कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूकम्प जहिल्यै आउन सक्छ

शिव सुवेदी

२०७२ को भूकम्पले केन्द्रविन्दु गोरखाको बारपाकभन्दा पश्चिममा नभई पूर्वतिर बढी क्षति गर्‍यो । गोरखासंँग जोडिएको लमजुङमा भन्दा सिन्धुपाल्चोकमा धेरै क्षति किन भयो भने, भूकम्पको दरार (रेप्चर) कुन दिशामा छ भन्ने कुराले नोक्सानीको मात्रा निर्धारण गर्छ । त्यस बेला भूकम्पको दरार बारपाकबाट पूर्वतर्फ गएकाले पश्चिममा ठूलो क्षति हुन पाएन ।

भूकम्प जहिल्यै आउन सक्छ

पश्चिमतिर किन भूकम्पको दरार गएन भन्ने पत्ता लगाउन त्यही क्षेत्रको जमिनमुनिको अवस्था अध्ययन गर्नुपर्छ । सामान्यतया भूकम्प गइरहने स्थानको जमिनमुनिको अवस्था धेरै अध्ययन गरिन्छ । जस्तो— पूर्वी र मध्य नेपालमुनिको जमिनको अध्ययन पश्चिम नेपालको भन्दा तुलनात्मक रूपमा धेरै भएको छ । जमिनमुनिको अवस्था अध्ययन गर्न स्थानविशेषमा धेरै सेस्मोमिटर जडान गर्नुपर्छ । गत भूकम्पपछि धेरै वैज्ञानिकको ध्यान पश्चिम नेपालतिरै गएको छ ।


भूकम्प जत्रो भए पनि यो आफैले हामीलाई मार्ने होइन, हाम्रा वरिपरि बनाइएका संरचनाहरू भत्किनाले मानव मृत्यु हुने हो । त्यसैले आफू बस्ने संरचना भूकम्पप्रतिरोधी बनाउने र पूर्वतयारीबारे नियमित रूपमा जानकार रहने हो भने क्षति कम गर्न सकिन्छ ।


भूकम्पको पूर्वानुमान

नेपाली समाजले धेरै सोधेको एउटा प्रश्न हो— विकसित देशमा जसरी नेपालमा भूकम्प आउनुपहिल्यै त्यसको जानकारी गराउन सकिन्न ? भूकम्पको पूर्वानुमान सम्भव छैन । सम्भाव्यतासम्बन्धी केही अध्ययन भने भएका छन्, जुन पर्याप्त छैनन् ।


विकसित देशहरूमा सयौंको संख्यामा उच्च क्वालिटीका सेस्मोमिटर जडान गरिएका हुन्छन्, जसले भूकम्पको केही समयमै रेकर्ड गरेको तरंग केन्द्रीय सर्भरमा पठाउँछन् । वैज्ञानिकहरूले त्यस्ता तरंगको अध्ययन गर्छन् र भूकम्प हो कि हैन, हो भने कहाँ कति म्याग्निचुडको जस्ता कुरा पत्ता लगाउँछन् । भूकम्प हो भन्ने निश्चित भएपछि प्रभावित हुन सक्ने क्षेत्रमा सावधानी सन्देश पठाउँछन् । अनि जनधनको क्षति कम हुन्छ । तर, यसका लागि त्यस्तो तरङ्ग भूकम्पै हो भनी पत्ता लगाउने र सन्देश पठाउने समयभन्दा भूकम्प गएको ठाउँबाट त्यसको तरङ्ग मानव बसोबास क्षेत्रमा जान लाग्ने समयबीच धेरै अन्तर हुनुपर्छ । यसलाई भूकम्प पूर्वचेतावनी प्रणाली भनिन्छ । यो प्रणालीले कति समयअगाडि सन्देश पठाउन सक्छ, यो कुरा भूकम्पको केन्द्रविन्दुबाट स्थानविशेषको दूरीमा भर पर्छ । यस्तो प्रणालीयुक्त देशहरूमा भूकम्प केन्द्रविन्दुको दूरीका आधारमा तरङ्ग आउनुभन्दा सामान्यतया केही सेकेन्ड (वा एक–दुई मिनेट) अगाडि सन्देश पठाउन सकिएको छ ।


नेपालमा पनि पूर्वजानकारी असम्भवै त छैन, तर यसका लागि सेस्मोमिटरको पर्याप्त जडान, विषयविज्ञहरूको नियमित उपलब्धता, भूकम्प सम्बन्धी चेतनाको अभिवृद्धि, गुणस्तरीय सञ्चार प्रविधि लगायतले ठूलो अर्थ राख्छन्, जसका लागि नेपाल तयार भैसकेकै छैन । जापान र अमेरिका (विशेष गरी क्यालिफोर्निया) ले यो प्रणालीको सफलतापूर्वक प्रयोग गरिरहेका छन् । तथापि यो प्रणाली कहिलेकाहीं असफल भएको छ । गत वर्ष इन्डोनेसियाको पालुमा भूकम्प र त्यही कारण आएको सुनामीको पूर्वचेतावनी असफल भएको थियो । त्यो किनभने, स्थानीय बासिन्दाका मोबाइलमा सूचना पुग्नुपहिल्यै बिजुली र सञ्चार पूर्वाधार भत्किसकेका थिए ।


