कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सहकार्यको अद्वितीय अवसर

अन्ततः २०८१ वैशाख ३ गते नागढुंगा आयोजनाको मुख्य सुरुङ छिचोलिएको छ । यो जापानको उच्च प्रविधि र अदम्य जोसका साथै नेपाली पक्षसँगको सहकार्यको प्रतीक हो । बोली र वाचामात्र नभई कामद्वारा नै पूरा भएको सार्थक परिणाम पनि हो ।

सहकार्यको अद्वितीय अवसर

नागढुंगा आयोजना २२ अर्ब रुपैयाँ लागत भएको पूर्वाधार आयोजना हो, जसमा जापानले नेपाल सरकारलाई तीन चौथाइ उच्च सहुलियतपूर्ण ऋण सहयोग प्रदान गरेको छ । यो नेपालको पहिलो सडक सुरुङमार्ग हो, जसको फिनिसिङ (भित्रको ढलान, प्लास्टर, उपकरण जडान गर्ने काम) सम्पन्न भएपछि यस क्षेत्रको यातायातमा निकै सुधार आउनेछ । स्थानीय अर्थतन्त्रको प्रवर्द्धनका लागि पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । धेरै कठिनाइको सामना गर्दै यस घडीसम्म आइपुग्न लागिपरेका सबै जना बधाईका भागीदार छन् ।

जटिल भौगोलिक खण्ड भएका हिमाली तथा पहाडी क्षेत्रमा सुरुङ निर्माण गर्नु नै चुनौतीपूर्ण कार्य हो । आपत्कालीन र मुख्य सुरुङको भित्री खण्डको एकदमै कठिन उत्खनन क्रममा पटकपटक अप्रत्याशित बाढी र भूक्षय भएका थिए । सुरुङबाहिर भारी वर्षापछिको भूस्खलन र कोभिड–१९ महामारीका कारण निर्माण कार्य ढिला हुन गयो । साथै, निर्माण सामग्रीको समयमै आपूर्ति तथा स्थानीय समुदायको माग जस्ता मानवीय कारकले पनि निर्माण प्रभावित बन्यो । यस्तो पृष्ठभूमिमा नेपालको बीपी राजमार्ग भनेर चिनिने सिन्धुली सडक निर्माणको अनुभवलाई आत्मसात् गर्दै सुरुङ निर्माणमा हामी सहभागी भयौं । भविष्यमा यसले नेपाली जनतालाई अवश्य लाभ पुर्‍याउनेछ भन्ने विश्‍वासका साथ जापानी कम्पनीले प्राविधिक चुनौती सामना गर्दै निर्माण कार्य जारी राखेको छ । यस आयोजनामा जापानी कम्पनीसँग काम गरिरहेका नेपाली इन्जिनियरका लागि यो जापानी उच्च प्रविधि हस्तान्तरण गर्ने अद्वितीय अवसर पनि हो । जापानी आयोजना प्रमुखले भविष्यमा नेपाली प्राविधिकहरूले ‘यस आयोजनाबाट हामीले सिक्यौं भनेको सुन्न आतुर छु’ भनेको कुरा मेरो मानसपटलमा अझ ताजै छ ।

जापानले नेपालमा शिक्षा, स्वास्थ्य, संस्थागत संरचना निर्माण र सुशासनका साथै पूर्वाधार क्षेत्रमा पनि कार्यान्वयन निकाय जाइकामार्फत सहयोग प्रवर्द्धन गर्दै आएको छ । जापानको आर्थिक सहयोगको एउटा बलियो पक्ष भनेको यसमा रहेका विभिन्न योजना हुन्, जसले सरकारबीच मात्र नभई विभिन्न निकाय तथा संरचनामार्फत पनि सहायता प्रदान गर्न सक्छ ।

मैले गएको एक वर्षमा जापानको समुदायमा आधारित लघु अनुदान कार्यक्रम (जीजीपी) अन्तर्गत ५ वटा नयाँ परियोजनामा हस्ताक्षर गरें । यी परियोजनाले ग्रामीण समुदायलाई प्रत्यक्ष सहायता प्रदान गर्छन् । साथै जापानी दूतावासबाट १६ वटा जीजीपी परियोजना हस्तान्तरण समारोह पनि आयोजना भए, जुन कोभिडका कारण रोकिएका थिए । जापानी गैरसरकारी संस्थाहरू पनि दूतावासको सहयोगमा विभिन्न क्षेत्र र विधामा निरन्तर सहयोगका गतिविधिमा संलग्न भइरहेका छन् । विशेषगरी ढुवानी तथा वितरणमा थुप्रै चुनौती भएको यो देशमा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्य प्रभावकारी साबित भएको छ । यसको उल्लेखनीय उदाहरण कोभिड महामारीका दौरान नेपालका विभिन्न क्षेत्रमा युनिसेफको सहयोगमा जापानी खोपको वितरण गर्नु पनि हो । यस्तै, गत नोभेम्बरमा जाजरकोटमा गएको भूकम्पमा पनि यूएनडीपीसँगको सहकार्यमा आपत्कालीन स्थलगत सहयोग गर्न सम्भव भयो ।

नेपालको विकासमा जापानको सहयोग उपयोगी हुन सक्छ भन्ने कुरामा हामी विश्वस्त भएकैले सहयोगको निरन्तरता भइरहेको हो । दुवै पहाडी मुलुक र प्राचीनकालदेखि नै जटिल प्राकृतिक भूगोल भएकाले भूकम्प, बाढीजस्ता प्राकृतिक प्रकोप र जलवायु परिवर्तन लगायतका धेरै साझा चुनौती सामना गर्दै आइरहेका छन् । युद्धपछि जापानको पुनर्निर्माण, लोकतन्त्रको विकास र विपद् व्यवस्थापनजस्ता अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्छ । अहिले जापानमा बढ्दो नेपालीको उपस्थितिले जापानको घट्दो जन्मदर, वृद्ध उन्मुख अर्थतन्त्र र समाजका लागि अमूल्य सहयोग गरेको छ । यस वर्षको सुरुमा जापानको नोतो प्रायद्वीपमा गएको भूकम्पमा जापानमा बसोबास गरिरहेका नेपालीले सहयोग गरेका थिए । त्यो वास्तवमा सन् २०१५ मा नेपालको गोरखा केन्द्रबिन्दु भई गएको भूकम्पपछि जापानले नेपाललाई दिएको सहयोगको कृतज्ञता व्यक्त गर्ने एउटा माध्यम हो । यसरी हामीले द्विपक्षीय सम्बन्धमा एकअर्कालाई सहयोग गरी पारस्परिक लाभ लिन सक्नुपर्छ ।

यस वर्ष जापान कोलम्बो प्लान १९५४ मा प्रवेश गरेको ७० औं वार्षिकोत्सव मनाइरहेको छ । त्यसै वर्षदेखि जापान एउटा युद्धबाट पराजित राष्ट्रबाट सहयोग प्रदान गर्ने राष्ट्रको युगमा प्रवेश गरेको थियो । सन् २०२६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव हुनेछ । यो नयाँ उचाइमा नेपालका लागि विकास सहयोग र दुई देशबीच विशिष्ट व्यक्तिहरूको भ्रमणलगायत जनस्तरीय आदानप्रदान प्रवर्द्धनमा मेरो प्रयास जारी रहनेछ ।

यहाँहरूले याद गर्नुभएको होला, जापानी विकास सहयोग (ओडीए) को लोगोमा ‘जापानी जनताको तर्फबाट’ भनेर लेखिएको हुन्छ, जुन मैले बनाएको हुँ । म परराष्ट्र मन्त्रालयको आर्थिक सहायता ब्युरोमा प्रशासकीय अधिकृत छँदा जापानी जनताको सद्भावले जापानी ओडीएलाई समर्थन गर्छ भन्ने तथ्य उजागर गर्न यस्तो विचार ममा आएको थियो ।

नेपाली जनताले जापानी सहयोगको राम्रो उपयोग गर्नेछन् भन्ने आशा छ । जापानले नेपाललाई लामो समयदेखि मित्रका रूपमा निःस्वार्थ सहयोग गर्दै आएकामा नेपाली जनताले कृतज्ञताका शब्दहरू व्यक्त गरेको पाउँछु । म प्रायः उनीहरूलाई भन्ने गर्छु कि, जापानको स्वार्थ भनेको नेपालको शान्ति, स्थिरता र विकास हो । यो जापानी जनताको रगत, पसिनाको करबाट प्रदान गरिएको सहयोग, अनुदान मात्र नभई नेपालको उज्ज्वल भविष्यका लागि गरिएको लगानी पनि हो भन्ने गर्छु । नेपालको हितका लागि जापानले दिएको सहयोग खेर नजाओस् भन्नका लागि नेपालका संघीय, प्रदेश सरकार र समुदायको सहयोग आवश्यक पर्छ ।

– युताका नेपालका लागि जापानी राजदूत हुन् ।

प्रकाशित : वैशाख ४, २०८१ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×