आफ्नो राष्ट्रिय पहिचान जे भए पनि खुला हृदयले ‘म नेपाली हुँ’ भन्न हामीलाई कसैले रोकेको छैन । हामी ‘नेपाली’ हुन भुटानमा ‘अवैध आर्थिक आप्रवासी’ नै भएको हुनुपर्छ भन्ने छैन ।
दुई साताअघि काठमाडौंमा दुइटा भव्य रियालिटी सोहरू सम्पन्न भए । ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अमेरिकी संस्था इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले आयोजना गरेको थियो ।
संसारका विभिन्न भागमा रहेका नेपालीहरूलाई सांस्कृतिक रूपमा एकताबद्ध गराउने उद्देश्य रहेको भनिएका यी सोहरूमा नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, थाइल्यान्ड, म्यानमार लगायतका नेपालीहरूको सहभागिता थियो । अहिलेसम्मकै ठूलो धनराशि पुरस्कार भएका यी सोका ग्रान्ड फिनालेमा मन्तव्य दिएका फाउन्डेसनका संस्थापक अध्यक्ष डिल्ली अधिकारी भने भुटानी समुदायमा यति बेला चर्चाको पात्र भएका छन् । पूर्वभुटानी शरणार्थी अधिकारीले नेपालीभाषीलाई भुटान लगिएको सन्दर्भमा बोलेको कुराले धेरै भुटानी क्रुद्ध छन् ।
अधिकारीले नेपालका प्रधानमन्त्रीसामु ‘छातीमा हात राखेर’ झापा र मोरङका शरणार्थी शिविरहरूमा अहिले पनि दारुण वर्तमान र अनिश्चित भविष्य बाँचिरहेको हाम्रो समुदायको छुटेको एउटा खण्डको दीर्घकालीन समस्या समाधानका निम्ति अनुरोध गरे । यसका लागि उनलाई धन्यवाद भन्नुपर्छ । यद्यपि, यी प्रशंसनीय प्रयासहरूबीच आफ्नो ‘मनभित्र नेपाली मन र शिरमा नेपाली जातिप्रतिको सम्मान’ भएको पुष्टि गर्न अधिकारी भुटानमा नेपालीहरूको इतिहासलाई लिएर अनेक कुतर्क गर्छन् । गत वर्ष आफ्नै फाउन्डेसनले गरेको ‘मेरो भ्वाइस कप’ को मञ्चबाट ‘हामी त बेचिएका नेपाली पो रहेछौं’ भनी उद्घोष गरेका अधिकारीले यसपालि ‘सन् १९७२ मा नेपालीहरूलाई भुटानका तेस्रो राजाले भुटानमा स्वागत गरेको र चौथो राजाले देशबाट निष्कासन गरेको’ लज्जास्पद अभिव्यक्ति दिए ।
भुटानमा नेपालीहरूको बसोबासको इतिहास जटिल आर्थिक–सामाजिक–राजनीतिक घटनाक्रमहरूसँग जोडिएको छ । केही इतिहासकारले नेपालीहरू सत्रौं शताब्दीको दोस्रो दशकमा भुटान पुगेको उल्लेख गरेका छन् भने कतिपय अध्येता लिखित दस्ताबेजको अभावमा यस्ता दाबीलाई आधिकारिक इतिहास मान्न नसकिने तर्क गर्छन् । तथापि उनीहरूले समेत भुटान र नेपाल (तत्कालीन गोरखा राज्य) बीच त्यति बेला कायम मैत्रीपूर्ण सम्बन्धका आधारमा यो दाबी पूर्णतः असत्य हुन नसक्ने स्विकारेका छन् ।
