असर्फी फूलको आतंक

हुलाकी
उज्ज्वल प्रसाईं

यो नौगाम गाउँको कथा हो । गाउँ सन्त्रस्त छ, आकाशमा आतंकको छाया टाँगिएको छ । रात भनौँ वा दिन, भयग्रस्त गाउँलेका जीवनमा अँध्यारो मात्रै छ । गोली र बमको आवाज बाहेक अरु जीवन्त स्पन्दन कसैले महसुस गर्दैन यहाँ । विस्तारै एकपछि अर्को गर्दै गाउँलेहरू पुर्ख्यौली थातथलो छोडेर अन्यत्र हिँड्न थाल्छन् ।

अरुले छोडेर गए पनि गाउँका मुखियाले नौगाम छोड्दैनन् । उनका १९ वर्षीय छोरा बाबुसँगै बसिरहन्छन् । छोराका चार साथी हुन्छन् । चारमध्ये तीनजना राज्यको थिति बदल्ने कसम खाँदै विद्रोही बन्न कतै अलप हुन्छन् । बाँकी रहेका एक तन्नेरीलाई सेनाले आफ्नो कामदार बनाउँछ ।

‘आतंकवादी’ सिध्याउने योजनामा क्याम्प खडा गरेर बसेको सेनाले खासमा स्वयं गाउँलाई आतंकवादको किल्ला देखेको हुन्छ । तल खोँचमा यत्रतत्र छरिएका ‘आतंकवादी’का लासबाट परिचयपत्र एवं उनीहरूसँग भएका हतियार बटुलेर ल्याउने जिम्मा ती तन्नेरीको हुन्छ । प्रत्येक पटक लास छरिएको ठाउँमा पुग्दाआफ्ना तीन साथी भेटिएलान् भन्ने भयले ऊ लुगलुग काम्छ । लासहरू सड्न थालेका ठाउँमा फुलेका पहेँला असर्फी फूल हेर्दै ऊ परिचयपत्र र हतियार बोकेर क्याम्प फर्किन्छ ।

नौगाम जस्तै अर्को गाउँ हो— बाचुरा । एकातिर बस्ती छ, अर्कातिर सेनाको क्याम्प । त्यसबीच तरेली परेका डाँडा छन् । डाँडामा बदामका रुख छन् । प्रत्येक बिहान सेनाको एउटा टुकडीले बदामका रुख भएका डाँडामा छलिएर बन्दुक पड्काउने अभ्यास गर्छ । कृत्रिम निसाना बनाएर सयौँपटक गोली चलाउँछ । तामाका ती गोलीका खोका फायरिङ रेन्ज भएको डाँडाभन्दा तल उछिटिन्छन् ।

कहिलेकाहीँ सेनाले ग्रिनेड लन्चरजस्ता हतियारको अभ्यास पनि गर्छ । त्यस्तो बेला थोत्रा बस र जिपलाई सैनिकहरूले कृत्रिम निसानाका रूपमा प्रयोग गर्छन् । ग्रिनेड लन्चरको निसानामा परेका यी पत्रुका पुर्जा फुत्केर गोलीका खोकाजसरी नै तल खोँचतिर पुग्छन् ।

प्रत्येक दिन बन्दुक पड्केको आवाज बन्द भएपछि वा अभ्यास सकिएको संकेत पाएपछि गाउँका एक हुल केटाकेटी गोलीका खोका र पत्रुका पुर्जा बटुल्न फायरिङ रेञ्जको पुछारतिर दौडिन्छन् । फेला परेका पित्तलका खोका थुपार्दै जान्छन् । कबाडी फेला परेका दिनलाई उनीहरू ‘बडा दिन’ मान्छन् । महिनाभरि थुपारेका पित्तलका खोका नजिकैको भाँडा बनाउने कारखानामा बेच्छन् ।

