रामेछापका विभिन्न क्षेत्रमा बसोबास गर्ने माझी समुदायले नदी र पुर्खालाई सम्झिएर चाड मनाउँदै छन् ।
रामेछाप — रामेछापमा रहेका माझी समुदायले मंगलबार आफ्नो मुख्य चाड लदी पूजा (कोशी पूजा) परम्परागत रूपमा मनाउँदै छन् ।
माझी समुदायले हरेक वर्ष फागुन महिनाको 'साइँली मंगलबार' नदी, जलदेवी र पुर्खाको स्मरण गर्दै यो पूजा गर्ने चलन छ । लदी पूजाका क्रममा नदी किनारका छिनाली (मसान), मङ्गलादेवी र जलदेवीका नाममा पाठी, कुखुरा लगायतका बलि चढाइने नेपाल आदिवासी जनजाति महासंघ रामेछापका कार्यवाहक अध्यक्ष श्रीबहादुर माझी बताउँछन् ।
उनका अनुसार लदी पूजा गरेमा नदीमा डुङ्गा चलाउँदा, माछा मार्दा तथा पौडी खेल्दा कुनै जोखिम नआउने विश्वास माझी समुदायको रहेको छ। बर्सातको समयमा नदीले निम्त्याउन सक्ने मानवीय, भौतिक तथा आर्थिक क्षति नहोस् भन्ने कामनासहित नदी पूजा गरिँदै आएको उनीहरूको भनाइ छ। माझी भाषामा ‘छिनाली’ को अर्थ मसान र ‘लदी’ को अर्थ कोशी हुन्छ।
रामेछाप जिल्लाका आठ पालिकामध्ये मन्थली नगरपालिकाका वडा नं १ मन्थली, वडा नं २ करमबोट, वडा नं ६ का नबुघाट, मसानटार, हात्तिटार, कुनौरी र सेलेघाट, वडा नं ७ का भटौली, मुगिटार र वडारे तथा वडा नं ८ का जखनीटार र गाईखुरा क्षेत्रमा माझी समुदायको उल्लेख्य बसोबास छ । त्यसै गरी खाँडादेवी गाउँपालिकाको वडा नं १ का लुभुघाट र कोथबे, वडा नं ३ का सित्खा र डफ्खा तथा वडा नं ४ का पुछिघाट र रज गाउँमा पनि माझीहरू छन् ।
रामेछाप नगरपालिकाको वडा नं ९ अन्तर्गत राताटार, धनेघाट र हर्देनीमा समेत माझी समुदायको बसोबास रहेको छ । यसका साथै जिल्लाका लिखुतामकोशी र सुनापति गाउँपालिकामा पनि माझी समुदाय फैलिएको छ। ऐतिहासिक रूपमा सुनकोशी नदी र तामाकोशी नदी आसपासका बस्तीहरूमा माझी समुदायको बसोबास रहँदै आएको पाइन्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार रामेछाप जिल्लामा माझी समुदायको जनसंख्या ६ हजार २८८ रहेको छ । माझी समुदायको मुख्य चाड लदी पूजा (कोशी पूजा) को अवसरमा मंगलबार रामेछापको सदरमुकामसमेत रहेको मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाले स्थानीय बिदा दिएका छन् । दुवै स्थानीय तहअन्तर्गतका सबै वडा कार्यालय तथा शिक्षण संस्थामा अत्यावश्यकबाहेकका सेवा बन्द रहने जनाइएको छ ।
