सनातन धर्मको अनुशासन

सत्य बोल्नु, चोरी नगर्नु, अरूको हानिनोक्सानी नगर्नु, सामाजिक मर्यादाको पालना गर्नु जस्ता नैतिक आचरणले शरीर र मनको शुद्धीकरण गर्छन् ।

कार्तिक १६, २०८१

नारायण कुँवर

Discipline of Sanatan Dharma

नव जन्मको उद्देश्य आत्मज्ञान प्राप्त गरेर जन्म–मरण चक्रको बन्धनबाट मुक्त हुनु हो । हिन्दु अर्थात् सनातन धर्मले आत्मज्ञान प्राप्त गर्न उच्चतम ज्ञान दिएको छ । चेतना विकासका क्रममा जीवात्माले विभिन्न वनस्पति र प्राणीका रूपमा चौरासी लाख जुनी पार गर्दै मानव जुनीमा प्रवेश गरेको हुन्छ ।

मानव जुनीमा पनि चेतनाको पूर्ण विकास हुन अर्थात् परमचेतना प्राप्त गर्न हजारौं जन्म लाग्छ । तर, उपयुक्त साधनद्वारा कुनै पनि जन्ममा परचेतना प्राप्त गर्न सकिन्छ । परमचेतनाको प्राप्तिलाई आत्मज्ञान भनिन्छ । आत्मज्ञान प्राप्त गर्न हजारौं जन्म लाग्न सक्छ भन्ने कुरा बुझ्नका लागि सर्वप्रथम सनातन धर्मको आधारभूत सिद्धान्त बुझ्न आवश्यक हुन्छ ।

कर्मको सिद्धान्त र त्योसँग सम्बन्धित जन्म–मरण चक्रको सिद्धान्त सनातन धर्मका दुई प्रमुख आधारभूत सिद्धान्त हुन् । कार्य र कामनाअनुसार हाम्रो कर्म बन्छ र प्रत्येक कर्मले ढिलोचाँडो फल दिन्छ । हामीले कसैलाई हानिनोक्सानी पुर्‍यायौं भने त्यो व्यक्तिले ढिलोचाँडो अवश्य बदला लिन्छ, त्यो हाम्रो कर्मको फल हो । सनातन धर्मअनुसार आत्मज्ञानमा साधनाका लागि तीन सिँढी चढ्नुपर्ने हुन्छ । पहिलो सिँढी मन शरीरको शुद्धीकरण हो । सत्य बोल्नु, चोरी नगर्नु, अरूको हानिनोक्सानी नगर्नु, सामाजिक मर्यादाको पालना गर्नु जस्ता नैतिक आचरणले शरीर र मनको शुद्धीकरण गर्छन् । पुराणहरूको मुख्य उद्देश्य मन र शरीरको शुद्धीकरणका लागि नैतिक उपदेश दिनु हो ।

उपन्यासमा जस्तै कतिपय विषयवस्तु काल्पनिक भए पनि पुराणले रोचक कथाद्वारा सर्वसाधारणलाई धर्मप्रति आकर्षित गर्ने प्रयास गरेका छन् । सनातन धर्मको दोस्रो सिँढी हो अपराभक्ति । पूजापाठ, जप–तप, तीर्थ–व्रत सबै अपराभक्ति हुन् । अपराभक्ति बहर्मुखी साधना भएकाले यसमा द्वेतभाव हुन्छ अर्थात् भक्तलाई परमात्माबाट भिन्न हुँ भन्ने भाव हुन्छ । द्वेतभावबाट आत्मज्ञान नहुने भएकाले अपराभक्तिलाई शुद्ध भक्ति मानिँदैन । पराभक्ति सनातन धर्मको तेस्रो र अन्तिम सिँढी हो । उपनिषद्अनुसार ब्रह्मा निर्गुण र निराकार हुन् । निराकारको अर्थ हो ब्रह्माको कुनै रूप छैन । निर्गुणको अर्थ हो, उनी हाम्रो ज्ञानेन्द्रियदेखि पर छन् । अर्थात् उनलाई हाम्रो ज्ञानेन्द्रियद्वारा बुझ्न सकिँदैन । 

ब्रह्मालाई सत्वितानन्द पनि भनिन्छ । सत्को अर्थ हो सत्य । ब्रह्माको कुनै आदि र अन्त्य छैन, त्यसैले उनी सत्य हुन् । उपनिषद्ले व्यक्ति र ब्रह्मा (परमात्मा) अद्वेत हुन् भनेको छ । उदाहरणका लागि समुद्रको छाल र समुद्र अलग नभए जस्तै व्यक्ति र ब्रह्मा पनि अलग होइनन् । पराभक्ति अद्वेतको साधना हो, अर्थात् ब्रह्मासँगको एकत्वको साधना हो । अद्वेतको साधनाबाट साधकलाई आफ्नो वास्तविक स्वरूप पनि ब्रह्माको जस्तो सत्य, मरकचेतना र आनन्दमय रहेछ भन्ने ज्ञात हुन्छ । आफू र 

ब्रह्माबीच कुनै भेद रहेनछ भन्ने ज्ञान हुन्छ, अर्थात् उसलाई ‘अहं ब्रहास्मि’ को ज्ञान नै आत्मज्ञान हो । आत्मज्ञान हुने भएकाले परभक्तिलाई शुद्ध र उच्चतम भक्ति मानिन्छ । पराभक्तिलाई अध्यात्म पनि भनिन्छ । अध्यात्म सत्य, परमचेतना र आनन्दको व्यक्तिगत खोजी हो । व्यक्तिगत खोजी भए तापनि सुरुमा ज्ञान प्राप्त गुरुको मार्गनिर्देशन आवश्यकता पर्छ । भागवत गीतामा भगवान् कृष्णले अर्जुनलाई उपदेश दिँदै भन्नुहुन्छ— हे अर्जुन, तिमी ब्रह्मज्ञानी गुरुको सानिध्यमा जाऊ, उसको सेवा गर र उनीबाट ज्ञान लिऊ । पराभक्ति अन्तर्मुखी साधना भएकाले यसको मुख्य विधि ध्यान हो । भगवान् शिवले पार्वतीलाई सिकाउनुभएका ध्यानका ११२ विधि भैरवतन्त्र विज्ञान नामको सानो ग्रन्थमा उल्लेखित छन् । तर, ध्यानको प्रयोगलाई व्यापक बनाउनु भएकाले यसको प्रवर्तक भगवान् बुद्धलाई मानिन्छ । आधुनिक युगमा विश्वभरि ध्यान फैलाउने कुख्य श्रेय भने ओशो (रजनीश) लाई जान्छ । 

जीवन दुःख हो भन्ने बुझेमा मुक्तिको इच्छा अवश्य हुन्छ । जीवन दुःख हो भन्ने कुरा बुझेर नै सिद्धार्थ गौतमले त्यसबाट पार पाउने उपायको खोजीमा कठोर ध्यान गर्नुभयो । अन्ततः छ वर्षपछि उहाँ आफ्नो खोजीमा सफल हुनुभयो । उहाँले प्रतिपादन गर्नुभएको धर्मको प्रथम आर्य सत्य थियो— जीवन दुःख हो । वुद्धावस्था, मृत्यु सबै दुःख हुन्, निराशा, शोक, भय, क्रोध, द्वेष, एक्लोपन, चिन्ता, असन्तोष, इत्यादि पनि दुःख हुन् । त्यसपछि दुःखबाट मुक्त हुने मार्गको प्रतिपादन गर्नुभयो । 

हिन्दु सनातन धर्मले दुःखको यो संसारबाट पार हुने उपायको उच्चतम ज्ञान दिएको छ । इसाई धर्ममा यस्तो ज्ञान उपलब्ध छैन । छोटो उमेरमा नै हत्या गरिएकाले जिसस क्राइस्टले अध्यात्मको उच्चतम ज्ञान दिन पाउनुभएन । त्यसकारण उहाँको उपदेश मुख्यतः नैतिक शिक्षामा मात्र सीमित रहन गयो । हिन्दु धर्ममा अध्यात्मको उच्चतम ज्ञान रहेको बुझेर यस धर्मलाई अपनाउने पश्चिमी मुलुकका इसाईको संख्या दिन प्रतिदिन बढिरहेको पाइन्छ ।

भागवत गीता सनातन धर्मको सर्वोत्तम ग्रन्थ हो । उपनिषद्को निचोड हो, भागवत गीता । इसाईको बाइबल र मुस्लिमहरूको कुरान जस्तै हिन्दुहरूका लागि महत्त्वपूर्ण ग्रन्थ हो भागवत गीता । संस्कृति धर्मको अभिन्न अंग हो र हाम्रो देश जति सुन्दर छ, संस्कृति पनि त्यत्तिकै उत्कृष्ट छ । तर, पश्चिमी संस्कृतिको बढ्दो प्रभावले गर्दा हाम्रो संस्कृतिमा विकृति बढिरहेको छ । त्यत्रि मात्र होइन, आफ्नो सनातन धर्म राम्रोसँग बुझ्न र बुझाउन नसक्दा धर्म परिवर्तन गर्नेहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ । 

सनातन धर्मको उच्चतम साधना सहज छ । यो कुनै जाति, वर्ण वा सम्प्रदायसँग सम्बन्धित छैन । सामाजिक र आर्थिक स्तरसँग पनि सम्बन्धित छैन । सबको लागि बराबर पहुँच भएकाले कुनै प्रकारको भेदभाव छैन । राम्रोसँग साधना गर्‍यो भने जो कोहीले पनि तत्कालीन जन्ममा आत्मज्ञान प्राप्त गरेर आफ्नो जन्मको उद्देश्य पूरा गर्न सक्छ । आदी शंकराचार्यले भन्नुभएको छ— मानव जन्म, मुक्तिको इच्छा र गुरु प्राप्ति, यी तीन कुरा परमात्माको कृपाबिना पाइँदैन । भाग्यशाली ती व्यक्ति हुन्, जसलाई यी तिनै कुराको कृपा भएको छ ।

– कुँवर तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष हुन् ।

नारायण कुँवर तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष हुन् ।

Link copied successfully