हामी एन्टिमाइक्रोबियल, त्यसमा पनि एन्टिबायोटिकको दुरुपयोग गरिरहेका छौं । यस्तो लापरबाहीले कीटाणुलाई फाइदा पुगिराखेको हुन्छ । डाक्टरले दिएको डोजभन्दा बढी वा कम औषधि प्रयोग गर्दा कीटाणुले एन्टिबायोटिकसँग प्रतिरोध गर्न थाल्छ ।
बिरामी भएपछि धेरैजसो नजिकको औषधि पसल जान्छौं वा घरमा केही औषधि छ कि भनेर खोजी हेर्छौं । तर, बिरामी हुँदा म के औषधि खाँदै छु भन्ने हेक्का कहिल्यै राख्दैनौं । धेरैजसोको बुझाइ कडा औषधि चाहिए एन्टिबायोटिक खानुपर्छ भन्ने छ । यसका अलावा बजारमा एन्टिफंगल, एन्टिभाइरल, एन्टिपारासाइटिक औषधि पनि पाइन्छन् । हामीले ती सबै प्रयोग पनि गर्छौं होला ।
यस्ता औषधिको प्रयोग गर्नुअघि हामीलाई केले गर्दा संक्रमण भएको हो भन्ने पहिले थाहा पाउन जरुरी हुन्छ । त्यसका लागि हत्तपत्त औषधि प्रयोग गर्ने होइन कि स्वास्थ्यकर्मीकहाँ गई परीक्षण गर्नुपर्छ । रगत, दिसापिसाब, खकार वा अरू कुनै नमुना लिएर जाँचको नतिजा आएपछि मात्रै के रोग लागेको पत्ता लाग्छ । तबमात्रै सम्बन्धित स्वास्थ्यकर्मीको सिफारिसमा औषधि उपचारतिर लाग्नुपर्छ ।
प्रायः ब्याक्टेरिया, भाइरस, ढुसी, परजीवीलगायतका सूक्ष्मजीवको संक्रमणले गर्दा हामी बिरामी हुने हो । हामीलाई संक्रमण गर्ने त्यस्ता सूक्ष्मजीवको उपचार गर्नकै लागि एन्टिबायोटिक, एन्टिफंगल, एन्टिभाइरल, एन्टिपारासाइटिक प्रयोग गरिन्छ । त्यस्ता औषधिलाई समष्टिगत रूपमा एन्टिमाइक्रोबियल भनिन्छ । जब यस किसिमका एन्टिमाइक्रोबियलको जथाभाबी प्रयोग हुन्छ, शरीरमा संक्रमण गर्ने सूक्ष्मजीवलाई सो एन्टिमाइक्रोबियलले काम गर्न छाड्छ । यस्तो अवस्थालाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) अर्थात् प्रतिजैविक प्रतिरोध भनिन्छ । सजिलो गरी बुझ्दा– प्रयोग भएका औषधिले काम नगरेको वा काम नगरेर कडा डोजको औषधि प्रयोग गर्नुपरेको अवस्था नै एएमआर हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की पूर्वमहानिर्देशक डा. मार्गरेट चानले एएमआरलाई बिस्तारै बढ्दै गएको सुनामी (स्लो मुभिङ सुनामी) को संज्ञा दिएकी छन् । डब्लूएचओले एएमआरलाई एउटा ठूलो खतराको रूपमा लिएको छ, जसले दिगो विकासको लक्ष्य प्राप्तिमा बाधा निम्त्याउनेछ । स्वास्थ्य, अर्थ, खाद्य सुरक्षा र विकासमा समेत यसले असर पुर्याउने पक्का छ ।
सन् २०२२ मा ल्यान्सेट जर्नलमा प्रकाशित एक अनुसन्धानात्मक लेखअनुसार, सन् २०१९ मा मात्र संसारभर १२ लाख ७० हजार मानिसको एएमआरका कारण प्रत्यक्ष रूपमा ज्यान गएको छ । यो संख्या सोही वर्ष एचआईभी एड्सका कारण भएको मृत्युभन्दा डेढ गुणा बढी हो । एएमआरका कारण मृत्यु हुनेमा २० प्रतिशत एकदेखि पाँच वर्षसम्मका बालबालिका रहेका छन् । सोही अनुसन्धानअनुसार दक्षिण एसिया क्षेत्रमा मात्र ३,८९,००० व्यक्तिको मृत्यु भएको छ, जसमध्ये ८४,००० जना ५ वर्षमुनिका बालबालिका रहेका छन् । दक्षिण एसियाको मृत्युदर अफ्रिका महादेशपछि दोस्रोमा आउँछ ।
एएमआरको असर यतिमा मात्र सीमित छैन । विश्व बैंकको अनुमानअनुसार यदि समयमा नै एएमआरप्रति सजग भइएन भने सन् २०५० सम्म यसले विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन ३.८ प्रतिशतले घट्नेछ । जसका कारण थप २ करोड ८० लाख मानिस चरम गरिबीको रेखामुनि पुग्नेछन् । तथा विश्वव्यापी स्वास्थ्य खर्च प्रतिवर्ष १ खर्ब अमेरिकी डलरले वृद्धि हुनेछ । हाम्रो जस्तो विकासोन्मुख मुलुक जहाँ सर्वसाधारणमा शिक्षाको पहुँच पुग्न सकेको छैन, व्यवसाय व्यवस्थित छैनन् र नियामक निकायको पनि क्षमता आशातित छैन, त्यस्तोमा यो समस्या झन् विकराल रूपमा देखिने निश्चितप्रायः छ । यो समस्याले सामान्य घाउ वा चोटपटक हुँदा पनि हामीले ज्यान नै गुमाउनुपर्ने अवस्था नल्याउला भन्न सकिन्न ।
एएमआरको कारण
प्रतिजैविक प्रतिरोध एक प्राकृतिक प्रक्रिया हो र एन्टिमाइक्रोबियलको प्रयोगसँगै यो प्रतिरोध अन्ततः एक दिन आउने नै हो । हाम्रो जिम्मेवारी भनेको यो परिवर्तनलाई सकेसम्म लम्ब्याउनु हो, जसले गर्दा औषधिले आफ्नो काम जारी राख्न सकुन् । यद्यपि, हामी अहिले यी एन्टिमाइक्रोबियल र त्यसमा पनि एन्टिबायोटिकको दुरुपयोग नै गरिरहेका छौं । छुस्स टाउको दुख्यो वा पेट दुख्यो वा सामान्य रुघाखोकी लाग्यो भने पनि हामी नजिकैको औषधि पसल जान्छौं र जाँच नै नगरी एन्टिबायोटिकको सेवन गर्छौं ।
जाँच गरेर एन्टिबायोटिक घर ल्यायौं भने पनि दुई–चार दिनमा आफूलाई सन्चो भएको जस्तो महसुस भए औषधि खानै बिर्सिन्छौं वा भविष्यका लागि साँचेर राख्छौं । हाम्रो यस्तो गैरजिम्मेवारीले गर्दार् कीटाणुलाई फाइदा पुगिराखेको हुन्छ । उसले परिवर्तित वातावरणमा अनुकूलन गर्नका लागि आफ्नो जिन नै परिवर्तन गर्न सक्छ र त्यो एन्टिबायोटिकको पुनः प्रयोगले गर्दा कुनै असर नदेखिन सक्छ । सो अवस्थामा रोगको उपचार हुन नसक्ने अवस्था पनि आउन सक्छ । डाक्टरले दिएको डोजभन्दा बढी वा कम दुवै अवस्थामा कीटाणुले आफूलाई एन्टिबायोटिकसँग प्रतिरोध गर्न थाल्छ ।
मानिसमा मात्रै नभई अहिले त पशुहरूको वृद्धि विकासमा पनि एन्टिबायोटिक प्रयोग गरिन्छ । पशु र मानवमा प्रयोग गरिने एन्टिबायोटिक प्रायः एकै किसिमका हुन्छन् । नेपालमा झन् व्यावसायिक रूपमा पालिने पशुपन्छीमा रोग लाग्नुअघि नै एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति देखिएको छ । यद्यपि, एन्टिबायोटिकले वृद्धि विकासमा भूमिका नखेल्ने विभिन्न अनुसन्धानले देखाएका छन् । पशु सेवा विभागले देशभर गरेको एक अनुसन्धानअनुसार प्रति किलोग्राम ब्रोइलर कुखुरामा औसत २५४.९५ मिलिग्राम एन्टिमाइक्रोबियल प्रयोग गरिएको पाइएको छ । यसको अर्थ हामीले १ किलो कुखुरा खाँदा २५४.९५ मिलिग्राम एन्टिबायोटिक खाइरहेका हुन्छौं । यसरी शरीरमा एन्टिबायोटिक नजानिँदो तरिकाले पनि प्रवेश गरेर शरीरमा रहेका कीटाणुलाई एन्टिबायोटिकले काम नगर्ने बनाइदिन्छ ।
प्रतिरोधको अर्को कारक अस्पतालमा एन्टिबायोटिकका लागि हुने असावधानी पनि हो । अस्पतालमा विभिन्न किसिमका बिरामी आइरहेकै हुन्छन् । तिनीहरूमध्ये कतिपयमा एएमआरका केस पनि हुन्छन् । अस्पतालको असावधानी जस्तैः सरसफाइको कमी रह्यो भने त्यस्ता प्रतिरोधी कीटाणु समस्या नभएका व्यक्तिसम्म पुग्ने हुन्छ । यो अवस्था सघन उपचार कक्ष (आईसीयू) मा आउने सम्भावना उच्च हुन्छ ।
साथै, चिकित्सक र औषधि विक्रेताले एन्टिबायोटिकलाई डिस्पोज गर्दा सिधै फोहोरमा फाले भने पनि फोहोरमा भएका कीटाणुले त्यो एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गर्न सक्छन् । त्यो फोहोरको सम्पर्कमा आउने बोटबिरुवा, पशुपन्छीले कीटाणु बोकेर हाम्रो खाद्य चक्रमा प्रवेश गराउँछन् । एएमआर विकसित भएका कीटाणु खाद्य चक्रमा प्रवेश गरे भने हामी कसै गरे पनि सुरक्षित हुन गाह्रो पर्छ । हाम्रोजस्तो कमजोर स्रोत रहेका प्रयोगशालामा एएमआर परीक्षण गर्न तुलनात्मक रूपमा महँगो हुन्छ । जसले गर्दा समस्याको पहिचान र समाधानमा पनि ढिलाइ हुन पुग्छ ।
के गर्न सक्छौं ?
सरकारी तवरमा प्रतिरोधको समस्यालाई रोकथाम गर्न राष्ट्रिय कार्ययोजना तयार भइसकेको छ । सँगसँगै प्रतिजैविक प्रतिरोधको समस्यालाई रोकथाम गर्न वा समस्या विकराल हुन नदिन हाम्रो सानो प्रयासले पनि ठूलै गति लिन सक्छ ।
हामीले गर्ने भनेको सर्वप्रथम रोग नै लाग्न नदिनु हो । त्यसका लागि व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिँदै उपयुक्त खोपको प्रयोग गर्ने, व्यायाम र आराममा ध्यान दिन सकिन्छ । रोग लागिहाल्यो भने स्वास्थ्यकर्मीको निर्देशनअनुसार मात्रै औषधिको प्रयोग गर्ने र भनेजति समयमा डोज पूरा गर्नुपर्ने हुन्छ । जथाभाबी रूपमा औषधि पसलमा पनि एन्टिबायोटिक दिनका लागि जोड गर्न हुँदैन । भाइरल संक्रमणको समयमा एन्टिबायोटिक आवश्यक पर्दैन र त्यो समयमा आरामलाई जोड दिँदै, चाहिएको खण्डमा चिकित्सकको सल्लाहबमोजिम एन्टिभाइरल सेवन गर्नुपर्ने हुन्छ । त्यस्तै, घरका वा व्यावसायिक रूपमा पालिएका पशुपन्छीमा पनि रोग लाग्दा मात्रै एन्टिबायोटिक प्रयोग गर्ने र अनधिकृत रूपमा एन्टिबायोटिक दुरुपयोग नगरेसम्म समस्या न्यूनीकरण हुन जान्छ ।
अहिले ‘न्यामत नेपाल’ ले नेपालले प्रतिजैविक प्रतिरोधका लागि युवालाई संलग्न गराउँदै देशव्यापी लहरको सुरुवात गरेको छ । यो अभियानमा सातै प्रदेशबाट प्रत्यक्ष रूपमा २८ वटा क्लब र ३ वटा नेटवर्कबाट करिब ८०० भन्दा बढी युवासमेत करिब २७०० जनशक्ति जनचेतनात्मक कार्यमा लागेको छ । हाम्रो समाजमा प्रतिजैविक प्रतिरोधको समस्याबारे अधिकांशलाई थाहा छैन । आफूले गर्न सक्ने पैरवी र चेतनाका कार्य व्यक्तिगत तवरबाट पनि गर्न सकिन्छ । यसको सुरुवात हामी आफ्नै घरबाट गर्न सक्छौं । यो समस्या अझै जटिल हुनुअघि नै हामी सबै प्रतिरोधको समस्याविरुद्ध एक जुट भई लड्नुपर्छ ।
– दाहाल जनस्वास्थ्यकर्मी र न्यौपाने खाद्य अनुसन्धान अधिकृत हुन् ।
