बर्दियामा किन भयो स्थानीय र प्रहरीबीच झडप ?

प्रहरी र जनप्रतिनिधिबीच सडक खुलाउनेबारे कुराकानी भइरहेका बेला एक्कासी स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको थियो ।

चैत्र १०, २०८२

रामप्रसाद चौहान 

Why did there happen a clash between locals and police in Bardiya?

What you should know

बर्दिया — सीमावर्ती भारतीय बजार लौकाहीमा लागुऔषध सेवन गरेर आएका दाजुभाईको ज्यान गएपछि लागुऔषध कारोबारीविरुद्ध प्रदर्शन गर्दै स्थानीयले मंगलबार सडक अबरुद्ध गरे । गुलरिया नगरपालिका–११ गणेशपुरस्थित नेपालगन्ज–गुलरिया सडक खण्ड स्थानीयले अबरुद्ध गरेका थिए ।

अबरुद्ध सडक खुलाउन प्रहरी गणेशपुर पुगेको थियो । प्रहरी र जनप्रतिनिधिबीच सडक खुलाउनेबारे कुराकानी भइरहेका बेला एक्कासी स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले हवाई फायर गर्यो।

आन्दोलित स्थानीयको भीड हटाउन ९ राउन्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास प्रहार गरेको डीएसपी प्रमेश बिष्टले बताए । प्रहरीमाथि ढुंगामुढा प्रहार गर्ने ९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको उनले जनाए । बिहानदेखि अबरुद्ध सडक दिउँसो १२ बजेदेखि पुनःसंचालनमा आएको थियो । 

झडपमा १२ जना प्रहरी घाइते भएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । ‘७ जना नेपाल प्रहरी र ५ सशस्त्र प्रहरी घाइते भएका छन्,’ प्रजिअ हमालले भने,‘बर्दिया अस्पतालमा उपचारपछि ११ जना डिस्चार्ज भइसकेका छन् । एक जनालाई मुख र टाउकोमा चोट लागेकोले थप उपचारको लागि नेपालगन्ज पठाइएको छ ।’ उनले लागुऔषध नियन्त्रणका लागि स्थानीयले पनि सघाउनुपर्ने बताए ।  

Why did there happen a clash between locals and police in Bardiya?

झडपमा ६ जना स्थानीय सामान्य घाइते भएको गुलरिया नगरपालिका–११ का वडाध्यक्ष विष्णु यादवले बताए। ‘सीमावर्ती बजारमा खुलेआम लागुऔषध बिक्री हुन्छ, त्यहीँ सेवन गरी दाजुभाईको ज्यान गएको छ, सीमावर्ती भारतीय बजार लौकाहीमा लागुऔषध बिक्री वितरण गर्ने कारोबारीलाई भारतीय प्रहरीसँग समन्वय गरेर कारवाहीको दायरामा ल्याउनु पर्ने, खुला सीमाबाट हुने तस्करी र लागुऔषध नियन्त्रण गर्नुपर्ने माग राख्दै स्थानीय आन्दोलित भएका थिए,’ उनले भने, ‘सोही विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भयो ।’ प्रहरीले सीमा नाकामा निगरानी बढाउनुपर्ने, झडपमा घाइते भएका स्थानीयको निःशुल्क उपचार गरिनुपर्ने र प्रहरीले नियन्त्रणमा लिएका ९ जनालाई तत्काल छोड्नुपर्ने उनले बताए ।

लागुऔषध सेवनबाट दाजुभाईको गयो ज्यान
गत शुक्रबार गुलरिया नगरपालिका–११ ओरीपुरका ३६ वर्षीय सुरेश खटिक र ३० वर्षीय बहुरन खटिक भारतीय सीमावर्ती लौकाही बजार गएका थिए । उनीहरु दाजुभाई हुन् ।

लौकाही बजारबाट साँझ फर्किएका दुवै जना आ–आफ्नो घरमा सुतेका थिए । राति सुरेशलाई गाह्रो भइसकेपछि आफुले ‘कोरेक्स’ नामको लागुऔषध सेवन गरेर आएको बताएपछि परिवारका सदस्यले कागती पानी दिएको आफन्त विपिन सोनकरले बताए । ‘गाउँमै घर भए पनि हामीलाई घटना थाहा भएन,’ उनले भने,‘दुवै जना अचेत अवस्थामा रहेको बिहान ३ बजे खबर भयो ।’

एम्बुलेन्स बोलाएर दुवै जनालाई हतारमा कोहलपुरस्थित अस्पताल पुर्‍याएका थिए । उपचारको क्रममा बिहान ८ बजे सुरेशलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बहुरन पनि सिकिस्त थिए । आइसीयू बेड खाली नभएकोले त्यहाँबाट उनलाई रिफर गर्दा नेपालगन्जस्थित कान्ति आरोग्य अस्पतालमा लगेर भर्ना गरेको उनले बताए । उपचारकै क्रममा बहुरनको सोमबार बिहान ८ बजे मृत्यु भएको थियो । कान्ति आरोग्य अस्पताल बाँकेकी डाइरेक्टर डा. रोमा बोहराले विष सेवनका कारण उनको मृत्यु भएको बताए । 'कुन खालको विष हो भन्ने पोष्टमार्टम रिपाेर्टमा देखिन्छ । विषले गर्दा उहाँको मुटु र फोक्सोमा धेरै असर गरिसकेकाे रहेछ । हामीले प्रयास गर्दा पनि बचाउन सफल भएनाै‌ं,' उनले भनिन् । 

मृतक दुवै जनाका साना दुई/दुई जना बच्चा छन् । सुरेशकी श्रीमती गर्भवती पनि छिन् । दाजुभाईकै ज्यान गएपछि परिवारमा बिचल्ली भएको छ । भारतीय सीमावर्ती बजार लौकाही बजारमा कोरेक्स, नाइट्राभेट, ब्राउनसुगर जस्ता लागुऔषधको कारोबार हुने गरेको छ । लागुऔषध दुव्यर्सनमा फसेका यहाँका युवाहरु दिनहुँ सेवन गर्न त्यहाँ जाने गरेका छन् । 

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully