दसैं धुन : मालश्री होइन मालसी

हामीले बजाउने मालश्री (मालसिरी) धुन र शास्त्रीय राग मालश्री एउटै हुन् त ? दुवैमा प्रयोग हुने स्वर संरचना एउटै हो ? यी प्रश्न विचारणीय छन् । 
जुगल डङ्‌गोल

नेपाली संगीतमा नेवारी संगीतको स्थान उच्च छ । संरचना, शैली, शास्त्रीयता र व्याकरणका हिसाबले नेवारी संगीत निकै सम्पन्न छ । नेवारी संगीतमा रचना भएका गीत तथा धुनहरू पूर्ण प्राचीन शास्त्रीय संगीतमा आधारित छन् ।

दसैं धुन : मालश्री होइन मालसी

दाफा संगीतलाई नै हेर्ने हो भने पनि सबैजसो रचना रागमा आधारित छन् । नेवारी संगीतमा प्रचलित रागहरूमा काफी, भैरवी, भटियार, मालव, मालु, कोला, संक्राम्भ, विभास, रामकली, मेघमल्हार आदि छन् । यीमध्ये केही राग त शास्त्रीय संगीतमा प्रायः अप्रचलित नै भइसकेका छन् । शास्त्रीय संगीतमा विभिन्न कालखण्डमा परिवर्तन आउँदै गरे पनि नेवारी संगीतमा त्यसको प्रभाव परेको देखिँदैन । तसर्थ नेवारी शास्त्रीय संगीत अहिलेसम्म प्राचीन स्वरूपमै, मूल रूपमै छ ।

त्यस्तै, ताल संरचनाका हिसाबले पनि नेवारी संगीतको आयाम विशाल छ । यसमा प्रयोग हुने तालहरूको संरचना, बोल र लयकारी अति कलात्मक, गम्भीर र परिष्कृत छ । एउटै रागमा १६ वटासम्म फरक तालहरूको प्रयोग भएको पाइन्छ, जुन दुर्लभप्रायः अभ्यास हो । ताल संगीतका विद्वान्हरूलाई पनि एक छिन अलमल पार्ने खालका ताल संरचनाहरू अहिले पनि दाफा संगीतमा निरन्तर बजाइँदै आएका छन् । तबलामा उठान, ठेका, टुकडा, तिहाई, परन, रेला भनिएजस्तै नेवारी वाद्य खिं र पछिमामा छातँ, न्ह्याँ, मात्वा, गौ आदि भन्ने गरिन्छ ।

नेवारी संगीतमा दाफा संगीतमा गाउने बजाउने गरिएका रागबाहेक पनि ऋतु संगीत, लोकसंगीत, पर्व संगीत प्रचलनमा छन् । प्रबन्ध गायन, नृत्य नाटिका, गीतिकथा आदि पनि चलनमै छन् । विभिन्न देवीनाच, लाखेनाच, परम्परागत झाँकीहरूमा प्रचलित संगीतको त ठूलो भण्डार नै हो नेवारी संगीत ।

यहाँ भने ऋतु संगीतकै हिसाबले नेपाली समाजमा अति प्रचलित दसैं धुन — जसलाई मालश्री (मालसिरी) भन्दै आइएको छ — को वास्तविकता पर्गेल्ने कोसिस गरिएको छ । ऋतु संगीतअन्तर्गत शरद ऋतुमा बजाइने–गाइने गीत तथा धुन नेपालीमाझ परिचित र लोकप्रिय रहिआएको छ । दसैंको पर्यायवाचीझैं मानिने यो धुनले यो अवधिलाई उत्सवमय बनाउँछ । यतिसम्म कि, अरू समयमा यो धुन बजाउँदा दसैं आयो कि क्या हो भन्नेसम्म हुने गर्छ । तर हामीले बजाउने ‘मालश्री’ धुन र शास्त्रीय राग मालश्री एउटै हुन् त ? दुवैमा प्रयोग हुने स्वर संरचना एउटै हो ? यी प्रश्न विचारणीय छन् ।

