सम्झनामा भीमबहादुर

मंसिर १६, २०७४

शुकदेव काफ्ले

काठमाडौं — नेपाली राजनीतिमा धनवाद र डनवाद निर्णायक भएको परिस्थितिमा त्याग, तपस्या, योगदान, इमानदारी एवं सिद्धान्तप्रतिको निष्ठा र समर्पणको चर्चा गर्नु असान्दर्भिक लाग्न सक्छ तर पनि नेपालको लोकतान्त्रिक आन्दोलनमा अविचलित किसिमले असाधारण योगदान पुर्‍याउने व्यक्तित्वहरूको अहं भूमिकाकै कारण पछिल्ला परिवर्तन सम्भव भएका हुन् ।

२००७ देखि २०६२/२०६३ सम्मको राजनीतिक इतिहासलाई केलाउँदा केही यस्ता सत्पात्र देखिन्छन्, जसले परिवर्तन र अग्रगमनको आन्दोलनलाई जीवन्तता प्रदान गरेका छन् । कुनै न कुनै रूपमा त्यस्ता महान् व्यक्तित्वहरूलाई देखाएर नेपाली राजनीति आजसम्म चल्दै आएको छ । तिनैमध्येका एक थिए नेपाली कांग्रेसका नेता, निष्ठा र आर्दशका प्रतिनिधि भीमबहादुर तामाङ ।