कश्मीरी लेखक मिर्जा वाहिदले सन् २०११ मा प्रकाशित आफ्नो पहिलो उपन्यास ‘द कोल्याबोरेटर’मा नौगामको कथा लेखेका छन् । खासमा उनले गाउँको होइन, ती १९ वर्षे तन्नेरीको कथा लेखेका हुन् । यी तन्नेरीले उपन्यासभरि आफूले ९० को दशकमा भोगेको नौगामको कथा सम्झेका छन् । एक्लो र परित्यक्त मानिसले आफ्ना विगत ओल्टाई–पल्टाई गरेर समय कटनी गरेको भाकामा यो कथा भनिएको छ ।

एउटा कार्यक्रमका बेला कश्मीरी पाठकको उपस्थितिमा मिर्जा वाहिदले आफ्नो उपन्यास अंश पढ्दा एक पाठकले गला अवरुद्ध पारेर थप कथा नपढ्न उनलाई आग्रह गरेका थिए । सम्भवतः वाहिदको कथामा ती पाठकले आफैले भोगेको वा प्रत्यक्ष देखेको त्रासदीपूर्ण समय सम्झिए ।

हुनसक्छ, बिर्सिन खोजेका ती कहर थप सुन्ने हिम्मत उनमा रहेन । अर्थात् वाहिदले कल्पनाका स–साना पुतली जडेर लेखेको उपन्यास असलमा सधैँ शोकमग्न रहने कश्मीरको दुरुस्त चित्र हो ।

अप्रिल २०१८ को ‘क्याराभान’ म्यागेजिनमा कश्मीरी पत्रकार जुबैर सोफीले बाचुराका ती केटाकेटीका खबर लेखेका थिए, जो गोलीका खोका बटुल्ने उद्यममा लागेका छन् । तिनले खोका बटुल्ने र भाग लगाउने उद्यमलाई संगठित ढंगले सञ्चालन गरेका छन् ।

फेला परेका गोलीमा लुछाचुँडी नहोस् भन्न त्यहाँ जाने सबैले मान्नैपर्ने केही नियम बनाएका छन् । माथि डाँडाबाट सेनाको दृष्टि नपरोस् र कुनै शंका नहोस् भनेर उनीहरूले सतर्कता अपनाउने उपाय पनि तय गरेका छन् । धेरै थुपार्न सक्नेले एकै पटकमा चौध हजार रुपैयाँसम्म हात पार्छन् ।

कुनै पनि बेला आफैमाथि तेर्सिन सक्ने ती अभ्यासरतबन्दुकले फालेका खोकालाई उनीहरू आम्दानीको स्रोत बनाउँछन् । खतरा मोलेर गरेको त्यो आम्दानी हेर्दै मुस्कुराउँछन् । तिनलेबटुलेका गोलीका ती टुक्रा गालेर चिया उमाल्ने कित्ली र पानी खाने अम्खोरा बनाइन्छन् ।

नौगाम यथार्थसँग दुरुस्त मिल्ने पाकिस्तानको सीमामा रहेको कश्मीरी गाउँको नाम हो । काल्पनीक जस्तो प्रतीत हुने बाचुरा कहिलेकाहीँ समाचार सामग्री बन्ने जब्बर कश्मीरी यथार्थको अर्को नाम हो । नौगाम र बाचुराजस्ता गाउँले प्रतिनिधित्व गर्ने दुःखको समष्टि नै कश्मीर हो । जति एक्लो र परित्यक्त छ, त्यो नौगामको तन्नेरी, त्यति नै एक्लो र परित्यक्त छ, कश्मीर ।

आफ्नै लासमाथि फुलेको पहेँलो फूल हेरेर जीवनको अनुभूति गरिरहेको त्यो तन्नेरीको कथाभन्दा भिन्न छैन, जन्नत भनिने कश्मीरको कथा । मानौँ यति दुखिया र परित्यक्त बनाएर पुगेन, कश्मीरले भ्रम बराबर पाएको स्वायत्तता र विशेषाधिकार पनि धारा ३७० सँगै उखेलेर मिल्काइएको छ ।

