पुराना नेताहरू निकम्मा निस्के, उनीहरूप्रति जनआक्रोश चुलियो र उनीहरूले धेरै भ्रष्टाचार गरे भन्ने युवाहरूको आरोपमा धेरै सत्यता छ । तर उनीहरूकै दलभित्र रहेका अहिलेका दोस्रो र तेस्रो पुस्ताका युवा नेताहरूले आफूलाई अब्बल प्रमाणित गरेर पुरातन नेतृत्वलाई विस्थापित गर्न असफल भएको कुरा पनि उत्तिकै सत्य हो । त्यसकारण वर्गवाद, जातिवादजस्तै ‘आयुवाद’ पनि आज राजनीतिक पन्थमा रूपान्तर हुन पुगेको छ ।
आनुभविक परीक्षण
नेपाली राजनीतिमा उमेरको कुरा गर्दा केही आनुभविक पक्षहरू बढी प्रभावी ढंगले सक्रिय बन्ने वातावरण विद्यमान छ । कतै पनि अवसर नपाउँदा एकातिर युवामा असन्तोष छ । अर्कोतिर, चाहिँदो क्षमता नभएका प्रौढ नेताहरू बदनाम छन् । यही राजनीतिक परिवेशमा ‘अब युवा’ भन्ने
‘आयुवादी’ आवरण र अभियानको एउटा लहर चल्न थाल्यो । यस्तो लहरले सानो खहरे निर्माण गर्नेबित्तिकै समाजको बौद्धिक र सञ्चार जगत्ले पनि बिनाकुनै परीक्षण सदासयतासहित शंकाको लाभ दियो । उता केही स्थानीय, प्रदेश र संघीय निर्वाचनमा केही युवाले अप्रत्याशित चुनावी सफलता हासिल गरे । यो सकारात्मक कुरा हो तर चुनावी सफलता हासिल गरेका युवाको सुझबुझ र कार्यसम्पादन कस्तो रह्यो भन्ने कुरामा नजरअन्दाज गरिएको छ ।
के पुराना दल र नेताहरूको विकल्पमा नयाँ भनिएका युवाको भर पर्न सकिने स्थिति छ ? आज मुलुकले अपेक्षा गरेको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणका लागि उदयमान भनिएका युवाको क्षमतामा विश्वास गर्न सकिन्छ ? केवल सस्तो लोकप्रियताको क्षणिक रमझमबाट मात्र राजनीतिको रथ हाँक्ने दाबीमा कति सत्यता छ ? आदि सवालको सेरोफेरोबाट युवा राजनीतिको आयुवादलाई पनि प्रश्न गर्नुपर्ने समय आएको छ । किनभने राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणका लागि इमान, भावना र उमेर भएर मात्र पुग्दैन । त्योभन्दा बढी ज्ञान, क्षमता र दक्षता चाहिन्छ । तर बिनापूर्वाग्रह टिप्पणी गर्नुपर्दा अपवादबाहेक आजको युवामा ज्ञान र क्षमताभन्दा बढी महत्त्वाकांक्षा र अहंकार प्रबल देखिन्छ । राजनीतिमा आयुवाद यसैको सहउत्पादन हो ।
ज्ञान, क्षमता र दक्षताका स्रोतहरू भनेका शिक्षा र अनुभव हुन् । मुलुकको शिक्षा निम्छरो छ । र, औपचारिक शिक्षा प्रमाणपत्र प्राप्त गर्न र घोकेर लोक सेवा परीक्षा पास गर्नका लागि मात्र उपयोगी छ । यसले विवेकी र दक्ष नागरिक उत्पादन गर्नुभन्दा मूलतः नोकरशाहको उत्पादन गर्छ । त्यसैले समाजमा बौद्धिक जमातको ज्ञानको गहिराइ पनि फिक्का छ । समग्र समाजको बौद्धिकता कमजोर भएपछि शिक्षा पनि कमजोर हुनु स्वाभाविक हुन्छ । कमजोर शिक्षाको नागरिकले आर्जन गरेको अनुभव र ज्ञान पनि निम्छरो नै हुन्छ । त्यसैले पुराना दलका कमजोर शिक्षाका युवा नेताहरू राजनीति र राजकीय अनुभवसहित बूढा भए तर ज्ञानका हिसाबले वृद्ध बालकजस्ता भए । आधारभूत ज्ञानको कमी भएपछि मुलुक रूपान्तरणको सोच, मार्गचित्र र योजना हुने कुरै भएन । बरु सत्ता र शक्तिको भोगले गर्दा बिस्तारै विचलन र भ्रष्टाचारतिर लागे । यसो भन्दैमा पुराना दलका नेताहरूको युवावयमा विचार, आदर्श र भावना थिएन भन्ने होइन । त्यसको विपरीत अहिलेका युवामा चाहिँ आम नागरिकमा रहेको असन्तुष्टि र आक्रोशलाई भजाउन सक्ने ‘मार्केटिङ’ को सीप मात्र बढी छ । राजनीतिक ‘मार्केटिङ’ द्वारा निर्मित युवा नेताबाट कुनै दिगो परिणामको आशा गर्न सकिँदैन ।
जसरी विश्वविद्यालयको उद्देश्य कल्पना शक्ति र अनुभवलाई जोड्ने हुन्छ, त्यसरी नै राजनीतिमा पनि युवा पुस्तासँग रहेको सिर्जनात्मकतालाई जेठो पुस्तासँग रहेको प्रचुर अनुभवसँग जोड्नैपर्ने हुन्छ । आज राजनीतिको मूल समस्या भनेकै कल्पनाशील व्यक्तिहरूमा अनुभवको अभाव र अनुभवीहरूमा कल्पनाशीलताको अभाव हो । यसलाई सन्तुलनमा नल्याउँदासम्म राजनीतिमा युवा आए पनि परिणाम फरक हुने छैन । आज राजनीतिमा आउन खोज्ने अधिकांश युवाको प्रवृत्ति पाका अनुभवीबाट सिक्न नचाहने, आफ्नै सानो पन्थमा रमाउने र सबै आफैंले जानेको अभिनय गर्नेतिर उद्यत छ । भीडमा टेकेर शिरमा चढ्नेहरूको बिगबिगीले मात्र समस्याको कुनै समाधान दिँदैन ।
र, अन्त्यमा
चीनमा चाउ एन लाईले आफ्नो युवावस्थामा युरोपमा पुगेर शिक्षा हासिल गरे, जसले गर्दा चिनियाँ राजनीतिक क्रान्तिको उपलब्धिलाई आर्थिक क्रान्तिमा पनि रूपान्तरण गर्न सके । सिंगापुरका लि क्वानयु युवावयमै राजनीतिमा प्रवेश गरे तर विश्व प्रसिद्ध बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गरेका थिए । त्यसकारण फरक परिणामका लागि शिक्षा र अनुभवको अन्योन्याश्रित सम्बन्ध र सन्तुलन अपरिहार्य र अत्यावश्यक सर्त हो । हरेक मानिस जन्मेपछि बच्चा, युवा र प्रौढ हुन्छ । स्वाभाविक हो, बच्चा र प्रौढ अवस्थामा भन्दा मानिसले युवा उमेरमा सक्रिय बन्ने, जोखिम मोल्ने र निर्णय लिने क्षमता बढी हुन्छ । तर, त्यसले परिणामलाई गुणात्मक रूपले फरक पार्दैन । आज मुलुकले हरेक क्षेत्रमा सानोतिनो राजनीतिक सुधार र प्राविधिक विकल्पको राजनीति खोजेको होइन । बरु सामाजिक पुनर्जागरणको अभियान खोजेको छ ।
