कसरी चल्न सक्छन् भैरहवा र पोखरा विमानस्थल ?

छुट र सुविधा जति वायुसेवालाई टक्र्याइएको छ । यात्रुको भागमा भने महँगो हवाई टिकट, सरकारी सेवा सुविधाको अभाव, सकसपूर्ण, अनिश्चित र झन्झटिलो सडक यात्रालगायतका दुःख, कष्ट र पीडाहरू छन् ।

पुस २३, २०८१

सुशीलबहादुर कार्की

How can Bhairahawa and Pokhara Airports operate?

काठमाडौंमा रहेको देशकै एउटैमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा निर्माण गरिएका भैरहवा र पोखराका दुई विमानस्थलहरू सञ्चालनमा आएको क्रमशः साढे दुई र दुई वर्ष हुँदा पनि नियमित उडानको टुंगो छैन ।

यस बीचमा भैरहवाबाट नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलगायत कतार एयरवेज, फ्लाई दुबई, जजिरा, थाई एयर एसिया जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित वा चार्टर्ड उडान भरे पनि दिगो हुन सकेको छैन । पोखराबाट नियमित उडान गर्न कुनै एयरलाइन्सले चासो नदेखाउँदा अन्तर्राष्ट्रिय उडान संख्या बल्ल बल्ल दस पुगेको छ । ती पनि चार्टर्ड उडान मात्रै हुन् । 

गत २३ कात्तिकदेखि धावनमार्ग स्तरोन्नतिको कामले पाँच महिनासम्म काठमाडौंको एयरपोर्ट दैनिक दस घण्टा बन्द हुँदा हुने ३० प्रतिशत उडान कटौतीको पुर्ताल गर्न सरकारले वायुसेवा कम्पनीहरूलाई विकल्पका रूपमा छुटसहित भैरहवा र पोखरा विमानस्थल प्रयोग गर्न भनेको थियो । त्यसकै आधारमा राष्ट्रिय ध्वजावाहकसहित पाँचवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले भैरहवा विमानस्थलबाट लामो समयको शून्यतापछि नियमित उडान सुरु गरे । तर यो उत्साहजनक र रौनकपूर्ण चहलपहल अन्ततः एक महिना पुग्दा नपुग्दै मंसिर मसान्ततिर नै मुर्झाउन थाल्यो । 

चारवटा अन्तर्राष्ट्रिय वायुसेवामध्ये कतारले लिएको १ महिनाको भैरहवा हुँदै काठमाडौंको नियमित उडान अनुमतिको अवधि सकिएपछि नवीकरण गर्न चाहेन । अन्य तीनले हिउँदको खराब मौसमको कारण देखाउँदै स्थगित गरे । पछिल्लो समयमा उडान नै पूरै रद्द गर्न पहल गर्दै छन् । जजिरा र फ्लाई दुबईले हिउँदपछि सुरु गर्ने नियमित उडान तालिका सार्वजनिक गरे पनि दिगो हुनेमा संशय नै छ । हाल भैरहवा उडान गर्ने राष्ट्रिय ध्वजावाहकले भैरहवाबाट कुनै यात्रु टिप्ने वा ओराल्ने नगरी केवल नामकै मात्र उडान गरिरहेकाले दबाबमा उडान गर्न लगाइएको बुझिन्छ । 

अब प्रश्न उठ्छ– अवतरण, सञ्चार तथा उड्डयन सेवा, पार्किङ, नेभिगेसन, सुरक्षा जाँच, ग्राउन्ड ह्यान्डलिङ, इन्धनलगायतका शुल्कमा भारी छुट, सहुलियत र सुविधाहरू दिँदादिँदै र भैरहवाबाट उडानको अनुभव लिइसक्दा पनि वायुसेवाहरू उडानलाई निरन्तरता दिन किन आनाकानी गरिरहेका छन् ? नयाँ किन आइरहेका छैनन् ? वायुसेवाहरूले खराब मौसमलाई देखाए पनि वास्तविक कारण यात्रुको अभाव रहेको भनिएको छ । यदि यात्रुको संख्या अभाव नै मुख्य कारण हो भने बढ्न किन सकिरहेको छैन त ? यस प्रश्नको जवाफ खोज्नतिर सरकार लाग्नुपर्ने हो । तर उडान गरिदिन भन्दै अन्तर्राष्ट्रिय वायुसेवालाई फकाउनतिर मात्र लागेको देखिन्छ । अझ, त्यसले काम नगरे काठमाडौंको उडान कटौती गरिदिने धम्की दिनुपर्ने कुरा जिम्मेवार अधिकारीले सभा, गोष्ठीमा दिइरहेको देखिन्छ जुन झनै प्रत्युत्पादक हुन सक्छ । 

छुट र सुविधा जति वायुसेवालाई टक्र्याइएको छ । यात्रुको भागमा भने महँगो हवाई टिकट, सरकारी सेवा सुविधाको अभाव, सकसपूर्ण, अनिश्चित र झन्झटिलो सडक यात्रालगायतका दुःख, कष्ट र पीडाहरू छन् । यात्रुलाई यात्रु सेवा शुल्क, पर्यटन शुल्क र भ्याटमा छुट दिइएको भनिए पनि व्यावहारिक रूपमा उही गन्तव्यबाट वा त्यहाँका लागि तोकिएको हवाई भाडासमेत काठमाडौंबाट भन्दा सस्तो हुन नसकेकाले यात्रुलाई छुटको अनुभूति नै छैन । यात्रुलक्षित सुविधाको अभावका कारण यी विमानस्थलहरू ‘एयरलाइन्समैत्री बढी र यात्रुमैत्री कम’ छन् । त्यसैले यात्रु निराश र हताश छन् । 

मौसम मात्र मुख्य कारण नभएको हुँदा यात्रु संख्या किन कम भए त यसको कारणहरूबारे चर्चा गर्नु बढी सान्दर्भिक हुन्छ । यात्रु संख्या नबढ्नुको मूल कारण यी विमानस्थल र यससँग सम्बन्धित सेवा सुविधाहरू यात्रुमैत्री नहुनु हो । विमानस्थल स्वयंमा आधुनिक, पूर्वाधारयुक्त, सफा, चिटिक्क, सुविधासम्पन्न र पूर्णताले भरिएका देखिए पनि यात्रुमैत्री हुन त्यही मूल संरचना मात्र पूर्ण भएर नपुग्ने रहेछ । किनकि, नेपालको सन्दर्भमा विमानस्थल परिसर बाहिरको परिस्थितिले ‘यात्रुअमैत्री’ बन्न बढी भूमिका खेलेको छ । 

भैरहवाबाट हुने उडानका अधिकांश यात्रु वैदेशिक रोजगारीका श्रमिक छन् । त्यस सन्दर्भमा स्वाभाविक रूपमा तीनका लागि चाहिने सरकारी सेवा प्रदायक निकायहरू, भिसा सेन्टर, स्वास्थ्य परीक्षणलगायत सेवाको विस्तार तथा स्थापना काठमाडौं धाउनु नपर्ने गरी पूर्णरूपमा हुन नसक्नु यात्रुमैत्री सुविधाहरू नहुनुका कारण हुन् । यीबाहेक पनि खास चासो नदिइएको तर यात्रुलाई प्रत्यक्ष प्रभाव पारेका महत्त्वपूर्ण कारणहरू छन् । 

रुग्ण सडक र कमजोर यातायात सञ्जाल 

यी दुई विमानस्थलले सेवा दिने अपेक्षित जनसाङ्ख्यिक भूभाग भनेको सम्पूर्ण तराई क्षेत्र र पश्चिमको आधा नेपाल हो । तर मध्यम तथा लामो दूरी पार गरेर यी विमानस्थल पुग्न न भरपर्दो हवाई सेवा छ न सडक यातायात सञ्जाल । घरेलु हवाई उडान काठमाडौंबाट मात्रै दुईतर्फी हुन्छन् भने पोखरा, भैरहवा, भरतपुर, विराटनगरबीचको उडान पनि बर्खे भेल जस्तो कहिले चल्ने, कहिले बन्द हुने र अन्तर्राष्ट्रिय उडानसँग सामञ्जस्य हुने गरी उचित संख्यामा छैनन् । तसर्थ, घरेलु उडान लिई यी विमानस्थल पुग्न काठमाडौंबाहेक अन्यत्रबाट भर पर्न सकिन्न । 

हवाईमार्गको एउटै विकल्प सडक यातायात हो । राजमार्गले यी दुवै विमानस्थललाई छोएकै छन् । तर राजमार्ग कहलिने अधिकांश सडकको गुणस्तर निर्बाध आवागमन हुन नसक्ने, साँघुरा, भत्किएका, खाल्डाखुल्डी छन् । निर्माणाधीन अवस्थामा रहेका सडक मानिस वा जनावरले जहाँ त्यहीँबाट बाटो काट्न सक्ने खालका भएका कारण निश्चित समयमा यात्राको गन्तव्यमा पुग्न सकिन्न । त्यसैले वर्तमान समयमा स्थानीयबाहेक अरूले यी विमानस्थल प्रयोग गर्न उडानको समयभन्दा अघिल्लै दिन पुग्ने गरी यात्रा गरे मात्र उडान पक्डिन सम्भव हुने देखिन्छ । यसो गर्दा स्वाभाविक रूपमा बढी समय र खर्च लाग्ने हुन्छ । 

