खर्बौंको संरचना ध्वस्त गरिनु अत्यन्तै अकल्पनीय र दुःखद् घटना : नेपाली कांग्रेस

भाद्र २९, २०८२

जेन–जीको अगुवाईमा भएको आन्दोलन पछिको प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनीमा खर्बौंको संरचना ध्वस्त गरिनु अत्यन्तै अकल्पनीय र दुःखद् घटना भएको जनाएको छ ।

उपसभापति पूर्णबहादुर खड्काद्वारा आइतबार जारी विज्ञप्तिमा भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा युवा सहादत हुनु र खर्बौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्णक्षति हुनु अत्यन्तै दुःखद् भएको उल्लेख छ । कांग्रेसले आन्दोलनको क्रममा जीवन गुमाउने युवाहरू, सुरक्षाकर्मीलगायतप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

यस्तै, सम्पूर्ण घटनाको छानबिन गर्न मागका लागि सरकारलाई पुनःस्मरण गराएको छ । 'जेनजीको भावनाविपरीत अवाञ्छित घुसपैठ हुँदा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रदेशसभा भवनदेखि अनेकौ राजनैतिक, प्रशासनिक, व्यावसायिक प्रतिष्ठान, वित्तीय संस्था, मिडिया संस्था र व्यक्तिका निजी घरमा समेत गरेर खर्बौँको संरचना ध्वस्त गरिएको छ । यो अत्यन्तै अकल्पनीय र दुःखद् घटना निन्दनीय र भर्त्सना योग्य छ । सरकारले क्षतिको वास्तविक आङ्कलन प्रक्रिया अविलम्ब सुरु गरौँ', विज्ञप्तिमा भनिएको छ ।

यसैगरी कांग्रेसले पार्टीका अग्रज, नेता, पार्टीका साथी तथा अन्य राजनीतिक दलका नेतामाथि भएको भौतिक आक्रमण निन्दनीय र भर्त्सना योग्य भन्दै आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कांग्रेसले सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी धर्मपत्नी एवं केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथिको बर्बतापूर्ण भौतिक आक्रमणको निन्दा र भर्त्सना समेत गरेको छ । 

Link copied successfully