जलवायु परिवर्तनबाट गम्भीर असर भोगिरहेका, वैज्ञानिक भू–उपयोग नीतिको अभाव भएका र प्रकोप नियन्त्रणको पूर्वतयारीमा कमजोर नेपालजस्ता देशका लागि क्यालिफोर्नियाको डढेलो एक प्रकारको ‘चेतावनी’ हो ।
लिफोर्नियाको पालिसेड्स र इटन क्षेत्रमा जनवरी ७ देखि लागेको डढेलो अहिले पनि नियन्त्रणबाहिर छ । यो आगलागी संयुक्त राज्य अमेरिकाको इतिहासमै सबैभन्दा विनाशकारी घटनामध्ये एक बनेको छ । हालसम्म डढेलोका कारण कम्तीमा २७ जनाको ज्यान गइसकेको छ भने लाखौं मानिस वायु प्रदूषणको जोखिममा परेका छन् र क्षतिको प्रारम्भिक अनुमान अर्बौं डलरमा रहेको छ ।
हालसम्म दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने झन्डै १५ हजार संरचना ध्वस्त भएका छन् ।
क्यालिफोर्निया राज्य लगभग हरेक वर्ष डढेलोको चपेटमा आइरहेको हुन्छ । यद्यपि यस वर्ष खडेरीसँगै एक सय माइल प्रतिघण्टाको गतिमा आएको सान्टा आना नामक आँधीले गर्दा डढेलो नियन्त्रणबाहिर गयो र भयावह रूप लिन पुग्यो । २०१८ को क्याम्प फायर डढेलो इतिहासमै सबैभन्दा विनाशकारी मानिन्छ, संरचना विनाशका आधारमा यस आगलागीले १८,००० भन्दा बढी संरचना ध्वस्त बनायो, जसमा अधिकांश आवासीय घर थिए । साथै, यस डढेलोले ८५ जनाको ज्यान लियो, त्यसैले यसलाई राज्यको इतिहासमा सबैभन्दा प्राणघातक डढेलो मानिन्छ ।
क्षेत्रफलका आधारमा सन् २०२० को अगस्टमा भएको कम्प्लेक्स डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा ठूलो डढेलो हो । १० लाख एकडभन्दा बढी क्षेत्रमा फैलिएको यस आगलागीलाई गिगाफायरका रूपमा चिनिन्छ जसले ९३५ संरचना नष्ट गर्यो । रिपोर्टका मुताविक यस्ता ठूला डढेलो क्यालिफोर्नियामा क्रमशः सामान्य बन्दै गइरहेका छन् । क्यालिफोर्नियाका डढेलोहरू १९७० को दशकदेखि आठ गुणाले ठूला भएका छन् र वार्षिक रूपमा जल्ने क्षेत्रफल झन्डै ५०० प्रतिशतले वृद्धि भएको छ ।
प्रकोपको पूर्वतयारी र व्यवस्थापनमा तुलनात्मक रूपमा मजबुत देखिने अमेरिका जस्तो शक्तिशाली तथा प्रविधियुक्त राष्ट्रको डढेलोसँग लड्ने संयन्त्र भने प्रभावकारी देखिएन । जबकि क्यालिफोर्निया डढेलोको हिसाबले जोखिमयुक्त स्थान हो । क्यालिफोर्नियाका केही स्थान त वर्षैभरि ‘आगलागीको मौसम’ भनेर सजग रहनु आवश्यक मानिन्छ ।
यद्यपि यति विनाशक डढेलोको कारणचाहिँ के होला भन्ने विषयमा मतैक्य भेटिँदैन । धेरैजसो विज्ञको विश्लेषणमा जलवायु परिवर्तन र अवैज्ञानिक भू–उपयोग प्रणाली र स्रोतको कमजोर व्यवस्थापन नै क्यालिफोर्नियाको यो डढेलोको मूल कारण हो भन्ने छ । जसै सुक्खा लाग्छ, वनस्पतिहरू सुक्दै जान्छन् र ती आगोका लागि प्रज्ज्वलनशील ऊर्जा बन्छन्, जबजब खडेरी लम्बिँदै जान्छ, तबतब आगोको जोखिम बढ्दै जान्छ ।
क्यालिफोर्नियाको आगोको तरंग भने विश्वभर झन् गतिवान् भएर फैलिएको छ । यसले भविष्यमा जहाँ पनि आइलाग्न सक्ने डढेलोको प्रकोपबाट कसरी जोगिने भन्ने बहसको ढोका खोलेको छ र नेपालजस्तो बहुप्रकोपीय जोखिम भएको देशमा जाडो सकिएसँगै सुरु हुने सुक्खा मौसममा हुने आगलागी तथा वन डढेलोका लागि के कस्ता तयारी गरिएका छन् ? विगतका घटनाक्रमबाट के सिकियो र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने जस्ता विषयहरूमा घोत्लिनु आवश्यक देखिन्छ ।
क्यालिफोर्नियाको डढेलोले जलवायु परिवर्तनले निम्त्याएको जोखिम र चुनौतीलाई स्पष्ट रूपमा उजागर गरेको छ । नेपालजस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशमा घटनाको संख्या र क्षतिको हिसाबले आगलागीलाई प्रमुख विपद् मानिन्छ, यसप्रति विशेष संवेदनशीलता आवश्यक छ । वन क्षेत्रको व्यवस्थापनमा लापरबाही, सहरी अतिक्रमणजस्ता मानवीय क्रियाकलापहरूले संकटलाई झन् जटिल बनाएको छ ।
क्यालिफोर्नियाको उन्नत प्रविधि र प्रारम्भिक चेतावनी प्रणालीको बाबजुत पनि त्यहाँको विनाशले जलवायुप्रेरित विपद्को सामना गर्न सक्षम राष्ट्रहरूको सीमितता उजागर गरेको छ । नेपालजस्तो भौगोलिक जोखिमयुक्त, सीमित स्रोत साधन र प्रविधि तथा कमजोर व्यवस्थापन भएको देशमा यदि समुदायस्तरबाट संवेदनशीलता र सतर्कता देखाइएन भने आगलागीले आर्थिक, जैविक र मानवीय क्षतिमा गम्भीर रूप लिन सक्छ भन्नेमा कुनै दुई मत रहँदैन । अतः दीर्घकालीन रणनीति र सामुदायिक तयारीलाई प्राथमिकतामा राख्दै अगाडि बढ्नुपर्ने देखिन्छ ।
नेपालमा आगलागी बर्सेनि दोहोरिने विनाशकारी विपद् बनेको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार पछिल्लो एक दशकमा आगलागीका घटनाको वार्षिक दर झन्डै चार गुणाले बढेको छ । २०७०/०७१ मा देशभर ९६८ आगलागीका घटना दर्ता भएका थिए भने पछिल्लो एक वर्षमा ३,८१४ घटना भएको तथ्यांकले देखाउँछ ।
नेपालमा खासगरी चैत–वैशाखको सुक्खायाममा हुने आगलागी र वन डढेलोको घटनाले पछिल्लो दशकभरि देशभर २०,५१८ आगलागीका घटना भएका छन्, यस अवधिमा आगलागीका कारण ७९५ जनाले ज्यान गुमाएका छन्, २,७४२ जना घाइते भएका छन् । आगलागीबाट कुल अनुमानित २२ अर्ब १६ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको विभिन्न रिपोर्टले देखाउँछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गतवर्ष लामो समयदेखिको खडेरी, तापक्रम वृद्धिका कारण देशैभर आगलागी फैलिएको थियो । फलस्वरूप तराई क्षेत्रमा तातो हावाको लहर चलेको, वायुमण्डल प्रदूषित भएकाले श्वासप्रश्वासका रोग बढेका थिए । आगलागी नियन्त्रणका लागि वर्षा नै कुर्नुपर्ने निरीहताको विकल्प हामीमा थिएन ।
नेपालमा बढ्दो आगलागीको जोखिम
नेपालले क्यालिफोर्नियाको जस्तो विनाशकारी डढेलो अनुभव त गरेको छैन तर यहाँ आगलागीको जोखिम भने तीव्र रूपमा बढिरहेको छ । नेपालमा वन डढेलो मुख्यतः मानव लापरबाही र जलवायु परिवर्तनको संयुक्त प्रभावका कारण हुन्छ । यसमा बढ्दो तापक्रम र लामो समयसम्मको सुक्खा मौसम प्रमुख कारकका रूपमा देखा परेका छन् । पछिल्ला वर्ष विशेषगरी पूर्वमनसुन समयमा, देशमा डढेलोको घटनामा उल्लेखनीय वृद्धि भएको छ, जसले सुक्खा वनस्पतिलाई अत्यधिक ज्वलनशील बनाउँछ ।