कसैले ‘आज भूकम्प जान्छ भन्यो’ भने त्यो सत्य हुन्छ, किनकि विश्वमा दैनिक विभिन्न म्याग्निचुडका सयौं भूकम्प गैरहेका हुन्छन् । नेपालको परिवेशमा सयौं वर्षको अन्तरालमा ठूलो भूकम्प जान्छ पनि भन्न सकिएला । तर निश्चित अवधिमा, निश्चित समयमा, निश्चित स्थानमा, निश्चित म्याग्निचुडको भूकम्प जान्छ भनेर पूर्वानुमान गर्न सम्भवै छैन ।


२०७२ को पछि पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम बढी छ भन्नेमा विश्वका वैज्ञानिकहरू सहमत छन् । पश्चिम नेपालमा कुन म्याग्निच्युड स्केलको भूकम्प जान सक्छ भनेर धेरै अध्ययन भएका छन् । उक्त क्षेत्रमा विगत ५०० वर्षभन्दा धेरै समय महाभूकम्प वा विनाशकारी भूकम्प नगएको, उक्त ठाउँमा गएको भूकम्प फेरि आउन सक्ने समय, उक्त जमिनमुनिको प्लेटको गति (४ सेन्टिमिटर प्रतिवर्ष) पूर्वी नेपाल र मध्य नेपालको जत्ति नै भएको, जमिनमुनिको अवस्था लगायत अन्य धेरै कुराको अध्ययन गरेर वैज्ञानिकहरू पश्चिम नेपालमा जुनसुकै बेला पनि विनाशकारी भूकम्प (म्याग्निच्युड ८ वा त्योभन्दा ठूलो) जान सक्छ भने निष्कर्षमा पुगेका हुन् । यो अनुमान मात्र हैन । तसर्थ भविष्यमा आउन सक्ने भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आजैदेखि तयारी थाल्नु बुद्धिमत्तापूर्ण हुन्छ ।


कीर्तिपुर काठमाडौंभन्दा सुरक्षित

काठमाडौं पहिले ताल थियो र मञ्जुश्रीले काटेको वा कुनै कारणले चोभारबाट पानी बगेर गएपछि मानवबस्ती बस्न सुरु भएको हो भनी पढ्न पाइन्छ । भौगर्भिक अध्ययनहरूले पनि काठमाडौंमुनि ६०० मिटरसम्म बालुवा प्रकारको कमजोर चट्टान भएको देखाएका छन्, जसले पृथ्वीमुनिबाट आएको भूकम्प तरंगको असर बढाउन सजिलो बनाइदिन्छन् । तर, कीर्तिपुरमुनिको चट्टान काठमाडौंको भन्दा बलियो छ, जसले गर्दा उही भूकम्पको असर काठमाडौंमा धेरै र कीर्तिपुरमा थोरै पर्ने हुन्छ । कीर्तिपुरमा भूकम्प जान्न भन्ने चाहिँ हैन ।


भूकम्पको धक्का पशुपक्षीले पहिले थाहा पाउने हुन् ?

भूकम्प जाँदा कुकुर भुक्छन्, माछा पानीको सतहमा उत्रिन्छन्, चरा कराउँछन् जस्ता कुरा हामीले सुन्दै आएका छौं । सामान्यतया माछा मान्छेभन्दा केही मिटर भए पनि तल बस्छन्, भूकम्पको तरङ्ग जमिनमुनिबाट आउने भएकाले केही सेकेन्डअगाडि तिनले अनुभव गर्न सक्छन् । त्यस्तै, चरा र कुकुरका केही तन्तु मानिसको भन्दा बढी संवेदनशील हुन सक्छन् । तर, पशुपक्षीको व्यवहारका आधारमा उनीहरूले मानिसले भन्दा पहिला भूकम्पको झड्का अनुभव गर्छन् भनी विज्ञानले पुष्टि गर्न सकेको छैन । केही घटनामा एउटै जनावरले भूकम्प जाँदा कहिले प्रतिक्रिया जनाउने त कहिले नजनाउने गरेको पनि पाइएको छ ।

सुवेदी स्विटजरल्यान्डको युनिभर्सिटी अफ लुजानमा भूकम्पशास्त्रमा विद्यावारिधि गर्दै छन् ।

प्रकाशित : माघ २, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?