त्यसका लागि भारतीय सत्ताले अहिले सिंगो कश्मीरलाई कारागारमा परिणत गरेको छ । अनाहकमा बन्दी बनाइएका कश्मीरीलाई बुढीऔँलो देखाएर गिज्याइरहेछन्, राष्ट्रवादीहरू । बन्धक कश्मीरी गिज्याउनेमा भारतका मात्र होइन, अन्यत्रका राष्ट्रवादीहरूसमेत लाम लागेका छन् ।

‘द कोल्याबोरेटर’ पछि वाहिदले अरु दुई उपन्यास लेखिसकेका छन् । पछिल्लो उपन्यासमा केही फरक विषयवस्तु उठाएका उनले दोस्रो उपन्यासमा कश्मीरी युवाका कथा दोहोर्‍याएका छन् । स्वतन्त्रताको आकांक्षाले ती युवालाई आफ्नो एकबारको जुनीमा कति भयानक खतरा मोल्ने मोडमा पुर्‍याउँछ भन्ने बुझ्न उनको ‘द बुक अफ गोल्ड लिभ्स’ले सहयोग गर्छ ।

उर्दु भाषाका सम्मानित कवि फैज अहमद फैजको झल्को दिने यस उपन्यासको पात्र फैज कागजका सुन्दर सामग्री बनाउने कलाकार हुन्छ । कला र सौन्दर्यको उपासक यो प्रेमी युवाका खिरिला औँला अन्ततः बन्दुक समाउन र बम बनाउन उद्यत हुन खोज्छन् ।

भूराजनीतिक पाण्डित्याइँमा संवेदनाको कति महत्त्व हुन्छ, थाहा छैन । उपन्यासमा वर्णित यथार्थको कति हिसाब गरिन्छ, भन्न सक्दिन । तर त्यस्तो पाण्डित्याइँमा प्रस्ट देख्न सकिने भनेको राष्ट्रवादको नाममा व्यक्त गरिने ‘अन्य घृणा’ हो । किञ्चित् छद्म भाषामा भूराजनीति छाँटिएको रहेछ भने भौगोलिक अखण्डताको गीतमा उही ‘अन्य घृणा’को अन्तरा लुकेको हुन्छ । स्वतन्त्रता र स्वायत्तताको आकांक्षा राख्ने फैजहरूप्रतिको घृणा हो त्यो ।

गोलीका खोका बटुल्ने ती साना केटाकेटीप्रतिको वैरभाव हो त्यो । नेपाली सत्तावृत्तका भूराजनीतिक पण्डितहरूले कश्मीरबारे लेख्ने र बोल्ने बेलामा अखण्डताकै गीत गाए, बाचुरा र नौगाम सम्झने लेठो गरेनन् । बरु एकातिर मधेसी प्रतिरोधको छायाले तर्संदै, अर्कातिर हिन्दु–राष्ट्रवादको फेरो समाउँदै उनीहरूले फैजजस्ता पात्रप्रति घृणा नै प्रस्तुत गरे ।
सत्ताको सुमेरु घुमिरहेका अन्तर्राष्ट्रिय सम्बन्धका नेपाली बुझक्कडले सके मिर्जा वाहिदलाई लेखक नै मान्दैनन् ।

सके जुबैर सोफीको खबरलाई कुनै महत्त्वको खबरै ठान्दैनन् । उनीहरूका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साहस र गृहमन्त्री अमित शाहको चतुर्‍याइँ सबैभन्दा ठूलो महत्त्वको विषय हो । तिनका पाण्डित्याइँ सुन्दा लाग्छ, हाम्रा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाबादलले समेत उस्तै साहस प्रदर्शन गरून् भन्ने ती चाहन्छन् ।

राष्ट्रवादको उस्तै गीत गाऊन् र समृद्धि वा अखण्डताको नाममा ‘अन्य घृणा’को त्यही खेती यहाँ पनि दोहोर्‍याऊन् भन्ने आकांक्षा राख्छन् । कारण, लासमा फुलेका पहेँला फूललाई असली असर्फी सम्झेर यी मनमनै रमाउँछन् ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

गोसाइँकुण्डमा तामाङको तीर्थाटन

अमित तामाङ

जनै पूर्णिमाको तिथि हिन्दु धर्मावलम्बीका लागिमात्र नभई बौद्धमार्गी तामाङहरूलाई पनि महत्त्वपूर्ण मानिन्छ । हरेक वर्ष यही पूर्णिमा (गोनेङ्ह्या) का दिन तामाङहरूमाझ ‘छो कार’ (सेतो ताल) को नामले परिचित रसुवाको गोसाइँकुण्डमा तामाङहरू ‘छो कार छोपा’ गर्छन्, जसको नेपालीमा अर्थ हुन्छ— सेतो तालमा गरिने पूजा ।

यस लेखमा रसुवा र आसपासका तामाङहरूमा ‘छो कार छोपा’ को महत्त्व, यससँग सम्बन्धित किंवदन्ती र तामाङ सामुहिकताबारे चर्चा गरिनेछ ।

‘छो ना’ (कालो ताल) अर्थात् भैरवकुण्ड र ‘छो कार’ (सेतो ताल अर्थात् गोसाइँकुण्ड) सम्बन्धित किंवदन्तीहरूले तामाङको इतिहास, सो समाजभित्रका उपजाति/थरहरू बीचको सम्बन्ध र थातथलोसँगको सम्बन्धलाई प्रस्ट्याउँछ । श्रावण गोनेङ्ह्यामा महिनाभरिको साधनाबाट देवताहरू बाहिर निस्कने हुँदा यो दिन गोसाइँकुण्डमा तीर्थ गर्दा फलदायी हुने विश्वास गरिन्छ ।

बालबालिकाको सुस्वास्थ्य, प्राकृतिक विपत्ति नियन्त्रण भलाइ र श्रीसम्पत्तिका लागि मात्र गोसाइँकुण्डमा तीर्थाटन हुँदैन । यसले अनुयायीको संख्याका आधारमा बोम्बोको शक्ति प्रदर्शन पनि गर्छ । पर्वको समापनपछि मन मिलेमा जवान जोडीलाई विवाहमा बाँधिन पनि अवसर दिन्छ ।

तामाङ समुदायमा बोम्बोहरू नाख्लेमाहङ अर्थात् दुष्ट आत्माहरूलाई मन्छाउने कार्य गर्दैनन् । मानवशास्त्री होल्मबर्गका अनुसार, यो कार्य लाम्बुहरूबाट हुन्छ । बोम्बोहरूले अनुष्ठानका क्रममा दैविक शक्तिहरूसँग सम्पर्क गरेर, उनीहरूलाई ढ्यांग्रोको ध्वनिमाझ धूपको सुगन्ध र अरु सामग्रीले खुसी बनाएर पृथ्वीलोकका तामाङहरूलाई समृद्ध र खुसी जीवन दिलाउन ‘हिलर’ र मध्यस्थकर्ताको भूमिका खेल्छन् ।

पृथ्वी र आकाशको बीचमा बस्ने दैवी ‘छेन’ ले मानिससँग विवाह गरेको तर खुसी नभएर पुनः यथास्थान फर्किएको किंवदन्ती छ । ‘छेन’ लाई सर्दाम नदिँदा महिलाहरूमा रजस्वला चक्रमा गडबडी, बाँझोपनको समस्या र पुरुषहरूमा दृष्टिविहीनताको समस्या आउन सक्ने हुँदा बोम्बोले गर्ने अनुष्ठानमा ढ्यांग्रोको आवाजसहित ‘छेन’ लाई खुसी पार्नु अनिवार्य हुन्छ । यसैले पनि ‘छो कार छोपा’ को अनुष्ठान महत्त्वपूर्ण अंश मानिन्छ ।

विभिन्न इथ्नोग्राफीमा उल्लेख भए अनुसार, तामाङ बोम्बोहरू महादेवलाई फो ल्हा (संरक्षक) मान्छन् । त्यसैले बोम्बोहरू तीर्थाटनका क्रममा त्रिशूल र महादेवको शिलाको मूर्ति (शेल युङ्बा) साथै बोक्छन् । किंवदन्ती अनुसार, वायुमा सवार गर्दैगर्दा भगवान्ले ‘छो कार’ बीच अवलोकितेश्वोर (महादेव) लाई देखे ।

महादेवका चार शिर चार दिशामा फैलेका हुन्छन्, जसमा पूर्वपट्टिले उज्यालो, पश्चिम पट्टिकोले अँध्यारो, उत्तरतर्फको हात्तीको आकृतिले तिब्बत र बौद्ध दर्शन तथा दक्षिणतर्फको बँदेलले विष्णुलाई इंगित गर्ने ठम्याइ छ । यसरी एउटै स्थान र भगवानबारे हिन्दु र बोम्बोमा आआफ्नै व्याख्या र बुझाइ रहेको भेटिन्छ ।

गोनेङ्ह्याको दिन कुण्ड पुग्नेगरी रसुवा वरिपरिका जिल्लाबाट पनि बोम्बोको नेतृत्वमा तामाङहरू विशेष भेषभूषामा ढ्यांग्रो र पूजा सामग्रीसाथ निस्कन्छन् । समुद्री सतहबाट चार हजार मिटरभन्दा माथिको उचाइमा तीर्थाटन गर्नुपरे पनि शक्तिशाली बोम्बोहरूका साथ लागेर जाने तीर्थालुलाई लेक नलाग्ने जनविश्वास छ ।

ग्याएब्रिएली तुत्स्यले ‘हिमालयन माउन्टेन कल्ट्स’ पुस्तकमा उल्लेख गरे अनुसार, धुन्चे, बार्खु, स्याब्रु र यार्साका तामाङहरूले गुठीमार्फत तीर्थालुहरूलाई बसोबास र खानपिनको व्यवस्था मिलाउने गर्छन् । बोम्बोले आफ्नै घरमा अघिल्लो रात महादेव, माफुङ (सात देवी आमा), ह्युला (गाउँ देव), सिब्दा (जमिन पति) र फो ल्हा (वंशावली देव) लाई फोब्राङ (पूजा थान) मा बोलाएर धुपीको पातले साङ (धूप बाल्नु) गरेसँगै तामाङहरूको तीर्थाटनको सुरु हुन्छ ।

जनविश्वास अनुसार, बालबालिका बिरामी हुनुका कारण हो— सातवटा सातो (ब्ला) मध्ये कुनै एउटा गोसाइँकुण्डमा रहेको माफुङमा गई बसेको हुनु । तसर्थ ‘छो कार छोपा’ को एउटा उद्देश्य सात आमाहरू (माफुङ) लाई खुसी बनाई बालबालिकाका सातवटै ब्लालाई उनीहरूमै राखी स्वस्थ बनाउनु पनि हो । यसकारण बोम्बोले ‘छो कार’ तर्फको यात्रा सुरु गर्नुअघि सातजना माफुङको प्रतिमास्वरूप सातवटा कलशलाई विभिन्न रङ्गका फूलले सिंगारेर फोब्राङमा राखी तामा या काठको करुवा (छेने) मा राखिने शेल युङ्बा (महादेवको प्रतिमा) सहित धुपीले साङ गर्दै अनुष्ठान गर्छन् ।

छेनेमा ‘शेल युङ्बा’ सँग ढुंगे चक्कु, काठको चक्कु, मर्चा र फुर्पा (रीतिमा प्रयोग हुने चक्कु) पनि राख्ने गरिन्छ । साङ अबेर रातिसम्म चल्छ र बोम्बोहरू समाधिमा लीन हुन्छन् । भोलिपल्ट छेनेमा मकै, दीयो, तेल र रक्सी थपेर बोम्बोले सहयोगीलाई दिन्छन् र ढ्यांग्रो बजाउँदै ‘छो कार’ तर्फ लम्कन्छन् । फुर्पा भएको भाँडो भने अविवाहित युवतीले बोक्ने चलन छ ।

छो कारको यात्राबीच पर्ने गुम्बा र धार्मिक स्थानहरूमा बोम्बोहरूले पूजा गर्ने गर्छन् । किंवदन्ती अनुसार, धर्मरक्षक राक्षसी सुङ्माबाट ‘छेन’ लुकेको स्थानमा धामीले भेँडाको बलि दिने चलन छ । ‘छो कार’ मा आइपुगेपछि बोम्बोले ढ्यांग्रो बजाउँदै शिव मन्दिर परिक्रमा गर्छन् । तिनका अनुयायीहरू पूजा सामग्रीसहित थानमा जान्छन् भने अन्य तामाङ महिला–पुरुष गोलो घेरा बनाएर ‘सेसे बोम्बो से’ र ‘ह्यो बोम्बो ह्यो’ गाउँदै नाच्ने गर्छन् । अन्य गाउँबाट आएका तामाङहरू थपिएपछि नाचगान टोली झन् बृहत हुन्छ ।

ग्याएब्रिएली तुत्स्यका अनुसार, कर्मापा लामाका सन्ततिको हैसियतले पूजा गर्ने बौद्धमार्गी पुजारीलाई तामाङको ‘थोकर’ उपजाति/थर मानिन्छ । ‘थोकर’ को पुर्खाका चार नातिहरूले स्याब्रु, दिमरे, लाङटाङ, यारसा र हेलम्बुको मेलाम्छिम (मेलम्ची) मा बसोबास गरेको र यीमध्ये एक ‘छो कार छोपा’ हेरिसकेपछि बार्खुमै बसेकाथिए । मानवशास्त्री क्याम्बेलले उल्लेख गरे अनुसार बार्खु कुनै समय एउटा राजनीतिक केन्द्र थियो ।

‘छो कार छोपा’ यस्तो अनुष्ठान हो, जसमा ‘गोले’ थरका बोम्बोहरूले भाग लिँदैनन् । गोले बोम्बो सहभागी भए अनिष्ट हुने आम बुझाइ छ । एक किंवदन्ती अनुसार, ‘छो ना’ (कालो ताल, जुन लौरेबिना कटेपछि गोसाइँकुण्ड पुग्नु अघि पर्छ) मा गोले बोम्बोले सर्पसँग मणि लिने प्रयास गर्दैगर्दा उनको सहयोगीले भयभीत भएर बीचमै ढ्यांग्रो बजाउन छोडे ।

फलस्वरूप बोम्बोको शक्ति कम भयो र सर्पहरूले बोम्बोको रगतले कुण्ड नै रातो बनाए । पछि त्यो कुण्ड कालो बन्यो । यस किंवदन्तीले एकातर्फ तामाङहरूमा गोलेहरूको शक्ति कमजोर हुँदै गएको ऐतिहासिक पक्षलाई दर्शाउँछ भने अर्कातर्फ बोम्बोहरूको अनुष्ठानमा ढ्यांग्रोको महत्त्वलाई पनि उजागर गर्छ ।

अन्य बौद्धिक किंवदन्तीले ‘छो ना’ (नागकुण्ड) र ‘छो कार’ (गोसाइँकुण्ड) दाजुभाइ रहेको तर अनुष्ठानको दुरुपयोगले गर्दा नागकुण्ड गोसाइँकुण्डभन्दा कम उचाइमा भएको बताउँछन् । त्यस्तै, कर्मपा लामालाई मल्ल राजाले गुठी दिएका सम्बन्धमा पनि किंवदन्तीहरू छन्, जसले एकातर्फ लामा, लाम्बु (धामी) र बोम्बो बीचको शक्ति र प्रभाव खुलाउँछन् भने अर्कातर्फ तामाङ पुर्खाहरूको बसोबासको तरिका, आपसको सम्बन्ध, फरक थर निर्माणको विरोधाभास औंल्याउँछन् ।

यसले तामाङको बसोबास क्षेत्रका डाँडा, पहाड, ताल र अन्य धेरै पर्यावरणीय तत्त्वलाई पवित्र र अलौकिक बनाउन बोम्बोहरूको ठूलो भूमिका रहेको पनि देखाउँछ । गोनेङ्ह्या (पूर्णिमा) को दिन गरिने ‘छो कार छोपा’मा देखिने तामाङहरूको सामूहिकताले बोम्बोको अनुष्ठानलाई झन्बलियो पार्छ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्