हालसालै यस पंक्तिकारले काठमाडौंदेखि यी दुवै विमानस्थल पुग्न सार्वजनिक द्रुत यातायातबाट सडकमार्ग भई आउजाउ गर्दा २८५ किमिको भैरहवा पुग्न १० घण्टा र २०० किमिको पोखरा पुग्न पनि १० घण्टा नै लागेको थियो । यो स्थिति त्यो दिन कुनै आकस्मिक घटना घटेको कारणले भएको होइन बरु वर्षौंदेखिको नियति र दैनिकी हो । वर्षौंदेखिका निर्माणाधीन भनिने अलपत्र यी सडक ठेक्का म्याद थपएिको अवधिमै सम्पन्न हुन पनि अझै केही वर्ष लाग्ने देखिन्छ । अन्य यात्रु र सवारी चालकका अनुसार यी यात्रा तय गर्न नौदेखि १४ घण्टासम्म लाग्ने गर्छ । बढीमा ४ घण्टा लाग्नुपर्ने २०० किमि पार गर्न पूरै एक दिन सायदै कुनै मुलुकको राजमार्गमा लाग्ला । दैनिक हजारौं यात्रुको लाखौं घण्टाको ऊर्जाशील समय अनुत्पादक यात्रामा खेर गइरहेको छ । सडक यात्रा गर्ने विदेशी पर्यटकहरू समेत आजित छन् र त्यस्तै सन्देश लिएर फर्किरहेका छन् । 

एकातिर यसरी विमानस्थल पुग्नै हम्मे छ भने अर्कोतर्फ विदेशबाट आउने आगन्तुकलाई पनि अवतरणपछि आफ्नो गन्तव्य पुग्न उत्तिकै कठिनाइ छ । भैरहवामा अवतरण गर्न पाएको खुसी घर पुग्न सवारी खोज्न थाल्दा सेलाइसक्छ । किनकि, यी विमानस्थलबाट वरपरका र मध्यम तथा लामो दूरीका सहरसम्म पुग्न सार्वजनिक सवारी सेवा उपलब्ध छैनन् । अहिले भैरहवा होस् वा पोखरा, यात्रुले एयरपोर्ट बाहिर जान अनिवार्य रूपमा मनोमानी भाडाको ट्याक्सी लिनुपर्ने बाध्यता छ । 

भैरहवामा एयरपोर्टदेखि नजिकका मुख्य स्थानका लागि सार्वजनिक ट्याक्सीको भाडादर तोकिएको भए पनि सूचना च्यातचुत पारेर कुनातिर मिल्काइएको छ र यात्रुले यो देख्न सक्ने अवस्था नै छैन । नेपालगन्ज, सुर्खेत, नारायणगढजस्ता टाढा जानुपर्ने आगन्तुकले यातायात सेवा अभावकै कारण हताश भई होटलमा रात बिताउनुपरेको र पछुताएको पनि देखिन्छ । त्यसैले एयरपोर्टबाटै छोटो, मध्यम तथा लामो दूरीका यातायातको सुलभ व्यवस्था नहुने हो भने अनिश्चयको यात्रा गरी नयाँ विमानस्थल कोही जान चाहँदैन । 

महँगो टिकट मूल्य

भैरहवा विमानस्थलमा अवतरण गर्न वा यहाँबाट उडान भर्नका लागि वायुसेवाहरूले निर्धारण गरेको भाडादर हेर्दा सरदरमा काठमाडौंबाट भन्दा सस्तो हैन, बरु महँगो पर्ने देखिन्छ । फ्लाई दुबई र कतारले भैरहवा हुँदै काठमाडौं उडान गर्दा भैरहवा वा काठमाडौं जहाँ ओर्लिए पनि वा चढे पनि एउटै भाडा तोकेका थिए । अझै पनि फ्लाई दुबईले आउँदो तालिकाका लागि त्यस्तै भाडादर तोकेको छ । दुईतर्फी सिधा उडान गर्ने जजिराले मात्र कुवेतबाट भैरहवा आउँदा काठमाडौंको भन्दा आधा सस्तो भाडा तोकेको थियो । तर काठमाडौंबाट भन्दा भैरहवाबाट प्रस्थान गर्दा महँगो पर्ने बनाएको थियो । आउँदो तालिकाका लागि पनि त्यसै गरेको छ ।

