रेलमार्ग यातायातको साधन मात्र होइन यो त राष्ट्रिय गौरव र आर्थिक उन्नतिको प्रतीक पनि हो, चीनले दुर्गम भूभागमा समेत बनाएका रेलमार्ग नेपालीका लागि सिकाइ हुन सक्छ ।
चिनियाँहरू सबैभन्दा ठूलो पर्व वसन्त चाड अर्थात् नयाँ वर्ष मनाउँदै छन् । नेपालीको दसैंमा जस्तै चिनियाँ काम वा अध्ययनबाट यतिबेला घर फर्किन्छन् र परिवारसँग पुनर्मिलन गर्छन् । वसन्त चाडको बिदा अवधि र जाडो बिदा एउटै समयमा पर्छ । त्यसैले विश्वविद्यालयका लाखौं विद्यार्थी घर फर्केका छन् ।
यतिबेला रेलमार्ग चिनियाँका लागि ‘लाइफलाइन’ हो । रेलमार्गले परिवारसँग पुनर्मिलनको अवसर दिएको छ ।
‘ग्लोबल टाइम्स’ का अनुसार यस पर्वमा ५१ करोडभन्दा धेरै मानिसले रेलमार्गबाट मात्र यात्रा गर्दछन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ५.५ प्रतिशतले बढी हो । करिब १ लाख ५० हजार किलोमिटर रेलमार्ग भएको चीन विश्वको सबैभन्दा ठूलो उच्च गतिको रेल नेटवर्क भएको देश हो । ‘बुलेट ट्रेन’ विकासमा नयाँ रेकर्ड बनाउँदै गरेको चीनको राजनीतिक नेतृत्वले भन्ने गरेको छ– ‘रेलको गति जति तीव्र हुन्छ, देश त्यति नै बलियो हुन्छ ।’ यसबाट पनि उनीहरूको रेल प्राथमिकता बुझ्न सकिन्छ । चीनमा रेलमार्गलाई यातायात मात्र होइन, देशको ‘रक्तनली’ मानिन्छ । यहाँको आधुनिक पूर्वाधारको मूल आधार नै रेलमार्ग हो । रेलमार्गलाई चीनको उदय र आधुनिकीकरणको प्रतीक मानिन्छ । चिनियाँहरू भन्ने गर्छन्– ‘रेलमार्गले चीनका दुई भूगोल मात्र जोड्दैन, विगत र वर्तमानको चिनियाँ इतिहासलाई पनि जोड्छ ।’ रेलमार्गको विकासलाई मात्र अध्ययन गर्दा पनि चीनको उदय र आधुनिकीकरण बुझ्न सकिन्छ ।
औद्योगिक क्रान्तिमा ढुवानी सहज बनाउन बेलायतमा पहिलो रेलमार्ग सन् १८२५ मा निर्माण भएको थियो । त्यसपछि अन्य पश्चिमी देश जस्तैः अमेरिका, फ्रान्स, क्यानडा, जर्मनी र इटालीले पनि यसको अनुकरण गरे । त्यसको केही समयपछि नै आफ्नो व्यापार विस्तारको ध्येयले बेलायतले सन् १८७६ मा साङ्घाई नजिकै १२ किलोमिटर वुसुङ रेलवे निर्माण गर्यो । त्यो समय गोरुगाडा र घोडा यातायातका मुख्य साधन थिए । रेलमार्गले सैन्य सुरक्षामा बाधा पुर्याउने, कृषियोग्य जमिन नष्ट गर्ने र परम्परागत विश्वासमा असर पुर्याउने डर चिनियाँहरूमा थियो । त्यसैले वुसुङ–साङ्घाई रेलमार्ग हटाइयो । यो रेलमार्गलाई चिनियाँ रेल इतिहासको पहिलो अध्याय मानिन्छ । सन् १८८१ मा कोइला ढुवानीका लागि