एक दिन म नेवारी शास्त्रीय संगीतका आफ्ना गुरुकहाँ गएको थिएँ । गुरुले सन्दर्भवश भन्नुभयो, ‘दसैंमा खासमा राग मालसी गाइन्छ, मालश्री होइन ।’ मालश्रीबाट अपभ्रंश भई नेवारीमा मालसी भएको होला भन्ठानी मैले जान्ने टोपलिएर भनें, ‘हैन गुरु, दसैं धुन त राग मालश्री नै हो ।’ गुरुले मलाई फेरि सच्याउनुभयो । गुरुकहाँबाट फर्केपछि पनि यो विषयमा मेरो मथिंगल घुमिरह्यो । त्यसपछि मैले फेरि शास्त्रहरू पल्टाएँ ।

राग मालश्री

राग मालश्रीलाई शास्त्रीय संगीतमा अपवादका रूपमा लिइन्छ । किनकि, राग निर्माणका लागि कम्तीमा पाँच स्वर हुनुपर्नेमा यसमा तीन स्वर मात्र हुन्छन्— षडज, गान्धार र पञ्चम अथवा सा ग प । तीनवटा मात्र स्वरको प्रयोग गरी रागमा पूर्ण रञ्जकता ल्याउन धेरै नै कठिन हुन्छ । सबै स्वर शुद्ध प्रयोग भएकाले यसलाई बिलावल थाटको मान्न सकिन्छ । तर, तीन स्वरको मात्र प्रयोग गरी गाउने–बजाउने क्रममा स्वर प्रस्तार, तान, मुर्की, खट्का आदि गर्दा निकै कठिनाइ पर्ने भएकाले कालान्तरमा यसमा विवादी (रागमा वर्जित भए पनि त्यसको सौन्दर्य बढाउन कुशल गायकहरूले रागको अस्तित्व नगुम्ने गरी प्रयोग गर्ने) स्वरहरू पनि मिसाउन थालियो । फलस्वरूप अचेल राग मालश्रीमा तीनवटा मात्र स्वर प्रयोग गर्ने संगीतज्ञहरू कमै भेटिन्छन् । प्रायः शास्त्रीय संगीतज्ञहरूले आआफ्नै हिसाबले विवादी स्वरहरूको प्रयोगसहित फरकफरक थाटको छाया देखिने गरी प्रस्तुत गर्दै आए पनि हाल प्रचलनमा रहेको राग मालश्री कल्याण थाटमा पर्छ । यसमा ऋषभ र धैवत वर्जित छन् । जाति औडव–औडव (आरोह र अवरोहमा ५–५ स्वर लाग्ने) । वादी (अत्यधिक प्रयोग हुने स्वर) पञ्चम, संवादी (कम प्रयोग हुने स्वर) षडज । जस्तो—

सा, गप, मग, पनिसां

निप, मग, पगसा (मिड)

यसमा मध्यम र निषाद कम प्रयोग गरिन्छ । ग–प र सां–प स्वर धेरै देखाइन्छ । विहाग र शंकरा यसका समप्रकृति राग हुन् । तर विहागमा मध्यमको प्रयोग धेरै हुन्छ भने, शंकरामा अवरोहमा धैवत लाग्छ । कसैकसैले अवरोहमा ऋषभ पनि प्रयोग गर्ने गर्छन् ।

राग मालसी

वास्तवमा ‘मालश्री’ भनिँदै आएको दसैं धुन राग मालश्रीमा नभई राग मालसीमा निबद्ध छ । मालसी काफी थाटमा आधारित राग हो । यो प्राचीन राग अन्यत्र लोप हुँदै गए पनि नेवारी दाफा संगीतमा हालसम्म प्रचलित छ । मालश्री र मालसीका थाट, जाति, वादी, संवादी इत्यादि राग स्वरूप प्रस्ट पार्ने अवयवहरू बिलकुल भिन्न छन् । नेपालमा प्रचलित मालसी रागमा थाटअनुसार कोमल गान्धार र कोमल निषाद मात्र हुनुपर्थ्यो तर यसमा विवादी स्वरका रूपमा शुद्ध गान्धार, कोमल धैवत र शुद्ध निषादको प्रयोग पनि अति नै सुन्दर ढंगले गरिएको छ । त्यस्तै, शुद्ध निषाद आरोहमा मात्र प्रयोग गरिएको छ भने कोमल निषाद अवरोहमा मात्र । दुईवटा पञ्चमका बीचमा कोमल धैवतको प्रयोग भएको छ र आरोहमा शुद्ध गान्धार र अवरोहमा कोमल गान्धारको प्रयोग निकै कर्णप्रिय किसिमले गरिएको छ । दुईवटा षडजका बीचमा शुद्ध निषाद, दुईवटा मध्यमका बीचमा शुद्ध गान्धार र दुईवटा पञ्चमका बीचमा कोमल धैवतको प्रयोग अति नै मनमोहक छÙ जस्तै ः सांनिसांनिधप, मपधप, पमगमगरेसा । राग मालसीका आरोह–अवरोह यी हुन्, जुन ‘मालश्री’ भनिँदै आएको दसैं धुनमा बजाउने गरिन्छ—

आरोह— सा रे म प नि सां

अवरोह— सां नि ध प मप ग रे सा

राग स्वरूप— प सां नि ध प, म प ध प, ग रे सा

उत्तरांग वादी राग भएकैले मालसी मध्यरातमा गाउने गरिन्छ । तर, यो वर्षकालीन राग हो, त्यसैले बाह्रै महिना गाउन सकिन्छ । शरद ऋतुमा धेरै गाइने र बजाइने भएकाले यो ऋतुकालीन संगीतजस्तो भए पनि विशुद्ध शास्त्रीय धुन हो । स्वर परिचालन र स्वर विस्तारलाई हेर्दा यसको जाति औडव–सम्पूर्ण (आरोहमा ५ र अवरोहमा ७ स्वर लाग्ने) हुन्छ । वादी स्वर पञ्चम, संवादी षडज ।

ग नि कोमल भएको कुनै पनि रागले वीर, भयानक र रौद्र रस परिपोषण गर्ने हुन्छ । यिनै स्वर रहेको राग मालसीमा यसैकारण पनि देवी दुर्गाको आराधनाका शब्दहरू गाउने गरिएको हुन सक्छ ।

मालसी अति कुशल तरिकाले विवादी स्वरहरूलाई रागको रञ्जकता भंग नहुने गरी प्रयोग गरिएको पाइन्छ । मालसीमा प्रयोग हुने विवादी स्वरहरूको स्वरूप नै यसको विशेषता हो । यस अर्थमा मालसी राग अथवा हाल प्रचलित धुन उच्चस्तरका संगीतज्ञद्वारा रचना गरिएको मान्न सकिन्छ । हाल रागको वर्गीकरण थाटमा आधारित भए पनि प्राचीन कालमा राग–रागिनीका आधारमा राग वर्गीकरण गर्ने गरिन्थ्यो, जसअनुसार मालसी श्री रागअन्तर्गत पर्ने महत्त्वपूर्ण राग हो ।

राग मालसी ७ मात्राको जती तालमा खिं वा पछिमासँग गाउने गरिन्छ । तीव्रा भनिने यो गम्भीर प्रकृतिको शास्त्रीय तालले मात्रा र विभागको हिसाबले तबलाको रूपक तालसँग मेल खान्छ ।

मालसी धुन विशुद्ध रागमा आधारित रचना भए पनि नेपालमा यसको गायन–वादनको समयअनुसार यो ऋतु संगीतजस्तो लाग्छ । दसैंको परिचयात्मक संगीत जस्तै भएको यो रागलाई लोकसंगीत नभई विशिष्ट र परिष्कृत शास्त्रीय संगीत रचना मान्न सकिन्छ । समय र परिवेशले यसको आयाम खुम्चिए पनि यसको विशेषतालाई आधार मानेर अरू सिर्जना गर्न सकेमा यसको छुट्टै मौलिक पहिचान स्थापित गर्न सकिन्छ । अहिले आम प्रचलनमा रहेको दसैं धुन राग मालश्री नभई नेवारी दाफा संगीतमा सयौं वर्षदेखि बजाइँदै आएको राग मालसी नै हो, जसलाई बन्दिसका रूपमा वा राग स्वरूप मानी एउटा पूर्ण शास्त्रीय रागका रूपमा प्रस्तुत गर्न सकिन्छ ।

डङ्गोल संगीतकार हुन् ।

प्रकाशित : आश्विन २५, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?