नेपाली राजनीतिमा प्रदूषणको सिद्धान्त

प्रदूषण सर्वव्यापी र सर्वकालिक हुने भएकाले नयाँ जन्मिएका दलहरू यसबाट मुक्त हुनेछन् भन्नु विज्ञानसम्मत हुँदैन । नयाँ दलमा पनि प्रदूषण निश्चित छ र त्यही प्रदूषणले उनीहरूलाई पनि खान्छ । विगत अढाई सय वर्षदेखि नेपालको राजनीति यही नियमका आधारमा फन्को मारिरहेको छ ।

श्रावण ४, २०८०

अरुण बराल

श्रीमद्भागवतमा कलियुगको धर्म (विशेषता) बारे रोचक वर्णन छ । भनिएको छ, कलियुगमा पाखण्डको प्रधानता हुन्छ । राजा–महाराजा (शासक) हरू डाकु–लुटेरा समान हुन्छन् । राजा अत्यन्त निर्दयी एवं क्रूर हुन्छन् । लोभी त यति हुन्छन् कि राजा र लुटेरामा कुनै अन्तर हुँदैन । मनुष्य चोरी, झुट, हिंसा आदि कुकर्मबाट जीविका चलाउँछन् । कलियुगमा जोसँग धन हुन्छ, उही सदाचारी, सदगुणी मानिन्छ । जोसँग शक्ति छ, उसैले धर्म र न्याय व्यवस्थालाई आफूअनुकूल गराउन सक्छ । जो घूस दिन असमर्थ रहन्छ, उसलाई अदालतबाट सही न्याय प्राप्त हुँदैन । जसले जति बढी दम्भ र पाखण्ड देखाउन सक्छ, ऊ त्यति नै बढी साधु कहलिन्छ । (श्रीमद्भागवत, द्वादशकन्ध द्वितीयोध्याय : १–१३ )

हिन्दुशास्त्रमा चारवटा युग (व्यवस्था) को परिकल्पना गरिएको छ : सत्य, त्रेता, द्वापर र कलियुग । कलियुगको अन्त्यपछि फेरि सत्ययुग आउने मान्यता छ । संसार यिनै चारवटा युगमा घुमिरहने परिकल्पना दैवी सिद्धान्तमा आधारित भए पनि यसले समाजलाई प्रणाली–सिद्धान्तका आधारमा व्याख्या गर्न खोजेको छ । हरेक व्यवस्थाभित्र विकृति (प्रदूषण) जन्मन्छ र त्यसले नयाँ युगको सूत्रपात गर्छ भन्ने नै यसको स्वीकारोक्ति हो । यो परिकल्पना अनुसार हामी अहिले ‘कलियुग’ मा छौं ।

पाश्चात्य दार्शनिक प्लेटोले आफ्नो पुस्तक ‘द रिपब्लिक’ मा चार प्रकारका शासन प्रणालीको चर्चा गरेका छन् । आदर्श राज्यका पक्षपाती प्लेटोले ‘आदर्श राज्य’ समेत लामो समय नटिक्ने स्विकारेका छन् । प्लेटोका अनुसार आदर्श राज्य भ्रष्ट भएपछि सैनिकतन्त्र आउँछ । सैनिकतन्त्र प्रदूषित भएर कुलीनतन्त्र जन्मन्छ । कुलीनतन्त्रको विद्रूपीकरणपछि विद्रोहमार्फत प्रजातन्त्र (लोकतन्त्र) स्थापना हुन्छ । लोकतन्त्रको विकृतिले निरंकुशतन्त्र जन्माउँछ । निरंकुशतन्त्र फेरि सैनिकतन्त्रमा फेरिन्छ । यसरी राजनीतिक व्यवस्थाहरू एकबाट अर्कोमा घुमिरहन्छन् ।

प्लेटोले लोकतन्त्रलाई अनुशासित लोकतन्त्र, उग्र लोकतन्त्र र अराजकतन्त्र आदि उपवर्गमा बाँडेका छन् । यतिखेर नेपालमा अनुशासित, उग्र वा अराजतन्त्रमध्ये कस्तो लोकतन्त्रको अभ्यास भइरहेको छ ? यो बेग्लै बहसको विषय हो । यो आलेखमा प्लेटोबारे यत्ति मात्र भन्न खोजिएको हो कि हरेक राजनीतिक प्रणालीभित्र प्रदूषण हुन्छ र त्यसले अर्को व्यवस्थाको जन्म गराउँछ भन्ने मान्यता प्लेटोले पनि स्विकारेको तथ्य हो ।

मार्क्सवादी पनि समाजलाई आदिम साम्यवाद–दासयुग–सामन्तवाद–पुँजीवाद–समाजवाद र साम्यवाद गरी विभिन्न चरणमा बाँडेर व्याख्या गर्छन् । हरेक व्यवस्थामा जन्मने अन्तरविरोध (प्रदूषण) ले त्यो व्यवस्थालाई निषेध गर्ने र नयाँलाई जन्म दिने मार्क्सवादीहरूको तर्क छ । तर, उनीहरू प्लेटोको जस्तो ‘फन्को मार्ने’ सिद्धान्तमा भन्दा ‘छलाङ’ मा विश्वास गर्छन् । 

नेपालको राजनीतिमा जेजस्ता परिघटना भइरहेका छन्, यसमाथि प्रशस्त टिप्पणी र विश्लेषण हुने गरेका छन् । तर, नेपाली राजनीतिले बनाइरहेको सामान्य नियम वा विशेषतामाथि भने चिन्तन हुन सकिरहेको छैन । राजनीतिक विश्लेषण र राजनीतिक चिन्तन फरक विषय हुन् । हामीकहाँ राजनीतिक विश्लेषक प्रशस्त भए पनि राजनीतिक चिन्तक भएनन् । चिन्तनको अभावका कारण दलहरूको नेतृत्व दिशाविहीन बनेको छ ।

नेपाली राजनीतिको सामान्य नियम के हो ? हाम्रो राजनीति कुन सिद्धान्तका आधारमा चलिरहेको छ ? के निष्कर्षमा पुग्न सकिन्छ भने प्रदूषण र शुद्धीकरणबीच अन्तरसंघर्ष नै नेपाली राजनीतिको मूल विशेषता बनेको छ । यही अन्तरसंर्घमा हामीले अढाई सय वर्ष बिताइसकेका छौं । नेपालको राजनीतिले बनाएको यो अन्तरसंघर्षको नियमलाई ‘राजनीतिक प्रदूषणको सिद्धान्त’ भन्न सकिन्छ ।

प्रदूषणको ऐतिहासिक चक्र

नेपालमा धेरै पटक ठूला राजनीतिक परिवर्तन भए र नयाँ शक्तिहरू सत्तामा आए । तर, नयाँ भनिएको विद्रोही शक्तिसमेत क्रमशः प्रदूषित र भ्रष्ट बन्यो । सत्तामा रहेको शक्ति प्रदूषित भएपछि अर्को शुद्धतावादी जन्मियो । फेरि त्यो पनि बिग्रियो । नेपाली राजनीतिको चक्र यसरी नै घुमिरहेको छ । 

बाइसे चौबीसे राज्यमा बढेको विग्रह र प्रदूषणको फाइदा उठाएर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे । तर, प्रदूषणबाट शाह वंश अछुतो रहेन । एकीकरणपछि राजपरिवार र भारदारमा प्रदूषण सुरु भयो र कोतपर्वसम्म आइपुग्दा त्यसको उत्कर्ष देखियो । शाहकालीन विसंगतिको जगमा राणा शासन जन्मियो । एक शताब्दीपछि राणा शासनमा पनि प्रदूषण बढ्यो र ढल्यो । २००७ सालमा नेपाली कांग्रेसले शुद्धतावादको झन्डा उठायो । दलीय व्यवस्थामा देखिएको प्रदूषण हटाउने भन्दै राजा महेन्द्रले २०१७ सालमा सत्ता कब्जा गरे । पञ्चायतमा पनि प्रदूषण भयो । २०४६ सालमा पञ्चायत ढलेपछि कांग्रेस, कम्युनिस्ट र राप्रपाले पालैपालो सत्ता चलाए । संसदीय राजनीतिमा पनि प्रदूषण बढ्यो । एकातिर राजावादीहरू शुद्धतावादको नारा लिएर मञ्चमा देखा परे, अर्कातिर माओवादीहरू शुद्धतावादकै नारा बोकेर जंगल पसे । ०५९ सालमा भ्रष्टाचार र प्रदूषण हटाउने नाममा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याए । तर, उनी आफैं प्रदूषित भएकाले टिकेनन् । दोस्रो जनआन्दोलनमा कांग्रेस–एमालेका नेताहरू हामी शुद्ध बन्यौं, अब भ्रष्टाचार गर्दैनौं भनेर कसम खाँदै फेरि सत्तामा आए । तर, पहिलो संविधानसभामा जनताले नयाँ कथित शुद्धतावादी शक्ति (माओवादी) लाई ठूलो दलको मान्यता दिए ।

२०७९ सालको संसदीय चुनावसम्म आइपुग्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अर्को शुद्धतावादको झन्डा उठाएको छ । दोस्रो जनआन्दोलनबाट स्थापित संस्वादी र माओवादीहरू सत्तामा पुगेपछि प्रदूषित बन्ने क्रमले निरन्तरता पाएको छ र यसैको जगमा नयाँ शुद्धतावादी दल अगाडि आएको छ । संसदवादी दलको कमजोरीबाट फाइदा उठाएको राप्रपाले पनि फेरि शुद्धतावादको नारा लिएर आफूलाई पुनःस्थापित गर्न खोजिरहेको छ । कुनै आकस्मिक घटना भएन भने आगामी २०८४ सालको चुनावमा नयाँ शुद्धतावादी शक्ति थप विस्तारित हुने र कांग्रेस–एमाले–माओवादीजस्ता पुराना दलहरू अझ खुम्चिने संकेत देखिँदै छ । यसरी अढाई सय वर्षको नेपाली राजनीतिलाई सर्सर्ती हेर्दा प्रदूषण र शुद्धीकरणबीचको अन्तरसंघर्ष प्रस्टै देख्न सकिन्छ । इतिहासका यी दृष्टान्तबाट प्रस्ट हुन्छ— नेपाली राजनीति सत्तामा बारम्बार भइरहने प्रदूषणबाट बच्ने उपायको खोजीबाहेक अर्थोक केही होइन । 

प्रदूषणका ५ नियम

कांग्रेस, एमाले माओवादीजस्ता दल प्रदूषित बनेपछि नेपालमा फेरि राजतन्त्र फर्कन सक्छ ? कि अर्कै कुनै प्रगतिशील विचारको नयाँ शक्ति सत्तामा आउँछ ? कि यिनै दलहरू सच्चिएर सत्तामा टिक्न सक्लान् ? यी प्रश्नमा स्पष्ट हुन नेपाली राजनीतिले बनाइरहेका प्रदूषणका सामान्य नियमहरू थाहा पाउनुपर्छ ।

एक, प्रकृतिको सार्वभौम नियमै हो कि प्रदूषण सर्वव्यापी, सर्वकालिक र सर्वदेशीय हुन्छ । प्रदूषणलाई केही समयसम्म रोक्न वा कम गर्न मात्र सकिन्छ तर निर्मूल पार्न सकिँदैन । घर, कोठा वा शरीरजस्तै समाज र राजनीतिलाई पनि एकचोटि सफा गरेर पुग्दैन । एक पटक क्रान्ति वा निर्वाचनका माध्यमबाट स्थापना गरेको व्यवस्था सधैंभरि स्वच्छ रहिरहँदैन, प्रदूषणका कारण जुनसुकै व्यवस्था बारम्बार भ्रष्ट भइरहन्छ । 

दुई, कुनै पनि राजनीतिक विचारधारा प्रदूषणबाट मुक्त छैन । कम्युनिस्ट वा पुँजीवादी दुवै व्यवस्थामा प्रदूषण हुन्छ । मार्क्सले परिकल्पना गरेको साम्यवादसम्म नपुग्दै समाजवादी राज्य व्यवस्थामा प्रदूषण भएको छ । नौलो जनवाद वा बहुदलीय जनवाद, एकात्मक वा संघात्मक, लोकतान्त्रिक वा निरंकुश, एकदलीय वा बहुदलीय जुनसुकै व्यवस्थामा प्रदूषण हुन्छ । 

तीन, लोकतान्त्रिक र निरंकुश व्यवस्थाभित्र हुने प्रदूषणको परिणाम फरक हुन्छ । लोकतन्त्रमा निर्वाचनको माध्यमबाटै सरकार फेरेर प्रदूषणको चक्र पूरा हुन्छ भने निरंकुश शासनमा प्रदूषणले व्यवस्था नै फेर्छ । निरंकुश व्यवस्थामा असन्तुष्टिहरूलाई बलपूर्वक दबाइने भएकाले प्रदूषणको चक्र ढिलो घुम्छ । लोकतान्त्रिक व्यवस्थामा सरकारको विरोध गर्न र निर्वाचनबाटै फेर्न पाइने भएकाले दलको सत्ता चाँडै फेरिन्छ ।

 चार, प्रदूषणले सुरुमा राजनीतिक मागको आकार लिन्छ । माग सम्बोधन भए केही समय स्थिरता आउँछ । मागप्रति बेवास्ता गरिए त्यसले आन्दोलनको रूप लिन्छ । राज्य व्यवस्था लोकतान्त्रिक छ भने आन्दोलन शान्तिपूर्ण हुन्छ र त्यसले बढीमा सरकार फेरेर आफ्नो कोर्स पूरा गर्छ । राज्य निरंकुश छ भने उसले आन्दोलनलाई दमन गर्छ र आन्दोलनले हिंसात्मक रूप लिन्छ । यस्तो हिंसात्मक संघर्षका परिणाम तीनवटा आउँछन् : पहिलो, संघर्षकर्ता शक्तिले पुरानोलाई विस्थापित गरेर केही समयका लागि प्रदूषणको समस्या हल गर्छ । दोस्रो, पुरानै शक्तिले आन्दोलनकारी शक्तिलाई बलपूर्वक दबाउँछ र फेरि अल्पकालीन शान्ति कायम गर्छ । र तेस्रो, पुरानो र नयाँ दुवै शक्तिबीच सम्झौता हुन सक्छ । त्यस्तो सम्झौताले पनि प्रदूषणलाई केही समय रोक्छ । 

 र, पाँच, सत्तामा देखा पर्ने प्रदूषणले निरपेक्ष रूपमा नयाँ वा शुद्धतावादी शक्तिलाई नै सत्तामा पुर्‍याउँछ भन्ने छैन । यस्तो प्रदूषणले पुरानै सत्ताच्युत शक्ति वा अझै भ्रष्टलाई पनि सत्तामा पुर्‍याइदिन सक्छ । जस्तै, नेपालमा १९०३ सालको कोतपर्व, २०१७ सालको कु र २०५९ सालको राजा ज्ञानेन्द्रको पश्चगामी कदम । तर, पुरानोले यसरी पुनः सत्तारोहण गर्दा उसले विगतका कमजोरी सच्याउँदै शुद्ध शासन चलाउने आश्वासन भने दिएकै हुन्छ । शुद्धताको नाराबिना नयाँ या पुरानो दुवै शक्तिको उदय सम्भव हुँदैन । जस्तै, ०३७ सालको जनमतसंग्रहमा राजाले अघि सारेको ‘सुधारिएको पञ्चायत’ र ०६२/०६३ को दोस्रो आन्दोलनमा कांग्रेस–एमालेले खाएको गल्ती नदोहोर्‍याउने कसम । यस अर्थमा सत्तामा पुरानै शक्तिको पुनरावृत्ति हुन सक्ने तथ्य अस्वाभाविक नभए पनि त्यस्तो पुरानो शक्ति केही नयाँ स्वरूप लिएर आउँछ । नेपालमा आगामी दिनमा पुरानै शक्ति वा दलहरू पनि सत्तामा फर्कन सक्छन्, तर फेरिएर मात्र । 

नयाँ शक्तिमा प्रदूषण

प्रदूषण सर्वव्यापी र सर्वकालिक हुने भएकाले नयाँ जन्मिएका दलहरू यसबाट मुक्त हुनेछन् भन्नु विज्ञानसम्मत हुँदैन । नयाँ दलमा पनि प्रदूषण निश्चित छ र त्यही प्रदूषणले उनीहरूलाई पनि खान्छ । विगत अढाई सय वर्षदेखि नेपालको राजनीति यही नियमका आधारमा फन्को मारिरहेको छ । प्रजापरिषद्देखि विवेकशील साझा पार्टीसम्म आइपुग्दा कतिपय दल सत्तामा पुगेपछि त कतिपय सत्तारोहण नै नगरी प्रदूषित भएर खिएका दृष्टान्त छन् । 

राजनीतिक नेतृत्वको वैयक्तिक चरित्रका रूपमा देखा पर्ने अहम, नातावाद, भ्रष्टाचार र सत्तामोहले सिंगै समाज र देशलाई प्रदूषित बनाउँछ । यो प्रदूषणको अचूक उपचार हो– निरन्तर सफाइ । उसोभए, दल र सत्तामा निरन्तर शुद्धीकरण कसरी गर्न सकिएला ? यसको वैज्ञानिक उपचारविधि पत्ता नलगाएसम्म ‘वैकल्पिक राजनीतिक शक्ति’ को नारा टिकाउ हुँदैन । नेपालको राजनीतिक प्रणाली ‘प्रदूषणको सिद्धान्त’ बाट निर्देशित छ भन्ने यथार्थलाई आत्मसात् गर्नु नै राजनीतिक शुद्धीकरणको पहिलो दार्शनिक प्रस्थानविन्दु हुन सक्छ । राजनीतिशास्त्रको इतिहास नै समाजलाई प्रदूषणमुक्त कसरी बनाउने भन्ने उपायहरूको खोजी हो । 

अरुण

Link copied successfully