समाजवाद आज पनि त्यति नै सान्दर्भिक छ जति निधिको समयमा थियो । हामीलाई चाहिएको समाजवाद कस्तो हुनुपर्छ ? नयाँ पुस्ताले त्यसका नवीन आयामहरूलाई खोतल्नुपर्छ ।
उपलक्ष्य थियो, प्रजातन्त्र दिवसको । राजा महेन्द्रको नेतृत्वमा निर्दलीय पञ्चायत व्यवस्थाको आवरणका साथ स्थापित निरंकुश राजतन्त्रको विरुद्धमा लेखेको एउटा लेख भारतीय पत्रिका ‘हिमालेसिया’ मा छापेकै कारण २०२६ सालमा महेन्द्रनारायण निधिलाई जनकपुर अञ्चलका अञ्चलाधीशले राजकाज अपराध मुद्दा चलाएर तीन वर्ष कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएका थिए ।
पाँच दशक पहिलेको यो घटनालाई त्यति बेलाको राजनीतिमा सहज मानिन्थ्यो । यद्यपि, यो फैसलाविरुद्ध देशका तत्कालीन संवैधानिक कानुनका मर्मज्ञ कानुन व्यवसायीहरूले निधिका पक्षमा सर्वोच्च अदालतमा मुद्दा लडेका थिए । उनीहरूले निधिलाई तोकिएको कैद र जरिवाना घटाउन केही सफलता पनि प्राप्त गरेका थिए । तर, सर्वोच्च अदालतले निधिलाई पूर्णतः निर्दोष साबित गर्ने साहस देखाउन सकेन ।
निधि जहिले पनि प्रेस स्वतन्त्रताका पक्षपाती थिए । सक्रिय राजनीतिमा नलागेको भए सम्भवतः उनी पत्रकार हुने थिए । निधिलाई थाहा थियो, जनताको तिखो अभिव्यक्ति हतियारभन्दा खतरनाक हुन्छ । उनी हिन्दी र नेपाली भाषामा आफ्ना अभिव्यक्तिहरू लगभग नियमित प्रकाशित गर्दथे । उनका विचार मौलिक हुन्थे र नवीन विषयहरूमा केन्द्रित हुन्थे । काठमाडौं र जनकपुर, जहाँ बसे पनि, पत्रकारहरूको संगत उनका लागि प्रिय थियो ।
आज महेन्द्रनारायण निधिको १०३ औं जन्मजयन्ती हो । उनको जन्म विसं. १९७८ फागुन १३ गते धनुषा जिल्लाको नगराइन गाउँमा भएको थियो । जन्म र मृत्युको दशकौंपछि पनि एउटा व्यक्तिको प्रभाव र स्मृति जनताको मनमा गाढा रहिरहेको छ भने त्यो व्यक्ति व्यक्तिका रूपमा मात्र सीमित रहेको हुँदैन । त्यो एउटा विचार हुन्छ, इतिहासको एउटा कडी बनेको हुन्छ । इतिहासको त्यस्तै एउटा कडी हुन् महेन्द्रनारायण निधि ।
महेन्द्रनारायण निधि लोकतन्त्रका अथक योद्धा थिए । नेपाली कांग्रेसका संस्थापक नेताहरूमध्ये एक थिए उनी । वैचारिक हिसाबले बीपी कोइराला र डा. राममनोहर लोहियाका निकट रहेका निधि निरंकुश राणातन्त्रविरुद्ध २००७ सालको जनक्रान्तिका संयोजक र क्रान्तिका कमान्डरमध्येका एक थिए । तत्कालीन भौगोलिक रूपमा महोत्तरी जिल्लामा रहेको जनकपुर फ्रन्टमा क्रान्तिको सफलतापछि निधि जनकपुर कमान्डका मुख्य व्यक्ति बने । २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित संसद् विघटन गरेर सत्ता आफ्नो हातमा लिएपछि २०४६ सम्मका तीन दशक लामो समय निधिले अहिंसाको बाटोबाट प्रजातन्त्र पुनःस्थापनाका लागि चलाएको संघर्ष निरन्तर चलिरह्यो । २०४७ सालमा उनको यो अभियान सफल भयो ।
इतिहासको त्यो कालखण्डलाई फर्केर हेर्दा राष्ट्रहरूको परिचय र पहिचान तथा राज्य व्यवस्था नै परिवर्तन भइरहेका घटनाहरूको बीच चार–पाँच दशकको कालखण्ड त्यति लामो समय होइन । तर, जब एउटा व्यक्तिले आफ्नो आदर्श, उद्देश्य र जीवन मूल्यकै लागि निरन्तर र अविचलित संघर्ष गर्ने सहास गर्दछ भने इतिहासको बाटो पनि उसैले फेर्दछ । त्यसैले स्वतन्त्रताका पक्षमा उभिएका नेपाली जनजनका लागि महेन्द्रनारायण निधि व्यक्ति होइन, विचार हो, आदर्श हो र जीवनमूल्य हो ।
निधिको सम्झनाले आजका पिँढीलाई कसरी उत्साहित गर्दछ ? हामीले निधिका बारेमा के सम्झनुपर्ने हो ? आज धेरैको मनमा यो प्रश्न उठेको हुनुपर्दछ । कुनै पनि विचारधारा राख्ने नेपालका राजनीतिक विभूतिहरूलाई जानी नजानी असान्दर्भिक बनाउने जुन प्रयत्न अहिले भइरहेको छ त्यसले नेपाली समाजको भलो गर्दैन । इतिहासबाट शिक्षा नलिने हो भने जस्तोसुकै परिवर्तन भए पनि समाज प्रगतिको मार्गमा लाग्न सक्दैन ।
महेन्द्रनारायण निधि अहिंसावादी र सात्विक थिए, समाजवादी थिए । उनी व्यवहारमा पनि सकेसम्म गान्धीवादी विचार र जीवनशैलीको अनुसरण गर्दथे । उनी मधेशमा जन्मिएका थिए, मधेशको भाषा, मधेशको स्वाद र मधेशको संस्कृति उनको मौलिकता थियो । तर, उनी ‘मधेश’ मात्रको नेता कहिल्यै थिएनन् । उनको चिन्तन र विचार सधैं सम्पूर्ण नेपाल र नेपालीका लागि थियो । उनी मधेश र हिमालको बीचमा रहेको पहाडी भू–भागका पनि नेता थिए । अहिलेको पुस्ताले उनको जीवनको आकलन गरी हेर्दा यस्तो लाग्छ कि त्यो समय नै बेग्लै थियो । त्यसबेला लोकतन्त्र र समाजवाद नेताहरूको भाषणमा मात्र सीमित हुँदैनथ्यो । तिनका बोली, विचार, आदर्श र जीवनमूल्य एकै भावमा तरंगित हुने गर्दथे ।
अहिलेको युवापुस्ताले आफैंसँग सोध्नुपर्ने प्रश्न हो – परिवर्तन र परिवर्तनसँगै देखापरेका विसंगतिका विविध आयामहरूले सिद्धान्त, आदर्श र जीवनमूल्यलाई धमिल्याएको हो कि यी आवश्यक तत्त्वहरूको अभावमा हामीले ल्याएका ठूला–साना सबै खालका परिवर्तनहरूका बीच हामी हराउँदै गएका हौं ?
हामीभन्दा अगाडिका पुस्ताले हासिल गरेका लोकतन्त्र, समाजवाद, अहिंसा, मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रता– के यी विषयहरू कहिल्यै असान्दर्भिक हुन सक्दछन् ? अथवा अहिले मात्र असान्दर्भिक भएका हुन् ? हामीले हाम्रो मोबाइलको मोडल र हामीले प्रयोग गर्ने एप पुरानो भएजसरी जीवनमूल्य पुरानो हुँदैन । नेपालको सभ्यता र इतिहासमा आधुनिक समाजको जीवनमूल्य स्थापित गर्न जीवनपर्यन्त संघर्ष गर्ने व्यक्तित्व महेन्द्रनारायण निधि त्यही जीवनमूल्यका आलोक हुन् ।
निश्चय पनि, विज्ञान, प्रविधि र सञ्चारमाध्यमहरूले जीवन सहज बनाउन सक्छन् तर तिनले समाजलाई मार्गनिर्देश गर्न सक्दैनन् । समग्र समाज र सम्पूर्ण राष्ट्रलाई मार्गनिर्देश गर्न विचार र जीवनमूल्यको जति आवश्यकता हिजो थियो, आज पनि त्यति नै आवश्यक छ । के हाम्रो आजको संघर्ष पनि लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताकै अभ्यासका लागि होइन ? राज्यसत्ताविरुद्ध माओवादीले प्रारम्भ गरेको हिंसात्मक विद्रोहलाई सारा राजनीतिक दल एकजुट भएर शान्ति र सद्भावमा टुंग्याएको होइन ?
अझै पनि शिक्षा, स्वास्थ्य र रोजगारीको समस्यालाई समाजवादी नीतिले हल गर्न सक्दछ र गर्नुपर्दछ भन्ने नेपालीको विश्वास छ । समाजवाद आज पनि त्यति नै सान्दर्भिक छ जति निधिको समयमा थियो । हो, हामीलाई चाहिएको समाजवाद कस्तो हुनुपर्दछ ? नयाँ पुस्ताले त्यसका नयाँ आयामहरूलाई खोतल्नुपर्ने हुन्छ । त्यसमा नयाँ विचारको प्रवाह चाहिन्छ । नयाँ विचारबिनाको समाजले आफ्नो गतिशीलता गुमाउँदै जान्छ । हजुरबुवाले संघर्ष गरेर कमाएको सम्पत्तिमा नाति पुस्तासम्मले सुख गर्ने हाम्रो समाजको प्रवृत्तिलाई गतिशीलतामा परिणत गर्नु पक्कै पनि सजिलो काम होइन । प्रत्येक पुस्ताको आ–आफ्नै संघर्ष हुन्छ । त्यसको आफ्नै महत्त्व हुन्छ । नेतृत्वले संघर्षलाई नयाँ आयाम दिन सक्नुपर्दछ । त्यसका लागि उसले विगतमा भएका संघर्षका बारे बुझ्नै पर्दछ । विगतका घटनाहरूको ‘प्याटर्न’ नबुझी नयाँ र सामयिक परिवर्तनका मार्गहरू बनाउन सकिँदैन ।
प्रत्येक ठूलो परिवर्तनपछि समाजले, सामाजिक संरचनाले गतिशीलताको अपेक्षा गरेको हुन्छ । यो निश्चित कुरा हो, परिवर्तनकारीहरू ढिलो नगरी आफ्नो संघर्षको सार्थकता स्थापित गर्न खोज्छन् । तर, नेपालमा व्यापक परिवर्तनपछि पनि विकासका लागि तत्परता र व्यग्रता देखाउने चलन छैन ।
नेपालको ८० वर्षको परिवर्तनको इतिहास हेर्ने हो भने प्रत्येक ठूलो परिवर्तनपछि नेतृत्व वर्ग वैचारिक र व्यावहारिक हिसाबले शिथिल भएका छन् । नेपाली नेतृत्वले नागरिकको ऊर्जा र उमंगलाई सिर्जनात्मक निकास दिन सकेन । २०४७ साल र ६२–६३ सालमा भएका संयुक्त जनआन्दोलनपछि पनि यस्तै भयो । जुन जोसले नेपालीले लोकतन्त्रको पुनःस्थापना गरेका थिए, हजारौं वर्ष पुरानो राजतन्त्रलाई विस्थापित गरेर देशलाई संघीय गणतन्त्रात्मक ढाँचामा ढाले, उनीहरूलाई नै आज आफूले गरेका राजनीतिक संघर्ष र त्यसको औचित्यको व्याख्या नयाँ पुस्तालाई गर्न हम्मेहम्मे परिरहेको छ । यो नै आजको राजनीतिको विडम्बना हो ।
देशलाई रचनात्मक विकासको बाटोमा डोर्याउने चाहना र हुटहुटी राख्ने नेताका रूपमा निधिलाई समाजले कहिल्यै बिर्सिनु हुँदैन । निधिमा कामका प्रति लगन र निष्ठा थियो । विकासका प्रति जागरुकता थियो । यद्यपि निधि छोटो समयका लागि मात्र सरकारमा रहे । तर, उनले छोटो समयमा देखाएको प्रशासनिक कौशलको अहिले पनि प्रशंसा हुने गरेको छ । उनका बारेमा यति त भन्नै पर्दछ, नेपालको राजनीतिक इतिहासमा बिर्सन नसकिने र बिर्सन नहुने नाम हो— महेन्द्रनारायण निधि ।
