काठमाडौं — क्यान्सरले ग्रस्त बनेकी आमाको हेरचाहमा दिन बिताउने २२ वर्षीय महेश बुढाथोकी सानैदेखि सुशिल र सहयोगी थिए । बिगु गाउँपालिका–३ बुलुङका केशव बुढाथोकीका जेठा छोरा हुन् । केशवकी धर्मपत्नी क्यान्सरले थालिएकी छन् । बालकुमारीमा बस्ने महेशले नै आमालाई उपचारका लागि पाटन अस्पताल लाने लैजाने गर्ने गरेका थिए ।
इमाडोलको गम्भीर–समुन्द्र–सेतु विद्यालयबाट कक्षा १२ मा कम्प्युटर साइन्सको अध्ययन सकेर नतिजा कुरे बसेको उनका ठुलो बुबाका छोरा ईश्वरले बताए । आन्दोलनमा खासै वास्ता नगर्ने महेश भदौ २३ गते भएको जेन-जीको आन्दोलनका क्रममा आफ्ना साथीहरुलाई गोली लागेको र घाइते बनेपछि घरमा बस्न नसकेको ईश्वरले बताए । भदौ २४ गते साथीभाईको लहलैमा लागेर आन्दोलनमा होमिएका ईश्वरले बताए ।
आन्दोलनमा गएका उनी दिउँसोबाट परिवारको सम्पर्कबाट विच्छेद बनेका थिए । परिवारले उनको खोजी गरिरहेको थियो । उनी घाइते अवस्थामा किस्ट अस्पतालमा परिवारले फेला परेको ईश्वरले बताए । ‘घाँटीमा गोली लागेको अवस्थामा उनीलाई उपचारका लागि अस्पताल लगिएको रहेछ,’उनले भने, कोटश्वरमा प्रहरी चौकी माथी आगजनी र आक्रमणका क्रममा त्यही गोली लागे छ ।’
अस्पतालमा उनलाई जोगाउन नसकिएको उनले बताए । आन्दोलनमा गएपनि तोडफोड र आगजनीबाट टाढै बसेका उनलाई कसरी गोली लाग्यो पत्तो नभएको उनकासँगै गएका साथीले बताएको ईश्वरले बताए । ‘महेश सानैदेखि आन्दोलन र हिंसा मन पराउँदैन्थ्यो, कसरी सहभागी भयो आश्चर्य बनेका छौं,’ उनले भने ‘बेला बेलामा देशमै केहि गर्ने वातावरण बनाउनु पर्छ दाई भन्थ्यो ।’
आमाको सबै हेरचाह उसैले गर्दै आएको उनले बताए । ‘आमाको अवस्था निकै जटिल बनेको छ, परिवार शोकमा छ,’उनले भने, ‘परिवारको मियो बनेर आएको थियो सबै कुरा बुझथ्यो, हामीले परिवारलाई सान्त्वाना दिन पनि सकिरहेका छैनौं ।’ अन्तिम दाहसंस्कारका लागि परिवारले शव पनि पाउन नसकेको उनले बताए ।