थाङसानमा रेलमार्ग बनाइयो, सन् १८८८ सम्म यसलाई थियानजिनसम्म विस्तार गरियो । सन् १८९६ मा फ्रान्स, जर्मनी र बेलायतलाई रेल निर्माणको अधिकार दिइयो तर उनीहरूले पूरा गरेनन् । पछि चिनियाँहरूले रेल अधिकार संरक्षण आन्दोलन नै गरेर आफ्नो अधिकार फिर्ता ल्याए । सन् १९०९ मा चीनको स्वदेशी इन्जिनियरिङ क्षमतामा बेइजिङ–चाङचियाखोउ रेल निर्माण गरियो । विदेशी सहयोगबिना रेलवे निर्माण गरेर उनीहरूले इतिहास रचे । यसको नेतृत्व गर्ने चाङ थियानयोलाई ‘चीन रेलवेका पिता’ भनिन्छ ।
सन् १९११ सम्म चीनमा करिब १० हजार किलोमिटर रेलमार्ग निर्माण भइसकेको थियो । पछि रेलमार्ग निर्माण सुस्त भयो । लगानीको अभाव र युद्धका कारण रेलको विकास हुन सकेन । सन् १९४९ भन्दा अघि २३ हजार ५ सय किलोमिटर रेलमार्ग निर्माण गरिएकामा ११ हजार किलोमिटर मात्र सञ्चालनमा थियो त्यसमा पनि युद्धका कारण करिब आधाजति त क्षतिग्रस्त भएको थियो ।
सन् १९४९ मा रेलवेको अधिकार औपचारिक रूपमा सरकारको स्वामित्वमा ल्याइयो र रेलवे मन्त्रालय स्थापना भयो । युद्धका कारण क्षतिग्रस्त भएका रेलमार्ग पुनः सञ्चालनमा ल्याइयो । नयाँ चीन स्थापनापछि पहिलो पञ्चवर्षीय योजना (सन् १९५३) को अन्त्यसम्म ६ हजार किलोमिटर नयाँ रेलमार्ग निर्माण गरिएको थियो । सुरुमा व्यवस्थापन पनि चुस्त थिएन । सांस्कृतिक क्रान्तिको समयमा पनि महत्त्वपूर्ण रेलमार्ग अवरुद्ध थिए । सन् १९६१ पछि चीनमा विद्युतीय रेलमार्ग सुरु भएको हो । त्यसपछि रेल नेटवर्कको आधुनिकीकरणका लागि ठूलो लगानी हुन थाल्यो । सन् २००० सम्म त रेलमार्ग सञ्जाल देशभर फैलियो, व्यवस्थापन पनि चुस्त हुन थाल्यो । सन् २००० देखि २००४ सम्म १६ हजार किलोमिटर रेलवे बनाइएको थियो । सन् १९९७ मा रेलको औसत गति ६५ किमि/घण्टा थियो । सन् २००० पछि १६० किमि/घण्टासम्म पुर्याइयो । २००७ मा अन्तरसहर उच्च गतिका रेल निर्माण गर्न थालियो, जसको गति २५० किमि/घण्टा थियो ।
सन् २००८ पछि चीनको रेल प्रणाली उच्च गतिको युगमा प्रवेश गर्यो । सन् २००८ अगस्ट १ मा बेइजिङ–थियानजिन बुलेट रेलको उद्घाटन गरियो । अहिले बुलेट रेलले प्रायः सबै ठूला सहर र पर्यटकीय स्थललाई जोडिसकेको छ । विश्वभरका कुल बुलेट रेलमार्गको करिब दुई तिहाइ रेलमार्ग चीनमा छ । ४८६ किमि/घण्टाका रेलहरू सञ्चालनमा छन् भने ६०५ किमि/घण्टा गतिको रेल परीक्षण भइसकेको छ । अहिले देशभित्र र अन्तरदेशीय रेलमार्गका लागि ६०० किमि/घण्टा गति भएका रेलका लागि फरक देशका फरक गेज, भोल्टेज र संकेत प्रणालीसँग अनुकूल हुने गरी निर्माणमा जुटेका छन् । रेलको विशाल सञ्जाल र विश्वव्यापी प्रभावले चीनलाई विश्वकै अग्रणी उच्च गतिको रेलवे प्रणाली भएको देशका रूपमा चिनिन्छ ।
सन् २०३५ सम्म २ लाख किलोमिटर रेलमार्ग निर्माण गर्ने लक्ष्य चीनले राखेको छ । चीनको रेलवे प्रणालीले यहाँको तीव्र औद्योगिकीकरण र पूर्वाधार विकासको उदाहरणसँगै नयाँ रेकर्ड पनि बनाएको छ । बेइजिङ–क्वान्चो विश्वकै लामो उच्च गतिको रेल हो भने चिङ्हाई–तिब्बत रेलवे समुद्र सतहबाट ५,०७२ मिटर उचाइमा विश्वकै उच्चतम बिन्दुमा रहेको रेलमार्ग हो । दक्षिण–पश्चिम चीनको छेङ्दु–कुनमिङ रेलवे पनि कठिन भौगोलिक क्षेत्रमा निर्माण भएकाले ठूलो इन्जिनियरिङ सफलता मानिन्छ । चीन रेल निर्माणमा आत्मनिर्भर छ । स्वदेशी एचएसआर प्रविधि विकास गरेको छ, जसले घरेलु नवप्रवर्तनलाई प्रवर्द्धन गरेको छ । सम्भावित मर्मत सम्भार र अनुगमनका लागि एआई प्रयोग हुन्छ । ई–कमर्स माग पूरा गर्न उच्च–गतिका मालवाहक रेल विकास भइरहेको छ । रेलवे प्रणालीमा सरकारी अनुदानका कारण सबैलाई पहुँचयोग्य टिकट दर कायम गरिएको छ । चीनका रेलवे भूकम्प र बाढीजस्ता प्राकृतिक प्रकोप सामना गर्न सक्ने डिजाइनमा बनाइएका छन् । रेलवे इन्जिनियरिङ र व्यवस्थापनमा विशेषज्ञताका लागि छुट्टै रेलवे विश्वविद्यालय पनि छन् ।
चीनको सहरी क्षेत्रमा मेट्रो र सबवे जस्ता प्रणालीले द्रुत सहरीकरण र आर्थिक विकासमा सहयोग गरेका छन् । सहरका लागि मेट्रो प्रणाली जीवनरेखा सावित भएको छ । सन् १९६५ मा निर्माण सुरु भएको बेइजिङ सबवे प्रणाली सन् १९६९ मा सञ्चालनमा आएको थियो । साङ्घाई र क्वान्चो जस्ता सहरमा सन् १९८० को दशकपछि मेट्रो परियोजना सुरु भयो । बेइजिङ तथा साङ्घाईको मेट्रो प्रणाली अहिले विश्वकै सबैभन्दा ठूलो मेट्रो/सबवे नेटवर्कमध्ये पर्छ । मेट्रो प्रणालीबिना बेइजिङ र साङ्घाईजस्ता सहरमा निकै ट्राफिक जाम हुन्थ्यो । अहिले यहाँका हरेक नयाँ सहरले मेट्रो प्रणाली सञ्चालन गर्न थालेका छन् । २०२२ मा सञ्चालनमा आएको छोङछिङको होंग्यानछुन स्टेसन सतहबाट १ सय १६ मिटर गहिराइमा छ, जुन ४० तलाको उचाइ बराबर हो । मेट्रो प्रणालीले ठूलो सहरलाई पनि सानो र जोडिएको महसुस गराउँछ । मेट्रो प्रणाली भएको सहरले आधुनिक र विकसित भएको संकेत पनि दिन्छ ।
मेट्रो र रेल प्रणालीले यहाँको दैनिक जीवनलाई धेरै सहज बनाएको छ । रेलमार्ग यातायातको साधन मात्र होइन, यो त राष्ट्रिय गौरव र आर्थिक उन्नतिको प्रतीक पनि हो । दुर्गम क्षेत्रमा रेलमार्ग पुर्याउँदा मानिसहरू गरिबीबाट उज्यालो भविष्यतर्फ लम्केका छन् । प्राकृतिक विपत्ति र आपत्कालीन अवस्थामा पनि रेलमार्गले आफ्नो सेवा जारी राख्छ । देशका हरेक कुनाका मानिसलाई रेलमार्गले जोड्छ । समय बचत गरेको छ । रेल र मेट्रो सधैं समयमै चल्ने भएकाले मानिसले यसमा पूर्ण विश्वास राख्छन् । सुव्यवस्थित प्रणाली हुने भएकाले अपवादबाहेक दुर्घटना हुँदैन ।
रेलमार्गले दुर्गम गाउँलाई सहरसँग जोडेर आर्थिक समृद्धिमा योगदान पुर्याएको छ । किसानले उत्पादन सहरमा बेच्न सक्छन् । जहाँ रेल पुग्छ, त्यहाँ विकास हुन्छ । भनिन्छ, ‘रेलको एउटा नयाँ स्टेसनले गाउँलाई नयाँ सहरमा बदल्न सक्छ ।’ चीनमा रेलवे स्टेसन वरपरको भूभाग छिट्टै विकसित भई व्यापारिक केन्द्र बन्ने गरेको छ । उच्च गतिको रेलले व्यापारलाई तीव्र बनाउँछ । सामान समयमै बजारमा पुग्छ । व्यापारीहरूलाई देशभित्र र अन्तर्राष्ट्रिय व्यापारका लागि सहज पहुँच दिएको छ । रेलमार्गले यात्रा सस्तो र सुविधाजनक भएकाले पर्यटक ग्रामीण क्षेत्रसम्म पुग्छन् । यसले स्थानीय समुदायको आयआर्जन र जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको छ । अविकसित क्षेत्रलाई प्रमुख सहरसँग जोडेर रेलमार्गले सबैलाई ठूला सहरसम्म पहुँच दिएको छ । ग्रामीण र सहरी क्षेत्रबीचको दूरी कम गर्दै आर्थिक असमानता घटाएको छ । रेल टिकटको कम लागतले ग्रामीण र निम्न आय भएका वर्गलाई पनि सहरसम्मको यात्रा सम्भव बनाएको छ । अहिले चीनमा ७५ प्रतिशतभन्दा धेरै क्षेत्र रेलमार्गसँग जोडिइसकेको छ ।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत चीनले रेल प्रणालीलाई व्यापार र कूटनीतिक सम्बन्ध विस्तारका लागि उपयोग गर्दै आएको छ । नेपालमा पनि चिनियाँ रेलमार्गहरूलाई आर्थिक समृद्धि र कनेक्टिभिटीको प्रतीकका रूपमा हेरिन्छ । केरुङ–काठमाडौं रेलमार्गलाई विश्व बजारसँगको कनेक्टिभिटीको प्रवेशद्वारका रूपमा लिने गरिन्छ । चीनका रेलमार्ग उनीहरूको इन्जिनियरिङ क्षमताको प्रमाण हुन् । चीनले हिमालयजस्तो कठिन भौगोलिक क्षेत्रमा पनि रेल कुदाएको छ । हिमालय जस्तो दुर्गम भूभागमा बनाएका रेलमार्ग नेपालीका लागि पनि प्रेरणाको स्रोत बनेका छन् ।
– वाग्ले चीनको सञ्चार विश्वविद्यालयमा विद्यावारिधि अध्ययनरत छन् ।
