सुनापितका पहिरोपीडित भन्छन्: 'ज्यान मात्रै जोगाउन पाए हुन्थ्यो'

सुनापति गाउँपालिका–३ मा बस्तीभन्दा तलबाट बग्ने खानी खोलामा वषौंअघि सुरु भएको पहिरो अहिले बस्तीमै फैलिँदै गएको छ।

कार्तिक १, २०८२

नवराज श्रेष्ठ

Sunapit landslide victim says: 'I wish I could have just saved my life'

What you should know

रामेछाप — सुनापति गाउँपालिका–३ हिलेदेवीकी ६६ वर्षीय साइँली तामाङको हिजोआज भोक निद्रा हराएको छ। उनी बस्ने घर भन्दा तलबाट बग्ने खानी खोलाबाट वषौँअघि सुरु भएको पहिरोले अहिले उनकाे घर र मन दुवै भत्काउँदै लगेको छ ।

पहिरोको लगातार प्रहारले साइँलीको एउटा घर ढल्नै लागेको छ भने अर्को घर चिराचिरा परेको छ। छोरा–बुहारी काठमाडौ‌ंमा बस्छन् ।उनी एक्लै त्यही चर्किएको घरमा बस्दै आएकी छिन् । 'घर पुरै लड्न लागेको छ, डर लाग्छ तर जान कतै ठाउँ छैन,' उनी भन्छिन्, 'सरकारले बासस्थान सारिदिएको भए हुन्थ्यो। राति निद्रा छैन, दिनमा भोक लाग्दैन ।'

पहिला बसेको तल्लो घर पहिरोले भासिएर ढल्ने अवस्थामा पुगेपछि अहिले उनी माथिल्लो माथिल्लाे घरमा बस्न थालेकी छन् । तर त्यो घर पनि चिराचिरा परेर कहिले ढल्छ भन्ने भएकाे छ । पूरै गाउँ पहिरोको जोखिममा परेपछि धेरै परिवार सुरक्षित ठाउँमा पनि सरेका छन्। तर साइली अझै पनि भत्किन लागेको घरमा दिनरात बिताइरहेकी छिन् ।

सुनापति–३ कै ७० वर्षीय चेतबहादुर खड्काको जीवन पनि साइलीकै जस्तै स‌ंकटले घेरेको छ। उनका अनुसार पहिरोले अब गाउँको नामोनिसान मेटाउने अवस्थामा पुर्याएको छ। 'गाउँ त पहिराले लाने अवस्थामा पुगिसक्यो, अब बस्ने ठाउँ नै बाँकी छैन,' उनी दुःख पोख्छन्, 'हामी अन्त कतै बस्न पाए हुन्थ्यो। यो सरकारले खाए पनि खाओस् हामीलाई चाहिएन । हाम्रो ज्यान मात्रै जोगाउन पाए हुन्थ्यो । याे ठाउँसँग माया त धेरै थियो, तर अब त्यो माया मार्नै पर्ने भयो।'

Sunapit landslide victim says: 'I wish I could have just saved my life'

खानी खोलाबाट सुरु भएको सो पहिरो बिस्तारै माथिल्लो भूभागसम्म फैलँदै जाँदा केउरेनी, साउने, नागाशिबा, च्याम्दुङदेखि डम्फु डाँडासम्मका बस्ती उच्च जोखिममा परेको खड्काले बताए । जमिन सर्दै जाँदा घरभित्र चिरा, खेतबारी भासिने र बाटोसमेत भत्किने अवस्था देखिएको छ ।

सोही ठाउँकी ४० वर्षीय सीता खड्काको घरसमेत अब बस्न लायक छैन । पहिरोले जमिनै सारिदिएपछि उनको घर चिराचिरा परेर भत्किन लागेको छ । तर कतै जाने ठाउँ नहुँदा, उनी र उनका श्रीमान् त्यही जोखिमपूर्ण घरमै बस्न बाध्य छन् । सीता भन्छिन्, 'घर ढल्नै लागेको छ। राति सुत्दा पनि ढुङ्गा र माटोको डल्लो झर्छ। पूरै त्रासमा बाँच्न परेको छ। घाँस काट्न जाँदा कान्ला लड्छन्, खुट्टा टेक्ने ठाउँ छैन। बस्ने ठाउँ छैन, कहाँ जाने ? के गर्ने थाहा छैन ।'

पहिरोले गाउँको जमिन नै सार्दै लगेकाले सीता जस्तै सुनापति गाउँपालिका–३ का केउरेनी, साउनेलगायतका बस्तीका ७७ भन्दा बढी परिवार त्रासकाे बीचमा दिन र रात काटिरहेका छन् । गाउँका धेरै घर भत्किएका छन् । अधिकांश घरमा चिरा परेका छन्, खेतबारी भासिदै जाँदा बस्तीको भविष्य अनिश्चित बन्दै गएको छ।

सुनापति गाउँपालिका–३ मा बस्तीभन्दा तलबाट बग्ने खानी खोलामा वषौंअघि सुरु भएको पहिरो अहिले बस्तीमै फैलिँदै गएको छ। असोज १७, १८ र १९ गतेको अविरल वर्षापछि जमिन सर्न थालेपछि अहिले ७७ भन्दा बढी घरपरिवार उच्च जोखिममा परेको वडाध्यक्ष कुलबहादुर थिङले जानकारी दिए ।

Sunapit landslide victim says: 'I wish I could have just saved my life'

उनका अनुसार ७७ घर परिवार पहिरोको जोखिममा छन् । तीमध्ये २२ घर पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन् । पूर्ण क्षति भएका परिवारलाई गाउँपालिकाले तत्काल राहत स्वरूप १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ, भने थाेरै क्षति भएका परिवारलाई ५ हजार रुपैयाँ दिने निर्णय गरिएको छ,' वडाध्यक्ष थिङले भने । थिङका अनुसार उक्त क्षेत्रमा एउटै परिवारमा १३ जनासम्म सदस्य रहेका कारण हाल ५ सयभन्दा बढी मानिस प्रत्यक्ष रूपमा पहिरोको उच्च जोखिममा छन् ।

Sunapit landslide victim says: 'I wish I could have just saved my life'

सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार गाउँपालिकाले पहिरो प्रभावित क्षेत्रको जोखिम मूल्याङ्कन गरी सुरक्षित स्थानमा बस्ती सार्ने तयारी थालेको छ। 'पानी पर्‍यो भने तुरुन्तै खतरा हुन सक्छ,' अध्यक्ष तामाङ भन्छन्, 'त्यसैले गाउँपालिकाले तत्काल प्रभावित परिवारहरूलाई सुरक्षित ठाउँमा बस्ने व्यवस्था मिलाउन लागिरहेको छ। यहाँ वरपरकै विद्यालय र स्वास्थ्य इकाईहरूमा अस्थायी रूपमा बसोबास गराउने तयारी छ। त्यहाँ ठाउँ नपुगेमा, गाउँपालिकाकै परिसरमा उनीहरूलाई बस्ने र खाने व्यवस्था मिलाइनेछ ।'

उनका अनुसार पहिरोले प्रभावित भएका बस्तीहरू अत्यन्तै जोखिमपूर्ण स्थानमा भएकाले दीर्घकालीन व्यवस्थाका लागि गाउँपालिकाले तीन वटा सम्भावित ठाउँमा स्थायी पुनर्वासका लागि जग्गा पहिचान गरिसकेको छ। 'जोखिममा परेका बस्तीहरूलाई सुरक्षित स्थानमा सार्नका लागि जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र सङ्घीय सरकारलाई पनि सहयोगका लागि औपचारिक अनुरोध पठाइसकेका छौं,' अध्यक्ष तामाङले बताए ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully