वन्यजन्तु र अन्धविश्वासको बिजनेस- विचार - कान्तिपुर समाचार

वन्यजन्तु र अन्धविश्वासको बिजनेस

यस्ता जटिल समस्यालाई कडा सजाय र जरिवानाले अथवा सेना परिचालनले मात्र दिगो सम्बोधन गर्दैन, सँगसँगै स्थानीय समुदायमा पनि चेतना फैलाउनुपर्छ ।
सावित्री राई, सौगात बोलखे

२०२६ सालतिरको कुरा हो । शिक्षण तालिमका क्रममा काठमाडौं पुगेका काभ्रेका शिक्षक गोविन्द विद्यालयबाट फर्कंदै गर्दा सडकमा एक व्यापारीलाई भेट्न पुग्छन् । धोक्रोमा विभिन्न वन्यजन्तुका अंग–प्रत्यंगबाट बनाइएका औषधिजन्य वस्तुहरू फिँजाएर बसेको उक्त व्यापारी गोविन्दलाई समस्याबारे सोध्छ ।

दमले ग्रस्त आमालाई सम्झिँदै गोविन्द त्यो रोग निको पार्ने उपायबारे सोध्छन् । व्यापारी दुम्सीको भुँडीबाट बनेको औषधि भन्दै एउटा बट्टा झिकेर देखाउँछ र दैनिक खानापछि खाए दम दुई दिनमा चट हुने ठोकुवा गर्छ । गोविन्द दोधारमा पर्छन् । दमरोगी आमालाई कहाँ अस्पताल दौडाउने भन्ने सोच्दै, व्यापारीको दाबीमा पूर्ण विश्वास नलागे पनि, उनी त्यो ‘औषधि’ किन्छन् ।

हाम्रो सामाजिक व्यवहारभन्दा पृथक् छैन यो घटना । जीवजन्तु तथा जंगली वनस्पतिको प्रयोग हाम्रो जीवन पद्धति बनेको छ । नेपाली समाजमा वन्यजन्तुका विभिन्न अंगको औषधिजन्य महत्त्व परापूर्वकालदेखि नै रहिआएको छ । गोविन्द एक प्रतिनिधि पात्र मात्र हुन् । तर कतिपय समय विश्वासले निम्त्याउन सक्ने समस्या आकलन गर्न नसक्दा त्यो अन्धविश्वास बन्न पुग्छ । अन्धविश्वासको जड यति गहिरो छ, विभिन्न जीव लोप हुने सीमासम्म पुगेका छन् । सुलभ आधुनिक उपचार विधि हुँदाहुँदै पनि मानिसहरू परम्परागत विश्वासका कारण प्राकृतिक सम्पदाको जथाभावी उपभोगमा लागिपर्छन् ।

कतिपय त कानुनी रूपमा वर्जित जंगली जीवजन्तुको प्रयोग गर्न पनि पछि पर्दैनन् । उदाहरणका लागि, बाघको हड्डी बाथ र जोर्नीशोथको उपचारमा उपयोगी हुन्छ भनेर चीन, भियतनाम लगायतमा चोरीनिकासी गरिन्छ । बाघका छाला, हड्डी, दाँत र पन्जाको प्रयोग ‘टनिक’ बनाउनमा हुन्छ । यी वस्तुहरू ठूलै रकममा बेचिन्छन् । यसैकारण बाघको संख्या घट्दै गइरहेको छ । यसरी नै अनेक वन्यजन्तुका अंग–प्रत्यंगबाट बनाइएका ‘औषधिजन्य पदार्थ’ को प्रयोगले धेरै रोग निको हुने विश्वासका कारण तिनको गैरकानुनी व्यापार हुने गरेको छ; हाम्रो देशमा मात्र होइन, विश्वव्यापी रूपमै । विशेषतः चिनियाँ चिकित्सा अभ्यासमा यिनको प्रयोग बढी छ ।

परम्परागत चिनियाँ औषधि

परम्परागत चिनियाँ औषधिको इतिहास ३,५०० वर्ष पुरानो छ । यो चिकित्सा प्रणालीमा अनेकौं प्राकृतिक स्रोतको, अनेकौं प्रजातिका कीरा–फट्याङ्ग्रा, जंगली वनस्पति र वन्यजन्तुहरूको प्रयोग गरिन्छ । यसको उदाहरणमा यार्सागुम्बालाई लिन सकिन्छ । यो एक प्रकारको झुसिलकिराको उपभोग यौन क्षमता बढ्ने विश्वासमा हुने गरेको छ । तर, जथाभावी संकलनका कारण यसलाई अहिले अति संकटापन्न जडीबुटीको रातो सूचीमा राखिएको छ ।

सन् १९९० ताका विश्वका पाँच प्रजातिका गैंडा लोप हुने चरम अवस्थामा पुगे । कारण थियो– गैंडाको खागबाट बनेको पाउडरले ज्वरो र रक्तचाप कम गर्छ भन्ने विश्वासका कारण हुने चोरीसिकार । जब चीनले परम्परागत औषधिमा गैंडाको सिङको प्रयोगलाई वर्जित गर्‍यो, त्यस बेला गैंडा सिकारमा केही हदसम्म कमी आयो । दुर्भाग्यवश, सोही प्रयोजनका लागि गैंडाको ठाउँमा जलभैंसीको सिङ प्रयोगमा आउन थाल्यो । समस्या त एक जनावरबाट अर्कोमा पो सरेको रहेछ । फलस्वरूप हाल बंगलादेश

र श्रीलंकाबाट लोप भइसकेका ती जलभैंसीहरू कम्बोडियाबाट पनि हराउने खतरामा छन् । सिङको प्रयोग ज्वरो र छोप्ने व्यथा निको हुने विश्वासमा गरिने रहेछ । यो विकृत प्रणाली ‘अन्धविश्वासको बिजनेस’ हो ।

भालुको पित्तले बाथ, दम, पोलेको घाउ र क्यान्सर अनि गोहीको अंगबाट निर्मिर्त औषधिले रुघाखोकी र क्यान्सर निको पार्छ भन्ने अन्धविश्वास छ । म्यान्मारमा हात्तीको मासुको पेस्ट हर्नियाको उपचारमा उपयोग गरिन्छ, सालकको खबटा र गैंडाको खागले बाथ निको हुने विश्वास गरिन्छ । यस्ता विश्वासमा कुनै वैज्ञानिक प्रमाण र आधार भने छैनन् । फलस्वरूप सालक संसारकै उच्च बेचबिखन हुने स्तनधारी प्राणी बनेको छ भने, गैंडाको अवस्था पनि नाजुक छ । खासमा खबटा र खाग केराटिन भनिने प्रोटिनबाट बनेको हुन्छ, जसले हाम्रो शरीरको कपाल र नङ बनाउँछ ।

नेपाली समाजमा वन्यजन्तुको प्रयोगसम्बन्धी आफ्नै मूल्यमान्यता रहँदै आएका छन् । विडम्बना, अन्धविश्वासले जकडिएको अवैध व्यापारले लोप हुने खतरामा रहेका जीवजन्तुलाई छुट दिएको छैन । अप्रमाणित आस्थाका नाममा जैविक अपराधले बढावा पाइरहेकै छ । यो खतरा वन्यजन्तुहरूको औषधीय विश्वासमा मात्र सीमित छैन । सुगन्धित अत्तरका लागि कस्तूरी मृगको बिनाको प्रयोग, बाघको दाँत बोके जुवातासमा जितिने र हड्डीले भवितव्य तथा श्रापलाई पन्छाउने विश्वास पनि गरिन्छ ।

यस्ता अन्धविश्वासलाई बढावा दिने काम बनावटी, अप्रमाणित र झुटा विज्ञापनले पनि गरेका छन् । फलस्वरूप चोरीनिकासी र चोरीसिकारको उद्योग नाफामूलक सञ्जाल बन्न पुगेको छ, जसले हरेक वर्ष अर्बौं डलरको व्यापार गर्छ । र, यो उद्योग चिनियाँ परम्परागत औषधिमा केन्द्रित छ, जसमा कच्चा पदार्थको माग उच्च छ । भनिन्छ, जति धेरै कडा कानुनी प्रावधान त्यति धेरै रकम हात लाग्ने सम्भावना हुन्छ । त्यसैले उक्त आर्थिक प्रलोभनका कारण धेरै व्यक्ति आपराधिक कार्यमा सामेल हुन पुग्छन् ।अन्धविश्वासलाई साँच्चै चिर्न सक्ने जनचेतनाको अभावका कारण यी वन्यजन्तुहरूको अस्तित्व संकटमा परिरहेकै छ, जसले अवैध सिकार, बेचबिखन, तस्करी तथा मनलाग्दी उपभोगजस्ता अवैध कार्यलाई बढावा दिएको छ । साथै यस आपराधिक सञ्जालप्रति निगरानी पनि कम हुने गरेको छ । फलस्वरूप आपराधिक व्यापारीहरूलाई अवैध सामानहरूको ढुवानी गर्न सजिलो हुन जान्छ । त्यसका साथसाथै यस्ता कार्यहरूको कानुनी प्रावधान, सजायबारे जानकारी र चेतना नहुँदा धेरै व्यक्ति फस्ने गर्छन् ।

अन्तर्राष्ट्रिय नियम–कानुनहरूले पनि लोपोन्मुख जीवहरूको मनलाग्दी उपभोगमा बन्देज लगाएका छन् । यसका लागि देशपिच्छे विभिन्न कानुनी प्रावधान छन् । नेपालका अवैध वन्यजन्तु अपराधसम्बन्धी ऐन र कानुनी प्रावधानहरूलाई कडा मानिन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कुनै संरक्षित वन्यजन्तु कसैको स्वामित्वमा रहेको वा ओसारपोसार गरेको वा मारेको भेटिएमा १० लाखसम्म जरिवाना वा १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । यद्यपि अधिकांश व्यक्ति यस्ता कानुनी प्रावधानबारे अनभिज्ञ हुन्छन् र अनजानमै यसमा होमिन पुग्छन् । केही भने आर्थिक प्रलोभनका कारण संलग्न हुन्छन् ।

यस्ता जटिल समस्याहरूलाई कडा सजाय र जरिवानाले अथवा सेना परिचालनले मात्र दिगो सम्बोधन गर्न सक्दैन, सँगसँगै स्थानीय समुदायमा चेतना पनि फैलाउनुपर्छ । त्यसैले आर्थिक उपार्जनका निमित्त चोरीनिकासी र चोरीसिकारमा आबद्ध हुने जनसमुदायलाई वैकल्पिक स्रोत (जस्तै— इको पर्यटन, वनजंगलको संवर्द्धन र संरक्षण) मा आबद्ध गराउन सकिन्छ । यससम्बन्धी व्यावहारिक ज्ञान दिँदै अनुसन्धानकर्ताहरूका लागि आवश्यक सहयोगी जनशक्ति बनाउन सकिन्छ । वन्यजन्तुसम्बन्धी कानुनी प्रावधानहरूको ज्ञान र जनचेतना बढाउँदै जनदृष्टिकोण परिवर्तन गराउनु पनि जरुरी छ ।

(राई मेची क्याम्पसमा शिक्षण सहायकका रूपमा कार्यरत छिन् र बोलखे जैविक विविधताका लागि विश्वव्यापी युवा सञ्जालको नेपाल च्याप्टरमा आबद्ध छन् ।)

प्रकाशित : आश्विन २१, २०७७ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्

कस्तो छ लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यका ?

दुर्गालाल केसी

दाङ — देउखुरी दाङको एउटा छुट्टै उपत्यका हो । पहिले दाङ र देउखुरी जोडेर जिल्लाको नाम लिने गरिन्थ्यो । अहिले पनि जिल्ला अदालतको नाम दाङ देउखुरी जिल्ला अदालत छ । देउखुरीवासीले घोराही, तुलसीपुर क्षेत्रलाई दाङ उपत्यका भनेर चिन्छन् ।

घोराही जाँदा दाङ जाने भन्ने चलन छ । देउखुरी उपत्यकामा लमही नगरपालिकाका साथै राजपुर, गढवा र राप्ती गाउँपालिका पर्छन् । अहिले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरिएको देउखुरी उपत्यका राप्ती नदीको दुवैतिर फैलिएको छ ।

राप्ती नदीले चर्चेको राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका साथै अर्घाखाँचीको शीतगंगा नगर क्षेत्रमा राजधानी भनिएकाले भालुबाङ क्षेत्रलाई केन्द्र मानेर स्थापना हुने आकलन गरिएको छ । भालुबाङको अधिकांश क्षेत्र राष्ट्रिय वनको जग्गामा विस्तार भएको बजार हो । अहिले पनि यहाँका बासिन्दाले नगर विकास समितिलाई कर तिरेका आधारमा आफ्नो सम्पत्तिको उपभोग गरिरहेका छन् । जग्गा धनीपुर्जाका लागि पटकपटक प्रयास गरे पनि भालुबाङ बजार व्यक्तिका नाममा दर्ता हुन सकेको छैन ।

देउखुरी उपत्यका र भालुबाङ क्षेत्र रुकुम, रोल्पाबाट नुन बोक्दा पैदल हिँड्ने गरेको क्षेत्र हो । देउखुरी उपत्यका हुँदै कोइलाबास, कपिलवस्तु र बुटवल जाने गरिन्थ्यो । पूर्वपश्चिम राजमार्ग निर्माण भएपछि

भालुबाङ बजारका रूपमा स्थापित भएको हो । अधिकांश राजमार्ग निर्माणका क्रममा काम गर्न आएका विभिन्न ठाउँका मजदुर भालुबाङ क्षेत्रमा बसोबास गरेका थिए । राप्ती नदीले ओगटेको क्षेत्र प्रशस्त भएकाले नदी तटबन्धन गरी पर्याप्त जग्गा निकाल्न सक्ने सम्भावना देखिन्छ ।

देउखुरीबाट दाङ र कपिलवस्तुका भारतीय सीमा क्षेत्र नजिक पर्छन् । यसले राजधानीलाई व्यावसायिक रूपमा पनि छिमेकसँग जोड्न सघाउने देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताए । दाङ, कपिलवस्तु, अर्घाखाँची, पूर्वी रुकुम, रोल्पा र प्यूठान क्षेत्रको मिलनबिन्दु भएकाले देउखुरी सबैको केन्द्र परेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

प्रकाशित : आश्विन २१, २०७७ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×