७ कक्षा पास गरेको ५६ वर्षपछि ६६ वर्षीय करवीरले गरे एसईई पास

तीन वर्षको प्रयासमा एसईई पास गरेका ६६ वर्षीय करवीर राईले अब व्यवस्थापन विषय लिएर कक्षा ११ पढ्ने योजना बनाएका छन् ।

वैशाख २९, २०८३

विनोद घिमिरे

66-year-old Karbir passes SEE 56 years after passing 7th grade

What you should know

धनकुटा — पढ्ने उमेरमा विद्यालय छुटे पनि सिक्ने चाहना नछोडेका धनकुटाको पाख्रिबास नगरपालिका–७ मुगाका ६६ वर्षीय करवीर राईले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन्।

कक्षा ७ पास गरेको झण्डै ५६ वर्षपछि उनी खुला सिकाइ प्रणालीबाट एसईई पास गर्दै आफ्नो अधुरो शैक्षिक यात्रालाई पूरा गर्ने प्रयासमा छन् । २०१७ सालमा तत्कालीन मुगा गाउँपञ्चायत–१ गैरीटोलमा जन्मिएका राईले २०२७ सालमा स्थानीय राम मिडल स्कुलबाट कक्षा ७ उत्तीर्ण गरेका थिए।

विद्यालयका तत्कालीन प्रधानाध्यापक अच्युत घिमिरे तथा शिक्षकहरू माधव घिमिरे, उर्मिला श्रेष्ठ र गोल देवानले उनको क्षमता देखेर कक्षा ३ बाट सिधै कक्षा ५ मा भर्ना गरिदिएका थिए। राई सम्झिन्छन्, 'त्यसबेला राम्रो विद्यार्थीलाई कक्षा चढाउने चलन थियो, मैले ४ नपढी ५ मा भर्ना पाएँ।'

गाउँमै कक्षा ७ सम्म पढाइ भए पनि त्योभन्दा माथिको अध्ययनका लागि धनकुटा सदरमुकाम जानुपर्ने अवस्था थियो। गाउँमा उच्च शिक्षा पढ्ने वातावरण नभएकाले उनको पढाइ त्यहीँ रोकियो। 'अब छोरालाई गाउँका कसैले पनि ढाँट्न सक्दैन' भन्दै पढाइ पुगेको ठानेका थिए। उनी अहिले पनि त्यो समय सम्झँदै भन्छन्, 'आनन्द लहरी, प्रीति लहरी पढ्न जानिगो, भैगो । नौरङ्गी डाँफेको गीत गाउन जाने भइगयो,' त्यसबेला बुवाआमाले भनेकाे करवीरले सम्झिए । तर उनको पढाइप्रतिको मोह भने समाप्त भएन । २०४० सालमा उनले चुङमाङ गाविसस्थित भारती माध्यमिक विद्यालयबाट प्राइभेट टेस्ट परीक्षा दिने योजना बनाए। त्यतिबेला एसएलसी दिनुअघि टेस्ट परीक्षा पास गर्नुपर्ने व्यवस्था थियो।

टेस्ट परीक्षा पास गरे पनि उनले एसएलसी भने उत्तीर्ण गर्न सकेनन् । धनकुटा बहुमुखी क्याम्पसमा तोकिएको परीक्षा केन्द्रबाट परीक्षा दिएका उनले अंग्रेजी, नेपाली, इतिहास र शिक्षा–शिक्षण विषयमा सफलता पाए पनि भूगोल, विज्ञान र गणितमा असफल भए। त्यसपछि फेरि पढाइ छुट्यो। गाउँका साथीभाई रोजगारीका लागि भारतको कोइलाखानीतिर लागेपछि उनी पनि त्यहीँ पुगे। केही वर्षपछि गाउँ फर्केर विवाह गरे।

२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४९ सालमा उनी नेकपा एमालेको तर्फबाट तत्कालीन मुगा गाविसको उपाध्यक्ष निर्वाचित भए। त्यसबेला ईन्द्रबहादुर राई गाविस अध्यक्ष थिए। त्यसपछि जनप्रतिनिधि, पार्टी राजनीति र सामाजिक सेवामा सक्रिय हुँदा पढाइ फेरि ओझेलमा पर्‍यो।

२०८० सालमा अचानक उनलाई फेरि पढ्ने हुटहुटी जाग्यो। 'अब काम गर्न पनि सकिन्न, गाउँमा लुडो खेलेको हेरेर कति बस्नु ? अब एसईई पास गरेर ११–१२ पढ्छु भन्ने सोचे,' उनले भने । 

२०८० सालमा उनले खुला सिकाइ प्रणालीमा भर्ना भए। सुनसरीको धरानस्थित सगरमाथा डल्फिन कलेजबाट आवेदन दिएर सप्तरीको राजविराजमा परीक्षा दिन पुगे। परीक्षा केन्द्रमा जाँदाआउँदा अरु विद्यार्थीले जिस्काउँदै उनलाई 'लौ बाजे, बस्नुस्' भन्दै बसको सिट छोडिदिने गर्थे। पहिलो प्रयासमा उनले पाँच विषय पास गरे भने दुई विषयमा असफल भए। २०८१ सालमा गणित र अर्थशास्त्र विषयको ग्रेडवृद्धि परीक्षा दिए। अर्थशास्त्रमा सफलता पाए पनि गणितले फेरि रोक्यो। त्यसपछि उनी गणित सिक्न धनकुटा सदरमुकाम आए। तल्लो गोकुण्डेश्वरका गणित शिक्षक गोपाल राईले उनलाई दुई महिनासम्म निःशुल्क ट्युसन पढाए। माथिल्लो गोकुण्डेश्वरका शिक्षक चन्द्र गुरागाईंले समेत सहयोग गरे।

२०८२ चैतमा सञ्चालित एसईईका लागि उनले फेरि धरानस्थित सगरमाथा डल्फिन कलेजबाट आवेदन दिएर राजविराजको केअ सेकेण्डरी स्कुलमा परीक्षा दिए। सोमबार राति प्रकाशित नतिजामा उनले 'सी' ग्रेडसहित एसईई उत्तीर्ण गरे।

रिजल्ट हेर्ने काम भने उनले आफैं गर्न सकेनन्। 'आफू त इन्टरनेटमा खोज्न सक्दिनँ । बुहारीले भनेरै थाहा पाएँ,' उनले हाँस्दै भने, 'सी ग्रेडमा पास भएछु, अब ११–१२ पढ्छु।' अब व्यवस्थापन विषय लिएर ११ कक्षाा भर्ना गर्ने उनको योजना छ । धनकुटामै बसेर कक्षा १२ सम्म पढ्ने तयारीमा रहेका उनले श्रीमती करुणा देवानलाई पनि मुगाबाट धनकुटा ल्याउने योजना बनाएका छन्। 'बुढीले खाना बनाइदिन्छन्, म पढ्न जान्छु,' उनले भने।

राईलाई नयाँ पुस्ताप्रति पनि चिन्ता छ। अहिलेका युवाहरू पढाइभन्दा रमाइलोमा बढी अल्झिएको उनको बुझाइ छ। 'नयाँ पुस्ताले अझै धेरै जान्नु र पढ्नु पर्छ। हामीजस्तो भएर मात्रै भएन। राम्रो पढ्नुपर्छ, हरेश खानु हुँदैन। मैले पनि तीन वर्षमा एसईई पास गरेँ। निरन्तरताले मान्छेलाई उपलब्धि दिन्छ, सही गन्तव्यमा पुर्‍याउँछ,' उनले भने।

उनी आफ्नो परिवारको शैक्षिक उपलब्धिबाट पनि उत्साहित छन्। जेठी बुहारी जशुजनम राईले नेपाली र कानुन विषयमा स्नातकोत्तर गरेकी छन् भने कान्छी बुहारी लक्ष्मी लिम्बु कमर्श र राजनीति शास्त्रमा स्नातकोत्तर हुन्। उनका जेठा छोरा किरणले पर्यटकीयस्थल भेडेटारमा संसारा होटल सञ्चालन गर्दै आएका छन् भने कान्छा छोरा सोचन नेपाली सेनामा कार्यरत छन्। 'मेरो परिवार पनि व्यावसायिक पृष्ठभूमिको छ,' उनले भने, 'अब म पनि कमर्श लिएर ११–१२ पढ्छु।'

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully