पेट्रोलियमको खोजी र सम्भावना

काठमाडौं — प्राकृतिक रूपमा पृथ्वीको गर्भभित्र निर्माण हुने कच्चा पेट्रोलियम पदार्थ जैविक वा अजैविक कुन स्रोत/प्रक्रियाबाट बन्छ भन्नेमा अनुसन्धानकर्ताहरूको फरक धारणा छ । व्यापारिक दृष्टिकोणले लाभदायक मानिने ठूलाठूला कच्चा तेल तथा ग्यासका भण्डारहरू जैविक प्रक्रियाको उपज हुन् भन्नेमा अधिकांश वैज्ञानिकको मतैक्यता पाइन्छ ।

पेट्रोलियमको खोजी र सम्भावना

हालसम्म स्थापित मान्यताका आधारमा पेट्रोलियम पदार्थ (कच्चा तेल तथा ग्यास) बन्न आवश्यक प्रमुख स्रोत प्राणी र वनस्पति हुन् । पृथ्वीको सतहमा रहेका गहिरा भागहरू विशेषगरी समुद्री भूभागमा खोलानाला तथा नदीहरूले बगाएर ल्याएका जैविक पदार्थहरू सहितका माटो, बालुवाजस्ता स—साना कणहरू संकलन भई थुप्रने गर्छन् । समुद्री सूक्ष्म जीवाणुहरूले यसरी संकलन भएका र समुद्री वातावरणमा उपलब्ध जैविक पदार्थहरूलाई थप टुक्र्याउने र गलाउने कार्यमा सहयोग पुर्‍याउँछन् । 

विभिन्न माध्यमबाट प्राप्त अन्य पदार्थहरू सहितको जैविक पदार्थहरू संकलित हुने र पुरिँदै जाने क्रम एउटा नियमित प्राकृतिक प्रक्रिया भएकाले यस्तो क्रम लामो समयसम्म (लाखौं/करोडौं वर्ष) चल्दै जान्छ । पृथ्वीको सतहभित्र निश्चित गहिराइमा पुरिएर बनेका चट्टानमा संकलित जैविक पदार्थ अनुकूल वातावरण (५० देखि १७५ डिग्री सेल्सियस तापक्रम) मा जैविक तथा रासायनिक प्रतिक्रियास्वरूप पेट्रोलियम पदार्थमा परिणत हुनजान्छ । जैविक पदार्थहरू संकलन भई पेट्रोलियम पदार्थमा परिणत गराउने चट्टानलाई स्रोत चट्टान भनिन्छ । स्रोत चट्टानमा बनेको पेट्रोलियम पदार्थ (तेल वा ग्यास) को हलुका गुणका कारण उचित बहावको माध्यमबाट अन्यत्र बगेर वा उडेर जान सक्छ । पृथ्वीको गर्भभित्रको स्रोत चट्टानमा बनेको पेट्रोलियम पदार्थ स्थानान्तरण भएर जाँदा त्यसलाई थुनेर राख्नसक्ने गुणयुक्त ढकनी वा आवरण चट्टान पाएमा मात्र संरक्षित हुन्छ । अन्यथा यसको हलुका भौतिक गुणका कारण उडेर वा बगेर खेर जान्छ । 

पेट्रोलियमको सम्भावना 
कुनै पनि स्थानमा पेट्रोलियम भण्डारको सम्भाब्यता अध्ययन गर्दा त्यस क्षेत्रको प्रागऐतिहासिक, भौगर्भिक तथा वातावरणीय अवस्थितिबारे लेखाजोखा हुनु जरुरी हुन्छ । अर्को शब्दमा भन्नुपर्दा सम्बन्धित क्षेत्रमा प्राकृतिक रूपमा कच्चा पेट्रोलियम बन्नसक्ने वातावरण थियो वा थिएन, यकिन गर्नुपर्ने हुन्छ । नेपालमा पेट्रोलियम बन्नसक्ने वातावरणको लेखाजोखा गर्ने क्रममा यस सम्पूर्ण हिमालय क्षेत्रको भौगर्भिक इतिहास तथा भौगोलिक अवस्थितिको अध्ययन एवं मूल्याङ्कन अपरिहार्य हुनआउँछ । यस सन्दर्भमा, हालसम्म भएका भौगर्भिक अध्ययन तथा अनुसन्धानका आधारमा करिब ५ करोड वर्ष अघिसम्म भारतीय भूखण्ड र एसियन भूखण्ड बीचमा रहेको हालको नेपाल तथा सम्पूर्ण हिमालय क्षेत्रले ओगटेको स्थानमा टेथिस नामको सागर रहेको विश्वास गरिन्छ ।

टेथिस सागरले ओगटेका विभिन्न स्थानहरूमा ठूला—ठूला सेडिमेन्टरी बेसिनहरू (ढुङ्गा, माटो, मृत प्राणी तथा वनस्पति र अन्य वस्तु थुप्रने गहिरो क्षेत्र) विकसित भई पेट्रोलियम बन्न अनुकूल वातावरण सिर्जना भएको विश्वास छ । विगतमा अस्तित्वमा रहेका यस्ता बेसिनहरू वर्तमानका पेट्रोलियम अन्वेषणका लागि लक्षित स्थानहरूमा पर्छन् । नेपालको पूर्वतिर अवस्थित भारतको आसाम र पश्चिमतिर पाकिस्तानको पोतवार भौगर्भिक इतिहास बोकेका बेसिनहरू हुन्, जहाँ तेल तथा ग्यासका भण्डारहरू पाइएका छन् । आसाम र पोतवार बेसिनसँग मिल्दोजुल्दो भौगर्भिक बनावट भएको गङ्गा बेसिनको भूभाग नेपालको तराई र चुरे क्षेत्रमा पनि पर्ने भएकाले र हालसम्म भएका विभिन्न अध्ययन, अनुसन्धानले यस क्षेत्रमा तेल तथा ग्यास पाइने सम्भावना देखाउँछ ।

विभिन्न दातृ निकायको सहयोग र नेपाल सरकारको सक्रियतामा विगतमा भएका भौगर्भिक अध्ययनबाट पेट्रोलियम बन्नसक्ने स्रोत चट्टान, त्यसलाई भण्डारण गर्नसक्ने भण्डार चट्टान र बगेर वा उडेर खेर जान नदिने ढकनी चट्टान नेपालमा पाइएको छ । साथै विभिन्न समयमा समग्र तराई तथा चुरे क्षेत्र समेट्नेगरी सञ्चालित भू—भौतिक सर्वेक्षणले यस क्षेत्रको सतहमुनि कच्चा पेट्रोलियमलाई भण्डारण गरी सुरक्षित राख्न आवश्यक पर्ने भौगर्भिक संरचना पनि रहेको पुष्टि गरेको छ ।

दैलेखको पादुकास्थान, श्रीस्थान, नाभिस्थान र आसपासका क्षेत्रमा करिब १४ किमिको दूरीमा ४५ वटा ग्यास चुहावट स्थलहरू भेटिनुले नेपालमा पेट्रोलियम भण्डारको सम्भावनालाई थप बल प्रदान गरेको छ । हालसम्म भएका प्रयासहरूबाट नेपालमा पेट्रोलियमको भण्डार हुनसक्ने प्रबल सम्भावना देखिए पनि विस्तृत भौगर्भिक, भूरासायनिक र भूभौतिक अध्ययनपश्चात मात्र सम्पूर्ण रूपमा पुष्टि हुनसक्छ । नेपालको भूपरिवेष्टित अवस्थिति, विकट भौगोलिक बनावट, विषयसँग सम्बन्धित उच्च प्रविधि र दक्ष जनशक्तिको अभाव लगायत कारण यहाँ हुने अन्वेषणको कार्य तुलनात्मक दृष्टिकोणले जटिल तथा महँगो हुन्छ । 

अन्वेषणको विगत र वर्तमान
विश्व बैंकको सहयोगमा २०३५—०३६ सालतिर नेपालको पूर्वदेखि पश्चिमसम्म तराई र चुरे क्षेत्र समेट्नेगरी करिब ४८ हजार वर्गकिमि क्षेत्रमा पेट्रोलियम पदार्थको हवाइ चुम्बकीय सर्वेक्षण गरिएको थियो । त्यस अध्ययनबाट उत्साहजनक नतिजा प्राप्त भएकाले नेपालमा पेट्रोलियम प्रबद्र्धन तथा नियमन गर्ने उद्देश्यले २०३९ सालमा ‘पेट्रोलियम अन्वेषण प्रबद्र्धन परियोजना’ स्थापना गरियो । त्यसपछि पेट्रोलियमको सम्भावना मानिएका तराई र चुरेका भूभागलाई पूर्वदेखि पश्चिमसम्म दस अन्वेषण खण्डमा विभाजन गरियो । त्यसै सन्दर्भमा सरकारले ‘नेपाल पेट्रोलियम ऐन, २०४०’ र ‘पेट्रोलियम नियमावली, २०४१’ जारी गर्‍यो । 

