तीन मन्त्री छानिए, सोमबार शपथको तयारी 

अर्थमन्त्रीमा रामेश्वर खनाल, कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानून ।

भाद्र २९, २०८२

राजेश मिश्र

काठमाडौं  — प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थपेकी छन् । उनले पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री बनाएकी हुन् । आन्दोलनकारी जेनजीसँगको परामर्शपछि आइतबार राति ती नामको टुङ्गो लागेको हो ।

खनाललाई अर्थमन्त्री र घिसिङलाई ऊर्जासहित तीन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय पनि घिसिङले सम्हाल्नेछन् । अर्याललाई गृह तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । अधिवक्ता अर्याल काठमडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकार हुन् । तीनै जनालाई आफ्नो मन्त्रिपरिषदमा राख्न कार्कीले आवश्यक सिफारिस राष्ट्रपतिसमक्ष पठाइसकेकी छन् । सोमबार मन्त्रीहरूको शपथ हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । 

खनाल र घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिन्छन् । आन्दोलकारी जेनजीले रुचाएका व्यक्ति हुन् दुवै जना । जेनजी आन्दोलनपछि आन्दोलनको मागलाई निष्कर्षमा पुर्‍याउन अधिवक्ता अर्यालले भूमिका खेलेका छन् । 

अन्य मन्त्री छनोटको काम पनि प्रधानमन्त्री कार्कीले आन्दोलनकारी जेनजी युवाहरूको परामर्शमा गरिरहेकी छन् । 

जेनजी आन्दोलनको मागअनुसार पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् । प्रधानमन्त्री बनेको तेस्रो दिनमा उनले तीन मन्त्री छानेकी हुन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार सिंहदरवार पुगेर पदबहाली गरेकी छन् । कार्कीले प्रदर्शनकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आगजनी गरेकाले उनको पदवहाली गृहमन्त्रालयमा निर्माण गरिएको भवनमा भएको छ । आगजनीका कारण गृह मन्त्रालयको भवन बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ । गृहलाई पहिला सामान्य प्रशासन मन्त्रालय रहेको भवनमा सारिदैछ । 

खनाल, घिसिङ र अर्यालको शपथपछि सानो आकारको मन्त्रिपरिषदबाट कार्कीले आवश्यक कामहरू अघि बढाउने छिन् । थप नामहरूको टुङ्गो लागेपछि अन्य मन्त्रीहरू चयन हुनेछन् । भ्रष्टाचारको विरोधमा जेनजी आन्दोलन भएकाले प्रधानमन्त्री कार्की तथा जेनजी युवाहरूले सुशासन कायम राख्न सक्ने तथा अन्तरिम सरकारको जिम्मेवारी तथा चुनौतीहरूलाई सामना गर्न सक्ने व्यक्तिलाई मन्त्री बनाउन चाहेका छन् । पूर्वसैन्य तथा प्रहरीका अधिकारी तथा पूर्व प्रशासकहरूको नाममा पनि मन्त्री बन्ने चर्चा चलाइएको छ । तर, थप कसैको बारे पनि निर्णय भएको छैन । 

प्रधानमन्त्रीले महान्यायाधिवक्तामा नियुक्तिका लागि अधिवक्ता सविता भण्डारी बरालको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । कार्कीले नियुक्तिका लागि गरेको यो पहिलो सिफारिस हो । 

प्रधानमन्त्री चयनका लागि विभिन्न नाममा सामाजिक सञ्जाल डिस्कर्डमै जेनजी समूहले छलफल चलाएको थियो । त्यहाँ भएको भर्चुअल मतदानमा ५० प्रतिशत बढी मत कार्कीको पक्षमा परेको थियो । त्यसपछि जेनजी समूहले प्रधानमन्त्रीका लागि कार्कीको नाम प्रस्ताव गरेको हो । यद्यपि, जेनजी समूहभित्रै प्रधानमन्त्री कसलाई बनाउने विषयमा सडकमा वादविवाद भएको पनि सार्वजनिक भइसकेको छ । 

आन्दोलनमा ज्यान गुमाएकाहरूलाई आवश्यक सम्मान तथा उनीहरूको परिवारलाई राहत तथा दाहसंस्कार लगायतका कार्य सकिएपछि मात्रै मन्त्री बनाउनुपर्ने पक्षमा जेनजी आन्दोलनकारी रहेका थिए । जेनजीको मागअनुसार प्रधानमन्त्री कार्कीले पनि पहिलो प्राथमिकता आन्दोलनमा ज्यान गुमाएका तथा घाइते भएका परिवारका मागलाई सम्बोधन गर्ने विषयलाई प्राथमिकतामा राखेकी छन् । 

प्रधानमन्त्री कार्कीले शनिबार विभिन्न अस्पताल पुगेर आन्दोलनमा घाइतेहरूलाई भेटेकी थिइन् । पदभारग्रहण गरेलगत्तै उनले आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषण तथा मृतक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेकी छन् । राष्ट्रपतिबाट अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति पाएलगत्तै कार्कीले प्रतिनिधिसभा विघटन तथा आगामी फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने पहिलो निर्णय राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् । कार्कीकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार राति ११ बजे प्रतिनिधिसभा विघटन गर्दै चुनावको नयाँ मिति घोषणा गरेका थिए ।

राजेश मिश्र

Link copied successfully