नेपालमा भेटिए छेपारोका दुई नयाँ प्रजाति

मकवानपुरको मकवानपुरगढी र सिन्धुलीको हरिहरपुर क्षेत्रमा भेटिएका छेपाराको नामकरण पनि गरिएको छ ।

आश्विन ९, २०८२

नारायण ढुंगाना/रासस

Two new species of lizards were found in Nepal

काठमाडौँ — नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन् । संक्षणकर्मीको एक टोलीले मकवानपुर र सिन्धुलीमा छेपारोका नयाँ प्रजाति फेला पारेका हुन् ।

बेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा मकवानपुरको मकवानपुरगढी र सिन्धुलीको हरिहरपुर क्षेत्रमा फेला पारी पहिचान तथा नामकरण गरिएको जनाइएको छ । उक्त प्रजाति विश्वकै लागि नयाँ प्रमाणित भएको र दुई दिनअघि मात्रै अन्तर्राष्ट्रिय जर्नल ‘जुकिज’मा प्रकाशितसमेत भइसकेको संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिए । भट्टराई फेडेरेसन युनिभर्सिटी अष्ट्रेलियामा छेपारोकै विषय विद्यावारिधि गरिरहेका छन् ।

उनका अनुसार ती दुई प्रजाति चुरे (सिवालिक) पर्वतशृंखलामा भेटिएका हुन् । चुरे क्षेत्र जैविक विविधतामा समृद्ध भए पनि कम अध्ययन गरिएको क्षेत्रमा पर्छ । भट्टराईको टोलीले गत जुन-जुलाई २०२४ मा उक्त प्रजाति फेला पारेको र नयाँ प्रजाति यकिन गरेपछि हालै जर्नलमा प्रकाशित गरिएको हो । 

मकवानपुरगढीमा भेटिएको छेपारोको नाम ‘मकवानपुरगढी बेन्ट–टोड गेक्को’ र  सिन्धुलीको हरिहरपुरको चुरे पर्वतशृंखलामा भेटिएको छेपारोको नाम ‘चुरे बेन्ट–टोड गेक्को’ राखिएको छ । 

गेक्कोनिडे परिवारअन्तर्गत पर्ने यी छेपारा संसारभर ३८० भन्दा बढी प्रजातिका पाइन्छन् भने नेपालमा अहिले फेला परेका दुईसहित जम्मा सात प्रजाति फेला परेको छ । जसमध्ये पाँच वटा प्रजाति भट्टराईकै नेतृत्वको समूहले फेला पारी नामकरण गरेका हुन् ।

सरकार तथा जैविक विविधता संरक्षण गर्ने नेपालका संस्था ठूला स्तनधारी वन्यजन्तुमा मात्र केन्द्रित रहेकाले नेपालमा अझै थुप्रै प्रजातिहरुको रेकर्ड हुन बाँकी नै रहेको जनाइएको छ । सरीसृपलगायत अन्य अध्ययन कम भएका प्रजातिको खोज तथा अनुसन्धानका लागि सबै सरोकारवालाले यस्ता प्रजातिको अध्ययन अनुसन्धान तथा संरक्षणमा प्रथामिकीकरण गर्नुपर्ने देखिएको संरक्षणकर्मीहरुले बताएका छन् ।

अध्ययनका लागि संरक्षणकर्मी भट्टराई, विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे, इशान अगर्वाल, अष्ट्रेलियाका आश ओल्सन, फिओना होगन र वेएन्डी राइट सहभागी थिए । 

वरिष्ठ संरक्षणकर्मी करण शाहका अनुसार उक्त टोलीले हालै फेला पारेको यो माउसुली परिवारको किरा फट्याङ्ग्रे खाने छेपारो हो । बालीनाली नोक्सान, लुगाफाटो नोक्सान गर्ने चिजलाई खाएर यसले जोगाउने काम गर्छ र यो छेपारो धेरै जीवनजन्तुको आहारा पनि हो । त्यसैले यसले समग्र प्रणालीलाई सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ र यसको प्रयोग औषधिका रुपमा पनि गरिन्छ । 

गएको वर्ष फेला पारिएको तीन प्रजातिमध्ये एउटाको नाम शाहकै नाममा ‘करण बेन्ट–टोड गेक्को’ राखिएको थियो । 

नारायण

Link copied successfully