हामी नेपाल संस्थासँग कुनै सम्बन्ध छैन : बारबरा फाउन्डेसन

भाद्र ३०, २०८२

काठमाडौं  — हामी नेपाल संस्थासँग जोडेर भ्रामक प्रचारप्रसार गरिएको भन्दै बारबरा फाउन्डेसनले आइतबार त्यसको खण्डन गरेको छ । फाउन्डेसनले हामी नेपाल संस्थासँग आर्थिक सम्बन्ध नभएको र कोभिड महामारीको बेला सहकार्य मात्र गरेको पनि प्रस्टीकरण दिएको छ । 

‘देशको पछिल्लो संवदेनशील र तरल अवस्थाको फाइदा उठाउँदै भ्रामक समाचार बनाई हाम्रो नामसमेत जोडी गरिएको अनर्गल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस संस्था र यसका पदाधिकारीहरूको नाम जोडेर हामी नेपाल नामक संस्थासँगको सम्बन्धबारे अनर्गल प्रचारसमेत भइरहेको छ । हामी नेपाल संस्था नेपालभर छरिएका युवाको संगठन भएकाले कोभिड महामारीको बेलामा सहकार्य गरिएको हो । सो संस्था वा संस्थाका पदाधिकारीसँग हाम्रो कुनै पनि आर्थिक सम्बन्ध छैन ।’ 

यसबारेमा जानकारी दिन फाउन्डेसनका अध्यक्ष सन्दुक रुइतले पत्रकार सम्मेलन नै गरेर मानिसहरूलाई मूल मुद्दाबाट भड्काउने मनसायले गरिएको चरित्र हत्या पुनः नगर्न आग्रह गरेका छन् । बारबरा फाउन्डेसन अमेरिकी नागरिक बारबरा एडम्सको नाममा खोलिएको गैरनाफामूलक सामाजिक संस्था हो । 

बारबरा फाउन्डेसनको कोष समाज कल्याण परिषद्को नियमानुसार व्यवस्थापन गरिएको जनाइएको छ । ‘बारबरा एडम्सको नेपालप्रति रहेको प्रेमको कारण निजले मृत्युपश्चात् आफ्नो सम्पत्ति बारबरा फाउन्डेसनले पाउने व्यवस्था गरेअनुरूप त्यहाँबाट हालसम्म करिब २ करोड ८८ लाख प्राप्त गरेको र सोको कानुनबमोजिम सम्बन्धित निकायबाट स्वीकृतिसमेत प्राप्त गरेको छ,’ थप भनिएको छ । 

फाउन्डेसनको अधिकतम कोष नेपालीहरूकै दानबाट चलिरहेको विज्ञप्तिमा उल्लेख छ । फाउन्डेसनले विगत ८ वर्षमा ब्याज आम्दानीलगायत कुल करिब ७ करोड ८२ लाख प्राप्त गरेको उल्लेख छ । ‘यसको वार्षिक बजेट करिब ५० लाख रुपैयाँ मात्र छ । यस अवधिमा आफ्नो कार्यक्रम एवं प्रशासनिक खर्चबापत करिब ३ करोड ६४ लाख खर्च गरेको छ । हाल फाउन्डेसनसँग करिब ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेकोसमेत जानकारी गराउन चाहन्छौं । फाउन्डेसनको आय–व्ययको सारांश फाउन्डेसनकै वेबसाइटमा समेत उपलब्ध छ,’ विज्ञप्तिमा भनिएको छ । 

फाउन्डेसनले हामी नेपाल संस्थालाई लगानी गरेको, सम्बन्ध रहेको आरोप लगाउँदै आलोचना भएको थियो । फाउन्डेसनले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवं प्रियजन गुमाएका शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न गर्दै आन्दोलनकै क्रममा ऐतिहासिक महत्त्वका राष्ट्रिय सम्पत्तिमा भएको विनाशप्रति पनि दुःख व्यक्त गरेको छ । 

Link copied successfully