मनोपरामर्श सेवालाई बेवास्ता

भाद्र २८, २०८०

प्रमिला वस्ती

नेपालमा प्रतिदिन १५ देखि २० जनासम्मले आत्महत्या गर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् । आमहत्या गर्नुमा कुनै न कुनै कारण हुन्छ, जुन आत्महत्या भइसकेपछि बढी खोतल्ने गरिन्छ । एक व्यक्तिले आत्महत्या गर्दा त्यसको असर कति जनालाई कस्तो किसिमले पर्न सक्छ ? सम्बन्धित परिवारमा केकस्ता मनोसामाजिक, आर्थिक समस्याहरू आउन सक्छन् ? यो बहसको अर्को पाटो हुन सक्छ ।

आत्महत्या मानसिक रोग हो भन्दै दुई दशकयता यसको रोकथाम गर्न अन्तर्राष्ट्रिय तहमै अभियानहरू चल्दै आइरहेका छन् । नेपालले पनि सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । आत्महत्याका धेरैजसो कारक मानसिक रोगसँग जोडिए पनि यसको बहुआयामिक पक्षलाई ‘बायो साइकोलोजिकल मोडल’ बाट विश्लेषण गर्नुपर्ने हुन्छ । डिप्रेसनजस्तो मनोदशाबाट गुज्रिरहेको व्यक्तिले संसारलाई कसरी र कुन हदसम्म अन्धकार देख्छ भनेर विविध पक्षलाई केलाउँदा यसलाई पृष्ठपोषण गरिरहेका आर्थिक, सामाजिक, राजनीतिक तथा स्वास्थ्य सेवाप्रवाहका विभिन्न पाटा हेर्नुपर्छ । 

मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाममा सरकारको भूमिका प्रभावकारी छैन । परम्परागत नीति र योजनाको भुमरीमै फसिरहेको छ यो । युवा पुस्तालाई छुने नीति र योजना नल्याए होनहार युवायुवती मानसिक रोगबाट अझ आक्रान्त हुँदै जाने देखिन्छ । डब्लूएचओको सहकार्यमा नेपाल सरकारको पाटन मानसिक अस्पतालले डेढ वर्षदेखि आत्महत्या रोकथाम सम्बन्धी ‘हटलाइन’ सञ्चालन गरिरहेको छ । आत्महत्याको सोच आएका व्यक्तिले टेलिफोनबाट परामर्श लिन कतिको सहज मान्छन् भन्ने पनि त्यत्तिकै महत्त्वपूर्ण छ । यस्ता कार्यक्रमले धेरै हदसम्म राम्रो उपलब्धि दिन सकेका छन् । मानसिक रोग र आत्महत्या रोकथामलाई केन्द्रमा राखेर यस्ता कार्यक्रम अझ द्रुतगतिमा अगाडि बढाउन केकस्ता कार्ययोजना आवश्यक छ भन्ने बुझ्नु जरुरी छ । मानसिक रोगीको संख्या दिन–प्रतिदिन बढिरहे पनि उनीहरूले पाउने उपचार सेवासुविधामा सम्बन्धित निकायले खासै चासो दिएको पाइँदैन । 

वर्तमान स्वास्थ्यसचिव आफैं वरिष्ठ मनोचिकित्सक हुनुहुन्छ । लामो समयदेखि मानसिक रोगीको सेवामा रहनुभएका उहाँलाई, स्वास्थ्य क्षेत्रको नीति बनाउने मुख्य दायित्व र जिम्मेवारीमा रहेकै बखत, मनोपरामर्श क्षेत्रमा अमिट छाप छाड्ने अवसर छ । उहाँले आफ्नो उपचार सेवा अवधिमा कैयौं यस्ता बिरामी भेट्नुभयो होला, जसले जीवनदेखि निराश भएर मर्न मन लाग्यो भने होलान्Ù आत्महत्याको सोच आयो भने होलान् । कतिलाई घरमा सासू–बुहारीको कुरा नमिलेकाले डिप्रेसन भएको थियो । कतिलाई अन्तरजातीय विवाहले गर्दा डिप्रेसन भएको थियो होला । यसो भन्ने कतिलाई उहाँले मनोपरामर्शमा पठाउनुभयो ? 

‘मनमा कुरा गुम्स्याएर नराखौं, आफ्नो मनको कुरा मिल्ने साथीलाई भनौं वा मनोपरामर्शदातासँग खुलेर कुरा गरौं’ भनेर हामी पटकपटक नारा–जुलुस गरिरहेका हुन्छौं । तर, व्यवहारमा यस्तै भइरहेको छ त ? स्वास्थ्यसचिवलाई मेरो प्रश्न छ— तपाईंलाई आत्महत्या रोकथाममा मनोपरामर्शको अति महत्त्व छ भन्ने लाग्दैन ? ओपीडीमा एउटा चिकित्सकले एउटा बिरामीलाई कति समय दिन सक्छ ? के मानसिक बिरामीले आफ्नो मन र मुटुको एक्सरे गरेर ल्याएको हुन्छ, जुन हेर्नासाथ चिकित्सकले औषधि लेखिदिन सक्छ ? होइन भने किन हरेक निजी तथा सरकारी अस्पताल, स्वास्थ्यकेन्द्रमा मनोपरामर्शदातालाई राखिँदैन ? पारिवारिक थेरापी, मनोशिक्षाको महत्त्व र आवश्यकताबारे स्वास्थ्यसचिवलाई पक्कै थाहा होला । केही दिनअघि मात्रै मोरङमा आत्महत्या गरेका चिकित्सकको परिवारलाई कति जरुरी थियो होला पारिवारिक थेरापी ? यदि उनका बुबाआमालाई जातीय विभेदको खास कुरा बुझाउन सकिएको भए, बाआमा र छोराबीच एक पटक छलफल गर्ने वातावरण बनाउन सकिएको भए एक चिकित्सकको ज्यान बचाउन सकिन्थ्यो होला । यदि आत्महत्याको कारण डिप्रेसन हो भने यसलाई पृष्ठपोषण गर्ने हाम्रा सामाजिक–सांस्कृतिक कारकहरूलाई कसले पहिचान गर्छ ?

नाम चलेका, आर्थिक–सामजिक रूपमा सम्पन्न व्यक्तिहरूमा पनि जीवनदेखि निराशा छाइरहेको छ । उनीहरू समाजमा खुलेर आफ्ना कुरा गर्न नसक्ने हुन्छन् । यस्तो कुरा गर्दा समाजले कुन नजरले हेर्ला भनेर पनि कतिपय व्यक्ति बाहिर आउनै चाहँदैनन् । गोप्य रूपमा औषधि खाइरहेका हुन्छन् । मानसिक रोग जोकोहीलाई हुन सक्छ । औषधि खाएपछि केही समयमा पूर्ण निको हुन सकिन्छ भनेर त्यस्ता व्यक्तिहरूलाई बुझाउन सके मात्र पनि आत्महत्याको दर केही हदसम्म घटाउन सकिन्छ । धनाढ्य व्यक्तिहरूले समेत आत्महत्या गर्नुले के देखाउँछ भने धन, सम्पत्ति, पद, प्रतिष्ठा र भौतिक सुखसुविधाभन्दा माथि मानसिक सुख र शान्ति छ, जुन पैसाले किन्न सकिँदैन । 

आत्महत्या गर्न लागेको व्यक्तिले दस मिनेट मात्रै आफ्नो मनको कुरा कसैलाई सुनाउन पायो भने पनि उसको योजनालाई केही समयका लागि टार्न सकिन्छ । त्यही समयमा सबै प्रकारका उपचारात्मक विधि प्रयोग गरेर उसलाई आत्महत्याको सोचाइबाट बाहिर निकाल्न सकिन्छ । अर्को कुरा, चिकित्सकले लेखेर दिएको औषधिप्रतिको भ्रमका कारण धेरैजसो बिरामी त औषधि नै लिन मान्दैनन् । यस्तो बेला मनोशिक्षाको जरुरत पर्छ । ओपीडीका चिकित्सकहरूलाई बिरामीसँग परामर्श गर्ने पर्याप्त समय हुन्न । यता मनको कुरा सुनिदिने मनोपरामर्शदाताका लागि राज्यले कहीँकतै दरबन्दी चाहिन्छ भनी महसुस गर्नसम्म सकेको छैन । देशभित्र मानसिक रोगीको उपचार गर्ने एक मात्र सरकारी ठाउँ पाटन मानसिक अस्पतालमा एक जना मात्रै मनोपरामर्शदाताको दरबन्दी छ, त्यो पनि अस्पताल विकास समितिले व्यवस्थापन गरेको हो । मनोपरामर्शदाताहरू जागिर नपाएर विदेश गइरहेका छन् । अर्कातिर, मनोपरामर्शदातासम्म पहुँच नपुग्नाले मनको बह पोख्न नपाएर दिनदिनै मान्छे आत्महत्या गरिरहेका छन् ।

जबसम्म मानसिक स्वास्थ्य समस्यामा मनोपरामर्शको महत्त्वलाई नजरअन्दाज गरिन्छ, औषधिलाई मात्र प्राथमिकतामा राखेर उपचार गरिन्छ, आत्महत्या झन् बढिरहन्छ । जबसम्म मानसिक स्वास्थ्य समस्याका विषयमा मनोपरामर्शदतालाई बेवास्ता गरिन्छ तबसम्म मानसिक स्वास्थ्य समस्यामा खासै उल्लेख्य सुधार हुने ठाउँ हुन्न । प्रत्येक स्वास्थ्य सुविधामा एकीकृत मनोसामाजिक सेवालाई जोड्ने गरी कार्ययोजना बनाएर जतिसक्दो चाँडो कार्यान्वयनमा ल्याउनुपर्छ । 

वस्ती मनोपरामर्शविद् हुन् ।

प्रमिला

Link copied successfully