विद्यार्थी राजनीतिमा रूपान्तरणका चुनौती

विगतका सुनौला उपलब्धिलाई संरक्षण गर्दै विद्यार्थी राजनीतिलाई सुधार गर्न सकियो भने मात्र यसले नेपाली समाजमा सकारात्मक योगदान गर्न सक्छ, रूपान्तरणको थालनी कक्षाकोठाबाटै हुनुपर्छ

फाल्गुन १६, २०८१

भूपेन्द्र सिंह थेबे

Challenges of transformation in student politics

नेपाली इतिहासमा विद्यार्थी राजनीतिले महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । वाक् स्वतन्त्रता कुण्ठित भएको र जनताको मौलिक हक हनन भएको एकदलीय व्यवस्थाको अन्त्य विद्यार्थी आन्दोलनकै बलमा सम्भव भएको थियो । प्रजातन्त्रको बिगुल फुक्दै विद्यार्थी संघ–संगठनले जनताका आकांक्षालाई सम्बोधन गर्ने अभियान चलाए ।

त्यो समय विद्यार्थी राजनीति परिवर्तनको प्रतीक थियो । समयसँगै व्यवस्था फेरियो तर विद्यार्थी राजनीतिमा रूपान्तरण हुन सकेन । यसले पार्टीका कार्यकर्ता उत्पादन गर्ने कारखानाको रूप लियो । अहिले आएर कार्यकर्तासमेत उत्पादन गर्न नसक्ने अवस्थामा विद्यार्थी राजनीति अन्योलग्रस्त बनेको छ । 

नेपालका विश्वविद्यालय अध्ययन, अध्यापन र अनुसन्धानका केन्द्र हुन् । यहाँ प्राज्ञिक गतिविधि प्राथमिकतामा छैनन् । विश्वविद्यालय राजनीति गर्ने र व्यक्तिगत लाभ कमाउने अखडामा परिणत भएका छन् । पुरानै शैलीका तालाबन्दी, तोडफोड, बन्द–हडताल र धम्कीको निरन्तरता देखिन्छ । नीतिगत रूपमा सबै विद्यार्थी संगठनको सहमति भए पनि कार्यान्वयन मनलाग्दी छ । यस्तो विकृत राजनीति विद्यार्थी नेताका स्वार्थ र दलगत प्रभावको प्रतिफल हो । हरेक वर्ष विद्यार्थी क्याम्पस छोडिरहेका छन् । केही पढाइ अधुरै छोड्छन् भने धेरैजसो विदेश पलायन भइरहेका छन् । 

किन विद्यार्थी विदेश जाँदै छन् त ? किन ड्रपआउट बढेको छ ? यी प्रश्नको उत्तर खोज्ने कोसिस नै गरिएको छैन । विद्यार्थी राजनीतिले यी मुद्दा सम्बोधन गर्नुपर्ने हो, तर उल्टै यसले विश्वविद्यालयलाई थप गिजोलेको छ । प्रशासनिक काममा अनावश्यक हस्तक्षेप, परीक्षा प्रणाली बिगार्ने, ठेक्कापट्टामा संलग्नता र आर्थिक भ्रष्टाचारमा विद्यार्थी नेताको सहभागिता आमगुनासा बनेका छन् । पछिल्ला वर्षमा त विद्यार्थी राजनीतिका नाममा अनेकौं गतिविधि गर्ने धेरै आए तर समग्र विद्यार्थी आन्दोलनलाई डोर्‍याउन सक्ने नेतृत्व कतै देखिएन । 

विद्यार्थी राजनीति सुधारको पहिलो सर्त विश्वविद्यालयलाई विवेक र चेतनासंगत बनाउने हो । उत्तेजनाले उन्मत्त विद्यार्थी राजनीतिले दुर्घटना मात्रै निम्त्याउन सक्छ, समाधान दिन सक्दैन । विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्न राजनीतिक दलहरूले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ । वर्तमानका संघ–संगठनले विद्यार्थीको शैक्षिक विकासमा योगदान दिनुपर्ने भए पनि नेतृत्व स्वयं विकृत उद्देश्यमा केन्द्रित छन् । विद्यार्थी नेताहरू पढाइभन्दा क्याम्पस प्रशासनमा हस्तक्षेप, पैसा कमाउने उपाय खोज्न र व्यक्तिगत फाइदाका लागि संगठन सुदृढ गर्नमै सक्रिय छन् । अहिले तरिका बदलिएका छन् तर उद्देश्यमा निक्खरता आएको छैन । 

राजनीतिक दलहरूले नै संस्थागत र संरचनागत रूपमै विद्यार्थी संघ–संगठनको पुनरावलोकन गर्नुपर्छ । उत्कृष्ट राजनीतिक मार्गदर्शन र क्षमता प्रदर्शन गरेका विद्यार्थीलाई प्रतिनिधि छान्ने प्रावधान राख्नुपर्ने देखिन्छ । भोलि देशको नेता कस्तो बन्ने झल्को दिने विद्यार्थी राजनीति आशालाग्दो बनाउन अझै राजनीतिक नेतृत्वको ध्यान पुगेको छैन । विद्यार्थी संगठनको मूल उद्देश्य र यसको साध्यमा जोड हुनुपर्नेमा साधनमा केन्द्रित राजनीतिले अस्तव्यस्त बनाएको छ ।

सबै विद्यार्थी संगठन सुधारका लागि ठोस कार्ययोजना आवश्यक छ । त्यस्तो विषयमा संवादको थालनी हुनुपर्दछ । संघ–संगठनका गतिविधिलाई नियमन गर्न विश्वविद्यालय ऐन–नियम परिमार्जन गरिनुपर्छ । विश्वविद्यालयको शैक्षिक नेतृत्वलाई प्रभावकारी बनाउने प्रयास गर्नुपर्छ । अहिलेको नेतृत्वले साहस देखाएर विश्वविद्यालयमा सुशासन कायम गर्नुपर्ने चुनौती छ ।

अर्कोतर्फ, विद्यार्थी राजनीतिलाई सबैभन्दा दुरुपयोग विश्वविद्यालयका पदाधिकारी र शिक्षकले गरेको देखिन्छ । आफ्नो निम्ति राजनीतिक लबिङ गर्ने लमी बनाउने तर नेतासँग सम्बन्ध स्थापित भएपछि विद्यार्थी नेतालाई दोस्रो दर्जाका नागरिकजस्तो व्यवहार गर्नेले समेत हाम्रो राजनीति बिगारेका हुन् । 

राजनीतिक दलहरूले आफ्ना भ्रातृ संगठनहरूको गतिविधि नियन्त्रण गर्नुपर्ने बेला आएको छ । संघ–संगठनहरूलाई अवैध घोषणा गर्ने र राजनीतिक गतिविधिलाई विश्वविद्यालयभित्र निषेध गर्न आवश्यक छ । विश्वविद्यालयलाई अध्ययन, अनुसन्धान र प्राज्ञिक विकासको केन्द्रका रूपमा पुनःस्थापित गर्न ठोस नीतिगत हस्तक्षेप आवश्यक छ । राजनीतिक सफलताको मापदण्ड राज्य र सत्ताकब्जा, शक्ति र स्रोत–साधन हत्याउने मात्र भएको छ । यदि राष्ट्रनिर्माण राजनीतिको उद्देश्यमा विद्यार्थी राजनीति केन्द्रित गर्न सकियो भने पनि धेरै कुरा आफैं व्यवस्थित हुन्छ ।

नेपाली विद्यार्थी राजनीतिमा रूपान्तरण समयको आवश्यकता हो । यसलाई शैक्षिक सुधार र सामाजिक रूपान्तरणको औजार बनाउन सकिन्छ । तर, यसका लागि विद्यार्थी संघ–संगठन, राजनीतिक दल, र विश्वविद्यालय प्रशासनले समन्वय गर्नुपर्छ । दलीय राजनीतिमुक्त विश्वविद्यालयको परिकल्पना साकार पार्न साहसिक कदम चाल्नुपर्छ । 

यदि विद्यार्थी राजनीतिले आफ्नो उद्देश्य परिमार्जन गरेन भने यसले विश्वविद्यालयको अधो गतिलाई थप गहिरो बनाउनेछ । विगतका सुनौला उपलब्धिलाई संरक्षण गर्दै विद्यार्थी राजनीतिलाई सुधार गर्न सकियो भने मात्र यसले नेपाली समाजमा सकारात्मक योगदान गर्न सक्छ । रूपान्तरणको थालनी कक्षाकोठाबाटै हुनुपर्छ । नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र नैतिकताका मापदण्ड विद्यार्थी राजनीतिमा लागू गर्नुपर्छ । 

अहिंसावादी नेता महात्मा गान्धीका अनुसार व्यक्ति रूपान्तरणका आत्मनिरीक्षण, आत्मपरीक्षण र आत्मशुद्धीकरण गरी तीन चरण हुन्छन् । गान्धीको विचारमा नेताले सबैभन्दा पहिले आफ्नो विगतको समीक्षा गर्नुपर्छ– हिजो के–के गरेँ भनेर पछाडि फर्केर हेर्नु नै आत्मनिरीक्षण हो । त्यसपछि, ती कार्यहरूमध्ये कुन सही थिए र कुन गलत थिए भन्ने मूल्यांकन गर्नु आत्मपरीक्षण हो । यदि आफ्नो कार्यमा गल्ती भएको आत्मबोध हुन्छ भने, त्यसको प्रायश्चित गर्दै आगामी दिनमा त्यस्ता कार्य नगर्ने संकल्प गर्नु आत्मशुद्धीकरण हो । 

गान्धीका अनुसार जब कुनै व्यक्ति यी तीन चरण पूरा गर्न सक्षम हुन्छ, तब मात्र ऊ पूर्ण रूपमा रूपान्तरण भई शुद्ध व्यक्तिमा बदलिन्छ । गान्धीको निष्कर्ष थियो— यस्ता शुद्ध व्यक्तिले नेतृत्व गरेको र यस्तै शुद्ध व्यक्ति सदस्य रहेको संगठन मात्र जनता, समाज र देशको वास्तविक हितमा काम गर्न सक्षम हुन्छ । 

विद्यार्थी राजनीति साँच्चै रूपान्तरण हुने, गर्ने र गराउने हो भने सबभन्दा पहिले हिजोदेखि गरिआएका वा अवलम्बन गरेका के–केलाई निरन्तरता दिने, के–केलाई परिमार्जन गर्ने, के–केलाई पूर्णतः निषेध गर्ने त्यसको रोडम्याप आवश्यक छ । कुन कुन कुरा नयाँ प्रतिवादन गरिनुपर्ने हो, यसमा नेता र नेतृत्व प्रस्ट हुनु जरुरी छ । हामीले निरन्तरता दिनुपर्ने विषय, परिमार्जन गर्नुपर्ने विषय, छोड्नुपर्ने विषय, नयाँ सिर्जना गर्नुपर्ने विषय गरेर जबसम्म रूपान्तरणमा लाग्ने नेतृत्व यी चार विषय वा आधारका बारेमा प्रस्ट हुँदैन, तबसम्म रूपान्तरण सम्भव छैन ।

भूपेन्द्र थेबे नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन् ।

Link copied successfully