दसैंको तयारी सकेर सन्तानको बाटो हेरिरहेका हायू दम्पती

'पढाइ र जागिरका लागि छोराछोरी सहरमा छन् । उनीहरू आएपछि दुई–चार दिन भए पनि दसैँ रमाइलो हुन्छ,' सानु हायू भन्छिन् ।

आश्विन १२, २०८२

नवराज श्रेष्ठ

After preparing for Dasain, the Hayu couple is looking forward to the birth of their children

रामेछाप — रामेछाप नगरपालिका–७ मुगानका ७० वर्षीय रुद्रबहादुर हायु र उनकी जीवनसाथी सानु हायु यस वर्षको दसैँको तयारी सकेर सन्तानको प्रतीक्षामा छन् । आठ सन्तानलाई हुर्काएर शिक्षादीक्षा दिएका उनीहरू अहिले बुढेसकालमा भने दुई जना मात्र घरमा छन् ।

सानु भन्छिन्, 'अरू बेला कोही आउने–नआउने हुन्छ । तर दसैँमा सबै आउँछन्, रमाइलो हुन्छ । अहिले त हामी बुढाबुढी छोराछोरीको बाटो हेरेर बसेका छौँ ।'

आठमध्ये कान्छी छोरीको बिहे गर्न बाँकी रहेको बताउँदै उनले थपिन्, 'गाउँमा अहिले सबैजसो घरमा बुढाबुढी मात्रै छन् । पढाइ र जागिरका लागि छोराछोरी सहरमा छन् । उतै बस्छन् । 'दसैंको तयारी सकिए पनि सन्तान नआएसम्म चाडको रौनक नहुने उनीहरूको अनुभव छ । 'छोराछोरी आएपछि दुई–चार दिन भए पनि दसैँ रमाइलो हुन्छ,' सानु भन्छिन् ।

After preparing for Dasain, the Hayu couple is looking forward to the birth of their childrenयस वर्षको दसैं धूमधामले मनाउन घरमा सकेको तयारी गरिसकिएको रुद्रबहादुर हायु बताउँछन् । उनका अनुसार हायू समुदायमा दसैं प्रमुख चाड नभए पनि अरू जाति सरह उत्साहसहित मनाउने परम्परा छ । 'खसी, राँगा र सुँगुर सबै तयारी भइसकेको छ । अब छोराछोरी आएका दिनमै चाडको माहौल रमाइलो हुन्छ,' उनले भने ।

उमेरले ७० वर्ष नाघिसके पनि रामेछाप नगरपालिका–७ मुगानका रुद्रबहादुर  र उनकी जीवनसाथीको जोस–जाग र परिश्रम देख्दा जोकोही चकित पर्छन् । उनीहरूको गोठमा गाई, गोरु र भैँसी भरिभराउ छन्, खोरमा बाख्रा पनि पालेका छन् ।

हायू जाति लोपोन्मुख भएकाले उनीहरूले मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् । तर, त्यो रकम उपभोगमा सीमित नराखी पशुपालन र खेती किसानीमा लगाउने गरेको रुद्रबहादुर बताउँछन् । 'उमेर बढे पनि काम गर्ने जोस हराएको छैन । काम नगरे झन् रोग लाग्छ भन्ने लाग्छ । त्यसैले अहिलेसम्म १२–१५ वटा जति गाई, गोरु, भैँसी छन् । खेती किसानी पनि गरिरहेका छौँ,' उनले भने ।

सरकारले दिने सामाजिक सुरक्षा भत्ता वृद्धवृद्धाका लागि ठूलो आधार बनेको छ । 'धेरैले भत्ताले राम्रो गरेका छन्, नगर्ने पनि छैनन् भन्न सकिन्न । हामीले चाहिँ पाएको रकम खेती–पसलमा लगाइरहेका छौँ,' उनी भन्छन् ।

रामेछाप नगरपालिका–७ मुडाजोरलाई किराँत समुदायअन्तर्गत पर्ने लोपोन्मुख हायू जातिको उद्गमस्थल मानिन्छ । हाल हायुहरूको बसोबास रामेछाप नगरपालिकाको वडा नं. ६, ७ र ८ मा केन्द्रित छ । सबैभन्दा बढी बसोबास वडा नं. ७ को सुकाजोरमा मात्र ६९७ भन्दा बढी हायु बस्छन् भने, जिल्लाभर एक हजार १२६ जना हायू समुदाय रहेका छन् ।

After preparing for Dasain, the Hayu couple is looking forward to the birth of their childrenरामेछाप नगरपालिकाका प्रशासन शाखा अधिकृत नारायण सुवेदीका अनुसार हाल १हजार ९ जना हायु मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । इतिहासमा हायुहरूको प्रमुख पेसा बाँसजन्य सामग्री उत्पादन र व्यापारसँग जोडिएको थियो । मान्द्रो, डोको, डालो, नाङ्लोजस्ता दैनिक जीवनमा प्रयोग हुने सामग्री बनाउने परम्परा उनीहरूको पहिचानकै हिस्सा रह्यो । तर, पछिल्लो पुस्तामा प्रवेश गर्दा हायूहरूले कृषि र पशुपालनलाई मुख्य आम्दानीको आधार बनाएका छन् ।

सामाजिक सुरक्षा भत्ताले उनीहरूको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएको छ । भत्ता वृद्ध वृद्धाका लागि मात्र राहत नभई परिवारलाई कृषि तथा पशुपालनमा लगानी गर्न सहयोगी भएको छ । यसले हायुहरूको आर्थिक अवस्था मात्र होइन, सामाजिक जीवनशैली पनि पहिलेको तुलनामा बढी व्यवस्थित र सहज बनाएको रामेछाप नगरपालिका–७ मुगानकी ५२ वर्षीया नरमाया हायू बताउँछिन् ।

नवराज श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully