सत्यका पुराना खत

उज्ज्वल प्रसाईं

सम्पूर्ण नेपालीको महान् चाडका रूपमा महिमा मण्डित दसैं नसकिँदै काठमान्डु सिंगारिन थालेको छ । तिहारको अवसर पारेर आँगनमा बनाइने रंगोली जस्तो देखिएको छ, माइतीघर मण्डला । अरू बेला फुंग उडेको देखिने ठाउँमा एकाएक हरिया रूख उम्रेका छन् ।

दुर्घटनामा परेर दाँत खुस्किएको र छाला तासिएको जस्तो देखिने काठमान्डुका सडकलाई रातारात प्लास्टिक सर्जरी गरिएको छ । चारतिरबाट पोखिएको काठमान्डुको लाजलाई दसैंले छोप्न सकेको थिएन, चिनियाँ राष्ट्रपति सी चिनफिङ आगमनको खबरले अलिकति ढाकिदिने प्रयत्न गरेको छ । सम्भव भएसम्म, रातो कार्पेट बिछ्याउनुअघि सिंगो काठमान्डुलाई एकपटक धोएर चम्किलो बनाउने यत्नमा तल्लीन छन् नेपाली शासकहरू ।

पाहुनाले कुनै सकस नभोगून् एवं असुरक्षित महसुस नगरून् भनेर चनाखो रहनु आवश्यक छ । सत्कारमा कमी हुन नदिनु उतिकै जरुरी । त्यसका लागि जति ताहुरमाहुर आवश्यक छ, त्यो सतहमा देखिनु अनौठो होइन । निमुखाको घरमा धन एवं अवसरको थैलो बोकेर आउन लागेको भनिएको धनाढ्य पाहुनाले एकैसाथ उमंग र अप्ठ्यारो निम्त्याउनु पनि नौलो होइन । यस्ता दृश्य पहिले पनि देखिएका हुन् । प्रतिक्रिया जस्ता आइरहेका छन्, ती पनि नयाँ रहेनन् । प्रतिक्रियाका नाममा व्यक्त भएका आरिस होस् वा भय, कुण्ठा होस् वा जरुरी प्रश्न, सम्बन्धित पक्षको सम्बोधनमा समेत खासै नयाँपन केही छैन ।

चिनियाँ विशिष्ट पाहुनाका विशिष्टतासँग जोडिने तरंगमा केही अनौठोपन छन् भने ती सतहमा आउन केही समय लाग्न सक्छ । विशिष्ट भ्रमणको परिणाम जे भए पनि, पाहुना बिदा भइसक्दा काठमान्डुको लिपपोत तुरुन्त खुइलिनेछ, लाज पुन: उदांगो हुनेछ । पाहुनाको बिदाइमा खुसी वा दु:खी के हुने भनेर निधो गरिनसक्दै पुराना सत्यहरूले आफ्ना दाह्रा–नङ्ग्रा फैल्याउनेछन् । सिंगारिएका सहर र भ्रमणको तामझामसमेतले आम नेपालीलाई सत्यका ती पुराना
नङ्ग्राले नै झस्काइरहनेछन्, जो मूलत: तीन प्रकारका छन् ।

एक, भौगोलिक अवस्थितिका कारणले अतिरिक्त सामर्थ्यको ठाउँमा कमजोर र निकम्मा कूटनीतिक अभ्यास । दुई, गाउँसहरका जनजीवन सामान्य, चुस्त एवं संगठित बनाउन आवश्यक थिति बसाउने सवालमा चरम उदासीनता । तीन, आफ्नै नेतृत्वमा आएका परिवर्तनलाई आत्मसात् गर्न नसकी जनतामा निराशा फैल्याउन निमग्न असक्षम नेतृत्व । काठमान्डुलाई जतिसुकै सिंगारे पनि झन् बलशाली हुन पुगेका सत्यका यी नङ्ग्राले कोपरेका निसान नेपाली समाजका शरीरमा वृद्धि भएको अझ टड्कारो देखिनेछ ।

राष्ट्रपति सी चिनफिङको भ्रमणका अवसरमा जस्ता सम्झौतामा हस्ताक्षर हुन्छन्, त्यसप्रति भारत र अमेरिकाजस्ता शक्तिराष्ट्रका प्रतिक्रिया के होलान् ? ती प्रतिक्रिया व्यक्त हुने तरिका कस्ता हुन सक्छन् ? प्रतिक्रिया स्पष्ट वा छद्म रूपमा व्यक्त हुन थाले तिनलाई कसरी सम्बोधन गर्ने ? कुनै सकसपूर्ण अवस्था उत्पन्न हुन नदिन अपनाउनुपर्ने होसियारी के हुन् ? चीनका तर्फबाट दशकौंपछि हुन लागेको यो भ्रमणलाई नेपाली जनताको हितमा र लोकतन्त्रलाई सुदृढ बनाउन उपयोग गर्ने उचित उपाय के हुन सक्छ ? चीनबारे आफ्नो बुझाइ गहिरो बनाउन एवं यहाँ रहेका भ्रम चिर्न चिनियाँ राजनीति र समाजको अध्ययनलाई तीव्रता दिन यो भ्रमण उपयोगी हुन सक्छ वा सक्दैन ? भूराजनीतिक सकसलाई वृद्धि गर्न होइन सहज बनाउन यो भ्रमणलाई उपयोग गर्न कतिको सम्भव छ ? यसबेला आएर भ्रमणका लागि तयार हुनुपर्ने कारणहरू के–के हुन सक्छन् ?

जिम्मेवार व्यक्ति एवं संस्थाले यस्ता प्रश्नमा विमर्श गरेको र त्यसअनुरूप तयारी गरेकोमा विश्वस्त हुन सकिँदैन । खासमा यस्ता विमर्शका लागि आवश्यक संयन्त्र, संस्था, व्यक्तिहरू एवं पद्धति नहुनुको दु:ख अझै जारी छ । यथेष्ट सूचना र ती सूचनाका आधारमा गरिएका वस्तुनिष्ठ विश्लेषणको अल्पता रहेको सहजै अनुमान गर्न सकिन्छ । तसर्थ, यसबारे अलमल, हतासा र अन्योल नै ज्यादा छ । मण्डलामा लगाइएको ताजा रंगले यस्तो अन्योल र कमजोर तयारीको परिणामलाई धेरै दिनसम्म छोप्न सक्दैन ।

राजनीतिक एवं प्रशासकीय नेतृत्वमा स्थापित गैरजिम्मेवारीपनको हद हेर्ने मौका ठूला अन्तर्राष्ट्रिय आयोजना र भ्रमणहरू नै हुन्छन् । काठमान्डु सहरको मौलिकता सिध्याउँदै गएपछि आधुनिक बन्न खोजेको स्वाङमात्र बाँकी रहेको हाम्रो यथार्थ हो । त्यो स्वाङमा परेका अधिक ढ्वाङहरू हतारमा पुर्न खोज्दा आउन लागेका पाहुनाले समेत सूचना पाउने गरी हाम्रो नक्कलीपना भद्दा बनेको छ । प्रहरी लगाएर बलजफ्त खाली गरिएका सडकदेखि स्वाभाविक विनम्रताको साटो कर्मचारी एवं नेतामा स्पष्ट देखिने अतिरिक्त चाकरीको भावले भ्रमण दौरान हाम्रो अव्यवस्था नै मुखर भइरहेको हुन्छ । अबको केही दिनमा सी विचारधाराबाट प्रशिक्षित हुन लागेका मेयर विद्यासुन्दर श्रेष्ठका दुखिया कथा दोहोर्‍याउनुको तुक छैन ।

