अमेरिका र चीनबीचको अपेक्षित एआई युद्धलाई ध्यानमा राख्दै नेपालले आफ्ना एआईसम्बन्धी आवश्यकता र प्राथमिकता निर्क्योल गर्दै राष्ट्रहितमा प्रयोग गर्ने तयारीमा जुट्न जरुरी छ
जुन दिन विश्वकै शक्तिशाली देश अमेरिकामा डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि शपथ लिँदै थिए, सोही दिन अर्थात् २० जनवरी २०२५ मा उदीयमान विश्व शक्ति राष्ट्र हाम्रो उत्तरी छिमेकी चीनमा ‘डिपसिक’ नामक एआई कम्पनीले आफ्नो नयाँ ‘आर–१’ मोडल बजारमा लन्च गर्यो ।
ट्रम्पको दोस्रो कार्यकालको प्रक्षेपण र उनले जारी गरेका सयौं कार्यकारी आदेशको अध्ययन र प्रभावमा केन्द्रित विश्वभरका मिडिया र विश्लेषक एकाएक डिपसिक र उसको आर–१ मोडलबारे बुझ्न र त्यसको प्रभाव आकलन गर्न सोझिए । डिपसिकप्रतिको उत्सुकता त्यसबखत उत्कर्षमा पुग्यो, जब यसको प्रभावस्वरूप गत २७ जनवरीमा अमेरिकी सेयर बजारमा ठूलो गिरावट आयो ।
जेनरेटिभ एआई तालिमका लागि प्रयोग हुने जीपीयू (ग्राफिक्स प्रोसेसिङ युनिट) बनाउने कम्पनी एनविडियाले लगभग ६०० विलियन र अमेरिकाको समग्र सेयर बजारले लगभग एक ट्रिलियन अमेरिकी डलरको पुँजी उक्त दिन गुमाउनुपर्यो ।
जेनरेटिभ एआईको च्याटजीपीटीलगायत जेमेनाई र सिंगै एआई क्षेत्रमा रहेको अमेरिकी वर्चस्वलाई चुनौती दिँदै उदाएको डिपसिकका बारेमा कैयौं प्रश्न अनुत्तरित हुँदाहुँदै उसको न्यून लागत र आर–१ जस्तो उत्कृष्ट उत्पादनले एआई क्षेत्रलाई अझै लोकतान्त्रिक बनाउने र हाम्रो मुलुकजस्ता साना देश तथा संस्थाका लागि उपयोगी हुने आकलन गरिँदै छ । साथै डिपसिकको यो नवीन उत्पादनले सम्भावित अमेरिका–चीनबीचको ‘एआई दौड’ लाई अझै घनीभूत बनाउने र त्यसका बाछिटा नेपालजस्ता साना देशमा समेत पर्ने सम्भावना उत्तिकै छ ।
डिपसिक, यसले एआई क्षेत्रलाई लोकतान्त्रिक बनाउन खेल्ने भूमिका र सम्भावित ‘एआई दौड’ ले नेपालमा पर्न सक्ने सम्भावनाबारे यहाँ चर्चा गर्नु सान्दर्भिक होला । एआईको चर्चा हुन थालेको धेरै समय भए पनि हामी भने जेनरेटिभ एआईको युगमै छौं । टिकटक, ई–कमर्स, फेस रिकग्निसन, रोबोटिक्सजस्ता धेरै सफ्टवेयर र एपहरूमा एआईको प्रयोग भइरहेको भए पनि सामान्य जनताले देख्ने, जान्ने र प्रयोग गर्ने तहमा एआई उपलब्ध भएको सन् २०२२ को अन्त्यतिर ओपन एआई नामक अमेरिकी संस्थाले उपलब्ध गराएको च्याटजीपीटीबाट नै हो ।
च्याटजीपीटीलगायत गुगलको जेमिनाई, मेटाको लामा, पर्प्लेक्सिटी आदिले उपलब्ध गराउने सेवा भनेको जेनरेटिभ एआई हो, जहाँ प्रयोगकर्ताको निर्देशनअनुसार टेक्स्ट, चित्र, अडियो, भिडियो, संगीत आदि उत्पादन हुन्छन् । अहिले चर्चामा रहेको डिपसिकले समेत यही जेनरेटिभ एआईकै क्षेत्रमा काम गर्ने हो ।
जेनरेटिभ एआईको क्षेत्रमा च्याटजीपीटी सर्वाधिक लोकप्रिय छ र अहिले पनि ‘एआई’ भनेकै च्याटजीपीटी भनेर बुझ्ने धेरै होलान् । च्याटजीपीटीको सफलतासँगै यस क्षेत्रमा तीव्र प्रतिस्पर्धा पनि देखिन थाल्यो । गुगलले जेमिनाई र मेटाले लामा लिएर आए । अहिलेसम्मको जेनरेटिभ एआई विकास हेर्दा फ्रान्सको मिस्ट्रलबाहेक यस क्षेत्रमा उत्कृष्ट र विश्वास गरिएका अमेरिकी कम्पनीहरू नै छन् ।
आजका दिनसम्म यस क्षेत्रमा अमेरिकाको आधिपत्य लगभग सर्वस्वीकार्य थियो र स्ट्यानफोर्ड इन्स्टिच्युट एआई २०२४ इन्डेक्स रिपोर्टअनुसार दोस्रो वरीयतामा रहेको चीन अमेरिकाभन्दा कम्तीमा ६ महिना पछाडि रहेको आकलन थियो । जेनरेटिभ एआईको आकर्षण, यसको सम्भावित उज्ज्वल भविष्य, यस क्षेत्रमा अमेरिकाको एकल वर्चस्वका कारण विश्वभरिबाट ठूलो रकम अमेरिकाको एआईमा थुप्रियो । जस्तो कि, एआई मोडल ट्रेनिङका लागि अति आवश्यक जीपीयू बनाउनमा आधिपत्य रहेको एनभिडियाको सेयर गत २ वर्ष २०२३–२०२५ मा लगभग ५०० प्रतिशतले बढेको देखिन्छ । यसरी जेनरेटिभ एआईको क्षेत्रमा रहेको
आफ्नो आधिपत्यलाई बचाउन अमेरिकाले कैयौं कदम चालेको छ । अमेरिकाले २०२२ देखि नै एनभिडियालगायतका शक्तिशाली एआई चिप्स चीनमा बेच्न प्रतिबन्ध लगाएको थियो । यसखाले प्रतिबन्धका बाबजुद डिपसिकको नयाँ विकासले यो संस्था र उसको कामप्रति धेरैको ध्यान तानेको छ ।
एआई क्षेत्रमा यस तहको चर्चा कमाउने डिपसिक जेनरेटिभ चीनको पहिलो संस्था भए पनि अलिबाबा, ०१.एआईलगायत कैयौं कम्पनीले यसअघि चीनमा काम गरिरहेका छन् । तर डिपसिकको आर–१ मोडलले धेरैलाई अनपेक्षित रूपमा चकित पारेको छ । सन् २०२३ को सुरुवाततिर जब विश्वभर च्याटजीपीटीको चर्चा चुलिरहेको थियो, त्यही वरिपरि ४० वर्षीय लिआङ वेनफेङले यो कम्पनी खडा गरेका हुन् ।
डिपसिकले खोलेका एआईका केही पहलुमध्ये खुला स्रोत (ओपन सोर्स) मा आधारित मोडल महत्त्वपूर्ण छ, जुन निःशुल्क प्रयोग गर्न मात्र होइन, प्रयोगकर्ताको आवश्यकताअनुसार परिमार्जन गर्नसमेत मिल्नेछ । जेनरेटिभ एआईको क्षेत्रमा डिपसिकले ल्याएको ठूलो क्रान्ति नै यही हो । आर–१ मोडल हाराहारीका अन्य कम्पनीजस्तै च्याटजीपीटीको ०१ मोडेल प्रयोग गर्न महँगो शुल्क नतिरी सम्भव थिएन । यसमा च्याटजीपीटी ०१ जस्ता उच्च गुणस्तरका मोडल प्रयोग गर्न महँगो शुल्क तिर्नुपर्ने स्थिति र कम गुणस्तरका मोडल मात्र निःशुल्क उपलब्ध हुने स्थितिमा पैसा तिरेर प्रयोग गर्न सक्ने र नसक्नेबीच खाडल गहिरिँदै जाने चिन्ता पनि थियो ।
यसखाले जेनरेटिभ एआई मोडल विकास गर्न उच्च तहको प्रविधि, मानव संशाधन तथा ठूलो धनराशि खर्च हुन्छ । जेनरेटिभ एआई मोडल विकास, प्रयोग तथा त्यस क्षेत्रमा हुने व्यावसायिक र सामरिक प्रयोजनमा शक्तिशाली देश र समूहको हालीमुहाली हुने र नेपालजस्ता तुलनात्मक रूपमा कमजोर देश खालि प्रयोगकर्ताको हैसियतमा सीमित हुनुपर्ने बाध्यता पनि छ । जेनरेटिभ एआईको क्षेत्रमा हुने सम्भावित आर्थिक तथा सामरिक लाभबाट विमुख हुने चिन्ताले बल पाउँदै गएको अवस्था छ ।
यस अवस्थामा डिपसिकले आर–१ जस्तो उच्च कोटिको जेनरेटिभ एआई मोडललाई खुला स्रोतको श्रेणीमा उपलब्ध गराएर त्यस खाले सम्भावित चिन्ता र एआई–ग्यापलाई केही हदसम्म भए पनि कम गर्न भूमिका खेलेको मान्न सकिन्छ । यस मानेमा डिपसिकले नेपालजस्ता जेनरेटिभ एआई मोडल विकासका लागि आवश्यक उच्च तहको प्रविधि, मानव संशाधन तथा ठूलो धनराशि नभएका देश वा समूह वा व्यक्तिले समेत केही साधन तथा क्षमता जुटाएर खुला स्रोतलाई आफ्नो अनुकूलअनुसारका मोडल विकास गर्न सहज र सस्तो बाटो खोलिदिएको छ ।
हिजोका दिनमा च्याटजीपीटी वा गुगलका परिष्कृत मोडलमा पहुँच नभएका र एआईको क्षेत्रमा स्वतन्त्र रूपमा अध्ययन अनुसन्धान गर्ने विश्वविद्यालय वा एआई समुदायका लागि समेत परिष्कृत मोडलमा काम गर्न सहज पहुँच बनाइदिएको छ । जेनरेटिभ एआईजस्तो परिष्कृत तथा महँगो मानिएको क्षेत्रलाई सरल र सहज बनाई कमजोर प्रयोगकर्ताको समेत पहुँच बढाएको भनी कैयौंले डिपसिकले जेनरेटिभ एआईको क्षेत्रलाई थप समावेशी र लोकतान्त्रिक बनाउन भूमिका खेलेको भनेर प्रशंसा पनि गरेको पाइन्छ ।
प्रयोगकर्तामाझ डिपसिकको यो कदमले उत्साह थपेको छ । नेपालमा समेत जनस्तरमा जेनरेटिभ एआईको प्रयोग व्यापक बढिरहेको सन्दर्भमा तुलनात्मक रूपमा कम आय भएका नेपालीका लागि निःशुल्क उच्च कोटिको एआई मोडल प्रयोग गर्ने अवसरले उत्साह थपेको छ ।
जेनरेटिभ एआई मोडल तयार गर्न लाग्ने खर्चका हिसाबले समेत डिपसिकले वैकल्पिक बाटो देखाएको छ । विभिन्न अध्ययन र अनुमानहरूले डिपसिकले जारी गरेको आर–१ मोडल यसै हाराहारीको च्याटजीपीटीको ०१ मोडलभन्दा लगभग तीन प्रतिशत मात्रको खर्चमा तयार गरेको मानिएको छ । यसरी डिपसिकले च्याटजीपीटी, गुगल, एनभिडियालगायतले जेनरेटिभ एआईको क्षेत्रमा गरेको अत्यधिक खर्चको औचित्यमाथि प्रश्न उठाएको छ भने अर्कातिर अत्याधुनिक प्रविधि तथा मानव संशाधनमा तुलनात्मक रूपमा कमजोर देश र समूहका लागि अलि भिन्न तरिकाले काम गर्दा जेनरेटिभ एआईजस्तो परिष्कृत क्षेत्रमा समेत सस्तो तर प्रभावकारी तरिकाले काम गर्न वा नतिजा निकाल्न सकिन्छ भन्ने देखाएको छ ।
डिपसिकको चर्चासँगै यसका बारेमा कैयौं प्रश्न उठेका छन् । तुलनात्मक रूपमा ज्यादै छोटो र सस्तो तरिकाले यति उन्नत मोडल कसरी बन्यो भन्ने कुरा पारदर्शी रूपमा डिपसिकबाट संसारले जान्न चाहेको छ । च्याटजीपीटी, माइक्रोसफ्टलगायत अमेरिकी सरकारले समेत उनीहरूका सूचना र प्रविधि अनियमित रूपमा कतै डिपसिकको आर–१ मोडलमा प्रयोग भएको छ कि भन्ने संशयसहित अनुसन्धान गर्ने सोचमा छन् ।
त्यति मात्रै नभएर डिपसिकको आर–१ मोडलले उत्पादन गर्ने कन्टेन्टको विषयमा समेत भेदभाव गरेको गुनासो आएका छन् । डिपसिकले चीनको सत्ता राजनीति र सामरिक रूपमा संवेदनशील मानिने विषयजस्तै तिब्बत, ताइवान वा सन् १९८९ को तियानमेन घटना आदिमा उत्तर दिन इन्कार गरेको र अन्य देशको चीनसँगका विवादका विषयमा चीन पक्षधरता देखाउने गरेको गुनासो भने सतहमा आएका छन् ।
डिपसिकले ल्याएको छलाङले अमेरिका र चीनबीचको अपेक्षित एआई युद्धलाई अझै सघन बनाउने सम्भावना पनि छ । डिपसिकको आर–१ मोडलले जेनरेटिभ एआईको क्षेत्रमा रहेको भनिएको अमेरिकी प्रभुत्वलाई चुनौती मात्रै दिएको छैन, अमेरिकाकै हाराहारीको एआई शक्तिका रूपमा चीनलाई उभ्याएको आकलन गरिएको छ । यसबारे संकेत गर्दै हालै अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका र चीनको एआई प्रतिस्पर्धामा ‘वेक–अप कल’ भएको बताएका छन् । चीनको सम्भावित एआईको आधिपत्यलाई रोक्न अमेरिकाले कडा कदम चाल्न सक्ने सम्भावनालाई पनि ट्रम्पले संकेत गरेको कुराबाटै बुझ्न सकिन्छ ।
यो एआई प्रतिस्पर्धा एआईको विकासमा कसले अगुवाइ गर्ने भनेर अमेरिका र चीनबीचको जुँगाको लडाइँ मात्रै नभएर आउँदा दिनमा एआईले आर्थिक र सामरिक क्षेत्रमा पार्न सक्ने सम्भावित प्रभावको जोडघटाउ पनि हो । जस्तो कि विश्वका ४ लेखा फर्ममध्येको एक मानिने प्राइसवाटरहाउसकूपर्सको अनुमानअनुसार एआईले २०३० सम्ममा विश्वमा लगभग १५.७ ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक मूल्य सिर्जना गर्नेछ । यस्तै एआईले सैन्य क्षमता सुधार गर्न गुणात्मक प्रभाव पार्ने अपेक्षा विभिन्न अध्ययनले देखाएका छन् । समग्रमा एआई क्षेत्रमा भइरहेको होडसमेत यी दुई महाशक्तिराष्ट्रबीच भइरहेको प्रतिस्पर्धा एउटा पाटोका रूपमा बुझ्न जरुरी छ ।
यसरी आर्थिक र सामरिक महत्त्व बोकेको एआई क्षेत्रमा अमेरिका र चीनबीचको एआई–युद्ध अझ घनीभूत हुने र प्रस्ट रूपमा यी दुई शक्तिराष्ट्रको नेतृत्वमा दुईवटा एआई क्याम्प खडा हुनेछन्, जसले नेपालजस्ता साना र कमजोर देशलाई दुवै देशले आ–आफ्ना एआई क्याम्पमा जोडिन दबाब दिने निश्चित छ । अमेरिका र चीनबीचको अपेक्षित एआई युद्धलाई ध्यानमा राख्दै नेपालले आफ्ना एआईसम्बन्धी आवश्यकता र प्राथमिकता निर्क्योल गर्दै एआई प्रतिस्पर्धालाई आफ्नो राष्ट्रहितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बहस तथा तयारीमा जुट्न जरुरी छ ।
