अस्पताल सञ्चालकका घरमा भएको आगजनी र लुटपाटप्रति अफिनको आपत्ति

भाद्र ३०, २०८२

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) ले अस्पताल सञ्चालक र उनीहरूको घरमा भएको आगजनी, तोडफोड र लुटपाट घटनाप्रति गम्भीर आपत्ति र दुःख व्यक्त गरेको छ। 

विज्ञप्ति जारी गरेर अफिनका अध्यक्ष डा. पदमबहादुर खड्काले यस्ता अमानवीय गतिविधिलाई सभ्य समाजको नाममा स्वीकार गर्न नसकिने स्पष्ट गरेका छन्। घटनामा निवर्तमान अध्यक्ष तथा नर्भिक हस्पिटलका अध्यक्ष वसन्तकुमार चौधरी, पूर्व केन्द्रीय सदस्य एवं मेडिसिटी हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोसहितका निजी स्वास्थ्य संस्थाका सञ्चालक र कर्मचारी प्रभावित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

भदौ २३ र २४ गते भएका यी घटनाले निजी स्वास्थ्य क्षेत्रमा ठूलो भौतिक र आर्थिक क्षति पुर्‍याएको अफिनले जनाएको छ। अफिनले निजी स्वास्थ्य क्षेत्रले देशमा स्वास्थ्य सेवा पुर्‍याउने मात्र नभई राज्यलाई ठूलो मात्रामा राजस्व बुझाउँदै आएको र यसले राष्ट्रलाई समेत महत्वपूर्ण योगदान दिइरहेको तथ्य स्मरण गराउँदै यस्ता घटना रोक्न सरकार गम्भीर हुनुपर्ने जनाएको छ। साथै दोषीमाथि छानबिन गरी कडा कानुनी कारबाही गर्न माग गर्दै पीडित उद्योगी, व्यापारी तथा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न सरकारसँग जोडदार आग्रह गरिएको छ।

संगठनले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक आत्माको चीर शान्ति र शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गरेको छ। साथै घाइतेहरूको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको योगदानलाई अफिनले उच्च प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेको छ।

Link copied successfully