खेलकुदमा बढ्दो उत्साह, टिठलाग्दो पूर्वाधार 

खेलकुदको बजार छैन भन्ने संकथन त एनपीएलको सफल आयोजना र उसले उठाएको सय करोडभन्दा बढीको रकमले नै झूटो साबित गरिदिइसकेको छ

पुस २४, २०८१

शिशिर पछाईं

Enthusiasm in sports, impressive infrastructure

सन् २०२४ नेपाली खेलकुदका लागि निकै सुखद रह्यो । नेपालीमाझ व्याप्त निराशा चिर्ने एकमात्र साधन र सूत्र अहिले खेलकुद भएको छ । खेलकुद मात्रै त्यस्तो क्षेत्र हो, जसले नेपालीलाई खुसी र विश्वमाझ आत्मसम्मान दिलाएको छ ।

राजनीतिक अस्थिरता, अविकास र ढिलासुस्तीले चरम निराश पारेको नेपाली समाजमा आशा जगाउने काम निकै अघिबाटै खेलकुदले गर्दै आएको छ । कुनै समय थियो, जब मुलुकमा जातीय नारा लागिरहेका बेला त्यसलाई एकताको सूत्रमा बाँध्ने काम पनि खेलकुदले गरेको थियो । खेलकुद मात्रै एउटा त्यस्तो क्षेत्र हो जहाँ जातपात, धर्म, लिंग र वर्ण हेरिन्न । केवल नेपालीपन र नेपाली मन मात्र हेरिन्छ । 

वर्ष २०२४ लाई फर्केर हेर्ने हो भने नेपाली क्रिकेट टोलीको विश्वकप यात्रा, पलेशा गोवर्धनले पाराओलम्पिक्समा नेपाललाई तेक्वान्दोमा दिलाएको ऐतिहासिक कांस्य पदक, १९ वर्षमुनिको नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट हुनु र पहिलो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलको सफल आयोजनालाई विशेष मान्न सकिन्छ । 

नेपालमा फुटबल, क्रिकेट, भलिबलजस्ता समूहमा खेलिने खेलमा दर्शकको क्रेज कति छ भनिरहनु पर्दैन । तर पूर्वाधारमा हामी कहाँ छौं भन्नका लागि खेल हेर्न टिकट नपाएर निराश भएका समर्थकको अनुहार हेरे पुग्छ । खेलप्रतिको नेपाली दर्शकको झुकावलाई बुझ्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा सीमित संख्याको टिकट नपाएर निराश हुने दर्शकको संख्या खोतले मात्र पुग्छ ।

उदाहरणका लागि, काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा दशरथ रंगशालाको सीमित सिट संख्याका कारण धेरै दर्शक प्रत्यक्ष खेल हेर्नबाट वञ्चित भए । अखिल नेपाल फुटबल संघलाई आर्थिक रूपमा पनि घाटा भयो । फुटबल मात्र होइन, क्रिकेट र भलिबलका अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा पनि अवस्था यस्तै छ ।

नेपाल, पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जितेर इतिहास रच्नबाट चुक्यो । तर, नेपाली खेलकुदमा भने कीर्तिमान कायम भयो । नेपाल र बंगलादेशबीचको फाइनल खेल कान्तिपुर म्याक्स एचडीको युट्युब च्यानलमा मात्र १० लाखभन्दा बढीले ‘लाइभ’ हेरे । जुन नेपाली खेलकुदको अहिलेसम्मको कीर्तिमानी संख्या हो । 

नेपाल र भारतबीचको सेमिफाइनल ५ लाख २६ हजारले हेरेर भलिबलको कीर्तिमान तोडिएको थियो । यसअघि गत साउनमा काठमाडौंमा नै काभा महिला भलिबल नेसन्स लिगमा नेपाल र भारतको फाइनल ४ लाख ७ हजारले ‘लाइभ’ हेरेका थिए । टेलिभिजनमा हेर्ने दर्शकको संख्या थप्ने हो भने यो अझ धेरै हुन जान्छ । टेलिभिजन र डिजिटल प्लेटफर्मबाहेक रंगशाला, कभर्डहल र मैदानमै गएर खेल हेर्ने दर्शकको पनि कमी छैन । तर हामीकहाँ दर्शक भए पनि पूर्वाधारको अभाव छ ।

एनपीएलको उद्घाटनको खेल हेर्न पुगेका दर्शकले टिकट अभावमा नाराबाजी नै गर्नु पर्‍यो । भीड यतिसम्म थियो कि, चेपिएर दर्जन बढी घाइते भए । फाइनलमा मात्रै हैन अन्य दिन पनि ५ देखि ७ हजारको संख्यामा दर्शक कीर्तिपुर पुग्ने गरेका थिए । अन्य खेल हुँदा यति दर्शक भेट्न मुस्किल पर्छ । 

