१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पहाडी क्षेत्रमा महिला किसानको सशक्तीकरण

मकै छोडाउने सेलर यन्त्र, धान रोप्ने ट्रान्सप्लान्टर, कफी संकलन गर्ने झोला र मिनीटिलर यन्त्रले महिला किसानहरूको कामको बोझ घटाएका छन् ।

नेपालका हिमाली तथा पहाडी क्षेत्रका महिला किसानहरूलाई कामको बोझ मुलुककै अन्य क्षेत्रका महिलाका तुलनामा अत्यधिक छ । पुरुषहरू रोजगारीको खोजीमा बाहिर जाने तथा बसाइँसराइ (आप्रवासन) को दर बढेसँगै कृषिकार्यको परम्परागत लैंगिक विभाजन विखण्डित हुँदै गएकाले महिलाहरूले घरधन्दासँगै खेतीपातीको ठूलो जिम्मेवारी पनि सम्हाल्नुपरेको छ ।

पहाडी क्षेत्रमा महिला किसानको सशक्तीकरण

महिलाहरूले घरेलु कामकाज तथा सामुदायिक गतिविधिका साथै खेतबारी खनजोत गर्ने, बाली लगाउने, काट्ने र भित्र्याउने अनि कृषि उत्पादनको बजारीकरण गर्नेजस्ता परम्परागत रूपमा पुरुषहरूले गर्दै आएका कामको पनि जिम्मेवारी लिनुपरेको छ । तर उनीहरूको यस्तो योगदान अवैतनिक मात्रै हुँदैन, परिवार तथा समुदायसामु त्यो अदृश्य पनि रहन्छ र सरकारका नीतिनियम तथा कृषि कार्यक्रमहरूमा त्यसको झल्कोसम्म देखिँदैन । महिलाहरूको सुखसयल तथा आर्थिक–सामाजिक कल्याणका दृष्टिले चिन्ताको विषय हो यो । यस्तो बोझ हटाएर महिलाहरूलाई आफ्ना स्रोतसाधन व्यवस्थापन गर्न र आकांक्षा पछ्याउन सहयोग हुने खालका केही पहल नभएका होइनन्, तर अझै पनि जमिनको स्वामित्वमा प्रायः महिला किसानहरूको पहुँच सीमित छ, नेपालका प्रत्येक पाँच महिलामध्ये एक जनासँग मात्रै जमिनको स्वामित्व छ । कृषि औजार तथा प्रविधि, तालिम, सूचना, आर्थिक ऋण तथा विस्तारक सेवासम्म महिला किसानको पहुँच अत्यन्तै न्यून छ ।

महिलामैत्री, सस्तो तथा सुलभ कृषि उपकरण

पर्वतीय कृषि विशेषतः निर्वाहमुखी हुन्छ, खेतीपातीसँग वन तथा पशुपालन पनि जोडिएको हुन्छ । यसमा श्रम र समय अति धेरै खपत हुन्छ । त्यसैले कृषिको यान्त्रिकीकरणमा जोड दिनु आवश्यक छ, विशेष गरी पहाडी तथा हिमाली क्षेत्रमा जहाँ देशको आधा जनसंख्या बस्छ । यसबाहेक पर्वतीय कृषि श्रमशक्तिमा महिलाको योगदान तीनचौथाइ छ । यान्त्रिकीकरणले कृषिकार्यमा सुधार ल्याउन, उत्पादन बढाउन र कामको बोझ पनि घटाउन सक्छ । यसलाई व्यवहारमा उतार्न त्यति सजिलो भने छैन । तराईका उर्वर जमिन तथा फराकिला र ठूला खेतबारीको दाँजोमा हिमाली र पहाडी क्षेत्रका खेतबारी प्रायः साँघुरा, अप्ठ्यारा, भिराला र खण्डित हुने गर्छन्, जसका कारण त्यहाँसम्म कृषि उपकरणहरूको ढुवानी र प्रयोग कठिन हुन्छ । मिनीटिलर, मकै छोडाउने तथा धान र गहुँ झाँट्ने विद्युतीय यन्त्रहरू, विद्युतीय माइक्रो मिल आदिको बढ्दो प्रयोगसँगै पछिल्लो दशकमा पर्वतीय कृषिको यान्त्रिकीकरण थोरै हदसम्म बढे पनि यस क्षेत्रमा संयोजित पहल वा पर्याप्त अनुसन्धान भने कमै भएको छ ।

श्रम घटाउने प्रविधि तथा आधारभूत कृषि उपकरणसम्म पहुँचको अभावले पर्वतीय क्षेत्रका धेरै महिला किसानहरूको कृषि उत्पादन एवं सुखसयलमाथि नकारात्मक असर परिरहेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सन् २०१९ मा हिन्दुकुश हिमालय क्षेत्रका महिला किसानहरूको आवश्यकतालाई सम्बोधन गर्दै अनुकूलित प्रविधि उपयोगसम्बन्धी अवरोध र अवसरबारे अध्ययन गर्न नेपालमा क्षेत्रीय परामर्श कार्यक्रम गरेको थियो । प्रविधि विकास प्रक्रियाले कमै मात्र महिलाहरूको आवश्यकता, श्रमको प्रकृति तथा प्रासंगिक परिस्थितिलाई ध्यान दिने तथ्य यो परामर्शका क्रममा उजागर भयो । उपकरण विकास तथा निर्माण प्रक्रियाको प्रायः परीक्षण पुरुष किसानहरूमाझ गरिने र महिलाका आवश्यकता तथा प्राथमिकताबारे कम ध्यान दिइने हुनाले हाल उपलब्ध धेरैजसो कृषि उपकरण पुरुषकै लागि अनुकूल देखिन्छन् । अनुदानबारे न्यून वा शून्य ज्ञान भएका साना किसानका लागि कृषि उपकरणको मूल्य धेरै हुने गर्छ । त्यसमाथि जमिनको स्वामित्व सीमित भएका महिलाहरूले सजिलै बिनाधितो कर्जा पाउन कठिन हुन्छ, भइरहेकै छ ।

लक्षित नीति तथा विस्तारक सेवाहरू

पर्वतीय क्षेत्रमा कृषि यान्त्रिकीकरणलाई प्रयोगकर्ता, विशेष गरी महिलाहरूको आवश्यकता र पर्वतीय विशिष्टतालाई ख्याल गरी विकास गर्नुपर्छ । पछिल्लो दशकमा सरकार तथा केही अन्तर्राष्ट्रिय संस्थाले यस अभावलाई सम्बोधन गर्न केही उल्लेख्य नीतिगत पहल गरेका छन् । कृषि यान्त्रिकीकरण प्रवर्द्धन नीति, २०७१ कृषिभूमि तथा श्रमको उत्पादकत्वमा वृद्धिमार्फत निर्वाहमुखी कृषि सुधार्नमा केन्द्रित छ । यस नीतिले महिलाहरूको दुःख निवारणका लागि उपयुक्त र वातावरणमैत्री औजार तथा यन्त्रहरूको प्रवर्द्धनमा पनि जोड दिएको छ । यीमध्ये केही पहलले निकै सघाउ पुर्‍याएका छन् । जस्तै— बालीनाली काट्ने र झाँट्ने मिनीटिलर यन्त्र नेपालका महिला किसानहरूका लागि वरदान साबित भएको छ । मकै छोडाउने सेलर यन्त्र, धान रोप्ने ट्रान्सप्लान्टर, कफी संकलन गर्ने झोला र मिनीटिलर यन्त्रले महिला किसानहरूको कामको बोझ घटाएका छन् ।

कृषि विकास रणनीति, २०७१ ले तेह्र उपलब्धि क्षेत्रसहित २०७२–२०९२ सम्मको बीसवर्षे उत्पादकत्व सुधार कार्यक्रम बनाएको छ, जसको केन्द्रमा कृषि यान्त्रिकीकरण नै छ । कृषि क्षेत्रमा सामाजिक तथा क्षेत्रीय समावेशिता र लैंगिक समानताका लागि पनि संयन्त्र स्थापना गर्ने यसको लक्ष्य छ । नेपाल सरकारले कृषि यान्त्रिकीकरणमा लक्षित प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना (२०७३–२०८३) पनि ल्याएको छ । यी पहलहरू अत्यन्तै आवश्यक र ठीक समयमा आएका भए पनि महिला किसानहरूलाई कति लाभ भएको छ भन्ने निर्क्योल गर्न थप अध्ययन हुनुपर्छ ।

महिला साना किसानमा ध्यान

यी नीतिहरूले टेवा दिने कृषि यान्त्रिकीकरण ठूला र समतल जमिनमा कृषि तथा व्यावसायिक खेतीभन्दा अघि जान सक्नुपर्छ । यसले महिला साना किसानहरूको दुःख प्रभावकारी ढंगले घटाउनुपर्छ र उनीहरूको दैनिक उत्पादकत्व बढाउनुपर्छ । प्रविधिमा हुने नवप्रवर्तनले स्थानीय विविधतालाई ध्यानमा राख्नु र यी प्रविधिले परिवार तथा समुदायको स्तरमा लैंगिक सम्बन्धमाथि कस्तो प्रभाव पार्छन् भनी आकलन गर्नु महत्त्वपूर्ण छ ।

पर्वतीय महिलाहरूले सामना गर्नुपर्ने असमानता तथा जोखिमबारे बुझाइको अभाव भएकाले र तिनलाई नीति तथा कार्यक्रममा प्रायः सम्बोधन नगरिनाले विकास प्रक्रियामा यी मुद्दाहरू उपेक्षित रहन्छन् । पर्वतीय कृषि क्षेत्रमा कार्यरत नीतिनिर्माण तथा विकास संस्थाहरूले जलवायु परिवर्तनका कारण थपिएका भार तथा पुरुषहरूको बढ्दो आप्रवासनका कारण समाजमा सिर्जित परिवर्तनप्रति पनि संवेदनशील हुनुपर्छ ।

पर्वतीय कृषिमा महिलाहरूको सक्रिय सहभागिताका सन्दर्भमा नेपालको कृषि यान्त्रिकीकरण प्रवर्द्धन नीतिको कार्यक्षेत्रलाई अविलम्ब पुनरवलोकन, सबलीकरण र विस्तार गर्नु आवश्यक छ । यी नीति तथा कार्यक्रमले निर्वाहमुखी कृषिलाई विकास र प्रवर्द्धन गर्नुपर्छ अनि पहाड तथा हिमालका महिला साना किसानको आवश्यकतालाई सम्बोधन गर्न सक्षम अनुकूलित, सुलभ र सहज उपलब्ध औजार र प्रविधि विस्तार गर्नुपर्छ ।

नेपाल परामर्श तथा क्रियाकलापका तीन क्षेत्र

इसिमोडले यो मुद्दालाई लिएर राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको सहकार्यमा राष्ट्रियस्तरमा अध्ययन थालेको छ । नेपालका लागि परामर्श २०७७ फागुन २१ मा सम्पन्न भएको थियो, जसमा सरकारी अधिकारीहरू, विकास संस्था तथा अभ्यासकर्ताहरूले एकजुट भएर कृषि यान्त्रिकीकरणमा महिला पहुँच सहजीकरणका अवरोध तथा अवसरबारे छलफल गरेका थिए ।

यस पहलबाट महिला तथा पुरुष किसानहरूका लागि कृषि यन्त्रहरूसम्म समानतामूलक पहुँच निर्माणका लागि ठोस कार्य तथा नीतिहरूको सुरुआत भएको छ । परामर्शका क्रममा क्रियाकलापका तीन मुख्य क्षेत्र पहिचान गरिएका थिए— १) श्रम घटाउने प्रविधि अपनाउन र पहुँचसम्बन्धी विद्यमान अभाव तथा चुनौतीलाई बुझ्न आवश्यक अध्ययनमा लगानी गर्ने, २) महिला नेतृत्वमा आधारित साना आकारका यान्त्रिकीकरण व्यवसायलाई प्रवर्द्धन गर्ने, र ३) महिला किसानका लागि उपलब्ध औजार तथा यन्त्र, तिनको प्रयोग र मर्मत–सम्भारबारे विस्तारक सेवालाई सबलीकरण गर्ने ।

महिलाहरूले आफ्ना काँधमा घरेलु जिम्मेवारीको अत्यधिक भार लिइरहेका सन्दर्भमा खेतीपातीका लागि सामान्य औजार तथा उपकरण उपलब्ध हुन सके उनीहरूको दुःख घट्न र कृषि उत्पादकत्व बढ्न सक्छ ।

(सिलवाल तथा खनाल इसिमोडमा आबद्ध छन् ।)

प्रकाशित : चैत्र १३, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?