परियोजनाको पहलमा हालसम्म तराई तथा चुरेको सम्पूर्ण क्षेत्रलाई समेट्नेगरी करिब ६० हजार वर्गकिमि फोटो जियोलोजिकल अध्ययन, विगतमा विभिन्न समयमा सम्भावित क्षेत्रहरूको समग्र मूल्याङ्कनका लागि सञ्चालित भौगर्भिक, भूरासायनिक र भूभौतिक अध्ययनहरूबाट प्राप्त तथ्याङ्कहरूले नेपालमा पेट्रोलियम पाइने सम्भावनालाई थप आधारहरू प्रस्तुत गरेका थिए । पेट्रोलियमको अन्वेषण, विकास र उत्पादनमा लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय तेल तथा ग्यास कम्पनीहरूलाई हालसम्म भएका अध्ययन तथा अनुसन्धानका सूचना, तथ्याङ्क तथा प्रारम्भिक विश्लेषण सहितका प्रतिवेदन संलग्न भएका २१ वटा डाटा प्याकेजहरू उपलब्ध गराउन परियोजना अन्तर्गत छुट्टै तथ्याङ्क केन्द्र पनि खडा गरियो । 

त्यही क्रममा अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट तेल तथा ग्यास कम्पनीहरूलाई नेपालमा लगानीका लागि आह्वान गरियो । नेपाल सरकारसँग पेट्रोलियम सम्झौता गरी सन् १९८६ देखि १९९० सम्म नेदरल्यान्ड र अमेरिकाको सेल/ट्राइटन कम्पनीको संयुक्त लगानीमा पूर्वी नेपालको अन्वेषण खण्ड १० (विराटनगर) मा अनुसन्धानसमेत गरियो । तत्कालीन समयमा चलिरहेको जनआन्दोलन र त्यसबाट सिर्जित राजनीतिक अस्थिरता र नाकाबन्दीको स्थितिले गर्दा उक्त कम्पनीले अन्वेषण कार्यलाई निरन्तरता दिन सकेन । एक प्रकारले निष्कर्षविहीन अवस्थामै अन्वेषण परित्याग गर्‍यो । अर्कातिर नेपालको राजनीतिक अस्थिरता र शान्ति सुरक्षाको कारण देखाई अन्वेषण कार्य सुरु नै नगर्ने तर अन्वेषण खण्डहरू ओगटेर मात्र बस्ने प्रवृत्ति बढ्यो । त्यसलाई निरुत्साहित गर्न नेपाल सरकारले हालै त्यस्ता सम्पूर्ण कम्पनीहरूसँगको सम्झौता रद्द गरी अन्वेषणको नयाँ प्रक्रिया सुरु गर्ने निर्णय लिएको छ ।

अब पेट्रोलियम अन्वेषणलाई राष्ट्रिय प्राथमिकतामा राखी अधिकारसम्पन्न स्वायत्त निकायमार्फत अगाडी बढाएमा केही वर्षभित्रै निष्कर्षमा पुग्न सक्छ । पेट्रोलियम खोजी कार्यको अन्तर्राष्ट्रिय प्रचलन (अभ्यास) अनुसार उक्त निकायलाई राज्यका तर्फबाट अन्तर्राष्ट्रिय तेल कम्पनीसँग सम्झौता गर्ने तथा सम्झौता कार्यान्वयन गराउने जिम्मेवारीसमेत प्रदान गर्न सकिन्छ । साथै राज्यको स्वामित्वमा राज्यद्वारा नियन्त्रित तेल कम्पनी स्थापना गरी सो कम्पनीलाई अन्तर्राष्ट्रिय कम्पनीद्वारा गरिने पेट्रोलियम कार्यको हिस्सेदारका रूपमा प्रत्यक्ष संलग्न गराई प्रविधि हस्तान्तरणको माध्यमबाट छुट्टै स्वतन्त्र कम्पनीका रूपमा पनि विकास गर्न सकिन्छ । 

त्रिपाठी खानी तथा भूगर्भ विभाग, पेट्रोलियम अन्वेषण परियोजनाका वरिष्ठ भूगर्भविद हुन् ।

प्रकाशित : पुस ४, २०७२ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?