व्यापारलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा लिइन्छ । सामान्य अर्थमा वस्तु तथा सेवाको माग सिर्जना र आपूर्ति व्यवस्था सहज बनाउने कार्यलाई व्यापार भन्ने गरिन्छ । आफ्नै सीमाभित्र आन्तरिक र बाह्य वा विश्वमा गरिने व्यापारलाई अन्तर्राष्ट्रिय व्यापार भनिन्छ ।
दोस्रो विश्वयुद्धपछि व्यापारलाई व्यवस्थित गर्न कर र व्यापारसम्बन्धी सामान्य सम्झौता अर्थात् ग्याटसम्बन्धी सम्झौता सन् १९४७ मा भएको थियो । उक्त सम्झौताले कर अवरोध कम गरी व्यापारको पहुँच बढाउने र अल्पविकसित देशहरूलाई कोटा वा भन्सार छुटको व्यवस्था गरिएको थियो ।
हाल विश्व व्यापारमा उतारचढाव हुने संकेत देखिन थालेको छ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिका रूपमा शासनमा आएपछि नीतिगत परिवर्तन गर्दै छन् । व्यापार क्षेत्रमा क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत र चीनलाई १० प्रतिशत भन्सार दर वृद्धि गर्ने कार्यकारी आदेशमा हस्ताक्षर भइसकेको छ । चीनले पनि अमेरिकाबाट आउने वस्तुमा १५ प्रतिशत कर लगाएको घोषणा गरेको छ । चीनमा निर्मित विद्युतीय कारमा युरोपका देश र क्यानडाले थप कर लगाइसकेका छन् । अमेरिकाले युरोपियन युनियनलाई पनि थप कर लगाउने तयारी गरेको छ । यी विभिन्न घटनाले अबको विश्वमा व्यापारको अवस्था, आर्थिक क्षेत्रमा पर्ने प्रभाव र उपभोक्तालाई पर्ने मूल्य बोझले कस्तो अवस्था हुने हो अन्योल देखिएको छ ।
विश्व व्यापारसँग शक्तिको चलखेल हुन थालेको र उपभोक्ताको अधिकारमा आघात पुग्ने हो कि भन्ने चिन्ता बढेको छ । भन्सार दर बढ्नेबित्तिकै उपभोक्ताले चर्को मूल्यमा वस्तुको उपभोग गर्न पर्ने अवस्थाका बारेमा चिन्ता कम भएको पाइन्छ ।
अहिले अन्तर्राष्ट्रिय व्यापारमा हुन सक्ने जोखिमलाई व्यापार युद्धका रूपमा हेर्न थालिएको छ । शक्तिराष्ट्रको आवेग र आर्थिक अवस्था कमजोर भएका देशको अवस्था कस्तो हुने हो अन्योलको अवस्था छ । विश्वमा शक्तिमा उदाएका र उदाउन लागेका राष्ट्रले विश्व आर्थिक अवस्थाको सुदृढ गर्ने र कमजोर भएका देशको अन्तर्राष्ट्रिय व्यापारमा भएको हिस्सा बढाउनुपर्ने अवस्था छ । अबको विश्वले व्यापारमा सकारात्मकभन्दा नकारात्मक पक्षको सामना गर्नुपर्ने अवस्था आउन सक्ने आकलन गर्न थालिएको छ ।
विश्व व्यापारको पहुँच र सहजीकरणमा प्रयत्नरत विश्व व्यापार संगठनको भूमिका के हुने हो भन्ने चिन्ता बढ्न थालेको छ । विश्व समुदायले विश्व व्यापारको अवसर र पहुँचको सहजीकरण गर्न सामूहिक मन्थन गरी अहिले देखिन थालेको संकट मोचन गर्नैपर्ने हुन्छ । व्यापारमा हुने कर अवरोधको विषयमा विश्वले समयमै ध्यान दिएन भने अवस्था बिग्रन पनि सक्छ । गैरकर अवरोधका विषयमा पनि ध्यान दिएमा व्यापार लागतमा कमी आई प्रतिस्पर्धा गर्न सकिने अवसर बढाउन सकिन्छ । अहिले कर अवरोधको बढ्दो प्रभावले विश्व व्यापारको नीतिगत अवधारणा ओझेल पर्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । शक्तिराष्ट्रको प्रभावलाई कम गर्नेभन्दा पनि विश्व व्यापारमा जिम्मेवारी र जवाफदेही बनाउने विषय महत्त्वपूर्ण छ । उपभोक्ताको उपभोग्यवस्तु छनोट गर्ने र सहज मूल्यमा पाउने अवसरमा समेत चुनौती देखिने अवस्था आउन सक्छ ।
अहिले देखिएको व्यापार द्वन्द्वमा नेपालजस्ता देशले अवसर र चुनौतीको हेक्का गर्नुपर्ने हुन्छ । अल्पविकसित र भूपरिवेष्टित देशहरूको समूहको प्रभावकारिता बढाई अन्तर्राष्ट्रिय व्यापारको अवसर बढाउने, विदेशी लगानीको अवसरको सहज वातावरण बनाई अन्तर्राष्ट्रिय बजारमा वस्तु निर्यातको अवसर र पहुँच बढाउने, उत्पादनका कुशल सीपको आयात र ज्ञानको अभिवृद्धि गर्ने र व्यापारमा आउन सक्ने अवरोधको कूटनीतिक रणनीतिसहित अघि बढ्नुपर्ने हुन्छ ।
विश्व समुदायमा देखिने अवरोधको बहुपक्षीय बैठक र वार्ता गरी व्यापार अवरोध कम गर्न सामूहिक प्रयासमा जोड दिनुपर्छ । हाल भएका प्रावधानलाई समसामयिक बनाउने, शक्ति राष्ट्रबीच भएका व्यापार द्वन्द्व कम गर्न सकारात्मक दबाब सिर्जना गर्नुपर्छ ।
