काठमाडौं– नेपालमा चलिरहेको राजनीतिक अशान्ति र सामाजिक अनिश्चितताको बीचमा मानसिक स्वास्थ्य सेवाप्रदायक संस्थाहरूले जनताका लागि निःशुल्क परामर्श सेवा सञ्चालन गरेका छन् ।
देशभर फैलिएको तनावपूर्ण वातावरण र सामाजिक सञ्जालमा संवेदनशील सामग्रीको व्यापक प्रसारणले मानिसहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको छ । यसलाई मध्यनजर गर्दै विभिन्न संस्थाहरूले तत्काल सहायता उपलब्ध गराउन थालेका छन् ।
ह्याप्पी माइन्ड्सको पहल
मानसिक स्वास्थ्य सेवा प्रदायक संस्था ह्याप्पी माइन्ड्सले युवा र अभिभावकहरूका लागि विशेष हेल्पलाइन सेवा सुरु गरेको छ । संस्थाले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तपाईंले नयाँ राष्ट्र निर्माणमा सहयोग गरिरहनु भएको बेला, यो कठिन समयमा तपाईं र तपाईंका अभिभावकहरूलाई सहयोग गर्न हामीलाई मद्दत गर्नुहोस् ।’
सेवाग्राहीहरूले निम्न नम्बरहरूमा सम्पर्क गर्न सक्नेछन्:
nnnयुवा तथा अभिभावक हेल्पलाइन: ९८०१५७०१०२
nnnप्राथमिकता थेरापी: ९८०१०३१४४३
अन्तर्राष्ट्रिय साझेदारीमा सेवा
प्रोजेक्ट ग्रीन सर्कल र शिरीन साज्मिला अन्तर्राष्ट्रिय फाउन्डेसनको संयुक्त पहलमा प्रदर्शनबाट प्रभावितहरूका लागि निःशुल्क परामर्श सेवा सञ्चालन भएको छ । यो सेवामा ८० जनाभन्दा बढी प्रशिक्षित सल्लाहकारहरू संलग्न छन् जसले दैनिक ५० जनालाई सेवा प्रदान गरिरहेका छन् ।
सम्पर्क नम्बरहरू: ९८५१३६१०९६, ९७०६०९३७९०
संस्थाका अनुसार यो सेवाका लागि कुनै पूर्व मानसिक स्वास्थ्य निदान आवश्यक पर्दैन।
व्यक्तिगत पहल र संस्थागत सहयोग
सेल्फ-हेल्प ग्रुप फर सेरेब्रल पाल्सी संस्थाकी मनोविद् रीता लावतीले मेसेन्जरमार्फत् समूहगत सत्र सञ्चालन गरिरहेकी छिन् । उनले भनिन्, ‘हामीले निःशुल्क समूहगत सत्रहरू सुरु गरेका छौं, जसले आवश्यकतामा परेकाहरूलाई सुरक्षित स्थान उपलब्ध गराउँदछ ।’
परामर्श केन्द्र फिलले आपतकालीन सहायताका लागि २४ घण्टे सेवा उपलब्ध गराएको छ ।
सम्पर्क नम्बरहरू: ९७०७६२६५९०, ९८०८५१२९४९
हिलर नेपालकी संस्थापक सबिना गिरीले जुम र गुगल मिटमार्फत श्वासप्रश्वास अभ्यास र समूहगत सत्र सञ्चालन गरिरहेकी छिन् । उनले, ‘सुन्नुहोस्, हेर्नुहोस्, जोड्नुहोस्’ भन्ने तीन सिद्धान्तअनुसार सेवा प्रदान गरिरहेकी छिन् ।
सम्पर्क: ९७६७४८४९४९, ९७६७४८४६४६
त्यस्तै हियरिङ माइन्डस्ले युवा तथा परिवारहरूका लागि विशेष सन्देशसहित सेवा सुरु गरेको छ । संस्थाले भनेको छ, ‘हाम्रो राष्ट्रको भविष्य निर्माण गरिरहेका साहसी युवाहरूलाई हामी साथ छौं ।’
आपतकालीन सम्पर्क: ९८०८४४८९८९, ९७६४३९८९९२
मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार वर्तमान राजनीतिक परिस्थिति र सामाजिक सञ्जालको नकारात्मक प्रभावले मानिसहरूमा तनाव, चिन्ता र डिप्रेसनका लक्षणहरू बढेका छन् । यस्तो अवस्थामा तत्काल मानसिक स्वास्थ्य सेवाको आवश्यकता रहेको उनीहरूको भनाइ छ ।
सबै सेवाहरू निःशुल्क उपलब्ध छन् र कुनै पनि उमेरका व्यक्तिहरूले सहायता लिन सक्छन् । संकटकालीन अवस्थामा तुरुन्त माथि उल्लेखित नम्बरहरूमा सम्पर्क गर्न सकिने छ ।
