पूर्वतयारी नै उत्तम विकल्प

शिव सुवेदी

गोरखा भूकम्प आधुनिक समयमा नेपालमा गएको पहिलो ठूलो भूकम्प हो । हुन त सन् १५०५ मा मुस्ताङ आसपास म्याग्नेच्युड ८ भन्दा ठूलो भूकम्प गएको थियो, जसका असरबारे विभिन्न जानकारी पुराना दस्तावेजहरूमा पाइन्छन् । 

पूर्वतयारी नै उत्तम विकल्प

गोरखा भूकम्पअघि सन् १९३४ (१९९० साल) मा पूर्वी नेपालमा गएको म्याग्नेच्युड ८.२ को भूकम्पले १० हजारभन्दा बढीको ज्यान लिएको थियो । यी दुई भूकम्पको समयमा आधुनिक सेस्मोमिटर (भूकम्प नाप्ने यन्त्र) को विकास भएको थिएन । सन् १९६० को दशकपछि मात्र विश्वमा आधुनिक सेस्मोमिटरको विकास भएकाले मुस्ताङ र पूर्वी नेपालका भूकम्पको गुणस्तरीय नाप हुन सकेको थिएन; यी भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी जमिनको सतहको भौगर्भिक अध्ययन तथा ऐतिहासिक उल्लेखहरूबाट आएका हुन् ।

सेस्मोमिटरमा रेकर्ड नभएका भूकम्पहरूको अध्ययन धेरै कठिन हुने भएकाले भूकम्पविद्हरू सन् १५०५ र १९३४ का भूकम्पबाट सीमित जानकारी मात्र पाउन सफल भए । तर, सन् २०१५ (२०७२ साल) को गोरखा भूकम्प नेपालका दर्जनभन्दा बढी र विदेशका सयौं सेस्मोमिटरले नापेका हुनाले तथा भूकम्पलगत्तै नेपालमै सयौंको संख्यामा सेस्मोमिटर जडान गरी परकम्पहरू रेकर्ड गरिएको हुनाले यसबारे पर्याप्त अध्ययन गर्न सम्भव भयो । फलस्वरूप उक्त भूकम्पबाट मध्य–नेपालको जमिनमुनिको भू–बनोट, भूकम्पको दरार तथा हिमालयमा जाने भूकम्पका विशेषताहरूबारे केही नयाँ विषय पत्ता लागेका छन् ।

प्रमुख हिमालयन थ्रस्टमा भिन्नता

नेपालमा भूकम्प विज्ञान नयाँ विषय हो, अपवादबाहेक जसको पढाइ नेपाली विद्यालय, क्याम्पस तथा विश्वविद्यालयहरूमा हुँदैन । भूकम्पीय जोखिममा रहेको नेपाललाई विश्वका धेरै भूकम्पविद्हरूले अध्ययनको क्षेत्र बनाउँदै आएका छन् । विभिन्न देशका वैज्ञानिकहरूले नेपालबारे अध्ययन गरेर केही महत्त्वपूर्ण जानकारीहरू जम्मा गरेका छन् । अध्ययनले देखाए अनुसार, नेपालमा भूकम्प जाने प्रमुख कारण इन्डियन प्लेट तिब्बतियन प्लेटमुनि घुस्नु हो । यी दुई प्लेटबीचको सीमालाई प्रमुख हिमालयन थ्रस्ट फल्ट भनिन्छ । नेपालमा जाने प्रायः भूकम्पको कारक यही फल्ट हो । वैज्ञानिकहरूले विभिन्न विधि प्रयोग गरेर उक्त फल्टको अवस्था र स्थितिबारे अध्ययन गरिरहेका छन् ।

गोरखा भूकम्पभन्दा पहिलेका अध्ययन अनुसार, प्रमुख हिमालयन थ्रस्ट फल्ट पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म उस्तै भएको मानिएको थियो, तर सन् २०१५ यता गरिएका अध्ययनहरूले उक्त धारणा सही नभएको र पूर्वी नेपाल, मध्य नेपाल र पश्चिम नेपालमुनि रहेको प्रमुख हिमालयन थ्रस्टमा भिन्नता रहेको देखाए । सोही भिन्नताका कारण गोरखा भूकम्पको दरार पूर्वतिर गएको र बारपाकबाट १५० किलोमिटरपूर्व पुगेपछि भूकम्पको रप्चर रोकिएको हो भन्नेमा धेरैजसो वैज्ञानिक सहमत भएको पाइएको छ ।

भूकम्प र परकम्प

गोरखा भूकम्पबाट वैज्ञानिकहरूले सिकेको अर्को महत्त्वपूर्ण पाठ भूकम्प र यसका परकम्पबारे हो । २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाएर र वैशाख २९ गते कोदारी केन्द्रविन्दु बनाएर गएको भूकम्पबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पनि पर्याप्त बहस भयो । बहस हुनुको कारण थियो— सामान्यतया कुनै पनि मुख्य भूकम्प गइसकेपछि त्यसको परकम्पको म्याग्नेच्युड बढीमा मुख्य भूकम्पको भन्दा एक स्केल कम हुनुपर्छ भन्ने स्थापित मान्यता । तर, गोरखा भूकम्पको हकमा यो नियम लागू भएन ।

सामान्यतया मुख्य भूकम्पको रप्चर क्षेत्रमा गएका पछिका साना भूकम्पहरूलाई परकम्प भनिन्छ । गोरखा भूकम्पको रप्चर र कोदारी भूकम्पको रप्चर फरकफरक क्षेत्रमा भएकाले वैज्ञानिकहरू वैशाख २९ गतेको म्याग्नेच्युड ७.३ को भूकम्प गोरखा भूकम्पको परकम्प नभएको निष्कर्षमा पुगेका हुन् । तर कोदारी भूकम्प जानुमा गोरखा भूकम्पले भूमिका खेलेको देखिन्छ । यसको सन्देश हो— हिमालयमा कुनै ठूलो भूकम्प गयो भने त्यसले अर्को ठूलो भूकम्प पैदा गर्न सक्छ ।

भूकम्पको दरार जमिनको सतहमा आएन

१९९० सालको पूर्वी नेपालको म्याग्नेच्युड ८.२ को भूकम्पको दरार जमिनको सतहसम्म आएको विभिन्न अध्ययनले देखाएका छन् । धेरैजसो ठूला भूकम्पले जमिनको सतहसम्मै दरार ल्याउँछन् तर गोरखा भूकम्पको हकमा दरार जमिनको सतहसम्म आइपुगेन, जसका कारण जमिनमुनि जम्मा भएको शक्ति पर्याप्त मात्रामा निस्कन पाएन । गोरखा भूकम्पको दरार जमिनको सतहमा आइपुगेको भए अरू केही वर्ष उक्त क्षेत्रमा ठूलो भूकम्पको जोखिम कम हुन्थ्यो, तर अध्ययनहरूले काठमाडौंमुनिका फल्टहरूमा गोरखा भूकम्पपछि पनि शक्ति (स्ट्रेस) कायमै रहेकाले त्यसले अर्को ठूलो भूकम्प उत्पादन गर्न सक्छ भन्ने देखाएका छन् ।

ऐतिहासिक भूकम्पको अध्ययनमा प्रश्न

गोरखा भूकम्पमा गरिएका अध्ययनहरूबाट आएका परिणामहरूले नेपालमा ऐतिहासिक भूकम्पको अध्ययनका सम्बन्धमा केही नयाँ कुरा सुझाएका छन् । ठूला भूकम्पहरूको दरार जमिनको सतहसम्मै आउँछ भन्ने आधारमा नेपालमा गएका ऐतिहासिक भूकम्पहरूको अध्ययन गर्ने गरिएको थियो । तर, गोरखा भूकम्पको दरार जमिनको सतहसम्म नआउनुले के देखाउँछ भने ऐतिहासिक कालखण्डमा जमिनको सतह नफुटाई धेरै ठूला भूकम्प गएका हुन सक्छन्, जसको अध्ययनका लागि जमिनको सतहका आधारमा गरिने अध्ययन मात्र पर्याप्त हुँदैनन् ।

हिमालको उचाइ घट्यो

स्याटलाइटले रेकर्ड गरे अनुसार गोरखा भूकम्पले काठमाडौंलाई करिब १ मिटरमाथि लगेको र उच्च हिमाली क्षेत्रलाई करिब १ मिटर तल सारेको देखिएको छ । भूकम्पका कारण उच्च हिमालहरूको उचाइ घटेको देखिए पनि भूकम्पपछिको अवस्थामा इन्डियन प्लेटको गतिका कारण हिमालहरूको उचाइ नियमित रूपमा बढ्दै जानेछ ।

उपर्युक्त केही तथ्य गोरखा भूकम्पपछि गरिएका अध्ययनका आधारमा लेखिएका हुन्, तर गोरखा भूकम्पकै बारेमा अझै पनि धेरै अध्ययन भैरहेका छन् । हरेक भूकम्प फरक प्रकारको हुन्छ र कुनै एउटालाई आधार मानेर अब आउने भूकम्पहरू पनि उस्तै खाले हुन्छन् भनेर सामान्यीकरण गर्नु उपयुक्त मानिँदैन । तर हरेक नयाँ भूकम्पले केही नयाँ कुरा सिकाएको भने पक्कै हुन्छ । भूकम्प शनिबार बिहान मानिसहरू प्रायः घरबाहिर हुने बेला जानु, धेरै क्षति गर्ने तरंग काठमाडौंमुनिबाट नभई काठमाडौंभन्दा उत्तरबाट जानाले उपत्यकामा क्षति कम हुनुजस्ता कारणले गोरखा भूकम्पलाई भाग्यशाली पनि भन्न सकिन्छ । तर सबै भूकम्प यसरी नै जाँदैनन् । पूर्वतयारी नै भूकम्पबाट बच्ने एकमात्र उत्तम विकल्प हो ।

(स्विट्जरल्यान्डको लुजान विश्वविद्यालयमा अनुसन्धानरत सुवेदीले भूकम्प विज्ञानमा विद्यावारिधि गरेका छन् ।)

प्रकाशित : वैशाख १२, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?