काठमाडौँ — नेपालको राष्ट्रिय पर्यटन संस्था नेपाल पर्यटन बोर्डले देशभर शान्ति, स्थिरता र सामान्य अवस्था पुनः स्थापित भएको जानकारी गराउँदै पर्यटन पुनः गतिशील भएको जनाएको छ ।
बोर्डले नेपालमा टुर आयोजना गर्ने विदेशीहरूको जानकारीका लागि विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनसँगै दैनिक जीवन सामान्य बनेको छ । व्यवसाय तथा कार्यालयहरू खुलेका छन् । आंशिक रूपमा लगाइएका कर्फ्यु र यात्रासम्बन्धी प्रतिबन्ध हटेपछि नागरिकहरू आशावादी ढंगले आफ्नो जीविकोपार्जनमा फर्किएका छन् ।’ पर्यटकका लागि नेपाल फेरि पूर्ण रूपमा खुला भएको छ । सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, होटल, रेस्टुरेन्ट र प्रमुख पर्यटकीय स्थलहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् ।
‘नेपालका व्यवसायीहरू सुरक्षित, सहज वातावरणमा पाहुनाहरूलाई स्वागत गरिरहेका छन्,’ बोर्डले विज्ञप्तिमा लेखेको छ । नेपालको पर्यटन विगतका प्राकृतिक प्रकोप र राजनीतिक चुनौतीहरूपछि पनि निरन्तर उकासिँदै आइरहेको छ । यसले नेपाली जनताको दृढ आत्मा, अन्तर्राष्ट्रिय पर्यटन समुदायको सहयोग, हिमाल, सांस्कृतिक सम्पदा र पवित्र स्थलहरूको कालजयी आकर्षणलाई झल्काएको बोर्डले भनेको छ । विश्वका अन्य गन्तव्यहरूले पनि राजनीतिक अस्थिरतापछि छिट्टै पुनरुत्थान गर्ने क्षमता देखाएका छन् र नेपाल पनि यसमा अपवाद छैन भन्दै बोर्डले भनेको छ,‘नेपालको पर्यटन क्षेत्र फेरि पहिलाभन्दा बलियो भएर फर्किने झनक देखिएको छ ।’ नेपाल अब सुरक्षित, शान्त र विश्वभरिका आगन्तुकलाई स्वागत गर्न तयार छ, ’एनटीबीले भनेको छ,‘यात्रासम्बन्धी ताजा जानकारीका लागि पर्यटकहरूले बोर्डको अफिसियल पेज वा कार्यालयहरूमा सम्पर्क गर्न सकिनेछ ।’
विशेषगरी युवामाझको नयाँ आशा र आत्मविश्वासले सुशासन र सामाजिक–आर्थिक समृद्धिमा विश्वास बढाएको भन्दै बोर्डले विदेशी पर्यटकलाई नेपालमा निर्धक्क आवागमन गर्न अनुरोध गरेको छ ।
