दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने चालकसहित ८ जना घाइते भएका थिए ।
What you should know
काठमाडौँ — रामेछाप-मन्थली सडकखण्डमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका आफन्तले क्षतिपूर्ति माग गर्दै बुधबार बिहानबाट मन्थली-खुर्कोट सडकमा अवरोध गरेका छन् । दुर्घटनामा संलग्न सवारीसाधन धनी तथा यातायात समिति सम्पर्कमा नआएको भन्दै आक्रोशित आफन्तले सडक बन्द गरेका हुन्।
काठमाडौंबाट मन्थली–खुर्कोट पुष्पलाल सडक हुँदै रामेछापको सिरिसे ढाँडे भएर ओखलढुङ्गातर्फ आउँदै गरेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको (पूर्व अरनिको यातायात प्रालि) यात्रुवाहक बस मंगलबार बिहान करिब १०:४० बजे मन्थली नगरपालिका–६ स्थित बेनीघाट पुलनजिक दुर्घटनामा परेको थियो । अनियन्त्रित भएको बस सडकबाट खसेर तामाकोशी नदीमा डुबेको थियो।
उक्त दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने चालकसहित ८ जना घाइते भएका थिए।
दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी व्यवसायीलाई तत्काल सम्पर्कमा ल्याइ छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै आफन्तले सडक अवरुद्ध गरेका हुन्। सदरमुकाम मन्थलीस्थित अकासे र भैंसेश्वर क्षेत्रमा सडक अवरुद्ध हुँदा मन्थली–खुर्कोट तथा आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।
दुई सन्तानको शव भेटिएको र दुई नातिहरू अझै हराइरहेको पीडा सुनाउँदै लिखुतामाकोशी-७ का शुकमान तामाङले तत्काल यातायात समिति र बस चालकलाई झिकाएर कारबाही हुनुपर्ने बताए । उनले भने, 'चारजना परिवारका सदस्य परेकोमा दुईजनाको लास भेटिएको छ । दुईजना नातिहरूको अझै अवस्था थाहा छैन । यस्तो बेलामा स्थानीय प्रशासनले पनि पीडितलाई न्याय दिलाउने कुनै कदम चालेको छैन । अब यातायात समिति र बस व्यवसायी सम्पर्कमा आएर माग पूरा भएपछि मात्रै सडक खुल्छ ।'
