छिन्ताङ हत्याकाण्डका ४६ वर्ष : सहिद परिवार भन्छन्- न राहत पाइयो, न रोजगारी

सहिद परिवार भन्छन् : ‘हामीले राज्यको दायित्व, कर्तव्य र प्रतिबद्धता सम्झाउन खोजेका हौं, भिख मागेका होइनौं ।

कार्तिक २८, २०८२

विनोद घिमिरे

46 years of Chhintang massacre: Martyr's family says - No relief, no jobs

What you should know

धनकुटा — १६ जना किसानको ज्यान जाने गरी भएको छिन्ताङ हत्याकाण्डको ४६ वर्ष पूरा भएको छ । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा लागेको आरोपमा धनकुटाको खाल्साक्षेत्रमा पर्ने खोकु, छिन्ताङ र आँखिसल्लामा १६ जना स्थानीयको हत्या गरिएको उक्त घटना ‘छिन्ताङ हत्या काण्ड’का नामले चर्चित छ । 

२०३६ सालको किसान आन्दोलनका क्रममा मारिएका सहिदहरूको संझनामा धनकुटाको सहिदभूमि गाउँपालिकाभर कात्तिक २२ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाइन्छ । भोकमरीविरुद्ध आन्दोलनमा उत्रिएका स्थानीयलाई दबाउन तत्कालीन सरकारले २०३६ कात्तिक २२ देखि  २९ गते सम्म तत्कालीन खोकु, छिन्ताङ र आँखिसल्ला गाविसमा विशेष प्रहरी कारबाही गरेको थियो ।

त्यसबेला उनीहरूलाई पञ्चायती व्यवस्थाविरोधी अभियानमा लागेको आरोप लगाइएर धरपकड, यातना र हत्यासमेत गरियो । घटनामा दुई जना महिला र नाबालकसहित छिन्ताङका १३ र आँखिसल्लाका ३ जना किसानको ज्यान गएको थियो । त्यसरी मारिनेमा आँखिसल्लाका झगेन्द्र राई, गणेश बहादुर विश्वकर्मा र विद्यार्थी केशरमान राई थिए ।

यस्तै छिन्ताङका गोपाल आनन्द राई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, लाखमान साधु राई, रणध्वज पुमा राई, गंगाबहादुर तुप्रीहाङ राई, गम्भीरमान दर्जी, चन्द्रबहादुर दर्जी, श्रीमाया राई (हाङखिमा सााहिली), रामकुमारी राई, भैरवबहादुर खालिङ राई, बलबहादुर खत्री र पुत्रमान राई मारिएका थिए । घटनाको ३८ वर्षपछि २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले दुई चरण गरेर सबै १६ जनालाई राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

46 years of Chhintang massacre: Martyr's family says - No relief, no jobsराष्ट्रिय सहिद घोषणा गरेर आश्रित परिवारलाई संघीय सरकारले राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैया दिने घोषणासमेत गरेको थियो । तर राहत रकम अहिलेसम्म पनि आफूहरूले नपाएको सहिद परिवारको गुनासो छ । छिन्ताङ हत्याकाण्डमा सबैभन्दा पहिले मारिएका सहिद गोपाल आनन्द राईका छोरा डिकबहादुर राई आफूहरूलाई राज्यले पटक-पटक ढाँटेकोले गुनासो गर्छन् ।

सहिद गोपाल आनन्द राईलाई पूर्वाञ्चलका तत्कालीन प्रहरी प्रमुख डीबी लामा नेतृत्वको प्रहरी टोलीले २०३६ कात्तिक २७ गते झिसमिसेमै गिरफ्तार गरी त्रिवेणीस्थित अरुण नदी किनारमा पुर्‍याएर गोली हानी हत्या गरेको थियो । डीआईजी लामाले चिमराहमा बसेर अपरेसनको नेतृत्व गरेका थिए ।

नेपाली सेनाका तत्कालीन ब्रिगेडियर शत्रुधनप्रसाद सिंन्हा, प्रमुख जिल्ला अधिकारी वीरबहादुर भुजेल, डीएसपी श्याम शर्मा चापागाईं लगायत उक्त अपरेसनमा खटिएका थिए । हत्याकाण्ड चलेका बेला धनकुटाको मुगा गाविसका सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । सहिद गोपाल आनन्दका छोरा डिकबहादुर भन्छन्, ‘पञ्चकन्या डाँडामा बर्सेनि मान्छे भेला पारेर सहिदका बारेमा भाषण गर्छन्, सहिद परिवारलाई माला लगाइदिन्छन् । तर, दिने भनेको राहत दिँदैनन् ।’ 

छिन्ताङगाउँको केन्द्र ‘पञ्चकन्या’मा सहिद स्मृति पार्क निर्माण गरिएको छ, सोही पार्कमा हरेक वर्ष कात्तिक २२ देखि २९ गते सम्म सहिदको सम्झनामा विभिन्न कार्यक्रम गरिन्छ । राष्ट्रिय सहिद घोषणा गर्दाताका सरकारले दिएको आश्वासन सम्झँदै उनी भन्छन्, ‘दस लाख तत्कालै आउाँछ, केटाकेटी पढाइदिन्छौं, गच्छेअनुसारको जागिर पनि खाउला भने तर अहिलेसम्म खाली छौं ।’ 

कोशी प्रदेश सरकारले भने यसअघि नै राहतस्वरूप ५ लाख रुपैयाँ दिएको भन्दै उनी कृतज्ञ भए । अर्का सहिद धनवीर दर्जीका छोरा सोमबहादुर नेपाली सरकारी रातहको विषय उठेपछि त्यसलाई ‘सपनाको कुरा’ भन्छन् । सोमबहादुरका बाबु धनवीर दर्जी, टंकबहादुर विश्वकर्मा, गम्भीरमान दर्जी, लाखमान साधु राई, रणध्वज पुमा राई, गंगाबहादुर तुप्रीहाङ राई र चन्द्रबहादुर दर्जीलाई छिन्ताङको पाताल र पुमाटोल क्षेत्रमा पुर्‍याएर गोली हानी एकैठाउँमा मारिएको थियो । आफ्ना बाबु र उनका गाउँले साथीको बलीदानीमा धेरैले ‘गीत’ गाए पनि आफ्नो जीविकामा कसैले आड भरोसा नदिएको सोमबहादुरको गुनासो छ । उनले भने, ‘बोली र भाषणमा धेरै नेताले सबै कुरा दिए, तर व्यवहारमा पाएनौं ।’ कराउँदा-कराउँदा थाकिसकेको उनी सुनाउँछन् ।

46 years of Chhintang massacre: Martyr's family says - No relief, no jobsविभिन्न समयमा सहिद दिवस मनाउन यसअघि पटक–पटक प्रधानमन्त्री भइसकेका झलनाथ खनाल, माधवकुमार नेपाल, केपी शर्मा ओलीलगायत सबैजसो शीर्ष कम्युनिस्ट नेता छिन्ताङ पुगिसकेका छन् । उनीहरूले सहिद परिवारलाई राहत मात्र होइन, शैक्षिक योग्यताअनुसारको रोजगारीको ग्यारेन्टी, सहिद परिवारका सन्ततिको पढाइको नि:शुल्क गर्न व्यवस्था गर्ने कुरा प्रतिबद्धता पटक-पटक दोहोर्‍याएका थिए ।

तर नेताको आश्वासनअनुसार काम नभएपछि डेलिगेसन, आग्रह र अनुरोध गर्दागर्दा आजित बनेको सहिदका परिवार सुनाउँछन् । सहिद पुत्र नेपाली भन्छन्, ‘हामीले जति सम्झाउन खोजे पनि राज्यले बिर्सन चाहेको छ ।’ उनी भन्छन्, ‘हामीले राज्यको दायित्व, कर्तव्य र प्रतिबद्धता सम्झाउन खोजेका हौं, भिख मागेका होइनौं ।’ खाटो बसेको घाउ कोट्याउने सहिद सप्ताहले छिन्ताङे सहिदलाई गरिएको अपमान पनि ताजा गराउने उनको भनाइ छ । 

संघीय सरकारले घोषणा गरेको रकम नपाए पनि कोशी प्रदेश सरकारले भने २०७६ फागुन मै ५ लाख रुपैयाँको दरले राहत पाइसकेका छन् । सहिदका सबै १६ परिवारलाई प्रदेश सरकारका तर्फबाट राहत रकम उपलब्ध गराएइको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताए । उनले गाउँपालिका र व्यक्तिगत तवरमा पनि संघीय सरकारले घोषणा गरेको रकम दिलाउन प्रयासरत रहेको दाबी गरे ।

२०३६ सालको किसान आन्दोलनका क्रममा मारिएका सहिदहरूको सम्झनामा धनकुटाको सहिदभूमि गाउँपालिभर विभिन्न कार्यक्रम सहिद सप्ताह मनाइँदैछ । सहिद सप्ताहको अवसर पारेर सहिदभूमि गाउँपालिकाले शुक्रबार स्थानीय बिदासमेत दिएको छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully