हिंसात्मक गतिविधिमा लागेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन तिमी रोल्पा पुगेका थियौ । त्यहाँको दुरवस्था देखेपछि भावुक हुँदै भाषणमा भनेका थियौ– रोल्पामा जन्मिएको भए म पनि माओवादी हुन्थेँ ।
आज तिमी बितेको पनि पैंतालिस दिन भइसकेछ । यी दिन मलाई तिमीसँग बिताएका सहवासका त्रिपन्न वर्षभन्दा लामो लाग्यो । आँखाका अश्रुजल रित्तिएपछि आज यो शब्द श्रद्धाञ्जली चढाउँदै छु । सम्झनाका शृंखलाबद्ध वर्षहरू, महिना, दिन र पलहरू एकएक गरी आउँछन्, जान्छन् ।
मानौं, ती जीवनको समुद्रमा उठ्ने छालजस्तै हुन् । टाढाबाट बग्दै र उर्लिंदै आएका छाल आफूलाई छोएर पुनः अज्ञात दिशातर्फ फर्किएर जान्छन् । सम्भवतः त्यो मृत्यु हो ।
२०४६ सालको बृहत् जनआन्दोलनको सफलतापछि २०४८ सालको आमनिर्वाचनमा काठमाडौं–२ बाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै सांसद पदमा विजयी भएका थियौ तिमी । प्रजातन्त्र पुनः स्थापनापछिको जननिर्वाचित संसद्मा गिरिजाप्रसाद कोइरालाले ‘दमननाथ ढुंगानालाई संसद्को सभामुख चुनियोस्’ भन्ने प्रस्ताव राखेका थिए ।
गिरिजाबाबुको कम बोल्ने स्वभाव, तिम्रो आफ्ना विचार धाराप्रवाह राख्ने स्वभाव । सभामुख चयनको प्रस्ताव राख्दै कोइरालाले भनेका थिए, ‘भरिएको गाग्रोलाई फेरि भरेर म खेर फाल्न चाहन्नँ, म धेरै बोल्न चाहन्नँ ।’ कोइरालाको प्रस्तावमा तत्कालीन संसदीय मन्त्री तारानाथ रानाभाटले समर्थन गरेपछि तिमी निर्विरोध निर्वाचित भएका थियौ । तर, जीवन्त संसद् चलाउने तिम्रो कार्यकाल २०४८ देखि २०५१ सम्म मात्रै रह्यो ।
मानिसले गरेको एक सेकेन्डको सत्कार्य पनि चिरस्मरणीय हुन्छ । सभामुखका रूपमा तिम्रो भूमिका संसदीय व्यवस्थाका लागि स्मरणीय रह्यो । सभामुखका रूपमा तिम्रो एक वाक्य संसदीय इतिहासमा सदाकालका लागि स्मरणीय रहनेछ– सरकार सत्ता पक्षको, सदन प्रतिपक्षको, सत्ता बहुमतको, सदन अल्पमतको ।
सत्ता पक्षीय सांसदहरूको आँखामा तिम्रो त्यो कथन कसिंगर भएको थियो । अहिले सांसदहरू तिम्रो त्यो कथन सत्य रहेछ भनिरहेका छन् । समय बडो बलवान् हुन्छ । झूटो–साँचोको मूल्यांकन समयले नै गर्दो रहेछ । अहिले आएर मूल्यांकनको कसीमा तिमी खरो उत्रियौ– सुनारको आरनमा खारिएको सुनजस्तो ।
मनमोहन अधिकारी र मदन भण्डारीजस्ता जुझारु सांसद विषयको तयारीका साथ संसद् थर्काउने गरी बोल्थे । सभामुखका रूपमा तिमी सत्तापक्षका सांसदबाट पनि त्यही अपेक्षा राख्थ्यौ । रातरातभरि संसद् चल्थ्यो । तिमी घर फर्किंदा बिहानीको प्रथम प्रहर सुरु भइसकेको हुन्थ्यो । म पनि सभामुखका रूपमा तिम्रो कार्यकालको प्रत्यक्षदर्शी हुँ, गवाह हुँ । तिम्रो जीवन संगिनी ।
दुई ढुंगाको तरुलको रूपमा रहेको नेपालको भूगोलजस्तै गिरिजाप्रसाद र दमननाथबीच रहेर मैले तिम्रो स्वाभिमान, संसद् चलाउने प्रतिबद्धता र कार्यक्षमतामा विश्वास राख्दै तिमीलाई घरपरिवारको समस्या र बन्धनबाट मुक्त राख्दै सहयोग गरें । संसद्मा सत्ता ‘भक्त’ र ‘विभक्त’ सांसदका बीच चट्टानी पर्खालजस्तो अडिग भएर तिमीले संसद् सञ्चालन गर्यौ ।
तिम्रो असल मनसायलाई गलत व्याख्या गरिएको त्यो समय र त्यो तनावलाई मैले कुनै टीकाटिप्पणी नगरी तिम्रो दूरदृष्टि र आत्मबल बढाउन टेवा दिएँ । म दुई ढुंगाबीचको तरुल, एकपक्षीय त कसरी हुन सक्थें र म । ममाथि गरेको विश्वासको इँटामा एकएक इँटा थपेर तिमीलाई शिखर आरोहणमा मद्दत गरें । त्यही विश्वासले तिमी सगरमाथा चढ्न पुग्यौ । म आधार शिविरमा नै छुटें ।
तिमी हरेक कुरामा पर्फेक्सन चाहने, निपुणता खोज्ने । अध्ययनमा होस्, लेखनमा होस् या बहस–पैरवीमा । संसद्का कर्मचारीले तयार पारेका भाषणले तिम्रो चित्त बुझ्दैनथ्यो । भ्रमण दलमा तिमीसँगै विदेश गएका बेला पनि रातरातभर तिमीले भोलि गर्ने भाषणको ‘डिक्टेसन’ लिनुपर्थ्यो ।
समयको प्रवाहमा यस्ता कुरा अहिले दन्त्यकथाजस्तो लाग्न सक्छन् । तर, ती सत्य हुन् । मेरो चेतनाले साथ दियो भने सभामुख दमननाथ ढुंगानाको वैचारिक मान्यतालाई शब्दहरूको सिँढी बनाएर आउने पुस्ताका लागि संघर्षका खुड्किला कसरी चढ्नुपर्छ भन्ने कथा लेखेरै छाड्नेछु । आउने पुस्ताले मेरो कलमको प्रवाह पछ्याउन सक्यो भने म आफ्नो जीवन सफल र सार्थक भएको ठान्नेछु ।
हिंसात्मक गतिविधिमा लागेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन तिमी रोल्पा पुगेका थियौ । त्यहाँको दुरवस्था देखेपछि भावुक हुँदै भाषणमा भनेका थियौ– रोल्पामा जन्मिएको भए म पनि माओवादी हुन्थेँ । तिम्रा यी अभिव्यक्ति समय–सापेक्ष थिए । समाचारपत्रमा यो समाचार फैलिएपछि दमननाथ माओवादी भयो भन्ने
हल्ला चलाइयो । तिमीमाथि माओवादी भएको आरोप लाग्यो । २०१७ सालमा राजा महेन्द्रको ‘कू’ पछि राजनीतिमा होमिएका तिमी कसरी माओवादी हुन्थ्यौ ? २०२९ सालमा किशुनजीसँगै जेलमा बिताएका दिनलाई अविस्मरणीय बताउँथ्यौ तिमी । बीपी, गणेशमान, किशुनजी र गान्धी दर्शनबाट प्रेरित तिमी कसरी हुन सक्थ्यौ र माओवादी ?
यतिबेला म तिमीले जेलबाट पठाएको एउटा कविताको अन्तिम हरफ सम्झिइरहेको छु– कुनै बखत म मरेको खबर आए/अन्तिम पल मेरो निम्ति/यति जनि गरिदिनु, मेरो मुटु/ मेरो तर्फबाट/ साष्टाङ्ग दण्डवत् गरिदिनु/ जन्म दिने त्यस महान् मुलुकलाई ।
२०८१ मंसिर २ को त्यो दिन, प्रत्येक वर्ष आउने त्यो दिन, मेरा लागि अविस्मरणीय त्यो दिन । मानिस भन्थे तिमीलाई, ‘प्रखर वक्ता ।’ तर, तिमी ‘ऐया’ पनि नभनी, कसैसँग केही नबोली चुपचाप गयौ । बहुआयामिक प्रतिभाका धनी तिमी कवि, कथाकार, गीतकार, पत्रकार, संविधानविद्, मानव अधिकारवादी, नागरिक अगुवा, शान्ति प्रक्रियाका अभियन्ता ।
तिम्रो तार्किक शैली, वाक्पटुता । बिट र ह्युमरले अरूलाई हँसाउने तिम्रो त्यो बेजोड क्षमता । मलाई के थाहा, आँखा चिम्लिएर सुतिरहेका तिमी महाप्रस्थानका लागि योजना बुनिरहेका रहेछौ । न अखबारमा आँखा, न समाचार श्रवण । सबै कुराबाट टाढाटाढा, कुन बाटो र कुन गन्तव्य रोजिरहेका थियौ कुन्नि । यो अवस्थाले तिमीलाई अस्पताल पुर्यायो । तिम्रो यात्रा टुंगियो । घर फर्किने बाटो हरायो । अस्पतालको बेडमा पनि तिमी आँखा चिम्लिएर सुतिरहेका थियौ । घरको बिछ्यौनामा सुतिरहेको जस्तो ।
मानिस तिम्रो मृत्युवरणलाई महात्माहरूको निर्वाणसँग जोडिरहेका थिए । मलाई लागिरहेको थियो, सधै ख्यालठट्टा गर्ने तिम्रो बानी, त्यस दिन पनि तिमी कुनै ठट्टा सोच्दै छौ । मृत्युवरणको यो अविस्मरणीय शैली पनि तिमी आफैंले रोजिसकेका रहेछौ । उपचारका क्रममा दिल्लीको अस्पतालमा रहँदा एक दिन हठात् तिमीले मसँग भनेका थियौ– ‘मलाई यतै केही भयो भने यमुना नदीको किनारामा लगेर अन्त्येष्टि गरिदिनु । तामझाम र तडकभडकमा नलाग्नु ।’
ठट्टा गरिरहने तिम्रो बानीले गर्दा मैले तिम्रो त्यो कथनलाई पनि ठट्टा नै ठानेकी थिएँ । तर, तिमीले चाहेजस्तो भएन तिम्रो अन्त्येष्टि । तिमी जनताका मान्छे । तिम्रो सम्मानमा सानो गौचरणदेखि आर्यघाटसम्म जनताको लस्कर लाग्यो । यो त्यही सानो गौचरण थियो, जहाँबाट तिमीले आफ्नो बहुचर्चित भाषण गरेका थियौ । त्यही ठाउँ बन्यो तिम्रो अन्तिम दर्शनको थलो ।
त्यो ठाउँमा तिम्रो जोस र ओजले भरिएको भाषण सुन्न ओइरिएका तन्नेरी आफ्नो ढल्किँदो उमेरको पर्वाह नगरी जुटेका थिए । तीबाहेक असंख्य युवा डबडबाएका आँखाले तिम्रो पार्थिव शरीर हेरेर छटपटाइरहेका थिए । धेरैको मनमा छटपटी थियो– दमन दाइ नभएको अवस्थामा कांग्रेसको गति बढाउन कसले ऊर्जा देला ?
कांग्रेसको चारतारे झण्डाले सज्जित तिम्रो पार्थिव शरीरमा मैले चम्किलो, चहकिलो पीताम्बर ओढाएँ । मलाई लाग्यो– पीताम्बरको चमकले तिम्रो अनुहार धपक्क बलेको छ । मेरा आँखा आँसुले डबडबाएका थिए । त्यो विभ्रम हटाउन मैले निहुरिएर आफ्नो आँखामा टलपलिएको आँसु पुछें । फूलमालाले सुशोभित तिम्रो पार्थिव शरीर र त्यसमाथि ओढाइएको चन्द्र–सूर्य अंकित राष्ट्रिय झण्डाको भार तिम्रो दुब्लो–पातलो शरीरले कति वहन गर्न सक्यो कुन्नि ।
तिमी मलाई ‘म्याडम म्याडम’ भनेर बोलाउँथ्यौ । त्यो बोलाएको हो कि जिस्क्याएको ? म पत्तै पाउँदिन थिएँ । मेरो लागि तिम्रो दैहिक अनुपस्थिति पहिरोको विपद्, समुद्रको सुनामी र भुइँचालोको कम्पन थियो एकैसाथ । तिम्रो महाप्रस्थानमा मेरो विचलित मनका कारण म उपस्थित हुन सकिनँ । म तिम्रो चुपचाप शैली पछ्याउँदै घर फर्किएँ । अन्तिम संस्कार भनेको पनि के हुने रहेछ र ? अग्निले भष्म गरेको देहको एक मुट्ठी खरानी । महाकवि लक्ष्मीप्रसाद देवकोटाले वाचन गरेको अन्तिम कविता जस्तो– म शून्यमा शून्यसरि बिलाएँ ।
मेरो यो फूलजस्तो शब्द श्रद्धाञ्जली कहिल्यै नओइलाओस् । नेपालको संसदीय इतिहासमा तिमीले स्थापित गरेका नजीर देशका लागि मार्गदर्शक बनोस् ।
