विगतका सुनौला उपलब्धिलाई संरक्षण गर्दै विद्यार्थी राजनीतिलाई सुधार गर्न सकियो भने मात्र यसले नेपाली समाजमा सकारात्मक योगदान गर्न सक्छ, रूपान्तरणको थालनी कक्षाकोठाबाटै हुनुपर्छ
नेपाली इतिहासमा विद्यार्थी राजनीतिले महत्त्वपूर्ण योगदान पुर्याएको छ । वाक् स्वतन्त्रता कुण्ठित भएको र जनताको मौलिक हक हनन भएको एकदलीय व्यवस्थाको अन्त्य विद्यार्थी आन्दोलनकै बलमा सम्भव भएको थियो । प्रजातन्त्रको बिगुल फुक्दै विद्यार्थी संघ–संगठनले जनताका आकांक्षालाई सम्बोधन गर्ने अभियान चलाए ।
त्यो समय विद्यार्थी राजनीति परिवर्तनको प्रतीक थियो । समयसँगै व्यवस्था फेरियो तर विद्यार्थी राजनीतिमा रूपान्तरण हुन सकेन । यसले पार्टीका कार्यकर्ता उत्पादन गर्ने कारखानाको रूप लियो । अहिले आएर कार्यकर्तासमेत उत्पादन गर्न नसक्ने अवस्थामा विद्यार्थी राजनीति अन्योलग्रस्त बनेको छ ।
नेपालका विश्वविद्यालय अध्ययन, अध्यापन र अनुसन्धानका केन्द्र हुन् । यहाँ प्राज्ञिक गतिविधि प्राथमिकतामा छैनन् । विश्वविद्यालय राजनीति गर्ने र व्यक्तिगत लाभ कमाउने अखडामा परिणत भएका छन् । पुरानै शैलीका तालाबन्दी, तोडफोड, बन्द–हडताल र धम्कीको निरन्तरता देखिन्छ । नीतिगत रूपमा सबै विद्यार्थी संगठनको सहमति भए पनि कार्यान्वयन मनलाग्दी छ । यस्तो विकृत राजनीति विद्यार्थी नेताका स्वार्थ र दलगत प्रभावको प्रतिफल हो । हरेक वर्ष विद्यार्थी क्याम्पस छोडिरहेका छन् । केही पढाइ अधुरै छोड्छन् भने धेरैजसो विदेश पलायन भइरहेका छन् ।
किन विद्यार्थी विदेश जाँदै छन् त ? किन ड्रपआउट बढेको छ ? यी प्रश्नको उत्तर खोज्ने कोसिस नै गरिएको छैन । विद्यार्थी राजनीतिले यी मुद्दा सम्बोधन गर्नुपर्ने हो, तर उल्टै यसले विश्वविद्यालयलाई थप गिजोलेको छ । प्रशासनिक काममा अनावश्यक हस्तक्षेप, परीक्षा प्रणाली बिगार्ने, ठेक्कापट्टामा संलग्नता र आर्थिक भ्रष्टाचारमा विद्यार्थी नेताको सहभागिता आमगुनासा बनेका छन् । पछिल्ला वर्षमा त विद्यार्थी राजनीतिका नाममा अनेकौं गतिविधि गर्ने धेरै आए तर समग्र विद्यार्थी आन्दोलनलाई डोर्याउन सक्ने नेतृत्व कतै देखिएन ।
विद्यार्थी राजनीति सुधारको पहिलो सर्त विश्वविद्यालयलाई विवेक र चेतनासंगत बनाउने हो । उत्तेजनाले उन्मत्त विद्यार्थी राजनीतिले दुर्घटना मात्रै निम्त्याउन सक्छ, समाधान दिन सक्दैन । विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्न राजनीतिक दलहरूले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ । वर्तमानका संघ–संगठनले विद्यार्थीको शैक्षिक विकासमा योगदान दिनुपर्ने भए पनि नेतृत्व स्वयं विकृत उद्देश्यमा केन्द्रित छन् । विद्यार्थी नेताहरू पढाइभन्दा क्याम्पस प्रशासनमा हस्तक्षेप, पैसा कमाउने उपाय खोज्न र व्यक्तिगत फाइदाका लागि संगठन सुदृढ गर्नमै सक्रिय छन् । अहिले तरिका बदलिएका छन् तर उद्देश्यमा निक्खरता आएको छैन ।
राजनीतिक दलहरूले नै संस्थागत र संरचनागत रूपमै विद्यार्थी संघ–संगठनको पुनरावलोकन गर्नुपर्छ । उत्कृष्ट राजनीतिक मार्गदर्शन र क्षमता प्रदर्शन गरेका विद्यार्थीलाई प्रतिनिधि छान्ने प्रावधान राख्नुपर्ने देखिन्छ । भोलि देशको नेता कस्तो बन्ने झल्को दिने विद्यार्थी राजनीति आशालाग्दो बनाउन अझै राजनीतिक नेतृत्वको ध्यान पुगेको छैन । विद्यार्थी संगठनको मूल उद्देश्य र यसको साध्यमा जोड हुनुपर्नेमा साधनमा केन्द्रित राजनीतिले अस्तव्यस्त बनाएको छ ।
सबै विद्यार्थी संगठन सुधारका लागि ठोस कार्ययोजना आवश्यक छ । त्यस्तो विषयमा संवादको थालनी हुनुपर्दछ । संघ–संगठनका गतिविधिलाई नियमन गर्न विश्वविद्यालय ऐन–नियम परिमार्जन गरिनुपर्छ । विश्वविद्यालयको शैक्षिक नेतृत्वलाई प्रभावकारी बनाउने प्रयास गर्नुपर्छ । अहिलेको नेतृत्वले साहस देखाएर विश्वविद्यालयमा सुशासन कायम गर्नुपर्ने चुनौती छ ।
अर्कोतर्फ, विद्यार्थी राजनीतिलाई सबैभन्दा दुरुपयोग विश्वविद्यालयका पदाधिकारी र शिक्षकले गरेको देखिन्छ । आफ्नो निम्ति राजनीतिक लबिङ गर्ने लमी बनाउने तर नेतासँग सम्बन्ध स्थापित भएपछि विद्यार्थी नेतालाई दोस्रो दर्जाका नागरिकजस्तो व्यवहार गर्नेले समेत हाम्रो राजनीति बिगारेका हुन् ।
राजनीतिक दलहरूले आफ्ना भ्रातृ संगठनहरूको गतिविधि नियन्त्रण गर्नुपर्ने बेला आएको छ । संघ–संगठनहरूलाई अवैध घोषणा गर्ने र राजनीतिक गतिविधिलाई विश्वविद्यालयभित्र निषेध गर्न आवश्यक छ । विश्वविद्यालयलाई अध्ययन, अनुसन्धान र प्राज्ञिक विकासको केन्द्रका रूपमा पुनःस्थापित गर्न ठोस नीतिगत हस्तक्षेप आवश्यक छ । राजनीतिक सफलताको मापदण्ड राज्य र सत्ताकब्जा, शक्ति र स्रोत–साधन हत्याउने मात्र भएको छ । यदि राष्ट्रनिर्माण राजनीतिको उद्देश्यमा विद्यार्थी राजनीति केन्द्रित गर्न सकियो भने पनि धेरै कुरा आफैं व्यवस्थित हुन्छ ।
नेपाली विद्यार्थी राजनीतिमा रूपान्तरण समयको आवश्यकता हो । यसलाई शैक्षिक सुधार र सामाजिक रूपान्तरणको औजार बनाउन सकिन्छ । तर, यसका लागि विद्यार्थी संघ–संगठन, राजनीतिक दल, र विश्वविद्यालय प्रशासनले समन्वय गर्नुपर्छ । दलीय राजनीतिमुक्त विश्वविद्यालयको परिकल्पना साकार पार्न साहसिक कदम चाल्नुपर्छ ।
यदि विद्यार्थी राजनीतिले आफ्नो उद्देश्य परिमार्जन गरेन भने यसले विश्वविद्यालयको अधो गतिलाई थप गहिरो बनाउनेछ । विगतका सुनौला उपलब्धिलाई संरक्षण गर्दै विद्यार्थी राजनीतिलाई सुधार गर्न सकियो भने मात्र यसले नेपाली समाजमा सकारात्मक योगदान गर्न सक्छ । रूपान्तरणको थालनी कक्षाकोठाबाटै हुनुपर्छ । नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र नैतिकताका मापदण्ड विद्यार्थी राजनीतिमा लागू गर्नुपर्छ ।
अहिंसावादी नेता महात्मा गान्धीका अनुसार व्यक्ति रूपान्तरणका आत्मनिरीक्षण, आत्मपरीक्षण र आत्मशुद्धीकरण गरी तीन चरण हुन्छन् । गान्धीको विचारमा नेताले सबैभन्दा पहिले आफ्नो विगतको समीक्षा गर्नुपर्छ– हिजो के–के गरेँ भनेर पछाडि फर्केर हेर्नु नै आत्मनिरीक्षण हो । त्यसपछि, ती कार्यहरूमध्ये कुन सही थिए र कुन गलत थिए भन्ने मूल्यांकन गर्नु आत्मपरीक्षण हो । यदि आफ्नो कार्यमा गल्ती भएको आत्मबोध हुन्छ भने, त्यसको प्रायश्चित गर्दै आगामी दिनमा त्यस्ता कार्य नगर्ने संकल्प गर्नु आत्मशुद्धीकरण हो ।
गान्धीका अनुसार जब कुनै व्यक्ति यी तीन चरण पूरा गर्न सक्षम हुन्छ, तब मात्र ऊ पूर्ण रूपमा रूपान्तरण भई शुद्ध व्यक्तिमा बदलिन्छ । गान्धीको निष्कर्ष थियो— यस्ता शुद्ध व्यक्तिले नेतृत्व गरेको र यस्तै शुद्ध व्यक्ति सदस्य रहेको संगठन मात्र जनता, समाज र देशको वास्तविक हितमा काम गर्न सक्षम हुन्छ ।
विद्यार्थी राजनीति साँच्चै रूपान्तरण हुने, गर्ने र गराउने हो भने सबभन्दा पहिले हिजोदेखि गरिआएका वा अवलम्बन गरेका के–केलाई निरन्तरता दिने, के–केलाई परिमार्जन गर्ने, के–केलाई पूर्णतः निषेध गर्ने त्यसको रोडम्याप आवश्यक छ । कुन कुन कुरा नयाँ प्रतिवादन गरिनुपर्ने हो, यसमा नेता र नेतृत्व प्रस्ट हुनु जरुरी छ । हामीले निरन्तरता दिनुपर्ने विषय, परिमार्जन गर्नुपर्ने विषय, छोड्नुपर्ने विषय, नयाँ सिर्जना गर्नुपर्ने विषय गरेर जबसम्म रूपान्तरणमा लाग्ने नेतृत्व यी चार विषय वा आधारका बारेमा प्रस्ट हुँदैन, तबसम्म रूपान्तरण सम्भव छैन ।
