पूर्वतयारी नै उत्तम विकल्प- विचार - कान्तिपुर समाचार

पूर्वतयारी नै उत्तम विकल्प

शिव सुवेदी

गोरखा भूकम्प आधुनिक समयमा नेपालमा गएको पहिलो ठूलो भूकम्प हो । हुन त सन् १५०५ मा मुस्ताङ आसपास म्याग्नेच्युड ८ भन्दा ठूलो भूकम्प गएको थियो, जसका असरबारे विभिन्न जानकारी पुराना दस्तावेजहरूमा पाइन्छन् । 

गोरखा भूकम्पअघि सन् १९३४ (१९९० साल) मा पूर्वी नेपालमा गएको म्याग्नेच्युड ८.२ को भूकम्पले १० हजारभन्दा बढीको ज्यान लिएको थियो । यी दुई भूकम्पको समयमा आधुनिक सेस्मोमिटर (भूकम्प नाप्ने यन्त्र) को विकास भएको थिएन । सन् १९६० को दशकपछि मात्र विश्वमा आधुनिक सेस्मोमिटरको विकास भएकाले मुस्ताङ र पूर्वी नेपालका भूकम्पको गुणस्तरीय नाप हुन सकेको थिएन; यी भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी जमिनको सतहको भौगर्भिक अध्ययन तथा ऐतिहासिक उल्लेखहरूबाट आएका हुन् ।

सेस्मोमिटरमा रेकर्ड नभएका भूकम्पहरूको अध्ययन धेरै कठिन हुने भएकाले भूकम्पविद्हरू सन् १५०५ र १९३४ का भूकम्पबाट सीमित जानकारी मात्र पाउन सफल भए । तर, सन् २०१५ (२०७२ साल) को गोरखा भूकम्प नेपालका दर्जनभन्दा बढी र विदेशका सयौं सेस्मोमिटरले नापेका हुनाले तथा भूकम्पलगत्तै नेपालमै सयौंको संख्यामा सेस्मोमिटर जडान गरी परकम्पहरू रेकर्ड गरिएको हुनाले यसबारे पर्याप्त अध्ययन गर्न सम्भव भयो । फलस्वरूप उक्त भूकम्पबाट मध्य–नेपालको जमिनमुनिको भू–बनोट, भूकम्पको दरार तथा हिमालयमा जाने भूकम्पका विशेषताहरूबारे केही नयाँ विषय पत्ता लागेका छन् ।

प्रमुख हिमालयन थ्रस्टमा भिन्नता

नेपालमा भूकम्प विज्ञान नयाँ विषय हो, अपवादबाहेक जसको पढाइ नेपाली विद्यालय, क्याम्पस तथा विश्वविद्यालयहरूमा हुँदैन । भूकम्पीय जोखिममा रहेको नेपाललाई विश्वका धेरै भूकम्पविद्हरूले अध्ययनको क्षेत्र बनाउँदै आएका छन् । विभिन्न देशका वैज्ञानिकहरूले नेपालबारे अध्ययन गरेर केही महत्त्वपूर्ण जानकारीहरू जम्मा गरेका छन् । अध्ययनले देखाए अनुसार, नेपालमा भूकम्प जाने प्रमुख कारण इन्डियन प्लेट तिब्बतियन प्लेटमुनि घुस्नु हो । यी दुई प्लेटबीचको सीमालाई प्रमुख हिमालयन थ्रस्ट फल्ट भनिन्छ । नेपालमा जाने प्रायः भूकम्पको कारक यही फल्ट हो । वैज्ञानिकहरूले विभिन्न विधि प्रयोग गरेर उक्त फल्टको अवस्था र स्थितिबारे अध्ययन गरिरहेका छन् ।

गोरखा भूकम्पभन्दा पहिलेका अध्ययन अनुसार, प्रमुख हिमालयन थ्रस्ट फल्ट पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म उस्तै भएको मानिएको थियो, तर सन् २०१५ यता गरिएका अध्ययनहरूले उक्त धारणा सही नभएको र पूर्वी नेपाल, मध्य नेपाल र पश्चिम नेपालमुनि रहेको प्रमुख हिमालयन थ्रस्टमा भिन्नता रहेको देखाए । सोही भिन्नताका कारण गोरखा भूकम्पको दरार पूर्वतिर गएको र बारपाकबाट १५० किलोमिटरपूर्व पुगेपछि भूकम्पको रप्चर रोकिएको हो भन्नेमा धेरैजसो वैज्ञानिक सहमत भएको पाइएको छ ।

भूकम्प र परकम्प

गोरखा भूकम्पबाट वैज्ञानिकहरूले सिकेको अर्को महत्त्वपूर्ण पाठ भूकम्प र यसका परकम्पबारे हो । २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाएर र वैशाख २९ गते कोदारी केन्द्रविन्दु बनाएर गएको भूकम्पबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पनि पर्याप्त बहस भयो । बहस हुनुको कारण थियो— सामान्यतया कुनै पनि मुख्य भूकम्प गइसकेपछि त्यसको परकम्पको म्याग्नेच्युड बढीमा मुख्य भूकम्पको भन्दा एक स्केल कम हुनुपर्छ भन्ने स्थापित मान्यता । तर, गोरखा भूकम्पको हकमा यो नियम लागू भएन ।

सामान्यतया मुख्य भूकम्पको रप्चर क्षेत्रमा गएका पछिका साना भूकम्पहरूलाई परकम्प भनिन्छ । गोरखा भूकम्पको रप्चर र कोदारी भूकम्पको रप्चर फरकफरक क्षेत्रमा भएकाले वैज्ञानिकहरू वैशाख २९ गतेको म्याग्नेच्युड ७.३ को भूकम्प गोरखा भूकम्पको परकम्प नभएको निष्कर्षमा पुगेका हुन् । तर कोदारी भूकम्प जानुमा गोरखा भूकम्पले भूमिका खेलेको देखिन्छ । यसको सन्देश हो— हिमालयमा कुनै ठूलो भूकम्प गयो भने त्यसले अर्को ठूलो भूकम्प पैदा गर्न सक्छ ।

भूकम्पको दरार जमिनको सतहमा आएन

१९९० सालको पूर्वी नेपालको म्याग्नेच्युड ८.२ को भूकम्पको दरार जमिनको सतहसम्म आएको विभिन्न अध्ययनले देखाएका छन् । धेरैजसो ठूला भूकम्पले जमिनको सतहसम्मै दरार ल्याउँछन् तर गोरखा भूकम्पको हकमा दरार जमिनको सतहसम्म आइपुगेन, जसका कारण जमिनमुनि जम्मा भएको शक्ति पर्याप्त मात्रामा निस्कन पाएन । गोरखा भूकम्पको दरार जमिनको सतहमा आइपुगेको भए अरू केही वर्ष उक्त क्षेत्रमा ठूलो भूकम्पको जोखिम कम हुन्थ्यो, तर अध्ययनहरूले काठमाडौंमुनिका फल्टहरूमा गोरखा भूकम्पपछि पनि शक्ति (स्ट्रेस) कायमै रहेकाले त्यसले अर्को ठूलो भूकम्प उत्पादन गर्न सक्छ भन्ने देखाएका छन् ।

ऐतिहासिक भूकम्पको अध्ययनमा प्रश्न

गोरखा भूकम्पमा गरिएका अध्ययनहरूबाट आएका परिणामहरूले नेपालमा ऐतिहासिक भूकम्पको अध्ययनका सम्बन्धमा केही नयाँ कुरा सुझाएका छन् । ठूला भूकम्पहरूको दरार जमिनको सतहसम्मै आउँछ भन्ने आधारमा नेपालमा गएका ऐतिहासिक भूकम्पहरूको अध्ययन गर्ने गरिएको थियो । तर, गोरखा भूकम्पको दरार जमिनको सतहसम्म नआउनुले के देखाउँछ भने ऐतिहासिक कालखण्डमा जमिनको सतह नफुटाई धेरै ठूला भूकम्प गएका हुन सक्छन्, जसको अध्ययनका लागि जमिनको सतहका आधारमा गरिने अध्ययन मात्र पर्याप्त हुँदैनन् ।

हिमालको उचाइ घट्यो

स्याटलाइटले रेकर्ड गरे अनुसार गोरखा भूकम्पले काठमाडौंलाई करिब १ मिटरमाथि लगेको र उच्च हिमाली क्षेत्रलाई करिब १ मिटर तल सारेको देखिएको छ । भूकम्पका कारण उच्च हिमालहरूको उचाइ घटेको देखिए पनि भूकम्पपछिको अवस्थामा इन्डियन प्लेटको गतिका कारण हिमालहरूको उचाइ नियमित रूपमा बढ्दै जानेछ ।

उपर्युक्त केही तथ्य गोरखा भूकम्पपछि गरिएका अध्ययनका आधारमा लेखिएका हुन्, तर गोरखा भूकम्पकै बारेमा अझै पनि धेरै अध्ययन भैरहेका छन् । हरेक भूकम्प फरक प्रकारको हुन्छ र कुनै एउटालाई आधार मानेर अब आउने भूकम्पहरू पनि उस्तै खाले हुन्छन् भनेर सामान्यीकरण गर्नु उपयुक्त मानिँदैन । तर हरेक नयाँ भूकम्पले केही नयाँ कुरा सिकाएको भने पक्कै हुन्छ । भूकम्प शनिबार बिहान मानिसहरू प्रायः घरबाहिर हुने बेला जानु, धेरै क्षति गर्ने तरंग काठमाडौंमुनिबाट नभई काठमाडौंभन्दा उत्तरबाट जानाले उपत्यकामा क्षति कम हुनुजस्ता कारणले गोरखा भूकम्पलाई भाग्यशाली पनि भन्न सकिन्छ । तर सबै भूकम्प यसरी नै जाँदैनन् । पूर्वतयारी नै भूकम्पबाट बच्ने एकमात्र उत्तम विकल्प हो ।

(स्विट्जरल्यान्डको लुजान विश्वविद्यालयमा अनुसन्धानरत सुवेदीले भूकम्प विज्ञानमा विद्यावारिधि गरेका छन् ।)

प्रकाशित : वैशाख १२, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

घरको खाजा देखाउन केको लाज !

बच्चाहरूको हड्डी मजबुत पार्न दही, चिज, पनिर, लस्सी जस्ता दुग्ध परिकार दिन सकिन्छ । हड्डी मजबुत पार्ने क्याल्सियम गेडागुडीमा पनि पाइन्छ ।
अरुणा उप्रेती

केही महिनाअघि नेपाल सरकारले दिवा खाजामा पत्रु खाना नदिने नियम ल्यायो । तर, यस वर्ष कोरोना महामारीले विद्यालय सुचारु छैनन् । महामारीपछि विद्यालयहरूले साँच्चै सरकारी निर्देशनको पालना गर्लान् ?

दुई वर्षअघि काठमाडौं र सिन्धुपाल्चोकका झन्डै ५० सरकारी विद्यालयका विद्यार्थीहरूसँग कुरा गर्दा थाहा भयो— ८, ९ र १० का छात्रा ‘घरको खाजा देखाउन लाज लागेर’ पैसा नै लैजाँदा रहेछन् । सरकारी विद्यालयका प्रायः अभिभावकले छोराछोरीले जे खाए पनि वास्ता गर्दैनन् । गरिबी र अज्ञानताले गर्दा यस्तो हुन्छ । निजी विद्यालयका अभिभावकले भने छोरोछोरीले के खान्छन्, कसरी स्वस्थ खाना दिने भन्ने तुलनात्मक रूपमा सोचेको पाइन्छ । सामाजिक समस्याले पनि विद्यालयको खाजा अर्थशास्त्रमा प्रभाव परेको देखिन्छ ।

कोभिडका बेला ‘स्वास्थ्यकर खाना खाए रोगसँग लड्ने शक्ति बन्छ’ भन्ने सबैले थाहा पाउँदै छन् । सरकारी विद्यालयका अभिभावकहरू पनि यसबारे सजग हुँदै होलान् कि ! स्वस्थ खाना, शारीरिक स्वास्थ्य, पढाइ, जीवन शैलीका बारेमा बच्चाहरूकै भाषामा बुझाउन प्रत्येक आमाबुबाले प्रयास गर्नुपर्छ । बच्चाहरूलाई पत्रु खानाको सट्टा स्थानीय फलफूल र हरियो तरकारीहरू खुवाउनु राम्रो हुन्छ र सस्तो पनि पर्छ । खाजामा राजमा, चना, भटमास आदि परिकारका साथै अन्नले बनेको हलुवा, रोटी बनाउन सकिन्छ । कतिपय बच्चाले दाल मन पराउँदैनन् तर बारा खान्छन् । रोटी, हलुवा वा सुप बनाए बच्चा र वयस्क दुवैलाई काम लाग्छ । बच्चाहरूको हड्डी मजबुत पार्न दही, चिज, पनिर, लस्सी जस्ता दुग्ध परिकार दिन सकिन्छ । हड्डी मजबुत पार्ने क्याल्सियम गेडागुडीमा पनि पाइन्छ ।

घरेलु खाना बनाउँदा बालबालिकालाई पनि भान्छामा काम गर्न लगाए, पौष्टिक खानाको महत्त्व सिक्छन्, आफैंले खाना पकाएको अनुभूति भएपछि उनीहरूमा खानाको रुचि पनि बढ्न सक्छ । यो रुचिले जीवनभरका लागि स्वस्थ बनाउँछ । बालबालिकालाई हरेक दिन एकै प्रकारको खानाको स्वाद मन पर्दैन, त्यसैले विभिन्न प्रकारका खानेकुरा बनाउन सके बच्चाहरू खुसी भएर खान्छन् । यति गर्न त्यति गाह्रो पनि छैन । जस्तो, आँटाको पीठोबाट कहिले रोटी, कहिले हलुवा बनाउन सकिन्छ । पीठो र हरियो तरकारी मसिनो गरी काटेर अमलेट बनाउन सकिन्छ । आँटाबाट विभिन्न थरीका सुप बनाउन सकिन्छ । बच्चाहरूको शरीरलाई प्रोटिन चाहिन्छ । अण्डा, चना, रोटीसँग वा चिउरासँग खाँदा शरीरमा कार्बोहाड्रेट र प्रोटिनको मात्र मिल्छ ।

प्याकेटको खाजालाई नाइँ किन भन्ने ?

समय अभावले गर्दा प्रायः अभिभावकले ‘छोराछोरीलाई बिस्कुट वा चाउचाउ दिन्छौं’ भन्छन् । यसो भन्ने अभिभावकहरूले बिहान अलिकति बढी खाना पकाएर, त्यसलाई खाजाका रूपमा प्रयोग गर्न सक्छन् । जस्तो— तरकारी बनाउँदा आलु बढी उसिनेर, दिउँसो त्यसलाई प्रयोग गरी फ्राइ राइस तयार गर्न सकिन्छ । उसिनेको आलुको अचार वा दही हालेर चुकौनी बनाउन सकिन्छ । त्यसलाई भुटेर चिउरासँग स्वस्थ खाजा बनाउन गाह्रो छैन । चना भिजाएर त्यसमा उसिनेको आलु, भुजिया, कागती हालेर ‘चना चटपट’ बनाउन सकिन्छ । यसरी बनाउँदा बच्चालाई स्वास्थ्य र स्वाद मिल्छ । ‘चना चटपट’ भनेपछि भुतुक्क हुने बच्चालाई यसरी घरमै स्वस्थ चटपटे दिन त सकिन्छ ।

घर–परिवारमा कसैले पकाउने, कसैले भाडा सफा गर्ने, कसैले कुचो लगाउने गरे एउटैलाई कामको बोझ हुँदैन । बालबालिकालाई पनि भान्साका काम लगाउनुपर्छ । चिनी धेरै हालेको खानेकुरा, केक आदि बहिष्कार गरेर, स्वास्थ्यवर्धक रेसादार पदार्थ पाइने खानेकुरा, तरकारी, दालका साथै कोदो र आँटाको सेल वा हलुवा बनाउन सकिन्छ । यो पोषणतत्त्वले भरिपूर्ण र सस्तो हुन्छ । केक जस्ता गुलियो खानेकुराले एकै छिनका लागि पेट भरिएको जस्तो भए पनि स्वास्थ्यकर हुन्न, बच्चाको तौल बढ्छ ।

विद्यालयमा खाजा पठाउँदा नरिवल, घरमै बनाएको बेसन वा तिलको लड्डु, चना–रोटीका साथै विभिन्न बियाँ (फर्सी, सूर्यमुखी), किसमिस आदि हालेर पठाए स्वाद र स्वस्थ दुवै पाइन्छ । पिसाबको संक्रमण हुन नदिन समय समयमा झोल पदार्थ, पानी पिइरहनुपर्छ भनेर बालबालिकालाई सिकाउनुपर्छ । यसो गर्दा थकाइ कम लाग्छ, एकाग्रता हुन्छ । उनीहरूलाई प्याकेटको जुसको सटा कागतीपानी दिनुपर्छ । पानी, लस्सी, मोही, काँक्रो आदिका साथै रसिलो फलफूल चपाएर खाँदा पनि शरीरमा पर्याप्त पानी पुग्छ ।

छिटो र पेट भरिने खाजा

हुन त, छोराछोरीलाई स्वस्थ खानेकुरा खानका लागि तयार पार्नु ठूलो चुनौती जस्तो हुन्छ । यो चुनौतीलाई कम गर्न सकिन्छ । घरमै सबैजना सँगै काम गरेर रमाइलो गर्दै खानेकुरा बनाउन सकिन्छ । बिहानै बिहानै चनाअण्डा, दाल खाए दिउँसोसम्म काम गर्न ऊर्जा मिल्छ । खाजामा सिमी, हरियो मकै, उसिनेको अण्डा, रोटी खान सकिन्छ । सेतो पाउरोटीको सट्टा विभिन्न अन्न हालेको पाउरोटी राम्रो हुन्छ । स्वस्थ मुटुका लागि हरियो तरकारी, दालहरू खानुपर्छ । स्वादिष्ट र स्वास्थ्यवर्धक पनि । यी सबै खानेकुरा बच्चाहरूले विद्यालयमा खान मान्दैनन् वा उनीहरूलाई लाज लाग्छ भने त्यो आमाबुबाको गल्ती हो ।

प्रकाशित : वैशाख १२, २०७८ ०८:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×