सादा जीवन, उच्च विचार तामाङको मौलिक विशेषता नै थियो । सबैले भुल्न नसक्ने अति साधारण जीवनशैलीकै कारण तामाङ आफ्नो जीवनको उत्तराद्र्धमा सबैको प्रेरणा र उदाहरणका पात्र बन्न सके । प्रजातान्त्रिक शासन व्यवस्था प्राप्तिका लागि लडेका तमाम व्यक्तिहरूले आफ्नो उद्देश्य र लक्ष्यलाई व्यवहारमा उतार्न नसेकेको तीतो महसुस भइरहेको क्षणमा तामाङले सँगसँगै इमानदारी, त्याग, निष्ठा एवं साधारण जीवनशैली नेपाली समाजमा प्रस्तुत गरेर पार्टीभित्र र बाहिर अनुकरणीय व्यक्तित्वका रूपमा आफूलाई स्थापित नै गरेका थिए । फरक विचार राख्नेहरूले आफ्नो पार्टी बैठकमा समेत तामाङको इमानदारी, सरलता र निष्ठाको चर्चा गरेर बढ्दो सुविधाभोगी जीवनशैलीमा परिवर्तन हुनुपर्ने प्रतिवेदन नै पेस गरेका थिए । २०६२/६३ को आन्दोलनपश्चात् विकसित भएको जातीय राज्यका नाममा विभिन्न जातजातिका बीचमा बढ्दै गएको एक प्रकारको मनोवैज्ञानिक दूरीलाई कम गर्न तामाङको 
नेतृत्वमा बनेको समितिले प्रस्तुत गरेको पहिचान भेटिने जातीय द्वन्द्व मेटिने प्रतिवेदनले दलहरूलाई ठूलो राहत मिलेको थियो । 
तामाङ समुदायको व्यक्ति भएर जनजातिको मात्र हितमा नबोलेको आरोप खेपेका तामाङले आफू तामाङको मात्र नभएर समग्र देशको उत्थान र विकासका लागि राजनीतिमा होमिएको जवाफ दिएका थिए, जसले तामाङको व्यक्तित्वलाई अझ माथि उठाएको थियो । राजनीतिक रूपमा दलभित्र र बाहिरका प्रतिस्पर्धीहरू भीमबहादुरको सरलता, निष्ठा र इमानदारीका अगाडि नतमस्तक नै हुन्थे । एकछिन घोत्लिएर सोच्थे कि जीवन त भीमबहादुर तामाङकै हो भन्ने बुझाइ हरकोही व्यक्तिको मनमस्तिष्कमा स्थापित गर्न उनी सफल भएका थिए । यसले गर्दा तामाङको जीवन र सादगीपन धेरैका लागि प्रेरणादायी बन्न सकेको हो । उनको निधन भएको ५ वर्ष भए पनि यस विषयमा छलफल चलिरहेकै छ । 
आधुनिक र स्वतन्त्र देशका रूपमा नेपाललाई विकसित गर्नुपर्ने चिन्तन र दृष्टिकोण राख्ने तामाङ राजनीतिक परिवर्तनपश्चात् राजनीतिक दल र यसको नेतृत्वमा आएको विचलन, सुविधायोगी जीवनशैली, बढ्दो विकृति र विसंगतिप्रति गहिरो चिन्ता व्यक्त गर्ने गर्थे । जबसम्म नेतृत्वले आफूलाई सच्याउँदैन र इमानदार बन्दैन, तबसम्म गलत तत्त्वहरू सत्तामा हावी भइरहन्छन् । स्पष्ट दृष्टिकोण नभएको अवसरवादी नेतृत्वलाई अन्य शक्तिकेन्द्रले पनि सजिलो ढंगले प्रयोग गर्न सक्छ । आफ्नो देशको मौलिक विशेषता नबुझ्ने र सत्ताका लागि जुनसुकै सम्झौता गर्न तयार हुने नेतृत्वले नेपालको सार्वभौमिकता र अखण्डतामा समेत आँच पुर्‍याउन सक्छ । 
नेपालको भूराजनीतिक जटिलता र संवेदनशीलता बुझ्न थोरै मात्र कमी भए देशको अस्तित्वमाथिकै संकट आउँछ । त्यसकारणले पनि भारत र चीनसँगको सम्बन्ध निर्धारण गर्दा सदैव सन्तुलित हुनु अनिवार्य छ भन्ने तामाङको स्पष्ट अवधारणा थियो । थोरै मात्र असन्तुलन देखिएमा नेपालबाट हुन सक्ने सुरक्षा संवेदनशीलताको बहानामा चीन र भारत मात्र होइन, तेस्रो विश्वले पनि आफ्नो उपस्थिति नेपालमा देखाउन खोज्छ, यसका प्रति सबैभन्दा बढी सचेत राजनीतिक नेतृत्व हुनुपर्छ त्यसमा पनि ऐतिहासिक जिम्मेवारी र पहलकदमी लिएका कारण नेपाली कांग्रेसको नेतृत्व दूरदर्शी हुनु अति आवश्यक छ भन्ने भीमबहादुर तामाङको दृष्टिकोण रहेको थियो तर राजनीतिक नेतृत्व गम्भीर, इमानदार र सवंदेनशील देखिएन । कहिले भारतसँग नजिक त कहिले चीनसँग नजिक हुने व्यवहारका कारण पञ्चायती व्यवस्था समाप्त भएको थियो । नेपालको राजसंस्थासमेत सन्तुलित सम्बन्ध राख्न नसक्दा समाप्त भएको दृष्टान्त हाम्रासामु छ । यस्तै रवैया दलहरूले पनि देखाएका छन् । भारत र चीनसँगको सम्बन्ध सन्तुलित एवं समदूरीको नभएका कारण देश अस्थिर बन्न सक्ने सम्भावना देखिन थालेको छ । 
अर्कोतर्फ संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ को व्यवस्थाबमोजिम स्थानीय सरकारको गठन भएको छ र प्रादेशिक सरकार र संघीय सरकार बनाउनका लागि एउटा चरणको निर्वाचन सम्पन्न भई अर्को चरणको निर्वाचनको संघारमा हामी उभिएका छौँ । चाहे, स्थानीय सरकारको निर्वाचनमा होस्, चाहे प्रदेश र संघको निर्वाचन, दलहरूले छनोट गरेका उम्मेदवार हुन् या निर्वाचनमा भएको खर्च र भद्दा एवं अवसरवादी चरित्र नै किन नहोस्, यसले नेपालको लोकतान्त्रिक भविष्यलाई सुरक्षित एवं सुनिश्चित गर्न सहयोग पुर्‍याउने देखिँदैन । झन्झन् विकृति, विसंगति, भ्रष्टाचार, डनवाद एवं धनवाद मौलाएको अराजक दण्डहीनताको अवस्था सबल भएको देखिन्छ जुन कुराको विरुद्ध तामाङ र तामाङजस्ता प्रखर लोकतान्त्रिकहरू आवाज उठाउँथे । आजकल त न आवाज सुनिन्छ न त आवाजकै कदर हुन्छ । हरेक निर्णय र छनोटमा पैसालाई पहिलो प्राथमिकतामा राखिन्छ । राजनीतिक दलले दिने उम्मेदवारीदेखि प्रशासनिक निकायहरूमा गरिने नियुक्तिसम्म पैसै निर्णायक भएको सुन्न, देख्न न हेर्न पाइएको छ । यसले लोकतन्त्रको अभ्यासलाई विकृत र बदनाम बनाएको छ ।
चौतर्फी विरोध हुँदाहुँदै पनि नेतृत्वले आफूलाई सच्याएको छैन, सच्याउन आवश्यक देखेको छैन । विकृतिको आहालमा डुबेको छ । अवसरवादी चरित्रलाई सगौरव स्वीकार गरेको छ, ग्रहण गरेको छ । थोरै पनि लोकलाज छैन । दम्भ र अहंकार देखाएर आम जनतालाई रैती र दासको जस्तो व्यवहार गरेको छ । हामी जे गर्छांै, त्यो मान्न तिमी तयार हुनुपर्छ भन्ने अहंबाट राजनीतिक नेतृत्व ग्रसित र निर्देशित छ । स्वर्गीय भीमबहादुर तामाङ निरंकुश व्यवस्थामा पनि त्यही विकृति र विसंगतिविरुद्ध लडे पछिल्लो कालखण्डमा पनि लडेका थिए तर त्यो विकृति अझ बढी सशक्त र जड भएर फस्टाएको छ । तामाङ र तामाङजस्ता तमाम लोकतान्त्रिक योद्धाप्रति साँचो श्रद्धा व्यक्त गर्न ज्यादै बलियो र मोटो भएको अराजकता, भ्रष्टाचार, अवसरवाद तथा डनवाद र धनवादका विरुद्ध जुरुक्क उठ्न अति आवश्यक भइसकेको छ । त्यसले मात्र निष्ठावान् व्यक्तिहरूको आत्माले शान्ति प्राप्त गर्न सक्छ । 

शुकदेव

Link copied successfully