थाई एयर एसियाले त सिस्टममा अनलाइन बुकिङ नै कहिल्यै राखेन । टिकट खरिद पनि उसकै कार्यालयमा आफैं गएर मात्र गर्न सकिने बनाएको थियो । सुरुआती प्रोमोसनल मूल्यबाहेक कति महँगोमा बेच्यो यसको निगरानी भएको देखिएन । नेपाल एयरलाइन्सले काठमाडौंबाट भैरहवा हुँदै दुबई प्रस्थान गर्ने तालिका र भाडा तोकेको भए पनि भैरहवाबाट प्रस्थान गर्ने गरी टिकट नै खरिद गर्न मिल्दैन । त्यसैले भैरहवा अवतरण गरे पनि ढोकै नखोली दुबईतिर लाग्ने गरेबाट यात्रु, एयरलाइन्स, विमानस्थललगायत सबैको स्रोत र समयको बर्बाद हुने गरेको छ । समग्रमा यात्रुलाई टिकट मूल्यमा शून्य सहुलियतको कारण यहाँबाट उडान गर्न प्रेरित हुनुपर्ने आधार नै देखिँदैन । विमानको भाडा काठमाडौंबाट भन्दा उल्लेखनीय सस्तो नभई कोही पनि यी नयाँ विमानस्थल धाउँदैनन् भन्ने नियामक निकायहरूले बुझ्न जरुरी छ । 

उपसंहार 

चार वर्षमा सम्पन्न गर्नुपर्ने भैरहवा विमानस्थल पूरा हुन आठ वर्ष लागेको थियो । उता पोखराको तयार हुन सात वर्ष लाग्दा पनि यी सञ्चालन गर्न र यात्रुको सहज पहुँचका लागि सडक सञ्जालहरू पनि दुरुस्त हुनुपर्छ भन्ने हेक्का न ऋणदाता न योजना आयोगलगायत नेतृत्वदायी निकायहरूले राखे । एकतर्फी रूपमा विमानस्थलमै मात्र केन्द्रित भई सडकलगायत पूर्वाधार निर्माणलाई सहपरियोजनाका रूपमा सँगसँगै अगाडि नबढाइएका कारण आज यो परिणाम भोग्नुपरेको छ । 

भैरहवा, पोखरा, काठमाडौंसँग जोडिएका कुनै पनि चालु सडक निर्माणका ठेक्काहरू समयमा नसकिएर पटक पटक म्याद थपिएको छ र अझै पनि समयमै सकिनेमा विश्वास गर्न सकिन्न । यदि समयमै सकिएछ भने पनि अझै केही वर्ष लाग्छ । सडक विभागले समयमै काम नसक्नुको कारण ‘निर्माण व्यवसायीको स्रोत साधन परिचालनमा ढिलाइ तथा कमजोर व्यवस्थापन’ भनी आफ्नो वार्षिक प्रतिवेदनमा खुलाउँछ तर न ठेकेदारको कामको आवधिक परीक्षण गरी समयमै गर्न सुझाउँछ न कारबाही गर्छ । बरु भेरियसन अर्डरमार्फत लागत थप्दै म्याद पनि बढाउन उद्यत हुन्छ । त्यसैले समग्र ठेक्का प्रणालीमा सुधार नल्याए यसको असर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पनि परिरहने देखिन्छ । 

उल्लेखित समस्याका कारण विमानस्थलमा यात्रुको सहज पहुँच नभएको अवस्थाबारे अन्तर्राष्ट्रिय वायुसेवाहरू पनि पूरापूर जानकार भएकै कारण पनि उनीहरू यात्रु बढ्नेमा विश्वस्त छैनन् । आश्चर्यजनक त यो छ कि, सरकारले यस विषयलाई अझै पनि समस्याका रूपमा पहिचान गरेको छैन । विमानस्थल सञ्चालनसँग जोडी प्राथमिकतासाथ सम्बोधन गर्नेतर्फ सोचेको छैन । बरु निजी क्षेत्रले ताकेता गर्दासमेत अधिकारीहरू निर्लज्ज भई आफैं पर्यटक र यात्रु ल्याएर विमानस्थल चलायमान बनाऊ भन्न थालेका छन् । 

यी समस्याहरूको दिगो समाधान हुने गरी राज्यले सम्बोधन नगरेसम्म सरकारले रोइलो गरेको भरमा न वायुसेवाले उडान निरन्तरता दिन सक्छन् न त यात्रु नै उत्प्रेरित हुन्छन् । राज्यले आधारभूत पूर्वाधार खडा गर्नेसम्बन्धी विषयको सम्बोधन गरी समग्र वातावरण यात्रुमैत्री बनाउनुपर्छ । यस्तो हुने हो भने न वायुसेवालाई अनुनय विनय गर्नुपर्छ न यात्रु आएनन् भनेर पिरोलिनुपर्छ । 

सुशीलबहादुर कार्की

Link copied successfully