खासमा नेपाली दर्शक आफ्ना खेलाडीहरूको मनोबल बढाउन रंगशालामा नै पुग्न खोज्छन् । त्यसैले त टिकट बिक्री सुरु हुनु तीन घण्टा अघिदेखि नै लाइन बस्छन् । तर सबैले टिकट पाउँदैनन् । यसको कारण हो दशरथ रंगशालाको दर्शक क्षमता । १५ हजार क्षमताको रंगशालाले नेपाली समर्थकको भार थेग्नै सक्दैन ।

विदेशतिरको अवस्था फरक छ, कतिपय विकसित र विश्वकप खेलिसकेका देशहरूमा समेत महिला फुटबल हेर्न आइदिनुपर्‍यो भनेर समर्थकलाई आग्रह गरिन्छ । तर नेपालमा रंगशाला नभएकै कारण समर्थक खेल हेर्न पाउँदैनन् ।

रंगशालाको सीमित क्षमताका कारण यस पटक काठमाडौंको टुँडिखेललगायत देशका विभिन्न स्थानमा साफ च्याम्पियनसिपको फाइनल ठूलो स्क्रिनमा समेत देखाइयो । जहाँ हजारौं समर्थक उपस्थित थिए । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भलिबल आयोजना हुँदा होस् या कीर्तिपुरस्थित टीयू मैदानमा क्रिकेट प्रतियोगिता दर्शक खचाखच हुन्छन् । तर पूर्वाधार हेर्ने हो भने टिठलाग्दो छ । 

त्यस्तै अवस्था नेपाली क्रिकेटको पूर्वाधारमा पनि छ । क्रिकेट खेलमात्र नभएर देशका युवाका लागि सपना र भविष्यको बाटोसमेत बनेको छ । आज नेपाली क्रिकेट खेलाडी मात्र नभई, यो खेल हेर्न आउने लाखौं समर्थकका प्रेरणा बनेका छन् । एनपीएलले खेलाडीलाई व्यावसायिक अवसरको ढोका खोल्नुका साथै विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्ने प्लेटफर्म पनि दिएको छ । शिखर धवनजस्ता अन्तर्राष्ट्रिय खेलाडीको उपस्थितिले प्रतियोगिताको गरिमा अझ बढाएको छ ।

कीर्तिपुर मैदानमा दर्शकहरूले देखाएको जोस र उत्साहले क्रिकेट संघ (क्यान) लाई थप जिम्मेवारी बोध गराएको छ । मैदानको सीमित क्षमताका कारण हजारौं समर्थकले स्टेडियमबाहिर र वरपरका रूखमा बसेर खेल हेरे । यस्तो दृश्यले ५० हजारभन्दा बढी क्षमताको आधुनिक मैदानको खाँचोलाई स्पष्ट रूपमा उजागर गरेको छ । देशभरबाट आएका समर्थकले यो खेललाई आफ्नो सपना र आशा बनाएको देख्दा क्रिकेट केवल खेलभन्दा बढी राष्ट्रिय गौरवको प्रतीक भएको अनुभूति हुन्छ ।

स्टार स्पोर्ट्स टेलिभिजनले यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरेसँगै नेपालले आफ्नो पहिचान विश्वभर पुर्‍याएको छ । यो उपलब्धिले नेपाली क्रिकेटप्रतिको अन्तर्राष्ट्रिय चासो र समर्थनलाई बढाएको छ । नेपाल प्रिमियर लिगले खेलाडीलाई आशा मात्र होइन, लाखौं युवापुस्ताका लागि नयाँ सपना पनि दिएको छ । निराशाले भरिएको यो समयमा, क्रिकेटले उत्साह र गौरवको प्रकाश फैलाएको छ । अब नेपाली क्रिकेटलाई अझ उच्चस्तरमा पुर्‍याउन र ठूलो दर्शक क्षमता भएको मैदान निर्माण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । 

नेपाली खेलकुदमा दर्शकहरूको उपस्थिति मात्र हैन रुचिलाई पनि ध्यान दिन जरुरी छ । किनभने सबै पदक जित्ने खेलमा दर्शकको संख्या उस्तै छैन । देशपिच्छे नै खेलका समर्थक फरक छन् । भारतमा क्रिकेट छ भने ब्राजिलमा फुटबल, अमेरिकामा अमेरिकन सकर सबैभन्दा बढी हेरिन्छ भने चीनमा मार्सल आटर््सले बढी चर्चा बटुल्छ ।

यी सबले के पुष्टि गर्छन् भने दर्शकहरूले रुचाएका कारण ती खेलहरू चर्चामा आएका हुन् । दर्शकको उपस्थिति नभएको खेलको विश्व च्याम्पियनसिप नै आयोजना भए पनि त्यो कोठे प्रतियोगिताभन्दा माथि उठ्न सक्दैन । खेलको विस्तार र विकासका लागि पनि दर्शकको उपस्थिति अनिवार्य सर्त भएको छ । 

अब प्रश्न उठ्छ दर्शकलाई कसरी खेलप्रति आकर्षित गर्ने वा उनीहरूमा नयाँ खेलप्रतिको आकर्षण पैदा गर्ने ? केही समय अगाडिकै उदाहरण हेर्ने हो भने एनपीएल हेर्न कीर्तिपुर पुगेका दर्शकहरू सबैले क्रिकेट बुझ्दैन थिए । उनीहरूमध्ये केही प्रदेशको नाममा टिम भएकाले गए, केही विदेशी खेलाडीलाई नजिकबाट हेर्न गए । कति त एनपीएल हेर्न कीर्तिपुर पुगेको छु भनेर सामाजिक सञ्जालमा पोस्ट गर्नका लागि पनि पुगे । तर, यी सब कदमबाट फाइदा भने नेपाली क्रिकेटलाई प्रत्यक्ष भयो भने परोक्ष रूपमा समग्र नेपाली खेलकुद नै लाभान्वित भयो । 

नेपाललाई ओलम्पिकमा पहिलो र अहिलेसम्मकै एकमात्र पदक दिलाउने पलेशा गोवर्धनको खेल हुँदा दर्शकको उपस्थिति खास हुन्न । तर, उनले पेरिस पाराओलम्पिक्समा मेडल जितेर आउँदा विमानस्थलमा स्वागत गर्न हजारौं पुगेका थिए । दर्शकको उपस्थिति कहिलेकाहीं सफलतासँग पनि जोडिन्छ । र, सफलता हात पार्न पदकको सम्भावना भएका खेलहरूको पहिचान गरी ग्रासरुट लेबलबाटै कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ । महिला भलिबलले पछिल्लो समय पाएको सफलता र चर्चाकै कारण अहिले यो खेल नेपालको ७७ वटै जिल्लामा खेलिने र खेलाइने खेल भएको छ ।

खेल क्षेत्रको फैलावटका लागि प्रतियोगिता आयोजना भएको स्थानमा पुग्न नसक्ने दर्शकलाई समेत ध्यानमा राखेर टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न सकिन्छ । छिमेकी भारतकै उदाहरण हेर्ने हो भने कबड्डी र ब्याडमिन्टनका लिगलाई टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गराएर चर्चाको शिखरमै पुर्‍याइयो । अहिले ती प्रतियोगिताहरूमा बडे–बडे प्रायोजकहरूको समेत संलग्नता छ । कुनै समय दर्शक नै नहुने खेलमा अहिले खचाखच दर्शकको ओइरो लाग्छ । 

नेपालमा पनि त्यो सम्भावना नभएको हैन । खेलकुदको बजार छैन भन्ने संकथन त एनपीएलको सफल आयोजना र उसले उठाएको सय करोडभन्दा बढीको रकमले नै झूटो साबित गरिदिइसकेको छ । त्यसैले खेलाडी र खेलमा लगानी गरे त्यो फिर्ता आउँछ भन्ने मान्यता स्थापित गर्न पनि दर्शकहरूलाई खेलस्थलसम्म लैजान जरुरी भइसकेको छ । त्यसपछि अभिभावकहरूले आफ्ना बालबच्चालाई खेलमा लाग्न प्रेरित गर्ने थिए ।

अनि मात्र हामीकहाँ पनि हजारौंका संख्याबाट चुनिएर आएका खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्दा सहभागितामा मात्र सीमित नभएर उपाधि जितेर फर्किने अवस्था निर्माण हुनेछ । त्यसका लागि पूर्वाधारमा लगानी बढाउन आवश्यक छ किनभने हाम्रा दर्शकहरूले अहिले चाहेर पनि रंगशालामा गएर आफूले मन पराएको टिमको खेल हेर्न सक्दैनन् वा पाउँदैनन् । सबैभन्दा पहिले यही अवस्थालाई चिर्न जरुरी छ । बाँकी त्यसपछि क्रमशः हुँदै जानेछ ।

शिशिर

Link copied successfully