सन् १९०७ मा भुटानमा वाङ्चुकवंशीय राजकीय सत्ता स्थापित हुँदा दक्षिण भुटानमा ठूलो नेपाली समुदाय पहिलेदेखि नै थियो भनी इस्ट इन्डिया कम्पनीका ब्रिटिस अधिकारीहरूले आफ्ना रिपोर्टहरूमा उल्लेख गरेका छन् । भुटानमा विविध समयमा पारित भएका नागरिकता ऐनहरू हेर्ने हो भने डिल्ली अधिकारीको दाबी सरासर मिथ्या प्रमाणित हुन्छ । सन् १९५८ को भुटानको राष्ट्रियता कानुन, १९७७ को परिमार्जित ऐन र १९८५ को भुटान नागरिकता ऐनले भुटानी नागरिकता प्राप्त गर्नका लागि विशेष मापदण्ड र सर्तहरू उल्लेख गरेका छन् । नेपालीहरूको स्थायी बसोबासलाई हतोत्साहित गर्न निर्मित १९५८ को राष्ट्रियता कानुनका परिकल्पनाकार भुटानका तेस्रा राजा जिग्मे दोर्जी वाङ्चुक नै थिए । उक्त कानुनमा ‘भुटानमा कम्तीमा १० वर्ष बसोबास गरेका र कृषियोग्य भूमिको स्वामित्व भएका विदेशीहरू राजाप्रति वफादारीको शपथ लिएपछि भुटानी नागरिकताका लागि आवेदन दिन योग्य हुनेछन्’ भनिएको छ ।
सन् १९७७ मा चौथा राजा जिग्मे सिंगे वाङ्चुकद्वारा परिमार्जित कानुनमा नागरिकताको आवेदन दिन सरकारी सेवामा रहेकालाई १५ वर्ष र अन्य सबैले २० वर्ष भुटानमा बसेको हुनुपर्ने र साथै जोङ्खा भाषा र भुटानको इतिहासको ‘केही ज्ञान’ हुनुपर्ने उल्लेख छ । १९८५ को नागरिकता ऐनले ‘अवैध आप्रवासीको बाढीलाई नियन्त्रण गर्न’ थप कदम चाल्यो । अब आमाबाबु नै भुटानी भएकालाई मात्र जन्मका आधारमा नागरिकता दिइने भयो । नागरिकता प्राप्त गर्न १९५८ लाई आधारवर्ष मानियो र यो समयभन्दा अघिदेखि भुटानमा बसेको प्रमाण प्रस्तुत गर्न नसक्नेहरूलाई अवैध आप्रवासी ठहर्याइयो ।
भुटानी संस्कृतिमा जोड दिइएका कारण ‘एक राष्ट्र, एक जनता नीति’ भनिने यस ऐनले भुटानी नागरिक हुन जोङ्खा भाषामा ‘प्रवीणता’ एवं भुटानी संस्कृति, रीतिरिवाज, परम्परा र इतिहासको ‘थप पर्याप्त ज्ञान’ लाई अनिवार्य बनायो । साथै आपराधिक गतिविधि वा जनता, देश र नरेशविरुद्ध संलग्न रहेको पाइए नागरिकता खारेज हुने व्यवस्था लागू गर्यो ।
नेपालीहरूको बसोबासलाई व्यवस्थित गर्न तथा थप विदेशीहरूलाई भुटान प्रवेशबाट रोक्न नीति बनाउने राजाले नेपालीहरूलाई स्वागत गरे भन्नु मनगढन्ते एकालाप मात्र हो । लामो इतिहास भएको खास जातिप्रति लक्षित बदनियतपूर्ण ऐनहरूको निहितार्थ अर्को छलफलको विषय हो तथापि डिल्ली अधिकारीले भनेजस्तो सन् १९७२ मा कोही नेपालीले भुटान प्रवेश गरेका भए उनीहरू १९८५ को ऐनका आधारमा सरासर अवैध आप्रवासी ठहर्छन् । त्यसो भए, चौथा राजाले आफूलाई अनागरिक करार गरी देशनिकाला गरे भनी रोइलो गर्नुको तुक रहँदैन ।
नेपालीहरूको वर्चस्व कालान्तरमा राजनीतिक अस्थिरताको कारक बन्छ भन्ने भयले आक्रान्त सरकारले स्वदेशी तथा विदेशी अनुसन्धाता भर्ती गरेर धेरै नेपाली अवैध आप्रवासी भएको र उनीहरू राष्ट्रिय सुरक्षा, सार्वभौमिकता तथा संस्कृतिमाथि ठूलो चुनौती भएको भाष्य निर्माण गरायो । सन् १९८८ मा गैरनागरिक पहिचान गर्ने निहुँमा नेपालीप्रति लक्षित जनगणनामार्फत धेरैलाई अस्थायी मजदुर र आर्थिक आप्रवासी करार गर्दै अनागरिक भएको घोषणा गर्यो । नेपालीहरूले यस्तो सांस्कृतिक अतिक्रमण र भेदभावपूर्ण जनगणनाविरुद्ध अपिल गरे; शान्तिपूर्ण प्रदर्शनमार्फत मानव अधिकारका लागि नारा लगाए । यससँगै धेरै देशद्रोही ठहरिए । यस्तो चक्रीय षड्यन्त्रको क्रूरता सहन नसकेर धेरै नेपाली देश छोड्न बाध्य भए । यो सावधानीपूर्वक डिजाइन गरी नेपालीहरूविरुद्ध अख्तियार गरिएको जातीय सफायाको नीति थियो, जसलाई एम्नेस्टी इन्टरनेसनलले ‘आधुनिक इतिहासमा सबैभन्दा ठूलो जातीय निष्कासनमध्ये एक’ मानेको छ ।
डिल्ली अधिकारीसहित हामी धेरै यही नीतिको सिकार भयौं । पूर्वी नेपालका शरणार्थी शिविरका प्रतिकूल तारघेराभित्र झन्डै दुई दशक कष्टपूर्ण जीवन बितायौं र कसैको निगाहमा विकसित मुलुकहरूमा पुनःस्थापित भयौं । तेस्रो देश पुनर्वासलाई अझैसम्म पूर्ण समाधान नमान्ने धेरै छन् । कतिपयलाई हामी पुनर्वास हुनु हाम्रो मुद्दाको दुर्दान्त महासमाधि हो भन्ने लाग्छ;कतिपयलाई हामी महापलायन भयौं भन्ने लाग्छ । अरू कति शान्तिको पहलमार्फत भुटानसँग साइनो राखिराख्नुपर्छ भन्छन् । शिविरमा ६,५०० ‘शरणार्थी’ आफ्नो समस्याको समाधान पर्खिएर बसिरहेका छन् । यसको केन्द्रीयतामा हामीले भोगेको अन्याय छ, चाँडै बिलाउन नहुने हाम्रो एउटा जायज मुद्दा छ ।
पुनर्वासमा गएकाहरूको स्थिति सुध्रियो । उनीहरूले गाडी किने, घर किने । बालबच्चाले राम्रा विद्यालयमा पढ्ने मौका पाए । उनीहरूको दैनिकी बदलियो । तर धेरैले देश छोड्नुअघिका कहालीलाग्दा दिनहरू बिर्सिएका छैनन् । राज्यसत्ताले फैलाएको आतंक भुलेका छैनन् । यातनाले थिलथिल्याएका कतिपयका जीउ दुख्न छोडेका छैनन्; भाँचिएका हड्डी जोडिएका छैनन् । कति ‘पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर’ को उपचार गराइरहेका छन् । कतिका परिवार सदस्य अझैसम्म भुटानका जेलमा छन्, कति गायब बनाइएका छन् । कतिका भुटानमा छुटेका आफन्तसँग अझैसम्म भेट भएको छैन; कति आफन्त भौतिक दूरीसँगै विस्मृत हुन थालेका छन् । यो सबै दुरवस्थाको जड हामीमाथि थोपरिएको ‘अवैध आप्रवासी’ को बनावटी कथा हो ।
आज आर्थिक सम्पन्नताले सृजित प्रशंसाले मातिएर डिल्ली अधिकारी स्वघोषित रूपमा भुटानी नेपालीहरूको प्रतिनिधित्व गर्दै काठमाडौंको मञ्चबाट राज्यसत्ताको भाष्यका अगाडि आत्मसमर्पण गर्दै छन् । उनी भन्दै छन्, “हो, हामी सन् १९७२ मा भुटान छिरेका अस्थायी मजदुर हौं, अवैध आर्थिक आप्रवासी हौं । भुटानमा बसे पनि हामी कहिल्यै ‘भुटानी’ भएनौं; हामी जहिल्यै ‘नेपाली’ थियौं ।”
तर्कसंगत ‘सत्यता’ र स्थापित प्रमाण चासोका विषय भइदिन्थे भने डिल्ली अधिकारीले भुटानमा नेपाली बसोबासको प्रकृति र समयरेखाबारे गलत प्रचार गर्ने थिएनन् । भुटानी राजाहरूबारे अध्ययन गरेर बोल्थे; आफ्नै चरित्र, विश्वसनीयता र नैतिकतामा प्रश्नचिह्न खडा गर्ने थिएनन् । देशका सम्माननीय प्रधानमन्त्री, सभामुख लगायत विशिष्ट व्यक्ति उपस्थित कार्यक्रममा बोल्दा अलिकति तयारी चाहिन्छ भन्ने हेक्का राखिदिएका भए ‘भाषा, साहित्य, संस्कृतिको उत्थानमा जुटेको’ व्यक्तिको शब्द–उच्चारण अर्कै तहको हुन्थ्यो । उनका लागि नैतिक आचरण महत्त्वपूर्ण भइदिन्थ्यो भने आफू ‘नेपाली’ हुने ध्याउन्नमा विस्थापनको दुश्चक्रबाट विक्षिप्त भुटानीहरूको जीवित मुद्दाको अपमान गर्ने थिएनन् । भुटानमा अझै २ लाखभन्दा बढी नेपाली बसोबास गर्छन्; धेरै नेपाली ‘भुटानी’ हुन संघर्षरत छन् । अधिकारीको मन्तव्यले भुटानभित्र बस्ने नेपालीलाई सैद्धान्तिक रूपमा उस्तो असर त गर्दैन तर त्यहाँ बस्नेहरूको पहिचानलाई सम्मान गर्ने नैतिकता उनमा हुन्थ्यो भने त्यसरी बोल्ने थिएनन् ।
सफल व्यवसायी अधिकारी व्यापार रणनीतिहरू राम्रैसँग बुझ्छन्; भावनाको खेतीबाट राम्रै फसल भित्रिन्छ भन्ने जान्दछन् । उसै पनि नेपालमा ज्ञानभन्दा धेरै भावुकता र हल्ला बिक्छ । उनी यही भावुकता र हल्लाको सपना बाँड्छन् । संसारभरि छरिएका ‘७ करोड’ नेपालीलाई सांस्कृतिक रूपमा एकताबद्ध गर्ने महत्त्वाकांक्षा सुनाउँछन् जबकि उनलाई थाहा छ, अमेरिकाका ओहायो राज्यमा पुनर्वासित ५० हजारभन्दा कम भुटानी नेपालीलाई समेत एकताबद्ध गर्न सकिएको छैन ।
रियालिटी सोको मञ्च ऐतिहासिक सन्दर्भको प्राज्ञिक–बौद्धिक विमर्श गर्ने ठाउँ होइन, सायद । डिल्ली अधिकारीका आधारहीन, भावुक शब्द–सम्मोहनका प्रकर्षणहरूले ऐतिहासिक डिस्कोर्सको पृथक् मार्ग सायदै बनाउलान् । तर हल्लाको व्यापारले हल्लाकै उपभोक्ताहरूको समूह बनाउन सक्ने क्षमता राख्छ । यस्ता समूहले भ्रम छरेर इतिहासलाई ‘लायर पाराडक्स’ बनाइदिन सक्छन् । पैसाका बलमा यस्तो अनैतिक हर्कत गर्ने इजाजत कसैले पाउनु हुँदैन । नेपालका कलाकार, मिडियाकर्मी, सांस्कृतिक अभियन्तासहित भुटानी नेपालीहरूलाई माया गर्ने सबैले यस्ता दुराग्रही दुर्वृत्तिलाई हतोत्साहित गरिदिनुपर्छ ।
सदियौंदेखि मान्दै आएको नेपाली संस्कृति पालना गर्नबाट हामीलाई कसैले निषेध गर्न सक्दैन । आफ्नो राष्ट्रिय पहिचान जे भए पनि खुला हृदयले ‘म नेपाली हुँ’ भन्न हामीलाई कसैले रोकेको छैन । हामी ‘नेपाली’ हुन भुटानमा ‘अवैध आर्थिक आप्रवासी’ नै भएको हुनुपर्छ भन्ने छैन । डिल्ली अधिकारीले आफू ‘विशेष नेपाली’ हुन असंवेदनशील वक्तव्यमार्फत ऐतिहासिक सत्यको जानाजान विकृतीकरण गरी हाम्रो समुदायमा विद्यमान सत्यता, सहानुभूति र एकताको सिद्धान्तलाई कलंकित गरेका छन् ।
गौतम नर्वेस्थित युनिभर्सिटी अफ स्टाभांगरका विद्यावारिधि अध्येता हुन् ।