भ्रमण होस् वा महिमा मण्डित चाडको रौनक, काठमान्डुजस्ता सहरका प्रत्येक भान्सामा नेपाली राजनीतिमा व्याप्त अविश्वास नै पाकिरहेको हुन्छ । भ्रमणलाई जतिसक्दो सत्ता प्रपोगान्डा मसलाका रूपमा बिक्री गर्न खोजे पनि, त्यसले आम मानिसका भान्सामा कुनै मिठास थपिरहेको हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धका समीकरणमा चाख मान्नेले भ्रमणको लाभ–हानिबारे स्वादिला गफ गरिरहलान्, सर्वसाधारणलाई भ्रमणको स्वाद निख्लो नै लाग्ने सम्भावना ज्यादा छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक प्रधानमन्त्री बनेपश्चात् नेपाली संसदमा उच्चारण गरेको बुद्धको नाम कति कृत्रिम र सतही थियो भन्ने बुझ्न राष्ट्रवादीहरूलाई अझै समय लाग्ला । त्यसैले आसन्न छिमेकी सरकारको भ्रमणमा समेत त्यस्ता भ्रम निर्माण हुन सक्ने सहजै अनुमान लगाउन सकिन्छ ।

नयाँ संविधानमार्फत स्थापित गरिएको नयाँ व्यवस्थामा उच्चतम चिनियाँ प्रतिनिधिलाई स्वागत गर्दा नेपाली नेतृत्वमा आफ्नै व्यवस्थाप्रति दर्बिलो आत्मविश्वासको खाँचो थियो । गणतन्त्र, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता जस्ता कुनै पनि प्रावधानप्रति वर्तमान नेतृत्व आत्मविश्वासी बन्न सकेको छैन । त्यसउपर सी विचारधारा वरण गरेको ढर्रा पार्ने वा त्यससँग त्रसित रहने सरकार वा प्रतिपक्ष दुवै अहिले विचलित भएका छन् । आत्मविश्वासको चरम कमी भएका हाम्रा प्रतिनिधिले रवाफिला चिनियाँ सरकारी प्रतिनिधिलाई आफ्नो हितमा प्रभावित तुल्याउन सक्ने सम्भावना अत्यन्त न्यून छ ।

साथै, पछिल्लो समय नेपालबारे दुनियाँमा गर्व गर्न लायक कुनै खबर पुगेका छैनन् । बुद्ध र सगरमाथाका पुराना विम्बका निरस र थोत्रो काव्यले अन्तर्राष्ट्रिय छविमा कुनै चमक थप्न सक्दैन । हालसालै सभामुख पदको गरिमा धुलिसात हुनेगरी घटेको महरा काण्ड होस् वा नेपाली महिलाप्रति राज्यले गरेको विभेदका अनेक किस्सा हुन् । राष्ट्रिय गौरव भनेर प्रचारित योजनामा व्याप्त सुस्तता र भ्रष्टाचारका कहानीसमेत दुनियाँमा प्रचलित भइसकेका छन् । सरकारी जग्गा चोरी र त्यससँग सम्बन्धित दलालीका चालक स्वयं सत्ताधारी नेता हुन् भन्ने पनि अब संसारलाई थाहा भइसकेको छ । नेपालको प्रगति गर्ने योजना र सपनामा कुनै मौलिकपना छैन, बरु अन्यत्रका भद्दा नक्कल मात्रै छन् भन्ने बुझ्न चिनियाँ शासकलाई कति गाह्रो छ र ? चिनियाँ रेलबारे सत्तापक्षबाट गरिएका अतिरञ्जित प्रचारको त स्वयं चिनियाँ राजदूत अघि सरेर खण्डन गर्नुपरेको तीतो अझै ताजा छ ।

माइतीघर मण्डलाको नयाँ रंग होस् वा नयाँ बानेश्वर सडकका ताजा अलकत्रा हुन्, खुइँलिन केही दिन लाग्न सक्छ । चिनियाँ राष्ट्रपतिको ‘ऐतिहासिक आगमन’पछि सत्ताले छर्न खोजेका भ्रम टुट्न त्यति समय पनि नलाग्न सक्छ ।

प्रकाशित : आश्विन २४, २०७६ ०९:००
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सैद्धान्तिक विमर्श कि चाकरी ?

उज्ज्वल प्रसाईं

चीनमा विगत दुई दशकमा पर्यावरणसँग सम्बन्धित आठ हजार बढी गैरसरकारी संस्था खुले । सन् २०१५ मा प्रकाशित पुस्तक ‘द क्राइसिस अफ ग्लोबल मोडर्निटी’मा चिनियाँ इतिहासका अध्येता प्रसनजित दुआराले यो तथ्यांक उल्लेख गरेका छन् । ग्वोबिन याङ्ग र क्रेइग कैलहुनले चिनियाँ गैससका गतिविधि अध्ययन गर्दै लेखेका छन्, ‘हरित आमवृत्तको उद्भवले आधारभूत तहमा भइरहेका राजनीतिक परिवर्तनलाई संकेत गर्छ ।’

यस्ता गैससमा न्यून पारिश्रमिक वा अवैतनिक रूपमा काम गर्ने अभियन्ताहरूको संख्या दिन–प्रतिदिन बढ्दै गएको तथ्यांक सार्वजनिक भएका छन् । समृद्धिको चिनियाँ कथामा ‘हरित अभियान’को यो उपकथा जोडिनुपर्ने कारण के होला ? घरेलु राजनीतिमा प्रभावशाली बन्न थालेको चीनबारे यति सूचना राख्नु र सूचनाका आधारमा अध्ययन थाल्नु नेपाली राजनीतिक पार्टीका लागि श्रेयस्कर हुन्थ्यो ।

कुनै समय गुल्जार रहेको सहर विस्तारै सुनसान हुन थाले भने त्यस्ता सहरलाई ‘घोष्ट टाउन’ भनिन्छ । चीनले असंख्य घर र बाटा निर्माण गरेर बनाएका केही नयाँ सहरमा बसोबास गर्न कोही पुगेन, ती सुनसान रहे । त्यस्ता नव–सहरमध्ये केहीमा बसोबास गर्नेको संख्या बढेको खबर आउन थालेका छन् । चीनका यस्ता भूताहा सहरलाई ‘घोष्ट सिटी’ नाम दिइयो । चिनियाँ भूताहा सहर पुगेर गरिएका अवलोकन र अध्ययनका आधारमा वेड सेपर्डले पुस्तक नै लेख्न भ्याएका छन् । ‘घोष्ट सिटिज अफ चाइना’ नामको किताबको परिचय खण्डमा उनले लेखेका छन्, ‘हिँड्दा आफैंले सास फेरेको सुन्छु, पक्की बाटोमा मेरो जुत्ताले टेक्दा निस्केको आवाज सुन्छु, बतास बहेको सुन्छु, अरु स–साना आवाज सबै सुन्छु । भूताहा सहरको मौनता विष्मयकारी लाग्छ ।’ मान्छे लगेर राख्नसम्म नसक्नेगरीको तीव्रतामा सहरीकरण गर्ने हतारो केका लागि ? सहरीकरणको लालसासँगै स्मार्ट सिटिजका गफ गरिरहेका हाम्रा विकासप्रेमी राजनीतिज्ञले यसबारे विमर्श गर्नु उपयुक्त हुन्थ्यो । रित्तिन थालेका पहाडी गाउँका दु:ख बुझेका हाम्रा सहरिया नेताले चीनबारे लेखिएका केही यस्ता सामग्री पढ्न जरुरी थियो ।

असाध्यै अप्ठ्यारो समयमा छोटो अवधिका लागि ग्रीसको अर्थमन्त्री बनेका विद्वान यानिस भारुफाकिस चिनियाँ अर्थतन्त्र र विदेश नीतिको आलोचना गर्दैनन् । अर्थमन्त्री छँदा लगानी सम्झौताका लागि चिनियाँहरूसँग संवाद थालनी गरेका उनले चिनियाँ प्रस्तावलाई सकारात्मक मानेका थिए ।

आफ्नो अनुभवका आधारमा चिनियाँ लगानीलाई उनले ‘पेसेन्ट इन्भेष्टमेन्ट’ अर्थात ‘धैर्यवान लगानी’ भनेका छन् । उनका अनुसार अलिकति लगानी गर्ने र त्यसैका बलमा धमाधम नाफा सोहरेर बाटो लाग्ने खालको व्यापारी मुलुक होइन चीन । भारुफाकिस नवउदारवादी आर्थिक नीति र त्यस्तो अर्थतन्त्र सम्बर्द्धन गर्ने राजनीतिको मुखर आलोचक हुन् । कार्ल मार्क्सका लेखनी अद्यापि सान्दर्भिक ठान्ने भारुफाकिसले लेखेका नवउदारवाद विरोधी किताबलाई नोम चोमस्की लगायत विद्वानले प्रशंसा गरेका छन् । नवउदारवादको उत्तिकै मुखर रूपमा आलोचना गर्ने अर्का मार्क्सवादी विद्वान डेभिड हार्भे आफ्नो एक पुस्तकमा चीनको अर्थतन्त्रबारे भन्छन्, ‘त्यो चिनियाँ विशेषता सहितको नवउदारवाद हो ।’ करिब ६ महिनाअघि रेकर्ड गरिएको नियमित भिडियो–प्रस्तुतिमा हार्भेले चीनबारे उस्तै संशय दोहोर्‍याएका छन् । आफूलाई समाजवादी अर्थात नवउदारवाद विरोधी ठान्ने नेपाली कमरेडहरूले वर्षौं पहिलेदेखि छिमेकी चीनबारे भएका यस्ता विमर्शको अध्ययन गर्दै वस्तुगत निष्कर्षमा पुग्ने यत्न गर्नु मनासिव हुन्थ्यो । हार्भे होउन् वा भारुफाकिस, आफूलाई मार्क्सवादी भन्नेले नजरअन्दाज गर्न मिल्ने विद्वान होइनन् यी ।

सन् २०१८ को नोभेम्बरमा नोम चोमस्की लगायत तीन दर्जन ख्यातिप्राप्त प्राज्ञले चीनमा आयोजना हुने मार्क्सवाद बारेका सम्मेलनमा सहभागी नहुने सार्वजनिक घोषणा गरे । दक्षिणी चीनको सेनझेनमा ज्यासिक टेक्नोलोजी कम्पनीका कामदारले गठन गर्न खोजेको मजदुर संगठनको समर्थनमा उत्रेका विश्वविद्यालयका विद्यार्थीलाई चीन सरकारले गरेको धरपकडको विरोधमा उनीहरूले त्यस्तो घोषणा गरेका थिए । बीस जनाभन्दा बढी विद्यार्थी र मजदुरलाई पक्राउ गरिएको खबर सार्वजनिक भएकाले चिनियाँ सरकारको विरोधमा विज्ञप्ति प्रकाशन गरेका हुन् । विरोध गर्नुको कारण खुलाउँदै चोमस्कीले लेखे, ‘सरकारी सहयोगमा आयोजना गरिने कार्यक्रममा सहभागी भइरहनु चिनियाँ सरकारको खेलमा आफूसमेत संलग्न हुनु हो । संसारभरका वामपन्थी प्राज्ञिकहरूले त्यस्ता कार्यक्रम बहिष्कार गर्नुपर्छ ।’

हरदम भूराजनीतिक सकसमा परिरहने नेकपा–सरकार यो समाचारबारे चनाखो भइरहनु आवश्यक नहोला । समाजवादी क्रान्तिमा होमिनुपर्ने जिरह गरिरहने नेकपा–बौद्धिकले भने चनाखो हुनु आवश्यक थियो । मजदुर युनियनको कुरै छोडौं, तिनलाई समर्थन गर्ने विद्यार्थीसमेत नसहने चीनले हिँड्न खोजेको समाजवादबारे गहिरो छलफल चलाउन चोमस्की लगायत विद्वानको विज्ञप्ति एउटा ठोस कारण बन्न सक्थ्यो । के पश्चिमा भएकै कारणले चिनियाँ सरकारले गरेको विद्यार्थी–पक्राउको विरोध गरेका हुन् उनले ? होइनन् भने यो घटना विमर्श सुरुवात गर्ने असल कारण बन्न सक्छ । ईश्वर पोख्रेलको स्कुलले नसके पनि पार्टीका विद्यार्थी वा प्राध्यापक संगठनहरू यस्ता विमर्शका थलो बन्न सक्थे । अरु सयौं महत्त्वका विषयमा यस्ता संगठनको नजर नपरे जस्तै यसमा नपर्नु कुनै अनौठो घटना भने होइन ।

माथि प्रस्तुत गरिएका तथ्य र घटना केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । कसैलाई यी कुनै पनि उदाहरणभन्दा ज्यादा महत्त्वपूर्ण विषय ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ लाग्न सक्छ । वा कोही विद्वानलाई ‘दुई ठूला अर्थतन्त्र बीचमा बसेर धनी बन्ने दौडमा नलाग्ने हो भने मुलुकको अस्तित्व नै संकटमा पर्न सक्छ’ भन्ने विषय सर्वाधिक महत्त्वको लाग्न सक्छ । नेपालको आमवृत्तमा बीआरआई सम्बन्धी पर्याप्त सूचनासमेत छैन, विमर्श टाढाको विषय हो । ‘दुई ढुंगाबीच चेप्टिएको तरुल’वाला देशका नागरिक भएका कारण उत्पन्न बेताबीयुक्त प्रश्न विमर्शयोग्य छ । अनेक जरुरी प्रश्नमा छलफल गर्ने ठाउँहरूमध्ये महत्त्वको मञ्च राजनीतिक दल नै हो । तर हाम्रा राजनीतिक दल विमर्श कम गर्छन्, ‘प्रशिक्षण’ ज्यादा चलाउँछन् । प्रशिक्षण भन्नु स्कुल विभागको संयोजनमा दुई–चार चुनिएका ठूला नेताको घन्टौंका भाषण हुन् । एकथरी ज्ञान–दान गरिरहन्छन्, अरु ‘भिक्षां–देही’ मुद्रामा हाई काढ्दै सुनिरहन्छन् । कुनै बेला चुट्किला प्रस्तुत भए वा विपक्षीलाई एक डोज गाली आए, श्रोतागण ताली बजाउँदै आफ्नै आलश्य भगाउँछन् । ती प्रशिक्षणहरूमा न कसैले चिनियाँ गैससको प्रश्न उठाउँछ, न कसैले हार्भे वा चोमस्कीको स्मरण गर्न सक्छ, न बीआरआईबारे सूचना माग गर्छ ।

गर्नैपर्ने अनेक छलफल भुलेर यसबीच नेकपा नेतृत्वले चिनियाँ पाहुनाबाट प्रशिक्षण शैलीमा सी–विचारधाराबारे प्रवचन सुन्यो । केही समयपछि सम्भवत: स्कुल विभागको संयोजनमा नेतृत्वले त्यसबारे ‘प्रशिक्षण’ सञ्चालन गर्दै आफ्ना कार्यकर्तालाई दीक्षित तुल्याउनेछ । नेकपाका यी गतिविधिप्रति धेरै सन्देह व्यक्त भएपछि केन्द्रीय नेता भन्न थालेका छन्, ‘यो कम्युनिष्ट भाइचाराको सवाल हो । हामी सबैका विचार सुन्छौं, तर जनताको जनवाद छोड्दैनौं ।’ कसैले जनताको जनवादको साटो मालेमावाद पनि भनेका छन् । नेकपाले सी–वादी बन्ने छाँट ल्याएपछि, कांग्रेस मोदीपन्थी हिन्दुत्ववादी बन्न सक्ने अनुमान गर्न थालिएको छ । सार्वजनिक रूपमा व्यक्त यस्ता सन्देह नेता र दलप्रतिको अविश्वासका संकेत हुन् । सूचनामा पहुँच राख्ने जनताको आत्मविश्वास खस्किएको अनुमान गर्न यति नै काफी छ ।

नेकपा नेतृत्वले दाबी गरे जस्तो सी–विचारधारा सामयिक सैद्धान्तिक विमर्श हुन्थ्यो भने कोही शंकास्पद भइरहनु पर्दैनथ्यो । तर चिनियाँ राष्ट्रपतिको आगमनको पूर्वसन्ध्यामा मञ्चन हुन थालेको तामझाम हेर्दा यस्तो लाग्छ, मानौं कुनै धनाढ्यको छेउ पर्दा मगन्तेले उसैको स्तुति गाउन सुरु गरेको होस् । वैचारिक विमर्शले आत्मविश्वास बढाउँछ, चाकरीले बँचेखुचेको आत्मबल सिध्याउँछ । आत्मविश्वास नभएका नेता र नागरिकले मुलुकको संकट दोब्बर बनाइदिन्छन् ।

प्रकाशित : आश्विन १०, २०७६ ०९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT