संविधानले खोजेको महिला नेतृत्व

नेपालले पनि पहिलेका गल्तीबाट सिकेर सबै तहमा समानुपातिक सहभागिताका लागि महिला प्रतिनिधित्व बढाउनै पर्छ, यसका लागि निर्वाचनमा न्यूनतम र बाध्यकारी व्यवस्थाभन्दा माथि उठेर मापदण्ड बनाउनुपर्छ अनि मात्र गणतान्त्रिक नेपालका राजनैतिक दलहरूले जस पाउन सक्छन्

फाल्गुन १६, २०८१

सरु जोशी

Women's leadership sought by the constitution

नेपाल बहुल जाति, लिंग, धर्म र संस्कृति भएको देश भए पनि लामो समयदेखि मुख्य रूपमा एकल लिंगको प्रभुत्वमा रहेको जगजाहेर छ । यिनै विभेदको अन्त्य गर्न जनआन्दोलन भए । दुईपल्ट संविधान सभाको निर्वाचन र राज्यको पुनर्संरचना भयो र २०७२ मा संविधान जारी भयो । प्रस्तावनामा नै लैंगिक समानता र समावेशीकरणलाई मूल आधार बनाइयो ।

महिलाको हकलाई मौलिक हकका रूपमा स्थापित गरियो । यसरी नेपालमा धेरै सकारात्मक परिणाम देखिनुका साथै तीनै तहको सरकार र संसद् लैंगिक दृष्टिकोणले समावेशी बनाउने संस्थागत प्रयास भए । सायद यिनै कारणले विश्वको लैंगिक दूरी सूचकमा नेपाल ५८ औं स्थान माथि जान सफल रह्यो ।

संविधान जारी भएपछि हामीले २०७४ र २०७९ दुईवटा आमनिर्वाचन सम्पन्न गर्‍यौं । तर संविधानले अपनाएको समानता र समावेशीकरणको सिद्धान्त र मूल्य–मान्यताबमोजिम निर्वाचन सम्पन्न हुन सकेनन् । हाम्रो संविधानको धारा ३८.४ मा राज्यको सम्पूर्ण संरचनामा महिलाको समानुपातिक सहभागितालाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ ।

तीन वर्षभित्र कानुन ल्याएर यो मौलिक हकको कार्यान्वयन गर्नुपर्ने दायित्व सरकारको थियो, तर यसले अहिलेसम्म प्राथमिकता पाउन सकेन । निर्वाचन आयोगले यसै वर्ष ‘निर्वाचन र महिला ः नेपालको प्रयास, उपलब्धि र आगामी कार्यदिशा’का विषयमा छलफल चलाएको थियो । साथै एकीकृत निर्वाचन विधेयक निर्माण गरी गृह मन्त्रालयमा पठाएको छ, जुन विगत २० महिनादेखि अघि बढ्न सकेको छैन ।

महिलाको प्रतिनिधित्वका विषयमा संविधानले सूचकसहित तोकेरै आर्थिक, सामाजिक र शैक्षिक दृष्टिले पछाडि परेका महिलाको प्रतिनिधित्वको सहभागिता सुनिश्चित गरेको छ । वास्तवमा यसरी तोकेरै संविधानमा लेखिनुको पछि गहिरो चिन्तन र लक्ष्य छ । सुखद कुरा संविधानले राखेका ३ सूचक मापन गर्न हामीसँग २०७८ को राष्ट्रिय जनगणनाको तथ्यांक उपलब्ध छ । यसमा नेपालका सम्पूर्ण ६ लाख ६६ हजार ९ सय ३७ घर–परिवारबाट ८० वटा प्रश्न सोधेर महिलाका आर्थिक, सामाजिक र शैक्षिक अवस्थाबारे प्रमाण संकलन गरिएका छन् । 

२०७८ को जनगणनाले नेपालमा करिब २ प्रतिशत परिवारले महिलाका नाममा घर र ९.७ प्रतिशतले जग्गा राखेका छन् । समष्टिगत रूपमा २४ प्रतिशत परिवारले मात्र महिलाका नाममा घर वा जग्गा राखेको छ । नेपालका तीन तिहाइ परिवारमा महिलाको आर्थिक स्रोतमा पहुँच छैन । फेरि घरजग्गामा पहुँच हुनेबित्तिकै त्यसमाथि नियन्त्रण भइहाल्छ भन्ने पनि छैन । २०७८ मै नेपालले सम्पन्न गरेको राष्ट्रिय कृषि गणनामा महिला कृषकको संख्या ३२ प्रतिशत मात्र देखियो ।

जबकि, नेपालमा ७० प्रतिशत महिला कृषक छन् । त्यसो भए कसरी यो संख्या आधाभन्दा कममा झर्न पुग्यो त ? हामीकहाँ हिमाल, पहाडमा ४ आना र तराईमा ८ धुर जग्गामा खेतीपाती गरेकालाई मात्रै कृषक मानिँदो रहेछ । परिवारको नामको जग्गामा खेतीपाती गर्दा महिला कृषक मानिँदैन रहेछन् । त्यस्तै, नेपालमा झन्डै ८४ प्रतिशत महिला अनौपचारिक क्षेत्रमा काम गर्छन् ।

कमजोर आर्थिक अवस्था र रात–बिहानको घरको जिम्मेवारीसहित नेपाली महिलाको मूलधारको राजनीतिमा सहज पहुँच अत्यन्त कठिन छ । यस्तै विभिन्न कारणवश आर्थिक रूपमा पछाडि पारिएका महिलाको राजनैतिक प्रतिनिधित्व भएमा हाम्रा नीति तथा प्रणालीद्वारा महिलाले पुस्तौंदेखि भोग्दै आएको गरिबी घटाउन सकिन्छ भन्ने परिकल्पना संविधानले गरेको होला । तर यथार्थ, यस्तो आर्थिक हैसियत र खर्चिलो निर्वाचन प्रणालीका लागि महिलाले सहजै प्रतिनिधित्वको आकांक्षा राख्न सक्तैनन् । 

२०७८ को राष्ट्रिय जनगणनाअनुसार ११२ छोरा जन्मँदा १०० मात्रै छोरी जन्मन थाले । छोरीलाई घृणा गर्ने भयानक सामाजिक परिस्थिति सातै प्रदेशमा बढेको छ । मानसिक रोग, घरेलु हिंसा, साइबर अपराध, बलात्कार, परम्परागत सामाजिक मूल्य मान्यता र पितृसत्तात्मक सोचले महिला थलिएका छन् । 

विसं. २०८० मात्रै ७ लाख ७१ हजार ७ सय ३१ जना पुरुषले नेपाल छोडे । यसले अतिरिक्त कामको बोझ पनि महिलाकै काँधमा थपिएको छ । आईआईडीएसले गरेको एक अध्ययनमा दक्षिण एसियामा सबैभन्दा धेरै नेपाली महिलाले घरायसी र स्याहार–सुसारको एवं सरसफाइको काम गर्छन् । 

पुरुष नेतालाई जस्तै घरको काम अन्यलाई पन्छाएर राजनीति गर्ने लक्जरी महिलामा हुँदैन रहेछ । यसैले संविधानले मूल्य मान्यता परिवर्तन गर्ने नीति तथा कार्यक्रम ल्याउने अवसर पाओस् भनी विशेष व्यवस्थासहित राज्यको सम्पूर्ण सरंचनामा समानुपातिक सहभागिताको हक सुनिश्चित गरिदिएको हो ।

मुलुकमा पुरुषको साक्षरता दर ८३ प्रतिशत र महिलाको ६९ प्रतिशतमात्रै रहेको छ । शैक्षिक रूपले पछि पर्दा महिलाले सधैं पछाडि पर्नुपर्ने, कम पारिश्रमिक पाउने काम गर्नुपर्ने, बालविवाह हुने र हिंसा भोग्नुपर्ने अवस्था छ । तर शिक्षाको औपचारिक डिग्री नभएका तर अनुभवबाट खारिएका महिलाले नीति निर्माण गर्ने अवसर पाए यस्ता बेथितिको सम्बोधन गर्न सक्छन् भनेरै संविधानले अनुभवको योग्यतालाई पनि प्रतिनिधित्व गर्ने अमूल्य अवसर प्रदान गरेको हो ।

वास्तवमा यौनिक तथा लैंगिक अल्पसंख्यक महिला तथा सीमान्तकृत समुदायमा रहेका महिलाका समस्या अथाह छन्, जसले उनीहरूलाई सहजै वडा, पालिका र संसद्मा पुग्न अवरोध पुर्‍याइरहेको छ । २०६४ देखि २०७९ को निर्वाचनसम्मका तथ्यांकले यसैलाई पुष्टि गरेको छ । दुःखको कुरा, २०६४ देखि २०७९ सम्म आउँदा प्रत्यक्षतर्फ निर्वाचित महिलाको उपस्थिति १२ बाट ५ प्रतिशतमा झरेको छ ।

२०७९ को निर्वाचनमा प्रतिनिधि सभामा २७५ र प्रदेश सभामा ५५० गरी ८२५ सदस्य निर्वाचित भए । संघीय प्रतिनिधिसभामा पहिलो हुने निर्वाचित हुनेमा पुरुष १५६ जना (९४.५५ प्रतिशत) छन् भने महिला ९ जना (५.४५ प्रतिशत मात्रै छन् । समानुपातिक प्रतिनिधित्वमा २८ जना पुरुष (४५.४५ प्रतिशत) र महिला ८२ (७४.५५ प्रतिशत) छन् । 

प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित ३३० मध्ये (९५.८ प्रतिशत) पुरुष र १४ महिला (४.२ प्रतिशत) थिए । प्रदेशसभाको निर्वाचनमा राजनीतिक दल तथा स्वतन्त्रबाट प्रत्यक्षतर्फका कुल २ हजार ३ सय ६३ उम्मेदवारमध्ये १ सय ७६ मात्र महिला थिए, जुन कुल सांसद संख्याको ७.४ प्रतिशत हो । सातै प्रदेशमा ९८ महिलाले स्वतन्त्र उम्मेदवारी दिए, जसमध्ये १ मात्र निर्वाचित हुन सकिन् । २०७४ भन्दा २०७९ को निर्वाचनमा केवल १.७ प्रतिशत मात्रै महिला उम्मेदवारी बढेको छ । अर्कातिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा उम्मेदवारी संख्या नै घटेको छ । कोशी प्रदेशले भने २०७९ मा महिला उम्मेदवारी दोब्बर पारेको थियो । 

संघीय संसद्मा ३३.८३ र प्रदेश सभामा ३६.३६ प्रतिशत मात्र महिला आउन सकेका छन् । दलहरूले संविधानको धारा ३८.४ कार्यान्वयन गरेका भए नेपालले ५१ प्रतिशत महिला प्रतिनिधि पाउने अवसर थियो । प्रत्यक्ष्य र समावेशी दुवैमा महिलालाई बराबर सिट दिन सकिन्थ्यो तर यसो नहुँदा संघमा ६६ र प्रदेशमा ६४ प्रतिशत महिला सिट गुमाउनुपर्‍यो । महिलालाई समानुपातिकमा दिएकै छ, प्रत्यक्षमा पनि दिए पुरुष सिट कम हुन्छ भन्ने तर्क दलहरूको देखियो, जुन संविधानसम्मत छैन ।

२०७९ को स्थानीय निर्वाचनमा ७ सय ५३ सिटमा २५ जना महिलाले पालिका प्रमुख र गाउँपालिका अध्यक्ष र ५ सय ६८ उपप्रमुख र उपाध्यक्षमा विजयी भए । ६ हजार ७ सय ४३ वडाध्यक्षमध्ये ६९ पद मात्रै महिलाले पाउन सके । त्यस्तै वडामा ६ हजार ७ सय ३२ महिला सदस्य र ६ हजार ६ सय १० दलित महिला सदस्यले जिते । तर ७ सय ५३ पालिका प्रमुखमा केवल ३ प्रतिशत र वडाध्यक्षमा केवल १ प्रतिशत मात्र महिला निर्वाचित हुन सके । 

राजनैतिक दलको उपमेयर, उपाध्यक्ष, महिला सदस्य र दलित महिला सदस्यमा महिला धेरै आएका छन् भन्ने तर्क रहन्छ । यसरी हेर्दा दलहरूले संविधानमा गरेको प्रतिबद्धतालाई उम्मेदवारी दिने मापदण्ड नै बनाएनन्, आफूखुसी व्याख्या गरे । अझ दलित महिलाचाहिँ राज्य संरचनाको पुछारमा राखे पुग्छ भन्नेजस्तो मान्यता पनि स्थापित गरे ।

यसरी जति पदमा महिलाको उम्मेदवारी पर्‍यो, ती पनि बाध्यकारी भएकाले मात्रै हो न कि दलहरू उदार भएर । स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम स्थानीय तहमा मनोनीत गर्दा ५० प्रतिशत महिला हुनुपर्ने प्रावधानलाई दलहरूले प्रमुख पुरुष र उपप्रमुख महिलाका लागि हो भन्ने मान्यता स्थापित गराए । राजनैतिक दलहरूको गठबन्धनले पनि महिला उम्मेदवारी घटाउन ‘ठगबन्धन’ को काम गर्‍यो । गठबन्धनले १६३ स्थानीय तहमा प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुषलाई जिताएर महिलाको पद खोस्ने ‘ऐतिहासिक काम’ गर्‍यो । 

वास्तवमा महिलालाई घर चलाउनेबाट देश चलाउने ठाउँमा ल्याउन सहज छैन । यसका लागि मुलुककै बृहत् लगानी चाहिन्छ, यसको बदलामा महिलाले देशमा दिगो विकास दिन्छन् । विभिन्न देशमा महिलाको नेतृत्वले महत्त्वपूर्ण परिणामहरू देखाउन सकेका थुप्रै प्रमाण छन् । जस्तो कि, भारतमा स्थानीय सरकारको पञ्चायतमा महिला नेतृत्व भएको स्थानमा ६२ प्रतिशत खानेपानी परियोजना बढी सम्पन्न भएको देखियो । नर्वेमा नगरपरिषद्मा महिलाको प्रतिनिधि हुँदा बाल स्याहारका काम बढी भए ।

महिला सांसदले स्वास्थ्य, लैंगिक हिंसा, बाल स्याहार र पितृत्व बिदा, पेन्सन, अनावश्यक खर्च कटौती, लैंगिक समानतासम्बन्धी कानुन र निर्वाचनमा सुधारका विषयमा नेतृत्व लिन सकेको देखियो । कोभिड–१९ नियन्त्रणमा महिला नेतृत्वले पुरुष नेतृत्वभन्दा प्रभावकारी काम गरेको विश्वका सञ्चारमाध्यमले प्रसारण गरेका थिए । रुवान्डाको उदाहरण हेर्ने हो भने ३० प्रतिशत मात्र आरक्षण राखेर पनि संसद्मा ६१ प्रतिशत महिलाको दरिलो उपस्थिति गराउन सक्यो र उनीहरूले भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण काम गरिरहेका छन् । 

नेपालले पनि पहिलेका गल्तीबाट सिकेर सबै तहमा समानुपातिक सहभागिताका लागि महिला प्रतिनिधित्व बढाउनै पर्छ । यसका लागि निर्वाचनमा न्यूनतम र बाध्यकारी व्यवस्थाभन्दा माथि उठेर मापदण्ड बनाउनुपर्छ अनि मात्र गणतान्त्रिक नेपालका राजनैतिक दलहरूले जस पाउन सक्छन् । यसले संविधानको पनि असली कार्यान्वयन झएको ठहर्छ ।

सरु जोशी

Link copied successfully