सन् २०२४ मा नेपालमा आगलागीका घटनामा उल्लेखनीय वृद्धि भएको थियो, विशेषगरी वन डढेलोले ठूलो मानवीय र आर्थिक क्षति पुर्यायो । विभिन्न सञ्चारमाध्यमका अनुसार जुन २१, २०२४ सम्ममा देशभर ५,१२५ डढेलोका घटना दर्ता गरिएका थिए, जुन २००२ देखि रेकर्ड राख्न सुरु भएयता दोस्रो उच्चतम संख्या हो । अप्रिल १४, २०२३ देखि अप्रिल ३, २०२४ सम्म डढेलोका कारण १०२ जनाले ज्यान गुमाए ।
नेपालको पहाडी भूगोल र जोखिमयुक्त क्षेत्रहरूको कठिन पहुँचले डढेलो नियन्त्रणलाई झनै चुनौतीपूर्ण बनाएको छ । साथै, सीमित स्रोतसाधन, प्रारम्भिक चेतावनी प्रणालीको अभाव र सामुदायिक जागरुकताको कमीले समस्या थप गम्भीर बनेको छ ।
क्यालिफोर्नियाबाट नेपालका लागि पाठ
१. सामुदायिक तयारी र जागरुकता वृद्धि
क्यालिफोर्नियाको डढेलोले समुदायमा आधारित प्रकोप पूर्वतयारी र व्यवस्थापनको कमजोर पक्षको उजागर गरेको छ । विशेषगरी गरिब र अश्वेतहरूको बाहुल्य भएका उच्च जोखिमका क्षेत्रहरूमा उद्धार र पुनःस्थापनाको काम सजिलो नभएका खबरहरू आए । नेपालमा पनि बाढी, पहिरो र आगलागीपछि यस्तै समस्या स्पष्ट देखिन्छन् । विपन्न र सीमान्तकृत समुदाय प्रकोपबाट सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । यसले समुदायमा आधारित पूर्वतयारीको आवश्यकता देखाउँछ ।
नेपालले समुदायस्तरमा डढेलो रोकथाम र सुरक्षा उपायका बारेमा सचेतना फैलाउने र समुदायमा आधारित अग्नि व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याउन सकेमा प्रकोप न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्न सक्छ ।
२. अग्नि नियन्त्रक क्षमताको सुदृढीकरण
क्यालिफोर्नियाका अग्नि नियन्त्रकहरू आधुनिक उपकरण र उन्नत तालिमले सुसज्जित छन् भने नेपालका कतिपय स्थानीय तह पर्याप्त वारुणयन्त्रको अभावबाट गुज्रिरहेका छन् । नेपालले पनि अग्नि नियन्त्रकलाई तालिम दिन र उनीहरूलाई आवश्यक उपकरण उपलब्ध गराउन ध्यान दिनुपर्छ । ग्रामीण क्षेत्रमा स्वयंसेवक अग्नि नियन्त्रकहरूको सञ्जाल विकास गरेर आगो नियन्त्रणमा थप प्रभावकारिता ल्याउन सकिन्छ । यसका लागि जनस्तरमा जनचेतना फैलाउन, तालिम प्रदान गर्न, प्रभावकारी पूर्वसूचना प्रणाली स्थापना गर्न र प्रकोपपछि तत्काल व्यवस्थापन तथा पुनःस्थापनामा पहुँच सुनिश्चित गर्न अत्यावश्यक छ ।
३. भूमि उपयोग योजना र नीतिको कार्यान्वयन
क्यालिफोर्नियामा सहरी अतिक्रमणले डढेलोको जोखिम बढाएको देखिन्छ, जसले गर्दा जंगल मात्र नभई आसपासका सहर, बस्ती र मानव निर्मित संरचना पनि ध्वस्त भए । यो नेपालजस्ता देशका लागि महत्त्वपूर्ण पाठ हो । नेपालका अधिकांश विकास निर्माण र संरचना बाढी, पहिरो र डढेलोजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका क्षेत्रमा केन्द्रित छन् । यसको परिणामस्वरूप हरेक वर्ष प्राकृतिक प्रकोपबाट ठूलो धनजनको क्षति व्यहोर्नुपरेको छ ।
