कूटनीतिक क्षेत्र सिकारुको होइन कि सिकिसकेका, जानेका र बुझेका व्यक्तिहरूको कार्यर्क्षेत्र हो ।
राजदूत सिंगो देश (राज्य) को दूत हो । यो अर्को देशका लागि नियुक्त राज्यको उच्च कूटनीतिक प्रतिनिधि हो । स्वदेश र आफूले काम गर्ने देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हित प्रवर्द्धन गर्ने जिम्मेवारी राजदूतमा हुन्छ ।
त्यसै कारण राष्ट्रको जीवनमा कूटनीतिको महत्त्वलाई राम्रोसँग बुझेका मुलुकहरूले बाह्य जगत्मा आफ्नो परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिलाई अब्बल ढंगबाट सञ्चालन गर्नका लागि योग्य, क्षमतावान्, अनुभवी एवं उपलब्धि हासिल गर्न सक्ने व्यक्तिलाई राजदूत नियुक्त गर्ने विश्व–अभ्यास छ ।
नेपालका सन्दर्भमा विगतमा विभिन्न देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना हुने क्रमसँगै दूतावास स्थापना र धेरै राजदूतहरूको नियुक्ति भइसकेको छ । त्यस्ता नियुक्तिमा पहिले राष्ट्रका विभिन्न क्षेत्रमा विशिष्ट पहिचान बनाएका र योग्यता एवम् क्षमता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइन्थ्यो । त्यस समय राजदूत नियुक्तिको कुनै निर्देशिका वा मापदण्ड थिएन, मन्त्रिपरिषद्को निर्णय वा सिफारिसमै नियुक्त गरिन्थ्यो । तथापि राजदूत नियुक्तिमा अहिलेजस्तो विवाद हुँदैनथ्यो ।
पछिल्लो समयका केही निर्णय भने विवादरहित हुन सकेका छैनन् । ओली नेतृत्वको सरकारले बृहत् राष्ट्रिय सोच, निष्पक्षता एवं कूटनीतिक परिपक्वताका साथ राजदूत सिफारिस गर्न सकेन । पछिल्लो पटक २०७८ वैशाखमा राजदूत नियुक्तिका लागि राष्ट्रका विविध क्षेत्रबाट एघार व्यक्तिको सिफारिस गर्दा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ मा उल्लेख भएको कूटनीतिक क्षमता, योग्यता र अनुभवजस्ता पक्षहरूलाई ध्यान नदिई ‘आफ्नो दल वा नाता–सम्बन्ध एवं निकटस्थको आधारलाई मात्र पर्याप्त ठानिएको’ भनीे टीकाटिप्पणी भए । देशको कूटनीतिक क्षेत्रमा हेलचेक्र्याइँ गर्ने काम भयो ।
राजदूत छनोट गरिएका पात्रको कूटनीतिमा समेत ‘सिक्दै कार्य गर्ने’ भन्ने खालको हलुका अभिव्यक्तिले कूटनीतिक संवेदनशीलताको अभावलाई पुष्टि गर्यो । वास्तवमा कूटनीतिक क्षेत्र सिकारुको होइन कि सिकिसकेका, जाने–बुझेका व्यक्तिहरूको कार्यर्क्षेत्र हो । त्यसैकारण कूटनीतिमा यस क्षेत्रको ज्ञान, तालिम र अनुभवलाई धेरै महत्त्व दिइन्छ । अपेक्षित गुण, अनुभव, क्षमता र कौशल नभएको राजदूतले न विदेशको सरकार एवम् जनताबाट आवश्यक सहयोग, सद्भाव र समर्थन प्राप्त गर्न सक्छ, न त स्वदेशकै इज्जत तथा प्रतिष्ठा बढाउन सक्छ । यसबाट राजदूत नियुक्तिको उद्देश्यपूर्ति हुन सक्दैन ।
राजदूतको कार्यक्षेत्र भनेकै ‘अर्को देश’ हो । तसर्थ, उक्त पदमा कसैलाई नियुक्त गर्दा धेरै विरोध र आलोचना निम्तिने मौका दिनु हुँदैन । यस्तो विरोध र असहमतिको जानकारी सम्बन्धित देशलाई भयो भने आपसी सम्बन्धमै नकारात्मक असर पर्न सक्छ । विगतमा कतिपय राजदूतका क्रियाकलापलाई लिएर सम्बन्धित देशका सरकारले व्यक्त गरेका असन्तुष्टिबाट पाठ सिक्नु जरुरी छ ।
पछिल्लो समय परराष्ट्र सेवाबाटै राजदूत नियुक्तिमा सिफारिस गर्दा कुनै वस्तुनिष्ठ एवम् कार्यसम्पादनको स्पष्ट आधार लिइएको पाइँदैन । एक पटक राजदूत भैसकेका वा पदासीन रहेकै कुनै सहसचिवलाई ‘आफ्नो मान्छे’ भएकै आधारमा दोहोर्याउने र अरूलाई भने वरिष्ठ भए पनि पुनः नियुक्ति नदिने दोहोरो मापदण्ड परराष्ट्रमा देखा परेको छ । परराष्ट्र सेवाको इतिहासमा विगतमा कहिल्यै नभएको, असमान एवम् विभेदयुक्त कार्यशैली हो यो ।
सर्वोच्च अदालतको आदेशअनुसार जारी गरिएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका पनि अपूर्ण र अस्पष्ट छ । यसले राष्ट्रिय जीवनका विविध क्षेत्रबाट व्यक्तिको छनोट गर्ने आधारहरू विस्तृत रूपमा पहिचान गरेको छैन । परराष्ट्र सेवाबाट राजदूत नियुक्ति गर्दा ‘परराष्ट्र मन्त्रालयको सिफारिसलाई ध्यानमा राखी मन्त्रिपरिषद्ले गर्नेछ’ भन्ने मात्र उल्लेख गरिएको छ तर ‘मन्त्रालयको सिफारिस’ का आधारहरू के–के हुन्छन् भन्ने कतै स्पष्ट गरिएको छैन ।
परराष्ट्र सेवाबाट एउटै कर्मचारीलाई कति पटकसम्म राजदूत नियुक्त गर्न सकिन्छ भन्नेबारे पनि निर्देशिकामा स्पष्ट व्यवस्था गरिएको छैन, न त त्यस सम्बन्धमा मन्त्रिपरिषद्ले कुनै निर्णय नै गरेको छ । यस्तो अस्पष्ट व्यवस्थाले गर्दा कुनै कर्मचारीलाई पटक–पटक नियुक्तिको अवसर दिने त कसैलाई भने त्यसबाट वञ्चित् गर्ने विभेदकारी प्रवृत्ति मौलाएको छ ।
राजदूतको मुख्य कार्य देशविशेष वा अन्तर्राष्ट्रिय संगठनसँग सुमधुर र सुदृढ सम्बन्ध विकास गर्दै राष्ट्रिय हितको प्रवर्द्धन गर्नु नै हो । राष्ट्रिय हितभित्र राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रको हित समाहित हुन्छ । राजदूतले स्वदेशको हितका लागि आवश्यकतानुसार सम्बन्धित देशको सरकार, राजनीतिक नेतृत्व, सञ्चारजगत्, नागरिक सबैसँग उत्तम सम्बन्ध कायम गरी कुशलतापूर्वक वार्ता गर्नुपर्ने हुन्छ । साथै विदेशमा रहेका नेपाली नागरिकहरूको हित र रक्षा गर्नु राजदूतको अर्को महत्त्वपूर्ण कार्य हो । राजदूतले विदेशमा समग्र देशको प्रतिनिधित्व गर्ने भएकाले उसले दल वा क्षेत्र वा सम्प्रदायविशेषको नभएर सम्पूर्ण राष्ट्रको हितका लागि काम गर्नुपर्ने हुन्छ ।
राजदूतमा निश्चित गुणहरू हुनुपर्ने विश्वव्यापी मान्यता छ । बेलायती कूटनीतिज्ञ सर अर्नेस्ट स्याटोका अनुसार, असल कूटनीतिज्ञमा सत्यनिष्ठा, ज्ञान, बुद्धि, विवेक, इमानदारी, लगनशीलता, चनाखोपन, विनयशीलता, साहस, धैर्य, वार्ता–कौशलजस्ता गुणहरू अत्यावश्यक हुन्छन् । पूर्वअमेरिकी राजदूत क्यारेल सी लेजले कूटनीतिज्ञमा अनुभव, सदाचार, सहनशीलता, निर्णय क्षमता र प्रभावकारी रूपमा वार्ता गर्न सक्ने क्षमता हुनुपर्छ भनेकी छन् । अमेरिकी सिनेटर एडमन्ड मस्कीले ‘कूटनीतिज्ञ आफ्ना लागि नभएर राष्ट्रका लागि मत मागिरहेको राजनीतिज्ञजस्तो व्यक्ति हो’ भनेका छन् । सबैजसो देशले राजदूत नियुक्तिमा यस्ता विविध गुण एवं क्षमतालाई महत्त्व दिने गरेका छन् । यसको भाव हो— राजदूतमा द्विदेशीय हित हुने गरी काम गर्न सक्ने क्षमता र कला हुनुपर्छ ।
सम्बद्ध देशले नेपालको राजदूतको पृष्ठभूमि, हैसियत र राष्ट्रिय पहिचानबमोजिम ऊसँग व्यवहार गर्ने र उसले द्विदेशीय हित गर्न सक्ने वा नसक्नेबारे चासो राख्ने हुँदा नियुक्तिमा यथेष्ट विवेक पुर्याउनुपर्छ । राजदूतमा विषयवस्तुको गहिरो ज्ञान, अंग्रेजी वा सम्बन्धित देशमा बोलिने भाषाको दखल पनि हुनुपर्छ । त्यसैले राष्ट्रले गरेको लगानीअनुरूपको प्रतिफल दिन सक्ने क्षमता भएको व्यक्तिलाई राजदूत नियुक्त गर्नु बुद्धिमानी हुन्छ । साथै राजदूतका कामकारबाहीको नियमित रूपमा निष्पक्ष एवम् वस्तुनिष्ठ मूल्यांकन गरी प्राप्त प्रतिफल वा उपलब्धिका आधारमा उक्त पदमा रहने वा नरहने प्रणाली स्थापना गर्नु जरुरी छ । राजदूतको कामको प्रक्रिया र प्रचारलाई होइन, उसले पाएको वास्तविक उपलब्धि पहिल्याउने र त्यसैलाई महत्त्व दिने संस्कारको विकास गर्नु आवश्यक छ ।
कूटनीति देशको दीर्घकालीन हितका लागि हुनुपर्छ, अल्पकालीन र वैयक्तिक स्वार्थसिद्धिका लागि होइन । अहिलेको कूटनीतिक क्रियाकलापले देशको बाह्य सम्बन्धलाई भविष्यमा पनि प्रभावित पार्न सक्छ । अतः देश र जनताको सर्वोत्तम हित, नियुक्त भएर जाने देशसँगको नेपालको सम्बन्ध सुदृढीकरण, विदेशमा रहेका नेपाली नागरिकको हकहितको संरक्षण एवं प्रवर्द्धन, राष्ट्रको छवि एवं प्रतिष्ठाको अभिवृद्धि हुन सकोस् भनेर राष्ट्रिय जीवनका विविध क्षेत्रका लब्धप्रतिष्ठ व्यक्तिलाई राजदूत बनाउनु वाञ्छनीय हुन्छ । बेलायती राजनीतिज्ञ एवम् कूटनीतिज्ञ हेनरी वोटनले भनेकै पनि छन्— राजदूत झुट नै बोलेर भए पनि स्वदेशको हितका लागि काम गर्न विदेशमा पठाइएको एउटा इमानदार प्रतिनिधि पात्र हो ।
हमाल कुवेतका लागि फूर्वराजदूत हुन् ।
