निषेधाज्ञा र कर्फ्यू हटेपछि लयमा फर्किँदै दैनिकी  

काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशभरको जनजीवन सामान्य बन्दै

भाद्र २८, २०८२

काठमाडौं– सोमबार भएको जेनजीको आन्दोलन र मंगलबारको प्रदर्शनका कारण उत्पन्न परिस्थिति सामान्य बन्दै गएपछि दैनिकी लयमा फर्किन थालेको छ ।

शनिबार बिहानदेखि धेरैजसो जिल्लामा स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा हटाउँदै गएका छन् । केही जिल्लामा दिउँसो निषेधाज्ञा र राति कर्फ्यु जारी रहे पनि दैनिकी लयमा आउन थालेको छ । चार दिनदेखि बन्द रहेका बजारमा मानिस र गाडीको चहलपहल हुन थालेको छ ।

रौतहटमा दिनभर निषेधाज्ञा र राति कर्फ्यु जारी छ । शनिबार बिहान ६ देखि साँझ ७ बजेसम्म निषेधाज्ञा छ भने राति ७ देखि आइतबार बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ । सप्तरीमा निषेधाज्ञा र कर्फ्यु हटाइएको छ । 

सर्लाहीमा सदरमुकाम मलंगबारबाहेक जिल्लाभर निषेधाज्ञा हटाइएको छ । सदरमुकाममा भने शनिबार बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ । 

दाङमा शनिबार साँझ ६ बजेसम्म निषेधाज्ञा छ । बर्दियामा पनि दिउँसो निषेधाज्ञा र राति कर्फ्यु लगाइएको छ । शनिबार बिहान ६ बजेदेखिको निषेधाज्ञा साँझ ६ बजेसम्म रहने छ । लगत्तैदेखि आइतबार बिहान ६ बजेसम्म कफ्र्यू तोकिएको स्थानीय प्रशासनको सूचनामा छ ।  

चितवन, पूर्वी नवलपरासी, सुर्खेतलगायत जिल्लामा शनिबार बिहानदेखि निषेधाज्ञा हटाइए पछि जनजीवन सामान्य बन्दै गएको छ । स्थिति सामान्य भएकाले निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छन् ।

Link copied successfully