यस चुनौतीलाई सम्बोधन गर्न सरकारले भूमि उपयोग योजना बनाएर उच्च जोखिम भएका क्षेत्रमा सहरीकरण गर्न नदिने नीतिहरू लागू गर्नु आवश्यक देखिन्छ । साथै, सहरी विकास योजनामा प्रकोप जोखिमलाई ध्यानमा राखेर उद्धारलाई सहज बनाउने मापदण्डअनुसार पूर्वाधार विकास गर्नु पनि अत्यावश्यक छ ।
४. जलवायु अनुकूलन रणनीतिहरूको एकीकरण
क्यालिफोर्नियाको डढेलो जलवायु परिवर्तनको तीव्र प्रभावको ज्वलन्त उदाहरण हो । नेपाल पहिले नै बदलिँदो मौसमी प्रक्रिया, बढ्दो तापक्रम र बारम्बार आइरहने प्राकृतिक प्रकोपले बहुपक्षीय प्रकोपको चपेटामा छ । अनियमित मौसम, पग्लँदै गरेका हिमनदीहरू र लामो खडेरी, मनसुनको वर्षा हेर्दा नेपालमा बाढी र आगलागीको जोखिम थप बढेको प्रस्ट हुन्छ ।
जलवायु परिवर्तनका असरलाई न्यूनीकरण र सामना गर्न, दिगो कृषि, वन व्यवस्थापन, पानीको स्रोतको संरक्षण र भौगोलिक तथा भौगर्भिक अवस्थाअनुरूपको दिगो विकास र पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्छ । भविष्यमा पछुताउनुपर्ने स्थिति नआओस् भन्नका लागि अनुकूलन रणनीतिहरूको कार्यान्वयन सुरु गर्न अत्यावश्यक छ ।
५. प्रारम्भिक चेतावनी प्रणाली र प्रविधिको प्रयोग
क्यालिफोर्नियाले उपग्रह इमेजरी र ड्रोनजस्ता अत्याधुनिक प्रविधिको सहायताले डढेलो पत्ता लगाउने र निगरानी गर्ने काम गर्छ । नेपालले पनि अन्तर्राष्ट्रिय साझेदारीका माध्यमबाट आफ्नै प्रारम्भिक चेतावनी प्रणाली विकास गर्न र यस्तो प्रविधि अपनाउन सक्दछ ।
क्यालिफोर्नियाको डढेलो जलवायु परिवर्तन र कमजोर भूमि व्यवस्थापनका कारण उत्पन्न एक प्रलयकारी प्रकोप हो । यसले ठूलो धनजनको क्षति पुर्यायो, जसले प्रत्यक्ष रूपमा प्रभावित भएका समुदाय र एक समृद्ध देशका लागि निकै महँगो साबित भयो ।
क्यालिफोर्नियाको डढेलोको परिमाण नेपालभन्दा ठूलो भए पनि नेपालमा डढेलोको जोखिमलाई कम आँक्न सकिन्न । नेपालको समृद्ध जैविक विविधता र वन क्षेत्र अमूल्य सम्पत्ति हुन्, जसलाई संरक्षण गर्न अत्यावश्यक छ । क्यालिफोर्नियाको अनुभवबाट सिकेर नेपालले डढेलो रोकथाम र व्यवस्थापनका लागि सक्रिय र दिगो दृष्टिकोण विकास गर्न सक्छ ।
विशेषगरी नेपालजस्ता जलवायु परिवर्तनबाट गम्भीर असर भोगिरहेका, वैज्ञानिक भू–उपयोग नीतिको अभाव भएका र प्रकोपको पूर्वतयारीमा कमजोर रहेका देशहरूका लागि यो एक प्रकारको ‘चेतावनी’ हो । क्यालिफोर्नियाको अनुभवबाट सिक्दै नेपालले स्रोत व्यवस्थापन, सहरीकरण र विकास निर्माणमा वातावरणमैत्री नीति, कार्यक्रम र अभ्यास लागू गर्न सक्छ । यसले प्रकोपको जोखिम न्यूनीकरण गर्दै दिगो र सुरक्षित भविष्य निर्माणमा मार्गप्रशस्त गर्न सक्छ ।
