छोराको अप्रेसन खर्च चुकाउन निर्वाचन प्रहरीमा आवेदन

स्थानीय बचत समूह र आफन्तसित ३ लाख ५० हजार ऋण लिएर छोराको उपचार गरेको र अहिले त्यही ऋण तिर्न निर्वाचन प्रहरीमा भर्ती हुन आएको गुलरिया–९, टेपरीकी ४३ वर्षीया मीना थारुले सुनाइन् ।

पुस २७, २०८२

रामप्रसाद चौहान 

Application to Election Police to pay for son's surgery expenses

What you should know

बर्दिया — जिल्ला प्रहरी कार्यालय परिसरमा आइतबार बिहानबाट निर्वाचन प्रहरीमा भर्तीका लागि आवदेन दिनेहरूको भीड थियो । लामो लाइनमा हातमा कागजपत्र र १५ महिनाको दूधे बालक काखी च्यापेर गुलरिया–९, टेपरीकी ४३ वर्षीया मीना थारु उभिएकी थिइन् । ठिहिर्‍याउने चिसोमा शिशु र उनको मुहार उत्साहित कम र मलिन धेरै देखिन्थ्यो । आवेदन बुझाउन आएकाहरूमध्ये उनी चिन्तामा डुबेको प्रस्ट देखिन्थ्यो ।

आम्दानीको उपाय नहुँदा खान लाउन समस्या भएपछि थोरै अवधिका लागि भए पनि निर्वाचन प्रहरीमा आवेदन बुझाउन आएको बताउने धेरै थिए । तर, मीनाको जवाफ भने फरक थियो । घर सल्लाह गरेरै बच्चा बोकेर आवेदन बुझाउन आएको मीनाले बताइन् ।

‘बच्चा बोकेर निर्वाचन प्रहरीमा जाने मेरो रहर होइन, बाध्यता हो,’ उनले भनिन्, ‘छोराको उपचार गराउँदा ऋण धेरै लागेको छ, श्रीमानले मजदुरी गरेको पैसाले तिर्न सकिएन ।’ त्यही ऋण चुकाउन भर्ती हुन चाहेको उनले बताइन् । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा ‘म्यादी’ प्रहरी भइसकेको अनुभव उनीसित छ । ‘अहिले मौका पाएँ भने श्रीमानलाई ऋण तिर्न सघाउँथेँ,’ उनले भनिन् ।

परिवारको आर्थिक अवस्था नाजुक रहेको उनले बताइन् । अहिले उनको परिवार मुक्त कमैया भएबापत पाएको जग्गामा बसिरहेको छ । त्यो जग्गा बाँडफाँट गर्दा उनको भागमा १० धुर घरबास मात्र छ । उनका चार छोरी र एक छोरा छन् ।

खर्च नभएपछि जेठी छोरीलाई पढाउन नसकेर बिहे गरिदिएको उनले सुनाइन् । गाउँको विद्यालयमा माइली छोरी ८, साइली ४ र कान्छी छोरी २ कक्षामा पढिरहेको उनले बताइन् । ‘छोरा ७ महिनाको हुँदा धेरै बिरामी भयो, जाँच गराउँदा आन्द्रा बटारिएको थाहा भयो,’ उनले भनिन्, ‘अनि ऋण गरेर छोराको आन्द्राको अप्रेसन गरियो ।’ अप्रेसनका लागि स्थानीय बचत समूह र आफन्तसित ३ लाख ५० हजार ऋण लिएको उनले बताइन् । अहिले त्यही ऋण तिर्न धौ भएको उनले बताइन् । 

श्रीमान् रूपन्देहीको बुटवलमा मजदुरी गर्न गएका छन् । ‘अब माघी मनाउन घर आउनु हुन्छ होला,’ उनले भनिन्, ‘यसपालि पनि परिवारसित सल्लाह गरेर निवेदन बुझाउन आएकी हुँ ।’ यदि भर्ती भइहालेमा सासू आमाले छोराको रेखदेख गर्ने सल्लाह भएको छ ।

छोरा सासूको जिम्मा लगाएर आफू ड्युटी निभाउन जाने निधो गरिसकेको उनले बताइन् । गत निर्वाचनमा म्यादी प्रहरी भएर काम गरिसकेकाले ड्युटीबारे बुझेको उनको भनाइ छ । ‘त्यही अनुभवले गर्दा पनि यसपटक अवसर मिल्छ भन्ने विश्वास छ,’ उनले भनिन् । 

जिल्लामा १ हजार ८ सय ३६ जनाका लागि आवेदन खुलेको जिल्ला प्रहरीका डीएसपी देवेन्द्रकुमार मल्लले बताए । ‘शनिबार साँझसम्म ७ सय ५० जनाले आवेदन बुझाइसकेका छन्,’ उनले भने । जिल्लामा बेरोजगार युवाको निर्वाचन प्रहरीमा आकर्षण छ । भर्ना खुलेको दिनदेखि आवेदन बुझाउनेको जिल्ला प्रहरीअगाडि भीड छ ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully