लामो उपचार र स्वास्थ्य ठिक भएपछि पछिल्लो समय उनी वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारी थिए ।
What you should know
काठमाडौँ — नयाँबानेश्वर केन्द्रित जेन-जीको आह्वानमा भदौ २३ को आन्दोलनमा साथीभाइसहित धेरै युवालाई गोली लागेको देखेपछि उमेश यत्तिकै बसिरहन सकेनन् ।
दिदी सुमित्राका अनुसार अघिल्लो दिन बानेश्वरमा गोली लागेर ढलेका युवालाई अस्पताल पुर्याउने कार्यमा उमेश सशक्त रूपमा खटिई राति अबेर मात्र घर फर्किए ।
'बानेश्वरमा प्रहरीले कति साथीहरूलाई छाती र टाउकोमा गोली हानेर ढाल्यो, धेरै घाइते भएका छन्, त्यसमध्ये केहीलाई आफैँले बोकेर अस्पताल पुर्याएँ' भनी सोही दिन उनले दिदीलाई सुनाएका थिए । ठूलो सङ्ख्यामा युवालाई गोली लागेको र हताहती भएपछि सरकारप्रति आक्रोशित भिड भोलिपल्ट सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्न पुग्यो ।
सोही सिलसिलामा उत्तेजित भिडले गौशालास्थित गाई फर्ममा आगजनीको प्रयास गरेकामा त्यसलाई रोक्न चिच्याउँदै अघि बढिरहेका बेला उमेशको दायाँ छातीमा गोली लाग्यो । उनी त्यहीँ ढले । साथीहरूले उठाएर बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल पुर्याए । शल्यक्रियाका लागि शल्यक्रिया कक्षमा पुर्याउँदा नपुर्याउँदै उमेशको निधन भयो ।
उमेशलाई गोली लागेको सूचना परिवारले दिउँसो करिब २ः३० बजे उमेशकै मिल्ने साथी सुवास खत्रीले सुनाएका थिए । सुवासका बुवा सुवर्णले उमेशलाई विदेश नजाउन्जेल स्नुकर खेलाउने रोजगारी उपलब्ध गराएका थिए । त्यसबापत उमेशले मासिक १० हजार तलब पाउँथे ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको भदौ २४ मा गौशालाचोक नजिक गोली लागेर निधन भएपछि परिवार विक्षिप्त छ ।
घरको आर्थिक अवस्था कमजोर रहेकाले उमेशका बाआमा सिन्धुपाल्चोकबाट १९ वर्षअघि काठमाडौँ आएर चाबहिलमा तरकारी र सागसब्जी बेच्थे । त्यही सागसब्जी बेचेर आएको पैसाले महत दम्पतीले घरपरिवारको गुजारा चलाउने र छोराछोरीलाई शिक्षादीक्षा दिलाएका थिए ।
श्यामबहादुर महत र कालीमाया महतका चार सन्तानमध्ये एक छोरा र एक छोरीपछि २०६२ असोज ११ गते उमेशको जन्म भएको थियो । सानो उमेरमै उमेशलाई पत्थरीसहित मिर्गाैलाको समस्या भएर लामो समयसम्म उपचार गराउनुपरेको थियो ।
बिरामीकै बीचमा उमेशले विद्यालय कपनको एक विद्यालय र उच्च माध्यमिक विद्यालयको शिक्षा चुच्चेपाटीस्थित लुम्बिनी कलेजबाट पूरा गरे । लामो उपचार र स्वास्थ्य ठिक भएपछि पछिल्लो समय उनी वैदेशिक रोजगारीका लागि खाडी मुलुक जाने तयारी थिए । दिदी सुमित्राका अनुसार जुन दिन उमेशलाई गोली लाग्यो, त्यही दिन वैदेशिक रोजगारीमा जान भिसा लागेको खबर आयो ।
'आमाबाले साँझ-बिहान तरकारी बेचेर दुःख गरेर हामीलाई पढाउने, बढाउने र काम गर्नुभयो,' सुमित्रा भन्छिन्, 'ऊ चञ्चले र हँसमुखी स्वभावको थियो । खेलकुदमा फुटबलप्रेमी तथा खानपिनमा मःम र कफीको पारखी थियो । त्यसका लागि मसँग खर्च मागिरहन्थ्यो ।' केही वर्षअघि फुटबल खेल्दा उनको हातसमेत भाँचिएको थियो ।
छिमेकी मिल्ने अग्रज दाजु सुवास खत्रीका अनुसार उमेश साथीभाइका बीचमा सबैसँग बोल्ने, छिटो घुलमिल हुने, कसैलाई नबिझाउने र चित्त नदुखाउने खालका थिए । उमेशलाई सम्झँदै सुवास भन्नुहुन्छ, 'साथीभाइको बीचमा उसले सबैको माया र सद्भाव पाएको थियो । पढाइमा मध्यम श्रेणीको ऊ निकै हासिलो र व्यावहारिक थियो ।'
भ्रष्टाचार अन्त्य, सुशासन प्रवर्द्धन, राजनीतिमा युवाको पुस्तान्तरण र निष्क्रिय तुल्याइएको फेसबुकसहितका सामाजिक सञ्चाललको सञ्चालनको माग राखेर नयाँबानेश्वर केन्द्रित आन्दोलनका क्रममा भदौ २३ गते ठूलो सङ्ख्यामा युवाको हताहती भयो । धेरै घाइते भए ।
जेन-जी आन्दोलनका क्रममा मुलुकभर भएका आगजनी, तोडफोडसहितका हिंसात्मक घटनामा ७६ जनाको ज्यान गयो भने ८४ अर्बभन्दा बढी सरकारी र निजी सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान छ । त्यसआन्दोलनका क्रममा प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत र सङ्घीय संसद् भवनलगायतका देशका महत्त्वपूर्ण भौतिक संरचनामा ठूलो क्षति भयो ।
गत भदौ २४ गते कान्छो छोरा उमेश गुमाउनुपरेको दिनको स्मरण गर्दै आमा कालीमाया महत भन्छन्, 'म १० बजेतिर काममा निस्किएँ, ऊ सुतिरहेको थियो । केही छिनपछि उठेर सिक्न आएकालाई स्नुकर खेलाएछ । आन्दोलनमा जाने कुरा गरेपछि खत्री दाइले नजा भन्नुभएछ । ऊ आन्दोलनमा गएको कुरा गोली लागेको खबर सुनेपछि मात्रै थाहा पाएँ ।'
कान्छोको पढाइलेखाइ राम्रो र चलाख भएकाले छिमेकी साथी सुवासको बाले स्नुकर खेलाउने रोजगारी दिएर मासिक १० हजार दिँदै आएको उमेशकी आमाको भनाइ छ । छोरा उमेशको निधनपछि महत परिवार पुरानो थातथलो सिन्धुपाल्चोक फर्केर भूकम्पको अनुदानबाट निर्माण गरिएको सानो भवनमा बस्दै आएको छ ।
पुरानो थातथलो भए पनि नयाँ सृष्टि गर्नुपरेकाले दैनिक गुजारा चलाउनसमेत उनीहरूले सङ्घर्ष गर्नुपरेको छ । दैनिक ज्यालादारी र बेसाह खोजेर घर चलाउनुपर्ने अवस्था छ । नेपाली पुरानो मान्यताअनुरूप घरका मानिस गुमाएको एक वर्षसम्म मूलघरमै बस्नुपर्छ–छोड्न मिल्दैन भन्ने भएपछि उनहरू पुरानो घर फर्किएका हुन् ।
सहिद घोषणा गरेपछि राज्यले उपलब्ध गराउने रकम १५ लाख भने उनीहरुले प्राप्त गरिसकेका छन् । जेन-जी पुस्ता आन्दोलनका बलमा वर्तमान सरकार गठन भएको सय दिन पनि पूरा भइसकेको छ ।
यसबीच आन्दोलनका क्रममा उठाएका माग सम्बोधन गर्दै जाने सिलसिलामा जेन-जी र सरकारबीच १० बुँदे सहमति भएको छ । त्यसमा सरकारले निर्धारित समयमा चुनाव गराउने, वित्तीय अनुशासन र सुशासनका लागि ठोस कदम चाल्ने तथा ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्ने विषय उल्लेख छ ।
सुशासन सहिद उमेशकी आमा रुँदै भन्छिन्, 'कान्छो छोराको निधनपछि मन आत्तिएको छ, शरीर छटपटिन्छ, सरकारले आफैँले बुझेर के गर्दा जनता र देशको भलो हुन्छ, त्यो गरोस् कसैलाई केही भन्न र गर्न सक्दिनँ ।'
राजनीतिक दल, सरकारले आफैले जानेर गर्नुपर्ने काम गर्न फेरि पनि युवाले दबाब दिनुपर्ने र ज्यान गुमाउन पर्ने अवस्था सदाका लागि अन्त्य होस् भन्ने उनको सरकारलाई सुझाव छ ।
सहरका अरु युवापुस्ताझैं खानपिनमा मःम र पिज्जा मन पराउने उमेशलाई अनेक दुःख गरेर भए पनि आमाबाले त्यहाँसम्म पुर्याएका थिए । उमेशकी आमा भन्छिन्, 'छोरालाई बिरामी हुँदा सानोमा धेरै दुःख गरेँ विभिन्न रोगबाट बचाएँ, अहिले आन्दोलनको गोलीबाट बचाउन सकिनँ ।'
